‘कन्सल्ट्यान्सीलाई फिल्टर गर्नुपर्छ’

मङ्गलबार, २४ फागुन २०७३, ०३ : २४ दिलीप पौडेल , Kathmandu
‘कन्सल्ट्यान्सीलाई फिल्टर गर्नुपर्छ’

स्टडी प्लसका प्रबन्ध निर्देशक उमेश अधिकारी विगत एक दशकदेखि कन्सल्ट्यान्सी व्यवसायमा आबद्ध छन् । अधिकारीले नेपाली युवाको श्रम गन्तव्यका रूपमा परिचित मलेसियामा अध्ययनका लागि विद्यार्थी पठाउन शैक्षिक परामर्श दिँदै आएका छन् । कन्सल्ट्यान्सी सञ्चालक अधिकारीसँग मलेसियामा शैक्षिक अवसरलगायत विषयमा शुक्रवारका लागि दिलीप पौडेलले गरेको कुराकानीः

यहाँको कन्सल्ट्यान्सीले के काम गर्छ ?
अधिकांश विद्यार्थी अध्ययनका लागि युरोप, अमेरिका, अस्ट्रेलिया जान्छन् । तर, हामीले विद्यार्थीलाई अध्ययनका लागि मलेसिया पठाएका छौँ । मलेसियन दूतावास र त्यहाँका विश्वविद्यालयसँग मिलेर १२ वर्षदेखि शिक्षा र पर्यटन प्रवद्र्धनमा सघाइरहेका छौँ । मलेसियालाई काम गर्न श्रमिक जाने गन्तव्यको रूपमा बुझ्ने गरिन्छ । तर, मलेसिया शैक्षिक गन्तव्य भएकाले नेपाली विद्यार्थी पठाइरहेका छौँ ।
किन मलेसिया पढ्न जाने ?
नेपालीको आम्दानी कमजोर छ । तर, यहाँका विद्यार्थी पनि अन्तर्राष्ट्रिय स्तरको शिक्षा लिन चाहन्छन् । खर्चका हिसाबले युरोप, अमेरिका, अस्टे«लियाको तुलनामा मलेसिया तीन गुणा सस्तो छ । बस्न, खान काठमाडौँजस्तो मासिक १५÷२० हजार रुपैयाँ पुग्छ । तर, मलेसियासहित अस्ट्रेलिया, यूएसएका विश्वविद्यालयको डिग्री त्यहीँ पाइने भएकाले पछिल्लो समय मलेसियामा पनि आकर्षक शैक्षिक गन्तव्य बनेको छ । थोरै लगानीमा गुणस्तरीय शिक्षा पाइन्छ त्यहाँ ।
के विषयमा अध्ययन गर्ने अवसर छ ?
मलेसियामा विभिन्न देशका विद्यार्थी अध्यनय गर्न आउँछन् । आईटी, सफ्टवेयर इन्जिनियर, बिजनेस म्यानेजमेन्ट, हस्पिटालिटी लगायतमा विद्यार्थीको आकर्षण छ । त्यहाँ पढेर अन्य मुलुकमा पनि विद्यार्थी ट्रान्सफर हुने गरेका छन् । करिब १५ कलेज र विश्वविद्यालयमा विद्यार्थी पठाउँदै आएका छौँ हामीले ।
पढाइ सकेपछि कस्तो अवसर पाउँछन् ?
विद्यार्थीको सबैभन्दा ठूलो चिन्ता अध्ययनपछिको सेटलमेन्ट हो । अध्ययनपछि करिब ५० प्रतिशत विद्यार्थीले मलेसियामै रोजगारीको राम्रो अवसर पाएका छन् । करिब ३० प्रतिशत विद्यार्थी ट्रान्सफर भएर युरोप, अमेरिकालगायत मुलुकमा गएको पाएका छौँ । २० प्रतिशत विद्यार्थी स्वदेशमै फर्केर नियोग, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासहित उच्च तहमा काम गरिरहेका छन् । विद्यार्थीले हप्तामा २० घण्टा काम गरेर खर्च जुटाउँछन् । मास्टर्समा अध्ययन गर्ने विद्यार्थीलाई डिपेन्डेन्ट लैजान पाउने पनि सुविधा छ ।
