तपाईंलाई केको टेन्सन छ ?

सोमबार, ३० फागुन २०७३, ०२ : ३९ शुक्रवार , Kathmandu
तपाईंलाई केको टेन्सन छ ? मोडल: सृजाता ढकाल/आशा भूसाल

सबैलाई टेन्सन छ यहाँ । कसैलाई कामको टेन्सन छ, कसैलाई दामको टेन्सन छ, कसैलाई नामको टेन्सन छ । नेता, कार्यकर्ता, अभिनेता, व्यापारी, शिक्षक, विद्यार्थी, गृहिणी...सबैलाई केही न केहीको टेन्सन छ । तनावको मात्रा फरक होला, चिन्ताको विषय फरक होला, तर मनस्थिति सबैको अशान्त छ । धेरैलाई लाग्छ– देशको अवस्था र भद्रगोल राजनीतिका कारण अचेल नेपालीहरू टेन्सनमा छन् । के–केको र कति टेन्सन छ त नेपालीलाई ? अम्मर जिसी रचना श्रेष्ठले खोजीनिती गरेका छन् । उनीहरूलाई साथ दिएका छन्, धरानबाट निका तामाङ, पोखराबाट मनोज घर्तीमगर, चितवनबाट रमेशकुमार पौडेल र डोटीबाट पुष्पराज जोशीले ।

