तसलिमाको प्रेमकथा

मङ्गलबार, ०३ फागुन २०७३, ११ : ४२ शुक्रवार , Kathmandu
तसलिमाको प्रेमकथा

अभय श्रेष्ठ

बंगलादेशकी विश्वप्रसिद्ध लेखक डा. तसलिमा नसरिन कवि रुद्रलाई हृदयदेखि प्रेम गर्थिन् । रुद्रको कवितालाई प्रेम गर्दागर्दै उसैलाई प्रेम गर्न थालेकी थिइन् । एक दिन एउटी सखीको घरमा रुद्र भेटियो । झुस्स दारी, होचो, पुड्को र झ्याउरे पुरुष त्यति सुन्दर र शक्तिशाली कविता लेख्ने रुद्र होला भन्ने उनलाई लागेकै थिएन । रुद्रकै करमा गोप्य कागजी बिहे भयो । डाक्टरी पढाइ सकिएपछि ढाकामा उनीहरू सँगै बस्न थाले । रुद्रलाई तसलिमा जति हृदय तप्काएर प्रेम गर्थिन्, त्यत्तिकै प्रेम रुद्रले पनि गथ्र्यो त ? सायद उसको प्रेम शारीरिक मात्र थियो । सहृदय प्रेम गरेको हुँदो हो त ऊ बारम्बार वेश्यालय धाउँदैनथ्यो । आफूलाई लागेको भिरंगी प्रियतमालाई सल्काउँदैनथ्यो ।
तसलिमाको प्रेमकथा किशोरी उमेर भर्खर पार गर्दाको हो, जतिखेर उनी डाक्टर हुनै लागेकी थिइन् । आत्मकथाको तेस्रो भाग ‘वाइल्ड विन्ड’ (प्रेम र जिन्दगी: नेपाली अंश अनुवाद विकास बस्नेत) मा उनले यस्ता मार्मिक र अन्तरंग कुरा खुलेर लेखेकी छन् । यस किताबका आत्मकथात्मक निबन्ध तसलिमाको इमानदारीका साक्षी हुन् । कहाँसम्म भने उनले घरमा अत्यन्त जोइटिंग्रे देखिने दाजुहरू नोमान र कमालले बाहिर अन्य युवतीसित लसपस गरेको र डाक्टरको भेषमा महिला ग्राहकसँग आफ्नै बाबु राजीव यौनक्रिडामा संलग्न भेटिएको प्रसंगसमेत उल्लेख गरेकी छन् ।
केही रात सँगै बिताएलगत्तै रुद्रलाई भिरंगी सल्केको उनले थाहा पाइन् । उसलाई भिरंगी नहोस् भनेर जति कामना गरे पनि आखिर त्यही भयो । रुद्रले उनलाई भने बारम्बार ढाँटिरह्यो ।

‘मसँग नै तिम्रो शारीरिक सम्पर्क पहिलो हो कि यसअघि तिमी वेश्यालय पनि गएका थियौ ?’ तसलिमाले सोधिन् ।

