‘कविता नपढ्नेहरू रुखा प्राणी हुन्’

शनिबार, १२ चैत २०७३, १० : ४८ सुजित मैनाली , Kathmandu
‘कविता नपढ्नेहरू रुखा प्राणी हुन्’

नेपाली कविता र निबन्धमा स्थापित र सुपरिचित नाम हो, श्यामल । उनका ‘तपाईंहरूमार्फत’, ‘लयब्रह्म’, ‘हतारमा यात्रा’ कवितासंग्रह र ‘रित्तो गाउँ’ निबन्धसंग्रह प्रकाशित छन् । उनको पठन र लेखन स्वभावबारे शुक्रवार साप्ताहिकका लागि सुजित मैनालीले गरेको कुराकानीः

कविता नपढ्ने, नबुझ्ने वा बुझ्न नचाहने उच्चपठित महानुभावहरूले जीवनको वास्तविक कलात्मक अनुरागलाई गुमाएका छन् । तसर्थ ती अति रुखा प्राणी हुन् भन्ने कुराले घोचेर म खिन्न हुन्छु । कविता थोरैले पढ्ने, तीमध्ये अति थोरैले बुझ्ने र अझ थोरैले आत्मसात् गर्ने विधा होला ।

आख्यान, निबन्ध आदि लेख्न समाजशास्त्र, मिथक, शास्त्रहरूको गहिरो अध्ययन आवश्यक पर्छ । यस्तो अध्ययन कविता लेख्न आवश्यक पर्दैन भनेर कसैले भन्यो भने ऊ कति सही हुन्छ ?
बिलकुल सही हुँदैन । अध्ययन र लेखन दुवै सामाजिक कार्य हुन् । एक कविले समाजबाट बिलकुल पृथक् बसेर कविताको रचना गर्नु असम्भव छ । उसले एकान्त साधना गरेको भए पनि त्यसमा समाज हुन्छ । व्यक्ति होस् वा प्रकृति, त्यो समाजमै हुने हो ।
अध्ययनका मूलतः दुई पाटा हुन्छन् । पहिलो, कविताको लेखन र पठन । दुवैका लागि समाजको अध्ययन आवश्यक छ । त्यसैले जीवन जगत्भित्र पसेर अवलोकन र अन्तरक्रियाबाट पाउन सकिने ज्ञान पहिलो कोटिमा आउँछ । दोस्रो, अरूले लेखिसकेका पुस्तक र विभिन्न श्रव्य–दृश्यका माध्यमबाट पाउन सकिने ज्ञान । पुस्तकबाट  मानव जीवनको लागि आवश्यक ज्ञान प्राप्त हुन्छ ।
मानिसकै बारेमा कविता रचना गर्दा पनि उसको मनोदशाको अध्ययन, उसको वातावरण र सांस्कृतिक मूल्यको अध्ययन, उसका निजी र सामाजिक व्यवहार, उसको संघर्ष, उसका मान्यताहरूको सूक्ष्म अध्ययन र अवलोकन नगरी जीवन्त रचना गर्न सकिँदैन । पुराना ग्रन्थ, शास्त्र वा पुराण आदिले हामीलाई त्यस समयको मानव समाज, उसका विश्वास र जीवनप्रणाली बुझ्न मद्दत गर्छन् । हामीले मिथकहरू र तिनले दिने अर्थ तिनैबाट पाउँछौँ । समाजसँगको जीवित संसर्गबाट लोकविश्वास तथा लोक प्रपन्च बुझेर तिनबाट आधुनिक र सभ्य मानव समाज बनाउने विविध उपकरणहरू सिक्छौँ । हाम्रा वेदजस्ता पूर्वीय वाङ्मयहरूबाट वैज्ञानिकहरूले पर्याप्त विचार र  सिर्जनात्मक ऊर्जा पाएका छन् । त्यसैले कसैले कविता, आख्यान वा निबन्ध लेख्न अध्ययन आवश्यक छैन भन्छ भने त्यो प्राणी अध्ययनविमुख मूढ प्राणी हो, ऊ मानिस बन्न बाँकी नै छ भन्ने बुझिन्छ । अग्निपुराणमा ‘कवित्वं तत्र दुर्लभम्’ भनिएको छ । एक त ब्रह्माण्डमा मनुष्य योनि पाउनै कठिन छ, त्यसमाथि कवित्व प्राप्त गर्नु अति दुर्लभ छ भन्छ, अग्निपुराणले । ज्ञान लिन नचाहने र समाज र पुस्तकको अध्ययन नगर्नेले मानवीय गुण नै पाएको हुन्न । त्यो अधुरो जुनी हो ।