‘तनावैतनाव छ, खल्तीमा दुई रुप्याँ छैन ।’
हास्य टेलिशृंखला ‘भद्रगोल’मा कलाकार सुवास कार्कीले दोहो¥याइरहने यो थेगो धेरैको मुखमा झुण्डिएको छ ।
यहाँ सबैलाई तनाव छ । सानो–ठूलो कुनै न कुनै टेन्सन नहुने मान्छे भेट्न गाह्रै पर्ला । सामान्यदेखि अनौठा कुराहरूको तनाव लिनेहरू यत्रतत्र छन् । सुन्दा निम्छरो जस्तै लाग्ने यो तनाव भन्ने तŒवको पारो चढ्दै जाँदा गम्भीर खाले मानसिक रोगले च्याप्न सक्ने खतरातर्फ मनोचिकित्सकहरू सचेत गराउँछन् । तनावबाटै सिर्जित अन्य खाले घटना–दुर्घटनाको जोखिम त रहने नै भयो । ‘चिन्ता होइन, चिन्तन गरौँ’ भन्दै तनावमुक्तिको बाटो देखाउनेहरू जीवनलाई सकारात्मक आँखाले नियाल्न आह्वान गर्छन् ।
०००
यसपालि बीबीएसको परीक्षा पास भइएला की नभइएला भन्ने कत्रो टेन्सन छ, काठमाडौँका सन्देश निरौलालाई । हुन त हरेक विद्यार्थीको तनाव हो परीक्षाको पास–फेल । भविष्यप्रतिको चिन्ता जायजै पनि होला । तर, सन्देशको केस फरक छ । उनको तनाव बुबाले घोषणा गरेको आइफोनमा केन्द्रित छ । ‘त्यस्ता एक्जाम आउँथे–जान्थे,’ उनी भन्छन्, ‘तर, यसपालि पास नभए आइफोन फुस्किन्छ । त्यसैले पनि पास हुनैपर्छ । फेल भइएला कि सोचेर साह्रै टेन्सन भइरा’छ ।’
व्यवसायी विजया तुलाधरलाई आफूले किन्न चाहेको रङको कार नेपाली बजारमा नभेटेर टेन्सन भइसक्यो । ‘पिंक कलरको आई २० नपाएर टेन्सन भइसक्यो,’ उनले भनिन्, ‘इन्डियाबाटै झिकाउनुप¥यो भन्ने सोचिराछु । तर, भन्सारको टेन्सनले के गर्ने भइराछ ।’
डोटी, चवराचौताराकी कोइली कामीलाई बाख्राले गर्भधारण नगरेको चिन्ताले पिरोलेको छ । ‘दुई वर्ष भइसक्यो, बाख्रो अझै बाली (गर्भाधान) लागेन,’ उनले भनिन्, ‘पाठापाठी होलान्, कमाइ होला भन्ने सोचेकी थिएँ ।’ सुन्तली विकलाई अन्नबालीको उत्पादन घट्दै गएकोमा चिन्ता छ । जीविका कसरी चलाउने होला भन्ने तनावले उनको मन खाइरहन्छ ।
कठमाडौँ, कोटेश्वरमा ठेलामा साग बेच्ने उर्मिला मगर जहिल्यै छुट्टा पैसाको तनावमा हुन्छिन् । ‘१०–१५ रुपैयाँको साग किन्न पाँच सय, हजारको नोट ल्याएर आउँछन्,’ उनले भनिन्, ‘छुट्टा पैसाको टेन्सनले टाउको खान्छ भन्या । छैन भनौँ भने ग्राहक भड्किएलान् भन्ने चिन्ता । छुट्टा बनाइदिनुस् हजुर भन्दै पसलपसल चहार्दै हिँड्नुपर्छ । कसरी गुजारा चलाउनु ?’
पैसा र करिअरको ज्यादा तनाव
शुक्रवारले काठमाडौँ, धरान, पोखरा, डोटी, चितवन, बुटबलका करिब १ सय ५० जना व्यक्तिमध्ये आधाभन्दा बढीलाई पैसाको तनाव थियो । धेरै युवायुवतीलाई करिअरको तनाव थियो । भविष्य के होला ? उनीहरूको मुख्य चिन्ता यसमै थियो । डोटी, दिपायलका दिलबहादुर ऐरलाई व्यापार नभएकोमा टेन्सन छ । अर्का व्यापारी रामबाबु यादव पनि कामदारलाई होली पर्वका बेला कसरी तलब दिने होला भन्दै चिन्तित भेटिए । काठमाडौँ, महाबौद्धकी रमिला शाहीको तनाव पनि पैसाकै वरपर घुमिरहेको छ । ‘ऋण लिएर व्यापार सुरु गरेको हो,’ उनले भनिन्, ‘व्यापार चलेको छैन । ऋण कसरी तिर्ने ? टेन्सन छ ।’
स्नातकोत्तर गरेका विवश कार्की बेरोजगार भएर बस्नुपर्दाको पीडा सुनाउँछन् । ‘जागिर खाएर आमाबुबालाई सुख दिउँला भन्ने कत्रो सपना थियो,’ उनले भने, ‘बेरोजगार भएर बस्नुपर्दा दिक्क लागेर आउँछ । सबले जागिर पाइस् भनेर घरीघरी सोध्दा टेन्सन हुन्छ ।’