‘अहँ गएको छैन । तिमीसँग बाहेक अरूसँग मेरो सम्पर्क छैन ।’
निकै बेर चुपचाप रहेपछि रुद्रले फेरि भन्यो, ‘वास्तवमा म त्यो एरिया गएको थिएँ ।’
‘कुन एरिया ?’
‘रेडलाइट एरिया ।’
‘तिमी त्यहाँ गयौ ?’
‘गएँ ।’
‘किन गयौ ?’
‘अरू जेका लागि जान्छन्, म पनि त्यसैका लागि गएँ ।’
‘केका लागि जान्छन् ? मतलब, तिमीले वेश्यागमन ग¥यौ ?’
‘गरेँ ।’
‘प्लिज रुद्र, अरू जे गरेँ भन्छौ भन, तर वेश्यासँग रात बिताएँ नभन ।’
‘हो, मैले वेश्यालाई सम्भोग गरेँ ।’
‘कति दिनअगाडि गएका थियौ ?’
‘दुई हप्ताअगाडि ।’
‘एक पटक मात्र गएका थियौ ?’
‘अँ, एक पटक मात्र गएको थिएँ ।’
‘तर, तिम्रो घाउ त दुई हप्ताअघि मात्र देखाप¥यो भनेका होइनौ ?’
‘भनेको हो ।’
‘सम्पर्क गरेकै दिन त घाउ निस्कँदैन । रुद्र, सम्झने प्रयास गर, त्यसअघि पनि गएका थियौ कि ?’
‘पहिले पनि गएको थिएँ ।’
तसलिमाले असाध्यै प्रेम गरेको कविले उनलाई यसरी धोका दियो । रुद्रले केही कविता कुनै सुन्दरीलाई समर्पण गरेर लेखेको तसलिमाले भेटिन् ।
‘तिमीले आफ्नो जीवनै समर्पण गरेको त्यो सुन्दरी को हो ?’
‘निली । मेरी माइजूकी बहिनी ।’
‘माइजूकी बहिनी त तिम्रो नाता पर्ने भइन् । हाडनाता पर्नेसँग पनि रोमान्स ग¥यौ ?’
‘गरेँ ।’
‘रोमान्समात्र ग¥यौ कि अरू पनि भयो ?’
‘अरू पनि भयो । मज्जासँग भयो ।’
‘तिमीलाई थाहा छ, तिम्रै कविता पढीपढी म तिमीलाई प्रेम गर्न थालेकी थिएँ । अहिले मलाई आफैँप्रति दया लाग्दैछ । तिम्री प्यारी निली कहाँ छिन् अहिले ?’
‘एउटा मास्टरसँग बिहे भएको थियो । पछि सम्बन्ध विच्छेद भयो ।’
‘आजभोलि भेट्न जाँदैनौ ? आफ्नी सानी माइजूलाई ‘केही’ गर्न जाँदैनौ ?’
‘वाहियात कुरा नगर ।’
प्रेमका लागि तड्पिरहेकी तसलिमालाई एक पल्ट रुद्रले छुरी हान्न खोजेको थियो । नउम्केकी भए उनको हत्यै हुनसक्थ्यो । रुद्र बारम्बार निली र वेश्याहरूसँग सल्किरह्यो । आइन्दा यस्तो हुन्न भनेर तसलिमासँग माफी मागिरह्यो ।
‘तिमीलाई किन वेश्या र निली नै चाहिने ?’
‘तिमी नहुँदा यस्तो भइहाल्छ ।’
‘तिमी नहुँदा मलाई यस्तो भयो भने ? म अन्य पुरुषसँग रात बिताउन गएँ भने ?’
‘के भनेको त्यस्तो ? शारीरिक सम्बन्धलाई तिमी किन त्यति धेरै महŒव दिन्छ्यौ ? तिमीबाहेक अरूसँग मेरो भावनात्मक सम्बन्ध छैन ।’
‘त्यसो भए अरूसँग म पनि भावनात्मक सम्बन्ध राख्दिनँ । शारीरिक सम्बन्ध मात्र राख्छु । मान्छौ ?’
‘अहँ, मलाई स्वीकार्य छैन ।’
‘तिमीले स्वीकृति दिएकै भए पनि म त्यसो गर्ने छैन । लैंगिक समानताका कुरा खूबै गथ्र्यौ । मैले त्योमात्र जाँच्न खोजेकी । तिमी लैंगिक समानताको कुरा त फेसन मात्र हो । अथवा, आफूलाई प्रगतिशील देखाउन मात्र तिमी यी शब्द प्रयोग गर्छौ ।’
इज्जत–बेइज्जत बिर्सेर उपचारका लागि उनले रुद्रलाई आफ्नो मातृशहर मायमनसिंह ल्याइन्, जहाँका हरेकजसोले उनलाई चिन्थे । जाँडरक्सी, गाँजा, चरेस, वेश्या र निलीसँग उसको कुलत छुटेन । असमान सम्बन्ध लामो समय टिक्न त्यसै पनि सम्भव थिएन । तसलिमा अझै प्रेम गर्थिन् । आफू ‘भोग्या वस्तु’मात्र बनेको महसुस भएपछि उनी सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुगिन् ।
‘तिमीले मलाई छाड्ने नै भयौ होइन त ?’ रुद्रले रुग्ण स्वरमा सोध्यो ।
‘हो, म तिमीलाई छाड्दैछु । तिमीलाई भिरंगी लागेपछि मैले छाड्न लागेको नठान । तिमीलाई त्यो रोग लाग्नु त एउटा दुःखद संयोगमात्र हो । वेश्यागमन गर्दैमा यो सरिहाल्छ भन्ने छैन । तिमीले मलाई घात ग¥यौ । त्यसैले तिमीलाई छाड्ने निर्णयमा पुगेँ । तिमी मेरो ठाउँमा भएको भए के गथ्र्यौ भन त रुद्र ?’
‘तिमी मलाई साँच्चै छाडेर जान्छ्यौ त ?’
‘साँच्चै, म तिमीसँगको सारा सम्बन्ध तोडेर जाँदैछु ।’
अन्ततः उनलाई पनि भिरंगी भयो, जुन रुद्रमार्फत उनको रगतमा संक्रमण भएको थियो । लामो समय उनले त्यो गुप्त पीडा भोगिरहिन् । सम्बन्ध तोडे पनि रुद्रकोे कवितालाई भने उनले सधैँ मन पराइन् ।
तसलिमाले विचारमा कहिल्यै सम्झौता गरिनन् । स्त्री स्वाधीनताका पक्षमा उनले निर्भीक भएर कलम चलाइन् । उनको धारिलो भाषाले कथित धर्मको सिक्रीमाथि शक्तिशाली प्रहार ग¥यो । त्यसपछि उनको टाउकाको मूल्य तोकियो । बंगालादेश सरकारले उनको ‘लज्जा’, ‘मेरो बाल्यकाल’, ‘उत्ताल हवा’, ‘द्विखण्डित’, ‘सारा अन्धकार’जस्ता किताबमाथि प्रतिबन्ध लगायो र माफी माग्न भन्यो । नमागेपछि देश निकाला ग¥यो । भारतको पश्चिम बंगालबाट पनि उनलाई निर्वासित गरियो । त्यसअघि दिल्ली र कोलकातामा सात महिनासम्म नजरबन्द राखियो । त्यसपछि थाप्लामा मृत्युको साइनबोर्ड झुन्ड्याएर विभिन्न देशमा शरण लिँदै, निकालिँदै अझैसम्म भौँतारिइरहेकी छन् । कहाँसम्म भने आफ्ना वृद्ध बाबुआमाको अन्तिम अवस्थामा पनि उनी स्वदेश फर्कन पाइनन् ।

