काँकडभिट्टामा गरमागरम बहस

शनिबार, २१ फागुन २०७३, १२ : ५१ शुक्रवार , Kathmandu
काँकडभिट्टामा गरमागरम बहस

–राजु अधिकारी

‘काँकडभिट्टामै आएर कालोधनबारे के पो बोल्नु र ?’ पूर्वगभर्नर डा. युवराज खतिवडा भन्दै थिए, ‘यहाँ उभिएर त्यसबारे बोल्न गाह्रै छ ।’ झापा, काँकडभिट्टामै आयोजित कला साहित्य उत्सवमा बोल्ने क्रममा उनले आफूलाई लागेको ‘गाह्रो’ बारे धेरै कुरा खोलेनन् तर उनको मुखाकृतिको भाव र ‘बडी ल्यांग्वेज’ को संकेत प्रस्ट थियो– काँकडभिट्टा बदनाम छ ।
उनी एक्ला पात्र होइनन्, जसले पूर्वको सीमान्त शहर काँकडभिट्टालाई ‘तस्करीधन्दा’ सँग जोडेर हेर्छन् । नाका भएकै कारण वारिपारिका अनेक नाजायज धन्दाको अपजस शहरकै पोल्टामा पर्दै आएको छ । तर, डा. खतिवडालगायत अरू धेरैले बिस्तारै महसुस गर्दै गएको अर्को तथ्य चाहिँ के छ भने कुनै बेला त्यस्ता धन्दामा मात्रै नाम आउने काँकडभिट्टाले पछिल्लो दशकमा रिडर्स झापाको अगुवाइमा बौद्धिक चिन्तनको थलोका रूपमा पनि आफ्नो परिचय स्थापित गर्दै लगेको छ । त्यसैको प्रमाण थियो, उनी आफैँ सहभागी कला साहित्य उत्सवको तेस्रो संस्करण ।
   फागुन १२, १३ र १४ तीन दिनसम्म चलेको कला साहित्य उत्सवले साहित्यमा जनजातीय चेतनादेखि नारीवादसम्मको विषय उधिन्ने प्रयास ग¥यो । राजनीतिदेखि अर्थनीतिसम्मको रौँचिरा विश्लेषण गर्ने प्रयास उत्सवमा भयो । नेपाल र भारतका सयभन्दा बढी लेखक, राजनीतिज्ञ, अर्थविद्, कलाकर्मी तथा चिन्तकहरूको विचारोत्तेजक बहस र छलफलले तरंग ल्याएको अनुभव सहभागीहरूले गरे । ‘काँकडभिट्टाले बौद्धिक चिन्तन र बहसका लागि थालेको संगठित अभियान देशकै लागि उदाहरणीय थियो,’ यहाँ आयोजित तीनमध्ये दुइटा उत्सवमा सहभागी लेखक तथा पत्रकार नारायण वाग्लेले भने, ‘तेज विचार प्रवाहमा सरिक हुने साथीहरू लागेर आयोजना हुने भएकाले अहिले काँकडभिट्टाले धेरैलाई आकर्षित गर्ने सामथ्र्य देखाएको छ । यहाँको उत्सवमा अभिव्यक्त भएको उत्साह लोभलाग्दो छ ।’ उनलाई लाग्छ, यसको असर तत्कालै ठोस रूपमा नदेखिन सक्छ । तर, यसले बहसको, छलफलको संस्कार बसाल्छ । छलफलको दायरा फराकिलो बनाउँछ । लेखकहरू वक्ताका रूपमा पेश हुने कुराले उनीहरूको पाठकसँग प्रत्यक्ष अन्तरक्रिया हुन्छ । वाग्लेको भनाइ व्यवहारतः प्रमाणित भएका उदाहरण नै छन् । किनभने, काँकडभिट्टालाई सधैँ बदनामीको विम्बमा मात्रै बुझ्ने धेरै लेखकले उत्सव र रिडर्स झापाको कामलाई हेरेरै काँकडभिट्टाको पहिचान फेरिएको कुरा लेखेका छन्, लेख्न थालेका छन् ।