बालाजुकी इशा अर्याल अब के गर्ने होला भन्ने अन्योलमा छिन् । ‘स्नातक सकेपछि कहाँ जाऊँ के गरौँ भइराछ,’ उनले भनिन्, ‘यतै मास्टर्स पढौँ जागिर नपाउने टेन्सन । विदेश जाऊँ कहाँ जाऊँ ? सोच्दासोच्दा टेन्सन भइसक्यो ।’
काठमाडौँ, चाबहिलका वीरबहादुर लावती व्यापार गर्न चाहन्छन् । त्यसका लागि ऋण लिन चाहन्थे । तर, बैंकले झुलाइरहँदा उनलाई मानसिक तनाव भइसक्यो । ‘यो तनावले पागल बनाइसक्यो,’ उनले भने । यमनाथ अधिकारी शिक्षक हुन् । उनी काममा सन्तुष्ट नहुँदा टेन्सन भइरहेको बताउँछन् । ‘विद्यार्थी भनेकै मान्दैनन्,’ उनले भने, ‘अभिभावकको कचकच सुन्नुपर्छ । सबले टेन्सन दिँदा आफूलाई टेन्सन नहुने कुरै रहेन ।’
होटल व्यवसायी कृष्णाकुमारी शाहलाई घरभाडा कसरी तिर्ने भन्ने टेन्सन छ । रामेछापका भूकम्पपीडित बलराम बर्देवा पनि काठमाडौँस्थित कोठाको भाडा तिर्ने तनावमा छन् । ‘सडक छेउमा बसेर लुगा सिलाएको पैसाले घरभाडै तिर्न पुग्दैन,’ उनले भने, ‘अरू त परको कुरा भयो । यस्तो जिन्दगीमा टेन्सनको त कुरै नगरौँ !’
विभिन्न ठाउँबाट सपनाका भारी बोकेर राजधानी आएकाहरू धेरै तनावमा छन् । उनीहरूको भनाइमा काठमाडौँमा कसरी बाँच्ने भन्ने नै ठूलो टेन्सन हो ।
ठेकेदारले काममा लाइदिन्छु भनेकै भरमा काठमाडौँ आएका सिराहाका लक्ष्मण साह बिलखबन्दमा परेका छन् । ‘दिनको छ सय दिउँला भनेर बोलायो,’ उनले भने, ‘अहिले वास्तै गर्दैन । बाँच्नका लागि गाडामा इँटा ओसार्छु । तर, सुक्को पा’छैन । साह्रै टेन्सन छ ।’
विदेश जान भनेर परिवारबाट छुटेर काठमाडौँ आएका दाङका मित्र केसी मेनपावरलाई तिर्ने पैसा नपुगेर यतै अड्किएका छन् । ‘त्यत्रो रिनपान गरेर पनि पुगेन, विदेश जान पाइएन भने त बाँच्नुको अर्थ देख्दिनँ,’ उनी निराश भइसकेको बताउँछन् ।
सम्बन्धका तनाव
शुक्रवारसँग आफ्ना पीडा र समस्या बाँडेकामध्ये लगभग ३५ प्रतिशतले आफूलाई सम्बन्धको मामिलामा टेन्सन भएको बताए । उनीहरूमध्ये धेरैको उत्तर थियो, ‘सम्बन्धको टेन्सनले हैरान छु ।’ कोही पारिवारिक सम्बन्ध त कोही प्रेम सम्बन्धलाई इंगित गर्न खोज्दै थिए । केहीले भने व्यावसायिक वा पेशागत सम्बन्धको पनि चिन्ता गरेको भेटियो ।
पोखराका कृष्ण क्षेत्री मजदुरी गर्छन् । यतिबेला उनी ठूलो तनावमा छन् । ‘टेन्सनका कुरा गरिसाध्य छैन,’ उनले भने, ‘परिवार भाँडिएको टेन्सनले मनमा चैन छैन । बुढी पोइल गएदेखि साह्रै तनावमा छु ।’   
नवविवाहित सुन्दरमान शाक्य पारिवारिक सम्बन्धलाई बलियो बनाइराख्न नसकिएला कि भन्ने टेन्सन लिइरहन्छन् । उनी परिवारमा हुने सामान्य खटपटमा पनि निकै चिन्तित हुने गर्छन् । ‘परिवारलाई कसरी मिलाइराख्ने होला भन्ने टेन्सनले सताइरहन्छ,’ उनले भने ।
काठमाडौँ, तीनकुनेका आशिष श्रेष्ठ लामो समयदेखिको प्रेम सम्बन्ध टुट्दा तनावमा छन् । ‘स्कूल पढ्दादेखिको प्रेम अहिले आएर टुट्दा साह्रै गाह्रो भइरहेको छ,’ उनले भने, ‘यो टेन्सनले अरू केही गर्न जाँगर छैन ।’ प्रेम सम्बन्ध टुटेकोमा तनावग्रस्त छु भन्छन्, ललितपुरका दिवेश चन्द । ‘उनलाई भुल्न गाह्रो भइरहेको छ,’ उनले भने, ‘यो कुराले पढाइ पनि बिग्रेला भन्ने डर भइसक्यो ।’
