'पुरोहित र चालु समीक्षकबाट के आशा गर्ने?'

बिहिबार, ०३ चैत २०७३, १२ : १२ सुजित मैनाली
'पुरोहित र चालु समीक्षकबाट के आशा गर्ने?' अभय श्रेष्ठ, कवि/कथाकारसुजित मैनाली

कवि तथा कथाकार अभय श्रेष्ठ राजनीतिक टिप्पणी र इतिहास–संस्कृतिसम्बन्धी लेख पनि लेख्छन्। कमजोर, वञ्चित र गरिखानेहरूका पक्षमा साहित्य सिर्जना गर्दै आएका उनका 'कायाकल्प' कवितासंग्रह र 'तेस्रो किनारा' कथासंग्रह प्रकाशित छन्। उनीसँग शुक्रवार साप्ताहिकका लागि सुजित मैनालीले गरेको कुराकानीः

तपाईं हिजोआज 'थियोलजी' पढ्दै हुनुहुन्छ भन्ने सुनिन्छ। मार्क्सवादी भएर पनि थियोलजीप्रति किन आकर्षित हुनुभएको?

हो, म थियोलोजी (धर्मशास्त्र अध्ययन) का किताबप्रति पनि आकर्षित छु। हाम्रो समाजका जराहरूले जहाँ–जहाँ स्पर्श गर्छन्, ती–ती कुराका अध्ययनमा मेरो रुचि छ। मलाई लाग्छ, हिन्दू धर्मशास्त्रको अध्ययन नगरी हाम्रो समाजमा व्याप्त कथित आदर्शको जरा बुझ्न सकिन्न। त्यस्तो 'कन्फर्मिस्ट' र कथित आदर्शको जरोमाथि प्रहार गर्न म यस्ता किताब पढ्छु। भर्खरै मैले बुद्धकालीन अर्हतप्राप्त भिक्षुहरूको स्वकथन 'थेरगाथा' पढिसकेँ। अब भिक्षुणीहरूको स्वकथन 'थेरीगाथा' पढ्छु। मार्क्सवादीले त झन् यस्ता किताब पढ्नैपर्छ।

अहिले के पढिरहनुभएको छ?

दुई कथासंग्रह एकसाथ पढिरहेको छु। नवीन विभासको 'रोल्पा सुइना' र राजकुमार बानियाँ तथा दीपक सापकोटाद्वारा सम्पादित 'पर्फ्युम'।

कुनै बेला तपाईंले रामायण र महाभारतजस्ता पूर्वीय धर्मशास्त्रहरूको आलोचना गरिएका किताब खोजीखोजी पढ्छु भन्नुभएको थियो। सुरुमै पूर्वाग्राही भएर पढ्न बस्दा ग्रन्थको समग्र पठन सम्भव हुन्छ र? यो शैलीले अध्ययन र मननको बुझाइलाई सीमित गरिदिँदैन?

मैले ती ग्रन्थको चिरफार गरिएका किताब पढ्छु भनेको हुँ। मैले जम्माजम्मी ती ग्रन्थका गाँठी कुरा पढिसकेँ। तिनको समाजशास्त्रीय व्याख्या गर्न र मेरा असहमतिलाई प्रमाण जुटाउन समालोचनात्मक अध्ययन जरुरी थियो र छ। म त बुद्धले भनेजस्तो प्रश्न र सन्देहमाथि जोड दिने मान्छे हुँ। यस खालको अध्ययनलाई कसरी पूर्वाग्रही अध्ययन भन्न सकिन्छ र?

महाभारतबारे लेख्दा तपाईं सधँै एकलव्य, कर्ण, शिशुपाल प्रवृत्तिका पराजित पात्रको पक्ष लिनुहुन्छ र कृष्ण, अर्जुन आदि विजेतामाथि प्रहार गर्नुहुन्छ। एकलव्यको प्रसंगबाहेक अन्य सन्दर्भमा कुनै अतिरिक्त गुण भएकैले अर्जुनहरू विजेता भएको देखिन्छ। यस्तोमा उनीहरूप्रति आक्रामक हुनुको तुक के छ?