संविधानदेखि बौद्धिक परम्परासम्म
तीनदिने उत्सवका अधिकांश सत्रहरू छलफलकै रूपमा अघि बढे । तर, नेपालका चार जना विद्वान्ले आ–आफ्ना विषयमा सम्भाषण दिएका थिए । प्राध्यापक चैतन्य मिश्रले समाजवाद उन्मुख संविधान, विश्लेषक सीके लालले दक्षिण एसियाको बौद्धिक परम्परा, अर्थविद् डा. युवराज खतिवडाले नेपालको वित्तीय नीति र चिन्तक प्रदीप गिरिले साहित्य, इतिहास र राजनीतिबारे आफ्ना विचार राखे ।
 पहिलो दिन प्राध्यापक चैतन्य मिश्रले  समाजवाद उन्मुख संविधानको चिरफार गर्दै राजनीतिक नेतृत्वले संविधानमै उल्लेखित ‘लोकतान्त्रिक समाजवाद’ बारे पटक्कै ध्यान नदिएकोमा कडा असन्तुष्टि प्रकट गरे । ‘हालको राजनीतिक र संवैधानिक कोलाहलको यो बेला संविधानमा छ्यास्स लेखिएको जस्तो प्रतीत हुने र संविधान घोषणा भएपछि पटक्कै ध्यान नपाएर टुहुरो बनेकोजस्तो भएको ‘लोकतान्त्रिक समाजवाद’बारे छलफल गर्नु बेमौसमको खेती गरेको जस्तै ठहरिन सक्छ,’ उत्सवको ‘किनोट स्पिच’ मा मिश्रले भने, ‘तैपनि यो जरुरी छ । किनभने, नेपाल हाँक्ने सरकारहरू, जनप्रतिनिधिहरू र राजनीतिक दलहरूमा यो प्रकारको आर्थिक राजनीतिक स्थिति विवेचना गर्ने र त्यस्तो स्थिति खास दिशा र गतिमा डो¥याउने प्रयत्न गर्ने परिपाटी लामो कालदेखि टुटेको छ । यो र यस्ता विषयहरू दलका केन्द्रीय समितिहरूमा विरलै छलफलका विषयवस्तु बन्छन् । कदाचित् कुनै बैठकमा यस्तो विषयमा चर्चा भएमा धेरै कम सहभागिता हुन्छ ।’
दक्षिण एसियाको बौद्धिक परम्पराबारे सम्भाषण दिँदै विश्लेषक सीके लालले ‘बुद्धिजीवी’ र ‘बौद्धिक’ बीचको भेद केलाउने प्रयास गरे । ‘बुद्धिको सहारामा पेशा–व्यवसाय गर्नेहरू, राज्यलाई सल्लाह दिनेहरू बुद्धिजीवी हुन्,’ उनको भनाइ थियो ‘तर, बौद्धिकहरू समाजको यथास्थितिलाई लिएर प्रश्न गर्छन् । भइरहेको अवस्थाभन्दा अझ राम्रो बनाउन सकिने बाटो देखाउँछन् । उनीहरू विद्रोही पनि हुन्छन् ।’
नेपालको वित्तीय नीतिबारे पूर्वगभर्नर युवराज खतिवडाले आफ्ना विचार राखेका थिए । योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका खतिवडाले केन्द्रीकृत अर्थ प्रणालीका कारण विकेन्द्रीकरणको अभ्यास सार्थक हुन नसकेको र पुँजीमा आम नागरिकको पह्ुँच स्थापित हुन नसकेको बताए ।