अध्ययनमार्फत सूचना संकलन नगरी स्तरीय उपन्यास लेख्न सकिँदैन । क्लासिक उपन्यासको त कुरा छोडौँ, ‘बेस्ट सेलर’मा सूचीकृत ‘डा भिन्सी कोड’जस्ता हलुका खालका उपन्यासमा पनि धर्म, सभ्यता, मिथक, इतिहास आदिको सार खिचिएको छ । व्यापक अध्ययनमार्फत खिचिएका सूचना समेटेर लेखिएको कुनै कविता तपाईंले पढ्नुभएको छ ?
उपन्यासको काम कोरा सूचना संकलन र वितरण गर्नु हुन सक्तैन । त्यसले काव्यात्मक प्रभाव हासिल गरेको हुनुपर्छ । उपन्यासको आख्यानले मानवीय संवेदनाको गहिराइलाई सूक्ष्म दृष्टिका साथ नापेको हुनुपर्छ । हो, केही सस्ता बेस्ट सेलरहरूमा पनि आख्यान÷उपाख्यानलाई रोचक बनाउन धर्म, सभ्यता, मिथक, इतिहासजस्ता मानव जीवनका विविध पक्षलाई आधार बनाइएको हुन्छ । तर, राम्रो साहित्यका निमित्त सूचना कच्चा पदार्थ मात्र हो, त्यसको उत्पत्ति र प्रभावलाई हेर्ने कलात्मक प्रयास नै अपेक्षित हुन्छ ।  ‘महाभारत’ पनि कथात्मक कविता हो, सोफोक्लिजको ‘इडिपस’ नाटक पनि कवितामा रचिएको हो । सेक्सपियरका ‘जुलियस सिजर’लगायत सबै नाटक कवितामै छन् । हाम्रा बालकृष्ण समका नाटक पनि कवितामै छन् । देवकोटाको ‘प्रमिथियस’ पश्चिमी मिथकबाट लिएर रचिएको कविता हो । नपढीकन यस्तो ज्ञान हासिल हुन्न ।
करिब २५ वर्षअघि मैले मलाई अति मन पर्ने प्रख्यात अमरिकी कविमध्येका एक एलेन गिन्सबर्गको ‘सीआईए डोप क्यालिप्सो’ शीर्षक कविता अनुवाद गरेको थिएँ । यस कविताले अमेरिकी गुप्तचर संस्थाले चीन र त्यसका दक्षिणी छिमेकी मुलुकहरूमा मच्चाएको उत्पातलाई बडो मिहीन तरिकाले व्यक्त गरेको छ । यसमा सन् १९४९ मा माओत्से तुंगले चीनमा क्रान्ति सम्पन्न गरेपछि सीआईएको मद्दत पाइरहेको च्याङकाई सेकको सेना भागेर थाइल्यान्ड पुगेको, शान पर्वत क्षेत्रमा अफिम संकलन गर्न सिपाही पठाएर चियाङ माई शहरमा सीआइएले फाओ नामको सीमा पुलिस प्रमुखलाई घुस ख्वाएर पुलिस हाकिमकै अगाडि बेचेको, मिओ जनजातिको मोटे राजकुमार लाइफङले फ्रेन्चहरूका लागि काम गरेको, कम्युनिस्टहरूले फ्रेन्चहरूलाई लखेटेको जस्ता ऐतिहासिक सूचनाहरूको भरपूर उपयोग गरिएको छ । त्यति मात्र होइन, सीआईएका स्थानीय मुखियाहरूका बारेमा पनि उल्लेख छ यसमा । यसरी माओको चिनियाँ क्रान्तिपछिको एक विशेष ऐतिहासिक कालखण्डमा कम्युनिस्टलाई असफल तुल्याउन सञ्चालित सीआईए गतिविधि कविताको विषय बनेको छ । त्यस समय त्यस्ता घटनाको सूक्ष्म अध्ययन–अवलोकन नगरी यस्तो कविताको रचना सम्भव नै थिएन ।   