म कसैको पक्षधर वा विरोधी होइन। म त न्याय र समताको पक्षधर हुँ। मैले कृष्ण, रामहरूको विरोध गरेकै होइन। जमेर बसेेको पुरातन विचारको पोखरीमा ढुंगा मात्र हिर्काएको हुँ। यति कुरा पचाउन मान्छेलाई गाह्रो भयो। 'नागरिक'मा छापिएको मेरो लेख 'महाभारत, कृष्ण र कूटनीति' पढेर मेरो टाउको काट्छु भन्नेहरू आए। मेरो लेखन नै बन्द गराउन अनेक गरियो। विराटनरमा पत्रिकै जलाइयो।

अनि अर्जुनको अतिरिक्त गुण भनेको के हो? गुरुहरू र राज्यशक्तिको साखुल्ले बन्नसक्नु मात्र अतिरिक्त गुण हो? जातको आधार देखाएर कर्णलाई रंगभूमिमा अर्जुनसँग प्रतिस्पर्धा गर्नै नदिइएको होइन? द्रौपदीको स्वयंवरमा मत्स्यवेध प्रतियोगितामा भाग लिनै नदिइएको होइन?

स्वयं महाभारत भन्छ, कर्ण धुनर्विद्यामा अर्जुनभन्दा कुनै पनि कुरामा कम थिएनन्। अझ उनले त धर्मयुद्धको नियमलाई पूरै पालना गरे। आमा कुन्तीलाई दिएको वचनअनुसार युद्धमा युधिष्ठिर, भीम, नकुल र सहदेवलाई पक्रेर पनि वध गरेनन्। अलिकति सताएर त्यसै छाडिदिए। जब कि पाण्डवहरूले उनलाई पाएको भए कुनै पनि हालतमा मारिसक्थे। अन्तिममा, गाडिएको रथको पांग्रा उचाल्न जाँदा निःशस्त्र हालतमा धर्मयुद्धको नियमविपरीत अर्जुनले वाण प्रहार गरेर उनको वध गरेका हुन्। अर्जुनले आनाकानी गर्दा पनि उनलाई उक्साउने र प्रेरित गर्ने त कृष्ण हुन्। यसरी त अर्जुन र कृष्णको तुलनामा कर्णमै नैतिकता र आचारसंहितालाई सर्वोपरि मान्ने अतिरिक्त गुणहरू थिए पो भन्नुपर्ने हुन्छ।

विभिन्न धर्मका ग्रन्थहरूको अध्ययन गरिरहनुभएको छ। यी सबै धर्मशास्त्रहरूको सार के होला?

