सेलिब्रिटी हुुनुका दुःख

आइतबार, १३ चैत २०७३, १२ : २२ अनिल यादव , Kathmandu
सेलिब्रिटी हुुनुका दुःख

देख्नलाई सेलिब्रिटीको जिन्दगी भव्य र शानदार देखिन्छ । मिडियाले पछ्याइरहेको हुन्छ, फ्यानहरूले अटोग्राफ लिइरहेका हुन्छन्, समाजमा उनीहरूको प्रतिष्ठा हुन्छ । तर, देखिएका कुरा सबै सत्य हुँदैनन् । भोकभोकै सुटिङ गर्नुपर्छ, बिरामी परेको बेला पनि आराम गर्न पाइँदैन, अनि आफ्नाबारे छापिएको कुनै झुटो समाचारका कारण तनाव बेहोर्नुपर्छ । अनिल यादवले सेलिब्रिटीका दुःखको सूची तयार पारेका छन् ।

घरमै बसिरहेका बेला अनमोल केसीको मोबाइलको ब्यालेन्स सकिन्छ । हाफपाइन्ट लगाइरहेकै सामान्य अवस्थामा उनी रिचार्ज कार्ड किन्न नजिकैको पसलमा पुग्छन् । पसलेसँग रिचार्ज कार्ड किन्न भ्याएका हुन्नन्– उनका फ्यानहरू उनलाई देखिहाल्छन् र घेरिहाल्छन् । अवस्था जस्तोसुकै होस्, हुलिया जस्तोसुकै होस्– फ्यानलाई खुशी बनाउन उनी फोटो खिच्न तयार हुनुपर्छ ।

०००
भोकभोकै अवस्थामा केकी अधिकारी साथीको पार्टीमा पुगेकी हुन्छिन् । थालमा खाना लिएर टेबलमा बस्नैलाग्दा उनका प्रशंसक उनको छेउमा टुप्लुक्कै आइपुग्छन् । फोटो खिचौँ न प्लिज ? माया गर्नेहरूको आग्रह उनी नकार्न सक्दिनन् । फोटो खिचाउनेहरूको ग्रुप त्यहाँ जम्मा भइसक्छ । पालैपालो फोटो सेसन हुन थाल्छ । टेबलमा खाना सेलाइसक्छ,
भोकले पेट कराउन थाल्छ । त्यही पनि उनी आफूलाई सम्हाल्न तयार हुनुपर्छ ।


०००
रेखा थापाको ज्यानलाई सञ्चो हुँदैन । तर, फिल्मको सुटिङको सेड्युल टाइट हुन्छ । बिरामी शरीरमै भए पनि उनले एक्सन सिन दिनुपर्छ । फिल्मको भिलेनलाई फ्लाइङ किक हान्नुपर्छ । शरीरलाई जस्तोसुकै गाह्रो भइरहेको नै किन नहोस्, उनमा स्फूर्ति हुनुपर्छ ।

०००
कलाकार अर्थात् सेलिब्रिटी भन्नेबित्तिकै सोचिन्छ– उनीहरूको जीवन भव्य होला । जस्तो रिल लाइफ, त्यस्तै होला रियल लाइफ । हाँसीखुशी देखिन्छन् सधैँ । उनीहरूको जिन्दगीमा सुखैसुख होला, आनन्द नै आनन्द होला ।
तर, वास्तविकता अर्कै हुन्छ । अझ नेपाली कलाकारको हकमा त्यसरी अनुमान लगाउनु तर्कसंगत हुँदैन । कलाकार भइसकेपछि उनीहरूले भोग्ने दुःखका कथा र व्यथा अनेक छन् । उनीहरूका पीडा  अरूका भन्दा फरक छैनन् ।

अभिनेत्री रेखा थापा ग्ल्यामर क्षेत्रको जिन्दगी रंगिन हुन्छ भन्ने बुझाइको समर्थनमा छैनन् । एक दशकअघिदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय उनी भन्छिन्, ‘हामी त अरूलाई रङ दिएर आफू चाहिँ रङहीन जिन्दगी बाँचिरहेका हुन्छौँ । रंगिन त देखिने मात्र हो, खासमा त हाम्रो कुनै रङ हुँदैन । न मानलाग्दी खान पाउँछौँ, न सुत्न । हामीलाई धेरै जिम्मेवारीले बाँधेको हुन्छ ।’

