इब्राहिमोभिचलाई तीन खेलको प्रतिबन्ध

बिहिबार, २६ फागुन २०७३, ०२ : १४ शुक्रवार , Kathmandu
इब्राहिमोभिचलाई तीन खेलको प्रतिबन्ध

म्यानचेस्टर युनाइटेडका स्ट्राइकर जाल्टन इब्राहिमोभिचमाथि तीन खेलको प्रतिबन्ध लागेको छ । इंग्लिस प्रिमियर लिगअन्तर्गत गएको शनिवार बेलुका भएको बर्नमाउथसँगको खेलमा खेलभावनाविपरीत व्यवहार देखाएको भन्दै फुटबल एसोसिएसन (एफए) ले इब्राहिमोभिचमाथि तीन खेलको प्रतिबन्ध लगाएको हो । लिगअन्तर्गत शनिवार बेलुका भएको खेलमा म्यानचेस्टर युनाइटेड बोर्नमाउथसँग १–१ को बराबरीमा रोकिएको थियो । यो खेलको पहिलो हाफको अन्तिमतिर टाइरोन मिनग्सले इब्राहिमोभिचको टाउकोमा हिर्काएका थिए । तर, त्यो नियतवश नगरिएको मिनग्सले बताए । त्यसको केही समयपछि इब्राहिमोभिच र मिनग्सबीच फेरि बलका लागि प्रतिस्पर्धा भयो । त्यस क्रममा इब्राहिमोभिचले मिनग्सको अनुहारमा कुहिनोले हाने । उनले भने मिनग्स आफ्नो कुहिनोमा हाम्फालेको बताए । तर, दुवै खेलाडी रातो कार्डबाट बचे । सञ्चारमाध्यमले भने दुवै खेलाडीले रातो कार्ड पाउनुपर्ने बताएका थिए ।
एफएले यो घटनाको छानबिन गर्दै इब्राहिमोभिचमाथि तीन खेलको प्रतिबन्ध लगाएको हो । एफएले बर्नमाउथका मिनग्सलाई पनि कारबाही गरेको छ । बर्नमाउथले भने कारबाहीविरुद्ध अपिल गर्ने जनाएको छ । इब्राहिमोभिचले आउँदो सोमवार हुने एफए कप क्वार्टरफाइनलको चेल्सीसँगको खेल तथा प्रिमियर लिगमा मिडल्सबर्ग र वेस्ट ब्रोमसँगको खेल गुमाउनेछन् । तर, उनी बिहीवार राति हुने युरोपा लिगअन्तर्गत रोस्तोभसँगको खेलमा भने खेल्न पाउनेछन् । यो सिजन अहिलेसम्म २६ गोल गरेका इब्राहिमोभिच आउँदो अप्रिल ४ मा एभर्टनसँग हुने खेलबाट प्रिमियर लिगमा फर्किनेछन् ।

 

Leave A Comment