तनावको शृंखला
काठमाडौँस्थित प्रगतिशील समाज नेपालका वरिष्ठ सल्लाहकार पूर्ण सापकोटाको तनाव शृंखला लामो छ । स्कुले उमेरमा उनलाई पढ्ने टेन्सन थियो । ‘गाउँमा स्कुल नहुँदा टाढा जानुपथ्र्यो,’ उनले भने, ‘आमासँग छुट्नुपर्दा मरेजस्तै लाग्थ्यो ।’ जसोतसो माध्यमिक तह पार गरे । त्यसपछि जागिरको तनाव सुरु भयो । ‘जागिर पनि पाइयो,’ उनले भने, ‘जागिरमा धेरै खट्नुपर्दा टेन्सन हुन्थ्यो । हाकिमको कचकच सुन्नुपथ्र्यो । जसोतसो रिटायर्ड भइयो । अब छोराछोरीको टेन्सन सुरु भयो ।’ जागिरे छोराछोरी टाढाटाढा जाँदा एक्लो महसुस हुन्छ उनी र उनकी पत्नीलाई । छोराहरूको उमेर भइसकेकाले बुहारी भिœयाउने तनाव पनि छ उनीहरूलाई । ‘हामी नेपालीहरू तनावमै जन्मिन्छौँ, तनावमै मर्छौं,’ उनी जीवनको निष्कर्ष सुनाउँछन्, ‘तनाव त हाम्रो अभिन्न अंग भइसक्यो ।’ ६७ औँ वसन्त पार गरिसकेका उनी निजामती सेवाबाट अवकाश पाएदेखि सामाजिक काममा आबद्ध छन् ।   
काठमाडौँमा व्यवसाय चलाउँदै आएका दाङका सूर्य शाह असन्तोषले तनाव बढाउने अनुभव सुनाउँछन् । ‘पढाइ सकेर जागिर पाइएन भनेर टेन्सन लिइयो, टेन्सनकै बीच प्रहरी भइयो, प्रहरीको जागिर चित्त नबुझेर विदेश गइयो, विदेशमा परिवारको तनाव हुन थालेपछि यता (व्यापार) लागियो,’ उनले भने, ‘अहिले पनि व्यापार नचलेका बेला अरू नै केही गरौँ कि जस्तो लाग्छ । जिन्दगी तनावैतनावमा बित्ने भयो ।’
काठमाडौँ, नयाँबानेश्वरका प्रथम श्रेष्ठलाई अस्ट्रेलियामा रहेका छोरीहरूले बोलाएको बोलायै गरेर हैरान पार्दा तनावमा छन् । ‘मलाई जानै मन छैन,’ उनले भने, ‘तर, छोरीहरूले उता बोलाइराख्दा टेन्सन हुन्छ ।’
०००
कठमाडौँमा ट्राफिक जामको टेन्सन लिनेहरू पनि छन् । आफ्नै सवारी हुनेले त झन् टेन्सनैटेन्सन लिने गरेका बताएका छन् । ‘आफ्नो सवारी नहुँदा पनि टेन्सन, हुँदा झन् धेरै टेन्सन,’ स्वयम्भूका दीपेश लामा भन्छन्, ‘सबभन्दा ज्यादा पार्किङको टेन्सन हुन्छ ।’
राजधानीमा फुटपाथ पसल गर्नेहरूले महानगरपालिकाको शैली र सडकको धुवाँधुलोदेखि तनावमा हुने गरेको बताए । ‘महानगर आएर कति बेला लछारपछार पार्ने हो भन्ने टेन्सन जहिल्यै हुन्छ,’ ईश्वर कटुवालले भने, ‘ढुक्कसँग बाँच्नै नसकिने भइयो ।’ फुटपाथमा पसल चलाउने जानुका दाहाल राजधानीको धुवाँधुलोदेखि दिक्दार भइसकिन् । यही प्रदूषणबाट आफूलाई मानसिक तनाव पनि बढेको उनी बताउँछिन् ।
स्कुले उमेरकाहरू परिवार र स्कुलबाट हुने प्रेसर सम्झेर तनावमा हुन्छन् । ९ कक्षा पढ्ने एलिसा राई धेरैजसो होमवर्कले टेन्सन दिने गरेको बताउँछिन् । ‘जो पनि जतिबेला पनि पढ् मात्र भन्छन्,’ उनले भनिन्, ‘पढ्दापढ्दा टेन्सन हुन्छ ।’
०००
तनावले नै जीवन अर्थपूर्ण हुन्छ भन्ने सोच राख्नेहरू पनि छन् । काठमाडौँका चन्द्रमान तुलाधर तनाव नलिनेले प्रगति पनि गर्दैन भन्ने ठान्छन् । ललितपुरका पुरुषोत्तम घिसिङ टेन्सन भएन भने काम पनि हुँदैन भन्छन् । ‘समस्या भए न समाधानका लागि दौडने हो,’ उनी भन्छन्, ‘सानातिना तनावले आत्तिने होइन । त्यसलाई मौकाका रूपमा बुझेर अघि बढ्यो भने प्रगति हुन्छ ।’