हरेकजसो धर्मको उत्पत्ति सामाजिक परिवर्तनको आवश्यकताबाट भएको हो। स्वामी विवेकानन्द र महात्मा गान्धीले चालेका सामाजिक अभियान हेर्ने हो भने धर्मलाई सामाजिक विकास, परिवर्तन र भाइचारामा कसरी सदुपयोग गर्न सकिन्छ भन्ने महान् प्रेरणा यसबाट लिन सकिन्छ। तर, प्रकारान्तरमा पुरोहितवादको सिकार भएपछि धर्म सामाजिक परिवर्तनकै बाधक बन्न थाल्यो। बुद्धको कल्पना समाजवादको नजिक थियो। यहाँनिर म भारतीय व्यंग्यकार हरिशंकर परसाईको मत सापट लिएर भन्न चाहन्छु, बुद्धका अनुयायीले यस भौतिक दुःखलाई आध्यात्मिक दुःखमा बदलिदिए। अनेक कर्मकाण्ड भित्रिए। मूर्तिपूजाविरोधी बुद्धकै मूर्तिहरू संसारमा सबैभन्दा बढी बिक्न थाले। बुद्धका अनेक अवतारका कथा बुनिए। यो तन्त्रमन्त्रतिर लहसियो। मान्छेको दुःख निवारण गर्ने व्यवस्था, परिवर्तनको मुद्दा थाँती रह्यो। क्राइस्टको विचार गरिब, दलित र दासहरूको मुक्तिका लागि अचुक वाण थियो। प्रारम्भिक युगमा यसले त्यस्ता कामहरू गर्‍यो। पछि रोमन साम्राज्यवादीले यसलाई कब्जामा राखे र पूरै युरोपका सामन्तहरूको हतियार बनाए। इस्लाम धर्मका संस्थापक पैगम्बरको विचार पनि भ्रष्ट र अन्यायी समाजविरुद्ध विद्रोह थियो । मूर्तिपूजा, सूदखोरी, नैतिक मूल्यको पतन र शोषणविरुद्ध उनले नयाँ सामाजिक तथा अर्थव्यवस्था सुरु गरे । समूहका प्रधान 'ढाई'ले सबैलाई सबै कुराको समान वितरण गर्थ्यो। एक खालको कम्युन व्यवस्था थियो। 'खलिफा'को हैसियत पनि सर्वसाधारणको जस्तै हुन्थ्यो। उसको पनि सार्वजनिक आलोचना हुन्थ्यो। हरेक मुसलमानले आम्दानीअनुसार जाकात अर्थात् आयकर तिर्नुपर्थ्यो। यो गरिब समुदायलाई वितरण गरिन्थ्यो। इतिहासकारहरूका अनुसार यो न्याय व्यवस्था चार खलिफाको कालसम्म जम्माजम्मी साठी वर्ष चल्यो। पछि इसाई धर्मजस्तै यो पनि सामन्तकै कब्जामा पुग्यो। गरिबका लागि बटुलिने जाकात सामन्तको ढुकुटीमा पुग्न थाल्यो। सामन्तहरूले साम्राज्य फैलाउन इस्लाम धर्मलाई प्रयोग गर्न थाले।

समाज विज्ञानका विद्यार्थीले धर्मशास्त्रको अध्ययन गर्दा अहिलेको समाजलाई के लाभ हुन्छ?

धर्मशास्त्रलाई धार्मिक भएर अध्ययन गर्ने मान्छे बढीमा पण्डित हुन्छ। समाजशास्त्रीय अध्ययन गरियो भने हाम्रो समाजका विविध आयाम र जरा पर्गेल्न सकिन्छ। कम्तीमा अन्धआस्थामाथि मानिसहरूलाई प्रश्न गर्ने बनाउन सकिन्छ।

तपाईंको समग्र सोचलाई कुन किताबले परिवर्तन गरिदिएको थियो?

रुसी कम्युनिस्ट साहित्यले पहिलो पल्ट मलार्ई असली साहित्यसँग साक्षात्कार गराएको हो। गोर्कीको 'आमा', लोअर डेप्थ र आत्मकथात्मक उपन्यासका तीन खण्ड, निकोलाई ओस्त्रोब्स्कीको 'अग्निदीक्षा' अनि सोलोखोबका 'मान्छेको भाग्य र दोनका कथाहरू' मूलतः मेरो सोचलाई नै परिवर्तन गरिदिने किताब थिए। त्यसअघि त म पनि युधीर थापा, गुलशन नन्दा, मनोज बाजपेयी, वेदप्रकाश शर्माहरूलाई रातरातभरि पढ्थेँ।

तपाईंले सबैभन्दा मन पराएका केही किताबको नाम सुनौँ न!