भोक न तिर्खाको जिन्दगी
तात्तातो खान मन कसलाई हुँदैन र ? कलाकारको पनि आममान्छेको भन्दा फरक मन त पक्कै हुँदैन । तर, कुनै कार्यक्रम, पार्टी या आफ्नै फिल्मको प्रेस मिटमा पुग्दा नेपाली कलाकारहरू यो चाहनाबाट वञ्चित भइरहेका भेटिन्छन् । ‘फ्यानहरूलाई हामी उनीहरूले चाहेको बेला उपलब्ध हुनुपर्छ भन्ने चाहना हुन्छ,’ अभिनेत्री केकी अधिकारी भन्छिन्, ‘त्यसैले मसँग धेरैपल्ट यस्तो भएको छ । कहिलेकाहीँ त फोटो खिचाउँदा र इन्टरभ्यू दिँदादिँदै खानै सकिसकेको हुन्छ । अनि, भोकभोकै घर फर्किनुपर्छ ।’

अभिनेता भुवन केसीले पनि यस्तो अनुभव धेरै गरेका छन् । ‘साथीभाइको पार्टीमा रमाइलो गर्न जाऊँ न भनेर गइएको हुन्छ,’ उनले सुनाए, ‘प्लेट लिएर खान बसेको हुँदैन, फ्यानहरू माया गरेर फोटो खिच्न आउनुहुन्छ । मासु चपाउँदाचपाउँदै फोटो खिच्न तयार हुनुपर्छ । नाइँ भन्न मिल्दैन । त्यसैपछि त पालैपालो फोटो खिच्ने क्रम सुरु हुन्छ । र, खानै खान नमिल्ने स्थिति हुन्छ ।’

हलमा पुगेर फिल्म हेरिसकेपछि एक शब्दमा कमेन्ट गरेजस्तो सजिलो छैन, कलाकारको जिन्दगी । ‘भोक न तिर्खा भनी काम गर्नुपर्ने रहेछ,’ छोटो समयमै चर्चा बटुलेकी अभिनेत्री साम्राज्ञीराज्यलक्ष्मी शाह भन्छिन्, ‘हामी दुई घण्टाको फिल्मका लागि महिनौँ पेलिन्छौँ । कहिल्यै टाइममा खान पाइँदैन । कहिले भोकभोकै सुटिङ गर्नुपर्छ ।’

गसिपले दिने तनाव
कलाकारका विषयमा मिडियामा गसिप बन्छन् । उनीहरूका पहिरनका चर्चा हुन्छन्, अफेयरका चर्चा हुन्छन् । उनीहरूमाथि बन्ने यस्ता गसिपले उनीहरूको व्यक्तिगत जीवनमा कस्तो असर गरिरहेको हुन्छ ? परिवार र आफन्तमा कस्तो प्रभाव पारिरहेको हुन्छ ? त्यसप्रति कसैको चासो हुँदैन ।

विभिन्न गसिपका कारण चर्चामा आइरहनेमध्ये पर्छिन्, अभिनेत्री रेखा थापा । उनको अफेयरदेखि मृत्युसम्मका हल्लाहरू बजारमा भए । ‘गसिपले दर्शकलाई इन्टरटेन गर्ला,’ रेखा भन्छिन्, ‘लेख्नेका पनि आफ्ना बाध्यता होलान् । त्यसैले गाली गर्न मिल्दैन । तर, कहिलेकाहीँ गसिपले परिवारमा ठूलो तनाव निम्त्याइरहेको हुन्छ । यसको पनि ख्याल गर्नुपर्छ ।’ केही महिनाअघि मात्र केही ब्लगहरूमा ‘रेखा थापाको मृत्यु’ भनेर अफवाह फैलिएको थियो । त्यसले रेखाका शुभचिन्तक र आफन्तजनलाई ठूलो तनाव दिएको थियो । ‘हाम्रा पनि आफन्त हुन्छन्, परिवार हुन्छ, त्यसरी जे पाए त्यही लेख्न त भएन नि,’ उनले भनिन्, ‘त्यतिबेला मलाई थुप्रै कल आएका थिए । आफन्तहरू साह्रै चिन्तामा परेका थिए ।’