‘मान्छे आफैँ टेन्सन निम्त्याउँछ’

डा. कपिलदेव उपाध्याय
वरिष्ठ मनोचिकित्सक

चिकित्साविज्ञानमा उच्च रक्तचाप, मधुमेह, मोटोपन, रगतमा कोलेस्टेरोलको मात्रा बढी हुनु, शारीरिक सक्रियताको कमी, चुरोट, रक्सी, सूर्ति तथा लागुऔषध सेवन गर्नेहरूलाई विभिन्न रोग लाग्ने खतरा बढी हुन्छ भनेर पढाइन्छ । तर, आजकल यस्ता कारणहरूका साथै मानसिक तनाव बढी हुने व्यक्तिलाई रोग बढी लाग्छ भन्ने तथ्यहरू बाहिर आएका छन् ।
मान्छेहरू सुविधासम्पन्न छन् । जति सुविधा बढ्दै गए, तनाव, अनिद्रा, चिन्तारोग, दिक्दारीपना, एक्लोपना झन् धेरै चुलिँदै गएको देखिन्छ । मान्छेमा रोगको खतरा बढ्दै जानुमा उसको खानपान, आनीबानी, बाह्य वातावरण पनि महŒवपूर्ण पक्ष हुन् नै । तर, यतिबेला त्यसबाहेक सबभन्दा खतरा निम्त्याउने कारक बनेको छ, तनाव ।
यो टेन्सन हामी आफैँले निम्त्याएका हौँ । आराम लिनुपर्ने समयमा आराम लिँदैनौँ । आफ्नो क्षमताभन्दा बढी काम गर्न खोज्छौँ । खानपिनमा ध्यान दिँदैनौँ । परिवार, साथीभाइ, केटाकेटीहरूका लागि समय दिन चाहँदैनौँ । अन्यजस्तै मानसिक रूपमा पनि स्वस्थ हुनका लागि के गर्न सकिन्छ ? यसबारे सोच्ने फुर्सद छैन ।
सोच्दा सामान्यजस्तो लाग्ने टेन्सनले विस्तारित रूप धारण गर्दै जाँदा कडा खालको मानसिक समस्यासम्म पु¥याउँछ । डिप्रेसन सुरु हुने पहिलो स्टेज नै यही तनाव हो ।  


तनाव व्यवस्थापनका लागि यसो गर्न सकिन्छ

१. नकारात्मक विचार र परिस्थितिलाई सकारात्मक तरिकाले सोच्न सक्ने मानसिकता तयार गर्नुपर्छ । सकारात्मक सोचले आफू वरपरको वातावरण सन्तुलित मात्र राख्दैन, शरीरको समग्र स्वास्थ्य अवस्थामा पनि सुधार ल्याउँछ ।