तसलिमा र रुद्र

आफ्नो स्वाभिमान कायम राख्दै केही वर्षअघि उनले भारतीय दैनिक जनसत्तामा एउटा महŒवपूर्ण लेख लेखिन् । त्यसमा उनले आफूलाई अंग्रेजीभाषी लेखक सलमान रुस्दी र मुसलमान चित्रकार एमएफ हुसेनसँग तुलना गरिएकामा आपत्ति जनाएकी थिइन् । ‘रुस्दी र हुसेन दुवै महान् स्रष्टा हुन्,’ स्विकार्दै तसलिमाले लेखेकी थिइन्, ‘दुवैको रचनाप्रति असीम श्रद्धा राख्दै म भन्छु, यी दुईबीच कोष्ठकमा मलाई राख्नु उचित छैन । जसरी बेठेगान, अनिश्चय, असुरक्षा र अभावमा म संघर्ष गरिरहेकी छु, त्यसमा कसैको साथ छ भने ती मेरा आदर्श र विश्वास हुन् । कसैले मेरा यी कुरा देख्दैनन् भने जतिसुकै महान् स्रष्टा भए पनि उनी मेरो विचार र आदर्शसामु केही होइनन्  ।’
तसलिमाको आत्मविश्वास, स्वाभिमान र निष्ठा मानव सभ्यताकै महŒवपूर्ण उपलब्धि हुन् । आफू बाँचेको युगभन्दा उनी एक शताब्दीअगाडि थिइन्, जसका कारण उनी आजसम्मै त्यो दुर्भाग्य झेलिरहेकी छन् ।


(avaya.writes@gmail.com)

Leave A Comment