भनिन्छ, अधिकांश नेपाली साहित्यकार ‘फिक्सन’ मात्र पढ्छन् । चाल्र्स डिकेन्स र दोस्तोएभ्स्कीलाई पढेर लेखन शैली सिक्न सकिएला, तर लेख्ने विषय खोज्न ‘नन–फिक्सन’मै पस्नुपर्छ, होइन र ?  
यो दाबी शतप्रतिशत सही नहोला । तर, पनि धेरै मानिसलाई फिक्सनले बढी आकर्षित गर्छ भन्न सकिन्छ । भाषाको अवरोध हुँदाहुँदै पनि कथातŒवका कारण फिक्सनले विषयवस्तुलाई सजिलै बुझ्नयोग्य बनाइदिन्छ । नन–फिक्सनमा त्यस्तो सूत्र हुदैन । तथापि केही अटोबायोग्राफी वा बायोग्राफी कथात्मक पाराले लेखिएका हुन्छन् ।
लेख्ने विषय खोज्न नन–फिक्सनमा जान पनि सकिन्छ, नजान पनि । समाजको अध्ययन गर्न किन तिनमा जानुपर्छ ? खास–खास समाजमा पस्नका लागि उपलब्ध भएसम्म तिनको सहयोग लिन सकिन्छ । नन–फिक्सनमा नलेखिएका अनगिन्ती विषय पनि त छन् ! तिनका लागि नन–फिक्सनको पुस्तक बोकिरहनुपर्दैन ।
लेखन शैली त बाल्जाक, डिकेन्स, तुर्गनेभ, टल्स्टोय, हेमिंग्वे, गोर्की वा दोस्तोएभ्स्कीजस्ता आख्यानकार मात्र होइनन्, डिडेरो, रुसो, मार्क ट्वेन आदिबाट पनि सिक्न सकिने भयो । हो, आख्यानको सूत्र र संरचनाको मामलामा यो सही हुन सक्ला । तर, अब्बल लेखकले तिनकै लेखनशैली पछ्याउने होइन, ती पढेर आफ्नो विशिष्ट शैली निर्माण गर्ने हो । नोम चम्स्की आख्यानकार होइनन्, तर उनको स्तम्भ लेखन वा अन्तर्वार्ताबाट पनि त थुप्रै कुरा सिक्न सकिन्छ । फिक्सन लेखकका नन–फिक्सन पुस्तक पनि हुन्छन् । जस्तो ‘द सटानिक भर्सेज’का लेखक सल्मान रुस्दीको ‘जोसेफ यान्टन’ । यो पढ्नु पनि एक प्रकारले शैली निर्माण र कथ्य रचना सिक्नु हो, रुस्दीको जीवन कथा पढ्नु मात्र होइन ।

फिक्सन र नन–फिक्सन विधाका तपाईंलाई मन पर्ने केही किताबका नाम सुनौँ न ।
यी अंगे्रजी, स्पानिस, फ्रेन्च, रुसी, चिनियाँ आदि भाषाबाट आएका पुस्तक हुन् । फिक्सन धेरै छन् । तर, अहिले सर्सर्ती नाम आउँदा ‘गुलिभर्स ट्राभल्स’, ‘डन क्विहो’, ‘वार एन्ड पिस’, ‘ब्रदर्स कार्माजोभ’, ‘अ हिरो अफ आवर टाइम’, ‘मदर’, ‘द ओल्ड म्यान एन्ड द सी’, ‘द डिस्ग्रेस’, ‘द टेम्पल अफ डान’, ‘वन हन्डे«ड इयर्स अफ सोलिच्युड’, ‘द स्टे«न्जर’, ‘द ट्रायल’, ‘अ म्याड्म्यान्स डायरी’, ‘अ ट्रु स्टोरी अफ आह क्यू’, ‘थिंग्स फल अपार्ट’ आदि सम्झिरहेको छु ।
नन फिक्सनमा रुसोको ‘माई कन्फेसन्स’, पाब्लो पिकासोका बायोग्राफीहरू, ‘द सिंगापुर स्टोरी ः फ्रम द थर्ड टु फस्र्ट’, नेल्सन मन्डेलाको ‘अ लंग वाक टू फ्रिडम’, मार्खेजको ‘लिभिङ टू टेल द टेल’ आदि थप केही सम्झने गरी पढियो ।
यी किन पनि उल्लेख्य लाग्छन् भने यिनले मेरो गद्य लेखनको अभिरुचिलाई तिखारे । यिनमा मैले थुप्रैै नेपाली आख्यान र गैरआख्यानलाई समावेश गरेको छैन ।