विदेशीमा गोर्कीका 'आमा' र उनका आत्मकथात्मक उपन्यासहरू। सोलोखोबका 'मान्छेको भाग्य र दोनका कथाहरू'। चेखबका कथाहरू। मोपासाका कथाहरू। लुसुनका कथाहरू। उदय प्रकाशका कथाहरू। माया एन्जेलो, ल्यांग्स्टन ह्युज, ब्रेख्त, नाजिम हिक्मत, लोर्का, मिग्वेल हर्नान्डेज, वाल्ट ह्विटमन, धूमिल, पासका कविताहरू। स्वदेशीमा गुरुप्रसाद मैनालीको 'नासो', बालकृष्ण पोखरेलको 'सोधाइ र जवाफ', गोविन्दबहादुर मल्ल 'गोठाले'को 'प्रेम र मृत्यु'। पारिजातको 'पर्खालभित्र पर्खालबाहिर', धु्रवचन्द्र गौतमको 'कट्टेल सरको चोटपटक', डीपी अधिकारीको 'धर्ती अझै बोल्दैछ', लैनसिंह बाङ्देलको 'माइतघर', शिवकुमार राईको 'डाँक बंगला', इन्द्रबहादुर राईको 'आज रमिता छ'। आहुतिको 'नेपालमा वर्ण व्यवस्था', नारायण ढकालको 'शोकमग्न यात्री', तारानाथ शर्माको 'बेलायततिर बरालिँदा', 'पाताल प्रवास', रोशन शेरचनको 'चम्पारन ब्लुज'। कवितामा 'आमाको सपना' (रिमाल), 'घुम्ने मेचमाथि अन्धो मान्छे' (भूपि), वासु शशीका कविताहरू, 'आगोनिर उभिएको मान्छे' (विमल निभा), 'लयब्रह्म' (श्यामल), 'तपस्वीका गीत' (आहुति), 'गोविन्दले ठीक भन्यो' (पूर्णविराम)। पछिल्लो पुस्तामा 'प्रश्नहरूको कारखाना' (सरिता तिवारी), 'मनसरा' (निभा शाह), 'बाडुली र सुदूर सम्झना' (स्वप्निल स्मृति) र अन्य केही कवितासंग्रह मलाई मन परेका छन्।

अरूका रचनाबारे बेलाबेलामा टिप्पणी गर्नुहुन्छ। आफ्ना रचनाको मूल्यांकन चाहिँ कसरी भएको पाउनुहुन्छ? नेपाली साहित्यमा अहिले प्रचलित समीक्षा र मूल्यांकनको प्रवृत्तिबारे केही भन्नुस् न।

नेपाली साहित्यका निर्धारक र कथित 'किङमेकर'का लागि म अछुत हुँ। एउटा अछुतले आफ्नैबारे अब के भन्नु? यहाँ गहिरो जातिभेद छ, म ठोकेरै भन्छु। नभए, वैचारिक बहसका लागि साहित्य महोत्सव गर्छु भन्नेहरूले पनि यहाँ किन राई, लिम्बूबाहेक कसैलाई पहिचान पक्षधर नै देख्दैनन्? किन उनीहरू एक जना पनि नेवार लेखक, एक जना पनि मगर सर्जक, एक जना पनि थारू सर्जक र एक जना पनि दलित सर्जकलाई समेट्न चाहँदैनन्?