२. परिस्थितिलाई बढ्ता अनुमान नगरेकै राम्रो हुन्छ । हरेक कुरामा हामी चाहिनेभन्दा बढी चिन्तित हुने गर्छौं । सबै चिन्ताले मूर्त रूप पाउँदैनन् । बरु समस्याको सहज समाधान खोज्नुपर्छ ।  

३. तनावको मुख्य कारण थाहा पाउनुपर्छ । बरु एउटा छुट्टै डायरी नै बनाएर तनाव दिने विषयहरू नोट गर्दा उचित हुन्छ । त्यस्ता विषयको लेखाजोखा गर्ने अभ्यासले प्रतिकूल घटनाबाट टाढा रहन सक्ने क्षमता दिलाउँछ । कठोर परिस्थिति स्विकार्दै व्यवस्थापन गर्ने कला सिकाउँछ ।

४. सरसफाइ गर्ने, खाना पकाउने, मन पर्ने मान्छेसँग सामान्य कुराकानी गर्ने, यताउता हिँडडुल गर्नेजस्ता ससाना लाग्ने कामहरूमा आफूलाई भुलाउनुपर्छ । आफ्ना विगतका खुशीका पलहरू सम्झँदा पनि मन शान्त हुन सक्छ । विगतका गाह्रा–अप्ठेरा र अहिलेको केही सहज अवस्थालाई तुलना गर्दा पनि आफू ठीकै ठाउँमा भएको ठम्याइ हुन्छ ।  

५. आफूलाई मन पर्ने गतिविधिमा व्यस्त रहनुपर्छ । गीत सुन्ने, नाच्ने, कथा पढ्ने, कविता लेख्ने, योग र व्यायाम गर्ने जस्ता । यस्ता कामले मनलाई खुशी बनाउने हार्मोन ‘इन्डोर्फिन’ उत्पादन गर्न सघाउँछ । परोपकारी भावनाको पनि विकास गर्नुपर्छ । कोही समस्यामा परेको मान्छेलाई सामान्य सहयोग गर्दा पनि उसमा मुस्कान देख्न सकिन्छ । त्यो मुस्कानले आफ्नो मनलाई खुशी पारेर सकारात्मक सोच्न प्रेरित गर्छ ।

६. काम गर्ने राम्रो वातावरण तयार गर्नुपर्छ । कामका लागि उचित वातावरण नभए केही गर्ने उत्साह नै मनमा पलाउँदैन । यसमा टिम वर्क पनि महŒवपूर्ण हुन्छ ।

७. समय–समयमा आफूले गरिरहेको कामको मूल्यांकन पनि गर्नुपर्छ । यसले सोचेको जस्तो प्रतिफल दिलाउँछ ।  

८. अरूसँग कुरा गर्दा सधँै सकारात्मक कुराहरूमा जोड दिने गर्नुपर्छ । अरूको विचारको सम्मान गर्न जान्नुपर्छ । राम्रो कामको जस आफूले मात्र लिने बानीले कुनै दिन आफूलाई एक्लो बनाउन सक्छ । सम्बन्धहरूलाई सन्तुलित राख्न जान्नुपर्छ ।

९. एउटा बिर्सनै नहुने पक्ष हो, मुस्कान । मुस्कुराउने बानीले आफूलाई मात्र होइन, अरूलाई पनि खुशी तुल्याउँछ । प्रकृतिले मानिसलाई अनुपम उपहार दिएको छ, हाँस्न सक्ने क्षमता । अरू कुनै पनि कुराबाट प्राप्त नहुने आनन्द र ऊर्जा हाँसोबाट मिल्छ । मज्जाले हाँस्न सक्यो भने शरीरमा प्रशस्त इन्डोर्फिन तŒव सक्रिय हुन्छ । रमाउन सक्ने मान्छेहरू जीवनलाई सकारात्मक रूपले सोच्न सक्छन् । उनीहरू सिर्जनशील हुन्छन् । मिलनसार र सहयोगी पनि हुन्छन् । र, तुलनात्मक रूपमा उनीहरू नै सफल देखिन्छन् ।

तपाईंलाई केको टेन्सन छ ?
      