देश–दुनियाँ बुझ्न किताब बढी सहायक हुन्छ कि यात्रा ?
दुवैको विशिष्ट महŒव हुन्छ । एउटाको ठाउँ अर्कोले लिन सक्तैन । अझ पुस्तकमा पढेको ठाउँका यात्रा झन् कुतूहलपूर्ण, ज्ञानमुखी र प्रभावशाली हुन सक्छ । तथापि, यात्राले ‘फस्र्ट ह्यान्ड’ अनुभव दिन्छ भन्ने म ठान्दछु । कुनै लेखकले तपाईंले देखेको वा अनुभव गरेको कुरा नदेखेको वा अनुभव नगरेको हुनु सम्भव छ । जहाँ आफैँले यात्रा गर्नु सम्भव हुँदैन वा जहाँको यात्राका लागि पूर्वज्ञानको निकै जरुरी पर्छ, त्यसका लागि पुस्तक, चित्र, चलचित्रजस्ता सामग्री निकै उपयोगी हुन्छन् । खास गरी फरक सांस्कृतिक परिवेशमा जाँदा यस्ता सामग्रीले यात्रालाई बढी सहज, सुरक्षित र उद्देश्यमूलक बनाउन सहयोग गर्छन् । यात्राको स्थान पुस्तकले लिन सक्तैन । यात्रा सम्पूर्ण र प्रत्यक्ष अनुभव हो, पुस्तकको यात्रा अरूको सहयोगमा गरिएको मनोलोकको ‘सेकेन्ड ह्यान्ड’ यात्रा हो ।

‘कविताबारे व्यर्थको चिन्ता’ शीर्षकको निबन्धमा तपाईंले अमेरिकी कवि केनेथ रक्सरोथले ‘कवितालाई माया गर्छु भन्ने, तर कविताका किताब चाहिँ नकिन्ने मानिससँग मलाई बेस्कन रिस उठ्छ’ भनेको सन्दर्भ उद्धृत गर्नुभएको थियो । यस्तो रिस तपाईंलाई पनि उठ्दो हो  ! नेपाली पाठक पनि कविताका किताब किन्दैनन्, उपन्यास र आत्मकथा मात्रै किन्छन् भनिन्छ नि ?
केही पाठक राम्रा कविताका पुस्तकलाई सिरानीमुनि राख्छन् र कवितासँगै निदाउँछन् । तर, तिनलाई कविताको व्यावहारिक उपयोगिताको खोज बढी हुन्छ । कोही राम्रा नराम्रा कविता छुट्याउन सक्तैनन् । तसर्थ तिनका लागि कविताको खास मूल्य हुँदैन । त्यसैले तिनको दोहोलो काढ्नुको केही अर्थ हुन्न । कसैले कविताको पुस्तक नकिनेकोमा केनेथ रक्सरोथको जस्तो रिस मलाई त उठेन, तर कविता नपढ्ने वा नबुझ्ने वा बुझ्न नचाहने उच्चपठित महानुभावहरूप्रति भने मेरो मनमा अनायास दयाभाव उम्रन्छ । तिनले जीवनको वास्तविक कलात्मक अनुरागलाई गुमाएका छन्, तसर्थ ती अति रुखा प्राणी हुन् भन्ने कुराले घोचेर म खिन्न हुन्छु । तिनले प्रकृतिलाई, फूललाई, नदी या शिशुलाई कसरी माया गर्छन् होला भनेर मलाई ताज्जुब लाग्छ । म सबैले कविता पढ्नुपर्छ भन्ने दाबी गर्न सक्तिनँ, तर कविताको शक्तिबारे उच्च शिक्षित मानिसहरू समेत निरक्षर हुनु मलाई ठीक लाग्दैन । कविता थोरैले पढ्ने, तीमध्ये अति थोरैले बुझ्ने र अझ थोरैले आत्मसात् गर्ने विधा होला ।