यहाँ समीक्षा र मूल्यांकन हुन्छ भन्ने मलाई रतिभर विश्वास छैन। एकाध अपवादले मलाई माफ गरून्। नत्र यहाँ एकथरी पुरोहित मार्का समीक्षक आफूकहाँ किताब टक्य्राउन आउनेलाई बाहेक अरूलाई पढ्दैनन्। अर्काथरी चालु समीक्षक अखबार र अनलाइनका पानालाई रच्छ्यान मात्र बनाउँछन्। यहाँ समीक्षकका नाममा कि त फ्यान छन् कि निन्दक मात्र छन्। कि त तिनले अरूको 'डिग्निटी'माथि प्रहार गर्न, अरूको किताबलाई ध्वस्त पार्न लेख्छन्, कि 'ख्वामित् हजुरको म त दास पो हुँ' भन्ने जनाउन विरुदावली लेख्छन्। अब यसलाई समीक्षा भन्नु? यस्ता समीक्षकहरूबाट के आशा गर्ने? मलाई अलिअलि मन पर्ने दुई जना समीक्षक हुन्, आहुति र हरि अधिकारी। यी दुई पनि आफ्नो अगाडि अग्लो भित्ता ठड्याएर बसेका छन्। हरि दाइ समीक्षकभन्दा बढी प्रतिक्रियात्मक टिप्पणीकार हुन्। अधिकांशले राम्रो भनेका किताबको छाला काढ्ने र अधिकांशले नराम्रो भनेको किताबलाई आकाश पुर्‍याउने उनको प्रवृत्ति छ। तैपनि कुरा नचपाई लेख्ने उनको शैलीको म प्रशंसक हुँ। तुलनात्मक रूपमा आहुति दाइ स्पष्ट र निडर टिप्पणी गर्छन्। तर, उनीसमेत  आफ्नो 'लक्ष्मणरेखा' नाघ्न चाहँदैनन्। 'गहुँगोरा अफ्रिका' कवितासंग्रहमा उनले विमला तुम्खेवालाई समेत रिमाल परम्पराका अनुयायी भनेका छन्। आहुति दाइले के लेखेका हुन्? रिमाल परम्परा अर्थात् हस्तक्षेपकारी कविता। तुम्खेवाप्रति मेरो कुनै आग्रह छैन। उनी विचार होइन, कवितालाई कला र मनोरञ्जनको साधन मान्ने प्रतिबद्ध कवि हुन्। उनी कसरी रिमाल परम्पराकी कवि भइन्? जब आहुतिजस्ता सबैभन्दा स्पष्ट र प्रखर टिप्पणीकारकै कुरा यस्तो छ भने अरूको कुरा गरिसाध्य हुन्छ र?

आफ्नो रचनालाई अरूसमक्ष प्रस्तुत गराउनु एउटा कुरा हो, तर अहोरात्र 'सेल्फ प्रमोसन' र चर्चाको खोजीमा मानिसहरू व्यस्त भएको खास गरी साहित्य वृत्तमा अचेल देख्न पाइन्छ। अझ 'स्क्वाड' नै गठन गरेर बाँकीलाई उठ्ने नदिने, आफूहरूको मात्र हालीमुहाली सुनिश्चित गर्ने प्रवृत्ति पनि देखिँदैछ। यसले लेखकलाई कहाँ पुर्‍याउला?

कहीँ पुर्‍याउँदैन। ऊ आफ्नो कुरा नलेख्ने, बजारले खोजेको लेख्ने स्थितिमा पुग्छ। त्यसो भएपछि 'नीलो चोली' र 'लुकेको समाज' नै लेख्नुपर्ने स्थिति आउँछ। हो, लेखकले आफ्नै कुरा, आफ्नै विचार लेखेर पनि लोकप्रिय बनाउने भाषाशैली चाहिँ अपनाउनैपर्छ।

अहिले अधिकांश लेखक अनि कतिपय प्रगतिशील लेखकमा पनि अलोकप्रियताबाट बच्ने प्रवृत्ति देखिन्छ। आफ्नो विचार प्रस्ट राखे, आलोचनात्मक मत राखे फलानो साहित्य महोत्सवमा नबोलाउलान् कि, मलाई बेवास्ता गरेरै मार्लान् कि भन्ने डर उनीहरूमा देखिन्छ। साहित्य फेस्टिभलमा गएर आउनेले कृतज्ञताका शब्दहरूले मिडियाका पाना रक्ताम्मे बनाएका हामीले देखेकै छौँ। मेरो कुरा गर्नुहुन्छ भने मैले त 'लोकतन्त्र र छेपाराहरू' शीर्षकको लेख लेखेकै कारण जागिर गुमाएको हुँ। 'अंग्रेजी र अर्ध सत्य' शीर्षकको अर्को लेखकै कारण धेरै ठाउँबाट बहिष्कृत भएको हुँ। तथापि, म पनि असल नियतले लागेका मान्छेको कमसल साहित्यलाई पनि राम्रो भनिदिन्छु। यो पनि, एकखालको 'पपुलिजम' नै हो।

Leave A Comment