रूपा लिम्बु
पढाइमा कमजोर छु । पढाइ कसरी राम्रो बनाउने भन्ने टेन्सन छ ।

चन्द्रमाया मोक्तान
पसल चल्दैन । राम्रो आम्दानी हुँदैन । त्यही छ ठूलो टेन्सन !

गगन श्रेष्ठ
विदेश जाउँ भनेको । राम्रो कामका लागि भिसा लाग्दैन । भने जस्तो काम पाइँदैन ।

तारा ग्राङ्दान
पैसा छैन । काम पनि छैन । घर बस्दाबस्दा टेन्सन भा’छ ।

विपुल चौधरी
परीक्षा आइसक्यो । केही तयारी गरेको छैन । केटीहरूले फोन गरेर पढ्नै दिँदैनन् । यही टेन्सन छ मलाई त ।

मोहन श्रेष्ठ
छोराछोरीको भविष्य के होला भन्ने टेन्सन छ । देशको अवस्था देख्दा पनि साह्रै टेन्सन हुन्छ ।

सन्देश तामाङ
कलेजको पढाइ राम्रो भइरहेको छैन । यस्तो पढाइले भविष्य कस्तो हुने हो भन्ने टेन्सन छ ।

डा. घनश्याम दाहाल
छोरीहरूलाई कसरी असल र जीवन उपयोगी शिक्षा दिई आफ्नो खुट्टामा उभिन सक्षम बनाउने भन्ने चिन्ता छ । देश र समाजको चिन्ता त छँदैछ ।

आरिफ अली
बोर्ड परिक्षा नजिक आइसक्यो । अहिलेसम्म प्रश्नपत्रको नमुना नपाउँदा कसरी परिक्षा दिने भन्ने टेन्सन छ ।

दावा तामाङ
पढाइ र परीक्षाकै हो सबैभन्दा ठूलो टेन्सन ! त्यसपछि भविष्यको चिन्ता छ ।

गिरिराज पाठक
जीवनमा जतिसुकै कठिनाइ भए पनि समाधान गरिन्थ्यो । तर, देशमा दिन प्रतिदिन तनाव बढेको देख्दा साहै्र टेन्सन लाग्छ ।

आक्रोश विष्ट
कक्षा ११ मा राम्रो ग्रेड ल्याउन सकिएन । त्यसैको टेन्सनले सताइरहन्छ ।

सशान्त कार्की
कसरी राम्रोसँग पढ्ने भन्ने टेन्सन छ । घरपरिवारले राम्रो पढेन भनेर टेन्सन दिन्छन् ।

कला राई
जीवनमा धेरै किसिमका टेन्सनैटेन्सन छन् । तर, टेन्सनलाई दूर गरेर अगाडि बढ्ने कोसिस गरिरहेकी छु ।

ज्ञानेन्द्र चौधरी
कलेज गयो, ट्युसन गयो, तर परीक्षा आउने बेलामा सधँै टेन्सन हुन्छ ।

निरञ्जनमान प्रधान
आफ्नो परिवार र बालबच्चाका बारेमा बढी चिन्ता हुन्छ ।

शिवचेली तुम्बाहाम्फे राई
घरपरिवार, जागिर सबै थोकको टेन्सन हुन्छ । टेन्सनविनाको जिन्दगीको कुनै अर्थ पनि हुँदैन । अर्थपूर्ण जिन्दगीमा टेन्सन भइहाल्छ ।

दिवस चौधरी
इन्जिनियरिङ गाह्रो विषय रहेछ । कसरी पास गर्ने भन्ने टेन्सन छ ।

 

Leave A Comment