फिल्म क्षेत्रसँग राम्ररी परिचित पनि हुन नपाउँदै अभिनेत्री रजनी केसीले गसिपका कारण भोग्नुपरेको ठूलो तनाव उनले कहिल्यै बिर्सिन्नन् । उनी निर्माता छविराज ओझाको फिल्म ‘लोफर’बाट दुई वर्षअघि डेब्यू भएकी हुन् । त्यतिबेला उनको निर्माता ओझासँग अफेयर रहेको गसिप बाहिर आइदियो । त्यही बेला उनको घरमा बिहेको कुरा चलिरहेको थियो । केटाहरू माग्न आइरहेका थिए । विभिन्न नयाँ–नयाँ प्रोजेक्टमा काम गर्ने अफर आइरहेका थिए । तर, त्यही गसिपका कारण उनलाई शंकाको दृष्टिले हेरियो । ‘फिल्मकर्मीसम्मले गलत नजरले हेरे,’ रजनी दुःख पोख्छिन्, ‘त्यही कारण आफन्त, साथीभाइ सबैले यो क्षेत्र छोड्न आग्रह गरे । यति भई–भई पनि किन यही काम गर्छस्, यसले तेरो भविष्यको सम्बन्धमा असर गर्छ, काममा असर गर्छ भनेर सम्झाए । तर, पनि म सम्हालिएँ ।  ममी त समझदार हुनुहुन्थ्यो । तर, अरूलाई ‘त्यस्तो होइन’ भनेर सम्झाउँदा सम्झाउँदा हैरान भएको थिएँ ।’

गसिपकै कारण अभिनेत्री वर्षा शिवाकोटीले पनि तनाव बेहोरिन् । डेढ वर्षअघि उनले आफ्नो एउटा प्रोफाइल फोटो चेन्ज गर्दा त्यही फोटोलाई लिएर एउटा अनलाइनले गसिप बनाएछ– ‘सन्नी लियोनजस्तै बन्दैछिन् वर्षा ।’ गसिपमुनि धेरैले जथाभावी कमेन्ट र भद्दा गाली गरेका थिए । वर्षा त्यतिबेला एउटा म्युजिक भिडियोको सुटिङमा थिइन् । ‘तेरो बारेमा यस्तो आको छ भनेर साथीभाइले खबर गरे,’ वर्षाले सम्झिइन्, ‘मलाई पनि धेरै कल आयो । घरबाट पनि परिवारको, आफन्तको कल आयो । एकदमै डिस्टब्र्ड भएँ । कामै  गर्न सकिनँ । त्यो गसिपको शीर्षकले मात्र गलत आशय दिन्थ्यो, भित्र कन्टेन्ट त्यस्तो नराम्रो केही थिएन । तर, हुनु तनाव भयो ।’
अभिनेत्री करिश्मा मानन्धरको पहिरनलाई लिएर बन्ने गसिपप्रति दुःखमनाउ छ । ‘हामीलाई थाहै नभईकन शरीरको कुनै भाग एक्सपोज भएकोे हुन्छ र त्यही कुरालाई कुप्रचार गर्दा दुःख लाग्छ,’ करिश्मा भन्छिन्, ‘त्यतिबेला अब न खण्डन गर्नु, न झगडा गर्नु । चुप लाग्नुपर्छ । त्यही पनि हाम्रो मानसम्मानमा असर त पुगिरहेकै हुन्छ नि । मानसिक तनाव पनि हुन्छ । परिवारमा पनि तनाव हुन्छ ।’

केही महिनाअघि मात्र अभिनेत्री साम्राज्ञीराज्यलक्ष्मी शाहले आफ्नो जन्मदिनमा ब्वाइफ्रेन्ड सार्वजनिक गरेको भनेर गसिप आएको थियो । ‘फिल्म लाइनमा आउनुअघि नै यो सब हुन्छ भनेर त मलाई थाहा थियो,’ साम्राज्ञी भन्छिन्, ‘त्यही पनि यसरी अरूका सम्बन्धमाथि गसिप बन्दा मन त दुख्छ नै । अनमोल केसीसँग काम गर्दा ऊसँग पनि हल्ला चलेकै हो । आज एउटासँग, भोलि अर्कोसँग चल्ला । त्यही भएर मलाई सोध्ने मेरा परिवार र साथीभाइलाई ‘भविष्यमा अरूसँग पनि अफेयर छ भनेर हल्ला हुन सक्ला, सुन्नलाई तयार हुनुस्’ भन्दिन्छु ।’

