थुप्रिएको बजेट र तरलता अभाव

सोमबार, २३ फागुन २०७३, ०३ : १० दिलीप पौडेल , Kathmandu
थुप्रिएको बजेट र तरलता अभाव

सरकारले बजेट खर्च गर्न नसक्दा बैंकहरूमा समेत तरलता (लगानीयोग्य रकम) अभाव भएको छ । पुँजीगत बजेट खर्च गर्न नसक्दा सरकारी ढुकुटीमा रकम थुप्रिएको छ । विकास निर्माणका कामले तीव्रता नपाउँदा बजेट खर्च हुन सकेको छैन । बैंकले पनि अनुत्पादक मानिएका घरजग्गा, सेयर र सवारीमा ठूलो रकम लगानी गरेपछि यसको असर देखिएको छ ।
चालु आर्थिक वर्ष ०७३÷७४को पहिलो छ महिनामा कुल बजेटको २६.१९ प्रतिशत मात्र खर्च भएको छ । कुल खर्चमध्ये पुँजीगत खर्च ११.३० प्रतिशत मात्र खर्च भएको छ । जसअनुसार अहिलेसम्मको खर्च ३५ अर्ब २५ करोड ४६ लाख रुपैयाँ मात्र हुन्छ । चालु खर्च भने २ खर्ब १८ अर्ब ६० करोड ९१ लाख रुपैयाँ छ । छ महिनामा २ खर्ब ७४ अर्ब ६८ करोड ५१ लाख रुपैयाँ बजेट खर्च भएको अर्थमन्त्री कृष्णबहादुर महराले बताए । अपेक्षाअनुसार बजेट खर्च हुन नसकेको उनले स्वीकारे । ‘मन्त्रालय तातिएर काम गरिरहेको छ,’ महराले भने, ‘फागुन मसान्तसम्म बजेट खर्च नगर्ने आयोजनाको बजेट सिज गर्छौं ।’
बजेट खर्च हुँदा त्यसले तल्लो तहसम्म रोजगारी सिर्जना गरी आर्थिक गतिविधि वृद्धि हुन्छ । त्यसले निम्न र मध्यम वर्गीय परिवारमा बजेट पुग्छ । सो रकम बजार हुँदै बैंकमा पुग्ने भएकाले अर्थतन्त्र चलायमान हुन्छ ।
लक्ष्यभन्दा धेरै राजस्व संकलन गरे पनि खर्च गर्ने क्षमता कमजोर हुँदा यसको असर बजारमा देखिएको हो । सरकारले लक्ष्यभन्दा करिब १९ अर्ब धेरै राजस्व संकलन गरेको छ । २ अर्ब ५८ अर्ब ७४ करोड ३ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा २ अर्ब ७७ अर्ब ५७ करोड १५ लाख रुपैयाँ असुली भएको भन्सार विभागले जनाएको छ । यो असुली अर्धवार्षिक लक्ष्यको तुलनामा १०७.९२ प्रतिशत र वार्षिक लक्ष्यको ४९.०५ प्रतिशत हो । अर्थतन्त्र राम्रो हुनको लागि राजस्व संकलन गर्नुलाई मात्र राम्रो मानिँदैन । आर्थिक वृद्धिदर वृद्धि भएको हुनुपर्छ ।
बैंकमा लगानी गर्ने रकम अभाव भएपछि अनुत्पादक क्षेत्र मानिएका गाडी, घरजग्गा र सेयरमा लगानी गर्न रोकिएको थियो । वाणिज्य बैंकहरूले ओभरड्राफ्ट, घरजग्गा र सेयर धितोमा कुल कर्जाको ७३ प्रतिशतसम्म कर्जा लगानी गरेका थिए ।
बैंकमा रकम अभाव भएपछि ब्याज एकाएक बढाएर निक्षेपको ब्याज १२ प्रतिशतसम्म पु¥याएका हुन् । बैंकले विभिन्न स्किम ल्याएर निक्षेप जम्मा गर्न प्रोत्साहित गरिरहेका छन् ।
बैंकमा पैसा अभाव भएका कारण नेपाल राष्ट्र बैंकले घरजग्गा र गाडीमा लगानी गर्न कडाइ गरेको छ । सवारीमा ९० प्रतिशतसम्म लगानी गरेको अवस्थामा राष्ट्र बैंकले सीमा तोकेर ५० प्रतिशतमा झारेको छ । सवारी ५० प्रतिशत रकम भुक्तानी गरेर गाडी किन्नुपर्ने व्यवस्थालाई निजी क्षेत्र राम्रो मानेको छैन । सवारीले अर्थतन्त्रलाई चलायमान बनाउने भएकाले यसलाई अनुत्पादक भन्न नहुने नेपाल अटो मोबाइल डिलर्स एसोसिएसन (नाडा)ले जनाएको छ । ‘सवारी साधनले अर्थतन्त्रलाई चलायमान बनाउँछ,’ नाडाका महासचिव कृष्ण दुलालले भने, ‘सवारीमा लगानीमा ल्याएको नीतिले उत्पादन बढाउने काममा असर पुग्छ ।’
बैंकले घरजग्गामा लगानी नगरेपछि यो व्यवसायमा पनि असर देखिएको छ । बैंकबाट ऋण लिएर जग्गा प्लटिङ गरेर रातारात धनी बन्ने सपना बुनेका दलालसमेत अन्योलमा परेका छन् । तरलता संकट देखिएको बताउँदै समाधानका लागि बैंकर्स एसोसिएसनले आग्रह गरेपछि राष्ट्र बैंकले घरजग्गा, शेयर, सवारीको लगानीमा राष्ट्र बैंकले सीमा तोकेको हो । सरकारको पुँजीगत खर्च गर्न नसक्दा करिब दुई सय अर्ब रुपैयाँ राष्ट्र बैंकमा थन्किएको छ ।
बजेट खर्च वृद्धि गर्न अर्थ मन्त्रालयले फागुन अन्त्यसम्म खर्च गर्न नसक्ने आयोजनाको बजेट रकमान्तर गरेर भए पनि खर्च बढाउने जनाएको छ । मुलुकमा निर्वाचन घोषणा भएकाले अब निर्वाचन केन्द्रित हुँदा विकास खर्च अपेक्षित वृद्धि नहुने देखिएको छ । आचारसंहिता लाग्ने भएकाले अर्थमन्त्रालयले चाहेजस्तो रकमान्तर गर्न पनि जटिल हुन्छ ।   
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले पुँजीगत बजेट खर्च बढेर जाने बताउँछन् । ‘खर्चको लागि पूर्वाधार तयार भएको छ,’ उनले भने । श्रेष्ठले बजारमा देखिएको तरलता समस्या समाधानको लागि भुक्तानी दिएको दाबी गर्दै तरलता अभावको समस्या क्रमशः हटेर जाने जनाएको छ । तरलताको समस्या केही दिन देखापरे पनि अहिले बिस्तारै घट्दै गएको र चाँडै नै तरलताको समस्या हट्ने अर्थमन्त्रालयले जनाएको छ । 

Leave A Comment