चिन्तक प्रदीप गिरिले इतिहास नबुझ्नेले वर्तमानको पदचाप ठम्याउनै नसक्ने उल्लेख गर्दै थपे, ‘अहिले राजनीतिज्ञ सबैतिरबाट बढी आलोचित छ, यसको कारण हरेक मान्छेले उसबाट धेरै ठूलो अपेक्षा राख्छ । पूरा हुँदैन, अनि आलोचनाको केन्द्र बन्छ ।’ हिन्दी र उर्दू भाषाका शेरसहित मन्तव्य दिने क्रममा उनले थपे, ‘मान्छेहरू आफूमा भएको राम्रो गुण राजनीतिज्ञमा पनि हुनुपर्ने आग्रह राख्छन् । आफ्ना सन्तानका लागि आफू जे पनि गर्न तयार हुन्छन् तर राजनीतिज्ञले त्यसो नगरोस् भन्ने अपेक्षा गर्छन् । यही समस्या उनीहरूको आलोचना बढ्नुको मुख्य कारण हो ।’
गरमागरम बहस, खचाखच सहभागी
 चारवटा सम्भाषणबाहेक थप १६ वटा विषयमा प्यानल छलफल उत्सवको मुख्य आकर्षण थियो । काँकडभिट्टा खानेपानीको सभाहलमा खचाखच सहभागीका बीच चलेका बहसका सबै सत्रहरू रोचक रहे । कविहरू भूपाल राई, हेमन यात्री र चन्द्रवीर तुम्बापो र दीपक सापकोटाले साहित्यमा जनजातीय चेतनाबारे खरो बहस गरे । त्यस क्रममा कवि भूपाल राईले शास्त्रीय माक्र्सवादीहरूको वर्चस्व रहेकै कारण जनजातीय चेतनालाई उक्त दर्शनले स्वामित्वमा लिन नसकेको बताए । संविधान घोषणापछिको सकसका बारेमा एमाले नेतृ विन्दा पाण्डे, पत्रकार नारायण वाग्ले र मधेशी अभियन्ता तुलानारायण साह र सागर शिवाकोटीले छलफल गरे । वैदेशिक सहयोग र लोकतन्त्रको संकट विषयमा डा. देवेन्द्रराज पाण्डे र भाष्कर गौतमले छलफल गरे । झापा केन्द्रित लेखनबारे खगिन्द्रा खुशी, कृष्ण बराल, चुडामणि वशिष्ट र लीला अनमोलले छलफल गरेका थिए ।
झापा विद्रोहले नेपाली कम्युनिस्ट आन्दोलनमा पारेको प्रभावका बारेमा उक्त विद्रोहका नेतृत्वकर्ता सीपी मैनाली, एमाले नेता रविन कोइराला र नक्सलबारी विद्रोहका नेता चारु मजुमदारका छोरा अभिजित मजुमदार र निरोज कट्टेलले छलफल गरेका थिए । त्यस्तै, साहित्यमा नारीवादका बारेमा सीमा आभास, हरिमाया भेटवाल र अर्चना थापाले बहस गरे । मूर्ति, मूर्तिकार र समाजबारे अमिर सुन्दास, विजय श्रेष्ठ, जीवन पौडेल र छितेन शेर्पाले विमर्श गरे ।  काँकडभिट्टाको परिवर्तन थिएटरले प्रस्तुत गरेको नाटक ‘सुकुम्बासी राजा’ को प्रदर्शन उत्सवको पहिलो दिनको आकर्षण थियो । त्यसबाहेक फोटो प्रदर्शनी, चित्रकला प्रदर्शनी पनि उत्सवका आकर्षणका पाटा थिए ।
माओवादी र चल्तीको माओवादी !