टाढिन्छन् आफन्त
आठ वर्षपछि यो वर्षको तिहारमा अभिनेत्री वर्षा शिवाकोटी आफ्नो मामाघर (झापा) पुगेकी थिइन् । उनी सानो छँदा उनका आफन्तहरू उनलाई नाच्न आग्रह गर्थे । उनी कम्मर मर्काई–मर्काई नाच्थिन् । ‘कलाकार भइसकेपछि म मामाघर पुग्दा धेरैले मलाई हेर्ने नजर नै फरक पाएँ,’ उनले सुनाइन्, ‘सानोमा जसरी जथाभावी नाच्न पनि भएन । ननाच्दाखेरि अब यो घमण्डी भइछे भन्नेसम्मको कुरा आयो । सबै आफन्तकोमा पुग्न नसक्दा कलाकार भइसकेपछि ठूली भइछे सम्मको प्रतिक्रिया आयो । ’

धेरै कलाकार भन्ने गर्छन्– कलाकार भइसकेपछि आफन्तहरू टाढिँदै जान्छन् । कामको व्यस्तताका कारण आफन्तका बिहे, व्रतबन्ध, पार्टीमा पुग्न नसक्दा उनीहरू रिसाउने अधिकांश कलाकारको अनुभव छ । अभिनेता भुवन केसी यही कुरालाई आफ्नो जिन्दगीको दुःखको पाटो ठान्छन् । ‘हामीले निर्माताको फिल्म साइन गरेपछि सुटिङ बीचमै छोड्न मिल्दैन,’ उनी भन्छन्, ‘त्यही कारण आफ्ना नजिकका मान्छेको बिहे, व्रतबन्धमा सहभागी हुन पाइँदैन । आफन्तहरू बिरामी हुँदा, निधन हुँदा चाहेर पनि जान सकिँदैन । नजाँदा ‘पाँच मिनेट पनि अनुहार देखाउन नभ्याउने भइस्, ठूलो भान्छे भइस्’ भन्दै गुनासो पोख्छन् । यसरी आउन सकिएन भनेर कारण भन्दासम्म उनीहरू विश्वास गर्दैनन् । कति आफन्तहरू यस्तै कारणले टाढा भएको अनुभव मसँग छ ।’

सुटिङका दुःख
पर्दामा फिल्म हेर्दा जति रमाइलो हुन्छ, फिल्मको सुटिङ गर्दा त्यति रमाइलो हुँदैन । सुटिङका पनि आफ्नै दुःख हुन्छन् । ‘म स्कुटी चलाएर सुटिङमा पुग्दा धेरैले अचम्म मान्दै ‘तपाईं स्कुटी चढ्नुहुन्छ ?’ भनेर सोध्नुहुन्छ,’ अभिनेत्री केकी अधिकारीले भनिन्, ‘तर, हाम्रो पेशा अरूभन्दा कुनै भव्य छैन । बैंकमा काम गर्ने मेरो साथीको भन्दा फरक छैन मेरो काम । मात्र पेशा फरक हो । ’ उनले सुटिङका बेला ड्रेस चेन्ज गर्नलाई समस्या हुने गरेको बताइन् । ‘सुटिङ अनेक स्थानमा भइरहेको हुन्छ । कतै कपडा फेर्ने ठाउँ हुँदैन, कतै ट्वाइलेटको समस्या हुन्छ,’ उनले भनिन्, ‘यो अधिकांश कलाकारको समस्या हो । मैले धेरैपल्ट नजिकैको घरमा गएर अनुरोध गरेर कपडा फेरेको छु । यस्तै दुःख देखेर होला, मलाई सुटिङ हेर्न आउने धेरै दर्शकले ‘फिल्म हेर्दा आनन्दले हेरिन्थ्यो र सहजै कमेन्ट गरिन्थ्यो । तर, धेरै दुःख हुँदोरैछ’ भन्दै सुटिङस्पटमै प्रतिक्रिया दिनुभएको छ ।’

यता रेखा थापा कलाकार भएपछि दिन र रात नभनी काम गर्नुपर्ने बताउँछिन् । भन्छिन्, ‘मेरा कति रातहरू सुटिङका कारण एक प्याकेट चाउचाउका भरमा बितेका छन् । ‘शासन’ भन्ने फिल्मको सुटिङका बेला मध्यरातमा पानीमा भिज्नुपर्ने सिन थियो । आगो ताप्न सक्ने व्यवस्था पनि थिएन । त्यस्तो अवस्थामा पनि काम गरिएको छ । निर्देशकलाई फिल्म टाइममा सक्ने हतार हुन्छ । त्यसैले कलाकारले आराम गर्न पाउँदैन ।’  