कति खर्चिलो छ ?
सस्तोमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा लिने अवसर मलेसियामा छ । नेपाली विद्यार्थीले अहिले पनि अमेरिका, अस्टे«लिया जान सुरुको प्रक्रियामै १०÷१५ लाख रुपैयाँ खर्च गर्छन् । तर, मलेसियामा स्नातक तहको लागि न्यूनतम छदेखि १२ लाख रुपैयाँमा अध्ययन गर्न सक्छन् ।
विद्यार्थीलाई भाषा समस्या हुन्छ कि ?
त्यहाँको राष्ट्रिय भाषा मलेसियन भए पनि कलेज र विश्वविद्यालयमा अंग्रेजी प्रयोग हुने भएकाले विद्यार्थीलाई असर पर्दैन ।
शैक्षिक परामर्शका अतिरिक्त के सेवा दिनुहुन्छ ?
दुई देशका विद्यार्थीबीच शैक्षिक भ्रमण पनि गराउने गरेका छौँ । दुई देशका विद्यार्थीको शैक्षिक अनुभव आदान–प्रदान गर्नका लागि एजुकेसन टुर आयोजना गर्ने गरेका छौँ । दुईतर्फकै विद्यार्थीलाई ट्राभल प्याकेजमा लैजाँदा हवाई र भिसा फी मात्र तिरे पुग्छ । बस्न, खानको व्यवस्था विश्वविद्यालय र कलेजले बेहोर्ने भएकाले विद्यार्थीलाई कम खर्चिलो हुन्छ ।
यसले विद्यार्थीलाई के फाइदा पुग्छ ?
त्यहाँको शैक्षिक अवस्थाको बारेमा जानकारी लिने अवसर पाउँछ । कलेज, विश्वविद्यालयमा प्रत्यक्ष भेटेर प्राध्यापक र विद्यार्थीसँग छलफल गर्न पाउँदा विद्यार्थीले वास्तविकताबारे जानकारी लिन पाउँछन् ।
कस्ता विद्यार्थी त्यहाँ अध्ययनमा जाने गरेका छन् ?
अधिकांश प्लस टू अध्ययन सकाएका विद्यार्थी छन् ।
यो क्षेत्रमा नीतिगत समस्या के छन् ?
कलेज, वित्तीय संस्था, म्यानपावर व्यवसायमा जस्तै कन्सल्ट्यान्सीमा पनि समस्या छ । अहिले शिक्षा मन्त्रालयमा दर्ता भएर काम गर्दै आएका छौँ । तर, अहिले बजारमा खुलेका कन्सल्ट्यान्सीलाई फिल्टर गर्नुपर्ने अवस्था छ । शिक्षा मन्त्रालयले राम्रो गर्न खोजेको छ । तर, पर्याप्त प्रयास हुन सकेको छैन । नयाँ खोल्नको लागि निश्चित र अलि कडा मापदण्ड बनाउनुपर्छ । विदेशमा यो व्यवसाय सम्मानित भए पनि यहाँ कन्सल्ट्यान्सी खोल्ने, बिग्रिए बन्द गरेर भाग्ने गरेकाले हेराइ सकारात्मक हुन सकेको छैन ।
अध्ययनका लागि विदेश जान चाहनेलाई सुझाव ?
विद्यार्थीहरू लहडमा लागेर विदेश जाने प्रचलन व्यापक छ । अधिकांश विद्यार्थी कन्सल्ट्यान्सीमा छिरेर धारणा बनाउँछन् । त्यो गलत हो । विद्यार्थीले आफूले लिने शिक्षाको विषयमा पहिलै बुझ्नुपर्छ । आईटीको जमाना छ । कुन कोर्समा अध्ययनको लागि जाने हो, सर्च गरेर मात्र निर्णय लिनुपर्छ ।

 

Leave A Comment