लेखनसँगै माओवादी नेताको छवि बनाएका आहुतिले उत्सवमा बोल्ने क्रममा आफ्नै दल दुई कित्तामा प्रस्ट रुपमा विभक्त रहेको जनाउ दिए । ‘म माओवादी चाहि हुँ, तर चल्तीको माओवादी होइन,’ आहुतिले यसो भन्दा हलमा तालीको पर्रा छुट्यो । नेपाली समाजमा वर्ग र वर्ण विषयक अन्तरक्रियामा बोल्दै उनले माओवादीभित्रैको असन्तोष पनि छ्यालब्याल पारे । उनी सँगै थिए एमाले नेता घनश्याम भुसाल । उनीहरूका  विचार खोतल्दै थिए, पत्रकार बसन्त बस्नेत । भुसाल र आहुतिबीच निकै गरमागरम बहस चल्यो । अप्रत्यक्ष र घुमाउरो पारामा एकले अर्कालाई बाँकी राखेनन् ।  निर्णय गर्ने ठाउँमा दलितको उपस्थिति कहिल्यै नहुने, सधैँभरि ब्राह्मण र अन्य समुदायकै हालीमुहाली चल्ने तर उत्पीडित समुदायको पक्षमा कसैले नसोच्ने आहुतिको भनाइ थियो भने भुसालले चुनावदेखि चुनावसम्मको गोलचक्करमा फसेकै कारण धेरै मुद्दा ओझेलमा परेको जवाफ फर्काए ।
त्यसै गरी, केदार शर्मा, चन्द्र किशोर, राजन मुकारुङ र दामोदर ढुंगेलले भाषाको राजनीतिका बारेमा बहस गरे । ‘आर्टिस्ट एज इन्टरप्रेनर’ विषयमा चित्रकार छितेन शेर्पाले शक्ति शर्मा, राज बसु र सुजन चित्रकारसँग छलफल गरे ।
श्याम साह, गुरुङ सुशान्त र मुनाराज शेर्मा र सरिता तिवारीले नेपाली साहित्यको पात्र विधानका बारेमा, अर्चना थापा, प्रवीण अधिकारी र कुमारी लामा र नयन सिन्धुलीयले अंग्रेजी भाषामा नेपाली साहित्य विषयमा आ–आफ्ना भनाइ राखेका थिए । ब्रबिम कुमार, प्रणिका कोयू देवेन्द्र भट्टराई र जनकराज सापकोटाले युवाका सपना र बाकसको विम्बमा तर्क दिए ।
सिनेमाको बदलिँदो सुत्रबारे  तुलसी घिमिरे, नवीन सुब्बा, अनुभव अजित र सङ्गीत श्रोताले बहस गरेको तेस्रो दिनको अर्को सेसनमा सञ्चारमाध्यम र उपाख्यानको निर्माण विषयमा राजेन्द्र महर्जनले नेपाली मिडिया  देखावटी रूपमा समावेशी भए पनि मूलतः बजार र सत्ताको सेवामात्र गरेको बताइरहँदा पत्रकार किशोर नेपाल र नारायण वाग्लेले उनको भनाइमा विमति जनाएनन् । उता, राजा पुनियानी, सरिता तिवारी र विनोदविक्रम केसीलाई एउटै मञ्चमा राखेर गुरुङ सुशान्तले कविताको राजनीति विषयमा बहस चलाए । अर्काे सेसनमा समृद्घिको सपनामा सीके लाल, विश्वप्रकाश शर्मा, डम्बर खतिवडा र सागर शिवाकोटीबीच बहस चल्यो ।
सौरभ मैनालीले सहजीकरण गरेको गीतमा जनताका सुखदुःख विषयमा बोल्ने विप्लव प्रतीक, खेम नेपाली र सङ्गीत श्रोताले नेपाली संगीतको धारबारे छलफल चलाए  ।
‘मायाको शासन’ शीर्षकको बहसमा उमा सुवेदी, सावित्री गौतम, आहुति र  प्रणिका कोयूले मायाको आवरणमा भइरहेको महिलामाथिको अन्यायबारे बोले  ।
लगातारको छलफल र बहसको क्रमलाई बिट मारेपछि अन्तिम दिनको साँझ गायक गणेश रसिकले आफ्ना लोकप्रिय एक दर्जनभन्दा बढी गीत स्ुनाए । मूर्तिकला र चित्रकलाबारेको बहस मात्रै होइन, तिनको प्रदर्शनी पनि उत्सवको अर्को आकर्षण थियो । ‘विविध विचारहरूबीचको घर्षण हुने थलो उत्सव हो,’ रिडर्स झापाका अध्यक्ष उज्ज्वल प्रसार्इंले भने, ‘कला, साहित्य र विचारहरूको बेजोड संगम यसपटक उत्सवमा सम्भव भयो । त्यसैले हाम्रो आयोजना सफलतापूर्वक सम्पन्न भएको छ । हामी उत्साही छौँ ।’ उनले कला साहित्य उत्सव अब काँकडभिट्टाको पहिचान बनेको बताउँदै थपे, ‘काँकडभिट्टा बदनाम विम्ब मात्रै होइन, यो समाजबारे चिन्तन गर्ने, बौद्धिक हस्तक्षेपको हिम्मत देखाउने ठाउँ पनि हो । हामी त्यो गरेर देखाउन चाहन्छौँ ।’

Leave A Comment