बाहिर खुशी, भित्र दुःखी
हास्य कलाकार दीपकराज गिरी भन्छन्, ‘कलाकार सधैँ खुशी देखिनुपर्छ । अझ हास्य कलाकारलाई त रुने अनुमति नै छैन ।’ उनले यो त्यसै भनेका होइनन् । दुःख परेका बेला पनि हाँस्नुपर्ने बाध्यता उनले धेरै पल्ट खेपेका छन् । ‘सात वर्षअघि मेरो भाइ बाइक एक्सिडेन्टमा परेको थियो,’ उनले सम्झिए, ‘त्यतिबेला म हस्पिटलबाट औषधि किन्न भनेर निस्किएको थिएँ । एकजना फ्यानले ‘हेल्लो दीपक दाइ के छ’ भन्नुभयो । ‘ठीक छ’ भन्दै मुुस्कुराएँ । यथार्थ जे भए पनि मैले उसलाई निराश पार्न सक्दिनँ । हामी कलाकारको सबैभन्दा ठूलो पीडा भनेकै पीडा देखाउन नसक्नु नै हो । मनमा पीडा छ भने पनि अनुहारमा मुस्कान हुनुपर्छ । यो हाम्रो बाध्यता हो, कर्तव्य हो । तर, हामी पनि मान्छे न हौँ । पीडा त भइहाल्छ । त्यसैले म प्रायः गाडीमा बसेर पीडा पोख्ने, रुने काम गर्छु ।’  

भुवन केसीसँग पनि हस्पिटलमा बिरामी भेट्न जाँदा फ्यान रिसाएका अनुभव छन् । ‘हस्पिटलमा बिरामी भेट्न गएको बेला फ्यानहरू फोटो खिच्न खोज्नुहुन्छ,’ उनले भने, ‘‘एकछिन ल ?’ भन्यो भने कस्तो ठूलो भा’को फोटो पनि खिच्न नमान्ने भन्दै रिसाउँछन् । हाम्रो बाध्यतालाई बुझिदिए हुन्थ्यो नि ।’

गायक–गायिकाका पनि आफ्नै दुःख छन् । सम्झौता गरिसकेपछि जस्तोसुकै अवस्थामा पनि गाउन तयार हुनुपर्छ उनीहरू । ‘भोलि कार्यक्रमको सम्झौता गरेको छु र आज बिरामी भएँ, गर्दिनँ भन्न पाइँदैन । थाकेँ भन्न पाइदैन । टन्सिल भा’को बेला पनि गाउनुपर्छ, उफ्रिनुपर्छ । धेरैपल्ट गाएकै छु, उफ्रिएकै छु,’ गायक प्रमोद खरेलले भने ।

भनिन्छ, कलाकार अर्थात् सेलिब्रिटीको सार्वजनिक जीवन हुँदैन । आफूहरूले चाहेर पनि सर्वसाधारणको जिन्दगी जिउन नपाउने बताउँछिन्, अभिनेत्री करिश्मा मानन्धर । ‘आफूलाई मनलागेको स्थानमा जान पनि धेरै सोच्नुपर्छ,’ उनले भनिन्, ‘हामीलाई पनि सर्वसाधारणसरह जिन्दगी बाँच्ने चाहना हुन्छ । तर, पाइँदैन ।  हामीलाई पनि रुन मन लाग्छ । तर, हामीले हाम्रो भावनालाई नियन्त्रणमा राख्नुपर्छ । हामीलाई हाम्रो भावना यत्रतत्र देखाउने अधिकार छैन । हामी सधैँ हाँसिरहनुपर्छ, खुशी हुनुपर्छ । सामान्य अवस्थामा रहन सिक्नुपर्छ । सायद त्यही भएर सेलिब्रिटी अरूको आइडियल पर्सन हो ।’

अभिनेता अनमोल केसीलाई सपिङ गरिरहन मन लाग्छ । उनी विशेष गरी भाटभटेनी सपिङ सेन्टर जान रुचाउँछन् । तर, फ्यानहरूका कारण उनी त्यहाँ जान सक्दैनन् । ‘चाहेर पनि म भनेको ठाउँमा जान सकिरहेको हुँदिन,’ उनी भन्छन्, ‘त्यसैले आफ्नो सपिङका लागि पनि सहयोगीको सहारा लिनुपर्छ । खासमा हामी कलाकार आफू भएर बाँच्न मिल्दैन रहेछ । हामीलाई अरूले जसरी हेर्छन्, त्यसरी बाँच्नुपर्ने रहेछ ।’