पुरानाजति सबै मिल्काउन लायक हुँदैनन् भन्दै तपाईं माक्र्सवादी, विनिर्माणवादी र पहिचानवादीसँग बहस गरिरहनुभएको हुन्छ । तर, मुन्धुम, उपनिषद्, त्रिपिटक आदिलाई आफ्ना रचनामा त्यति सामेल गर्नुहुन्न । तपाईंलाई यस्ता खालका रचनाबारे पढ्न/लेख्न मन लाग्दैन ?
हो, मैले त्यसो भनेकै हुँ । तर, मलाई कलामा आदेश मन पर्दैन । वेद, उपनिषद्, त्रिपिटक, बौद्ध जातक कथा, लोकसाहित्य, मुन्धुम आदि पक्कै पनि मेरो अध्ययनको रुचिका विषय हुन् । तिनलाई पन्छाएर हाम्रो समाजको समग्र अध्ययन हुन सक्तैन । जीवन जगत्लाई बुभ्mन तिनले अवलम्बन गरेका मूल्यप्रणालीहरू बुझ्नैपर्छ र तिनको जरा हाम्रा प्राचीन ग्रन्थ र परम्परागत मान्यतासँग गाँजिएका छन् । तर, त्यहाँबाट मात्रै कलाको धारा बग्छ भन्ने मिथ्या वा अन्धविश्वास ममा छैन । ती पक्कै पनि उपयोगी सामग्री हुन्, किनभने ती हामीलाई हाम्रा पुर्खाको चेतनाका उपहार हुन् । तर, मलाई त्यहीँ थिग्रिएर आफूलाई बन्दी बनाउन मन लाग्दैन । म तिनलाई सतत प्रवाहित देख्न चाहन्छु । केही महानुभावहरूको जस्तो संस्कृतिका नाममा आदिम समाजतिर फर्कने लोकाचारमा मेरो पटक्कै रुचि छैन । कुनै बेला मेरो रचनामा तिनको उपयोग होला । तर, अहिल्यै किन गरिनस् भनेर कसैले सोध्यो भने म उसलाई भनिदिन्छु– तिमी आफ्नो काम गर, म आफ्नो कामको चिन्ता आफैं गरुँला । मैले आजसम्म कसैले दिएको शीर्षकमा वा विषयवस्तुमा लेख्ने गरेको छैन ।

तपाईंको समग्र सोचलाई कुन किताबले परिवर्तन गरिदिएको थियो ?
यसका निम्ति एउटै पुस्तक जिम्मेवार छैन । मलाई कुनै पनि धार्मिक र साम्प्रदायिक उद्देश्यले रचित पुस्तकले कहिल्यै छुन सकेन । अघि–अघि राजालाई देउतासरह मान्ने मेरो परिवारमा राजा भनेको कबिलाको मुखियाको अर्को रूप हो भनी पहिलो पटक चिनाउने नेहरुको पत्रले मलाई राजाविरोधी कित्तामा पु¥याउने विचारको बीउ रोपेको थियो । त्यसपछि मेरो परिवारले राजाको बारेमा कुरै गर्न छाडिदियो र बिस्तारै उसको विवेक आलोचनात्मक बन्दै गयो । माक्र्स–एंगेल्सका दर्शन र अर्थशास्त्रका पुस्तकले मेरो मथिंगललाई बेस्सरी हल्लाइदिएका हुन् । मैले दुनियाँलाई हेर्ने दृष्टिकोण इतिहासचेत माक्र्सवादी साहित्यबाटै पाएको हुँ । रिमालको ‘आमाको सपना’ मलाई नेपाली कविताको गुणवत्तातिर आकषर््िात गर्ने अर्को पुस्तक थियो । यसले सरलता र गहनता परिपूरक गुण हुन्, विरोधी गुण होइनन् भन्ने सिकायो । यसरी सयौँ पुस्तकको पठन र सामाजिक तहसँगको नियमित संसर्गबाट मेरो ज्ञानको क्षितिज फराकिलो बन्दै गएको हो र मेरो कलाअभिरुचि परिष्कृत बन्दै गएको हो ।     

कविहरू कोमल मनका हुन्छन् भनिन्छ । कुनै किताब पढेर रुनुभएको छ ?
रोएँ हुँला । कुन–कुन पुस्तक पढेर म रोएँ भन्ने तथ्यांक भने मसँग छैन । रुवाउने सामथ्र्य भएका पुस्तक सायद कमै निस्कन्छन् या ती मेरा लागि सहज पहुँचमा छैनन् । सायद कठोर मनका ‘कविहरू’लाई तपाईंले देख्नुभएको छैन क्यारे, जो हत्या र हिंसामा आह्लादित हुन्छन् । उनीहरूको कोमलता कहाँनिर छ भनेर सोधिहेर्नोस् न ! यो प्रश्न तपाईंले मलाई नसोधेकै भए जाती हुन्थ्यो । कवितामा हिंसा खतरनाक कुरा हो र हिंसामा हाँस्नु झनै खतरनाक । तपाईं मलाई शुभकामना दिन सक्नुहुन्छ– म मेरो कविताबाट मानवीय कोमलताको रक्षा गर्न सकूँ ।  

 

Leave A Comment