स्टेजका दुःख
थुप्रै गायकगायिका तथा कलाकार अहिले स्टेजमा निर्भर छन् । स्टेज उनीहरूको आम्दानीको प्रमुख स्रोत भएको छ । तर, स्टेजमार्फत कमाइ गर्न सहज चाहिँ छैन । भौगोलिक हिसाबले थुप्रै अप्ठ्यारा ठाउँहरू छन् नेपालमा । ‘त्यस्ता धेरै ठाउँमा म पुगेको छु, जहाँ ज्यानको जोखिम मोल्नुपरेको छ,’ गायक प्रमोद खरेल भन्छन्, ‘भोजपुरको गाउँ जाँदा अरुण नदीबाट राति साढे १ बजे डुंगा चढेर भोकभोकै हिँडेको सम्झना छ । कतै पहिरोको कारण, कतै जामका कारण बाटोमा रात बिताइएको छ ।’ उनको नजरमा नेपालमा ९० प्रतिशत कार्यक्रम गर्ने आयोजक अव्यावसायिक छन् । ‘परिस्थिति जस्तोसुकै होस्, सम्झौता गरिसकेपछि कार्यक्रममा पुग्नैपर्छ,’ उनी भन्छन्, ‘पारिश्रमिक नै नदिई आयोजक भागेका घटना पनि छन् । कार्यक्रम हुनुभन्दा अघिसम्म राम्रो सम्मान दिने, सकिसकेपछि बेवास्ता गर्नेहरू पनि भेटेको छु । बाउन्स चेक दिएर ठग्नेहरू पनि छन् । तर, यही भीडमा राम्राहरू पनि छन् । सबै सहनुपर्छ ।’

फेक आईडीको तनाव
सामाजिक सञ्जालमा खोज्दा एउटै कलाकारका थुप्रै फेसबुक र टवीटर एकाउन्ट भेटिने गर्छन् । तर, ती कलाकारको आधिकारिक एकाउन्ट त एउटै हुन्छ । अरू सब फेक आइडी हुन् । ती फेक आईडीले पनि कलाकारलाई तनाव दिने गरेका छन् ।

एकपल्ट एउटा कार्यक्रममा पुग्दा अभिनेत्री वर्षा शिवाकोटीसँग आफूलाई निर्देशक बताउने एकजना व्यक्ति परिचय गर्न आए । ती निर्देशकले उनकै नाम गरेको अर्को फेक आईडीसँग फिल्ममा काम गर्नेबारे प्रस्ताव राखेका रहेछन् । वर्षालाई यो कुरा थाहा थिएन । पछि निर्देशक राजु अधिकारीसँग उनले वर्षाले नचिनेझैँ गरेको भनेर गुनासो गरेछन् । ‘राजुजीले त्यो कुरा मलाई सुनाएपछि मात्र उनले फेक आईडीमा कुरा गरेको रैछन भन्ने यथार्थ थाहा भयो,’ वर्षाले भनिन् ।  

उता अभिनेत्री केकी अधिकारीले त थुप्रैपल्ट यो अनुभव भोगेकी रहेछिन् । ‘म नै सम्झेर उहाँहरूले कुरा गर्नुहुँदो रैछ,’ केकीले भनिन्, ‘र, मलाई भेट्दाखेरि ‘तपाईं र म फेसबुकमा बोलेको, अहिले चिन्नुभएन’ भन्दै रिसाउनुहुन्छ । म चकित हुन्छु । यसरी फेक आईडी बनाएर सामाजिक सञ्जालको दुरुपयोग नगरिदिए हुन्थ्यो भन्ने लाग्छ । ’

खर्चिलो जीवन
थुप्रै सेलिब्रिटी भन्ने गर्छन्– ‘सार्वजनिक स्थानमा दर्शकलाई खुशी बनाउनका लागि पनि आफ्नो जीवनलाई खर्चिलो बनाउनुपर्ने बाध्यता हुन्छ ।’ कलाकारलाई दर्शकले पर्दामा जति आकर्षक देखिरहेका हुन्छन्, त्यही आकर्षण उनीहरू पर्दाबाहिर पनि खोज्ने गर्छन् । कलाकारका लागि यो पनि बाध्यताको कुरा हो । केकी अधिकारी भन्छिन्, ‘हाम्रो वास्तविक स्तर के हो ? त्यो बताउनलाई मिडियाले पनि रोल खेल्नुपर्छ । जे हाम्रो वास्तविकता हो, त्यो बाहिर ल्याइदिनुपर्छ ।’ प्रमोदको भनाइ पनि केकीको जस्तै छ । भन्छन्, ‘आफूलाई मेन्टेन गर्न कलाकार हरेक दिन दुःख गरिरहेको हुन्छ । हाम्रो जीवन नचाहेर पनि खर्चिलो भइदिन्छ । साधारण तरिकाले जिउन खोजे पनि खर्च गर्नुपर्ने बाध्यता हुन्छ । खाने, लाउनेदेखि बस्ने ठाउँसम्मको ख्याल गर्नुपर्छ ।’

‘नभा’को कुरा त लेख्नुभएन नि’

सरस्वती थापा
अभिनेत्री रेखा थापाकी आमा  
छोरीका बारेमा अनेकथरी समाचार आउँदा सुरुसुरुमा त एकदमै दुःख लाग्थ्यो । यो कस्तो फिल्डमा गइछे भन्ने लाग्थ्यो । पछि यो फिल्म क्षेत्र नै यस्तै रहेछ, हावामा उडाइदिनेरैछन् भन्ने थाहा भयो । अस्ति भर्खर कुन चाहिँलाई रेखासँग रिस उठेको थियो कुन्नि, ‘रेखा थापाको मृत्यु’ भनेर लेखिदिएछ । आरिसेहरू मार्न सक्दैनन्, अनि मरी भनेर लेखिदिन्छन् । आफन्त, परिवार, कुटुम्ब सबले फोन गरेर सोधेका थिए । सबैलाई चिन्ता भएको थियो । केही पनि भएको होइन, कुन चाहिँ बदमासले रिसले भन्या हो भनेर सम्झाइदिएँ सबैलाई । यसरी नभा’को कुरा त लेख्नुभएन नि । यो कलाकारिता क्षेत्र बडो दुःखको रहेछ । पर्दामा आउँदा मात्र सलल बगेर आउँछ । मिलाएर दिएका हुन्छन् नि त । मान्छेले त यसले धेरै कमा’को छ भन्छन् । तर, वास्तवमा बरु घरको गृहिणी भएर बस्न सजिलो छ, कलाकार हुन असाध्यै गाह्रो !  दुई घण्टाको सुटिङ भनेर लान्छन्, अनि रातको १२ बजेसम्म छोड्दैनन् । यो काम नै यस्तै रहेछ ।

‘छोरीलाई मिडियासँग बचेस् भन्छु’

नेहाराज्यलक्ष्मी शाह
अभिनेत्री साम्राज्ञीराज्यलक्ष्मी शाहकी आमा
साम्राज्ञीबाटै मैले जन्मदिनमा उसले ब्वाइफ्रेन्ड सार्वजनिक गरी भन्ने खबर अनलाइन मिडियातिर आएको रैछ भन्ने थाहा पाएँ । गसिपलाई म त्यति सिरियस्ली लिन्नँ । त्यही पनि आमा हुँ, छोरीको चिन्ता त लागिहाल्छ । फेरि यो नेपाली समाज हो । चसक्क त घोचिहाल्छ नि । तर, मलाई छोरीले केही कुरा लुकाउँदिन । उसलाई एक त कामको प्रेसर हुन्छ, पढाइको प्रेसर हुन्छ, त्यही भएर उसलाई बढी टर्चर थप्नु ठीक लाग्दैन । बाहिरी दुनियाँले जे भने पनि मैले त उसलाई चिनेको छु नि त । विश्वास गर्नुपर्छ भन्ने लाग्छ । छोरीलाई अब तँ कलाकार भइस् , मिडियासँग बचेस् भनेर सम्झाउँछु । कलाकारको जीवन सोचेजस्तो शानदार चाहिँ नहुने रैछ । मलाई त मजदुरको कामजस्तै लाग्छ कलाकारको काम पनि । सुटिङमा गाकी छोरी बिहानको ५ बजे ‘बल्ल काम सकियो’ भनेर फोन गर्छे । त्यही पनि उसले इन्जोय गरिरहेकी छे । म यसमै खुशी छु ।  
     

 

Leave A Comment