गर्भवतीलाई जागिर धान्नै गाह्रो

आइतबार, २० चैत २०७३, ०२ : १७ शुक्रवार , Kathmandu
गर्भवतीलाई जागिर धान्नै गाह्रो

गर्भवती महिलाले विशेष सेवा र स्याहार पाउनुपर्छ । कामकाजी गर्भवती महिलालाई जागिर धान्न गाह्रो हुन्छ । कार्यालयमा गर्भवती महिलालाई सहज हुने खालको वातावरण हुनुपर्छ । जागिर गर्ने गर्भवती महिलाले के–कस्ता समस्या र कठिनाइ सामना गरिरहेका छन् ? सृजना खड्का र रचना श्रेष्ठले उनीहरूको मर्का बुझ्न खोजेका छन् ।
आराम गर्नू ! धेरै हिँडडुल नगर्नू ! दुईपांग्रे सवारीमा यात्रा नगर्नू ! पर्याप्त मात्रामा पौष्टिक खानेकुरा खानू ! तनाव नलिनू ! शरीरलाई भार पर्ने काम नगर्नू !

यी र यस्तै सल्लाह दिन्छन्, स्त्री रोग विशेषज्ञले गर्भवती महिलालाई । घरमा बस्ने महिलामाथि यी सल्लाह लागू भए पनि कामकाजी महिलाको हकमा भने यी सल्लाह सल्लाहमै सीमित हुन पुग्छन् । कतिपय गर्भवती महिलाको नौ महिना अवधिको अधिकांश समय कार्यालयमै बित्छ ।
गाइनेकोलोजिस्ट गर्भवती महिलालाई पटक–पटक खाइरहन, आराम गर्न, थकान महसुस हुँदा मस्त निदाउनका लागि भन्छन् । तर, यस्ता क्रियाकलापका लागि कार्यालयमा अनुकूल वातावरण हुँदैन । गर्भवती अवस्थालाई ‘प्राकृतिक प्रक्रिया’ भन्दै सामान्य रूपमा लिइन्छ । कार्यालयमा गर्भवती महिलामैत्री वातावरण नहुँदा गर्भवती महिलाले विभिन्न खालका समस्या झेल्दै आएका छन् ।
०००
काठमाडौँ, मीनभवन, सिभिल सर्भिस हस्पिटलकी नर्स विद्या पाण्डे पन्त दुई÷तीन हप्तापछि आमा बन्दै छिन् । २७ वर्षे विद्या अस्पतालमा फुर्तीसँग काम गरिरहेकी हुन्छिन् । ‘अप्रेसन थिएटरमा असिस्टेन्टका रूपमा काम गर्छु । कहिलेकाहीँ त लामो समयसम्म उभिएर पनि काम गर्नुपर्छ,’ उनी भन्छिन्, ‘प्रेग्नेन्सीको सात महिनासम्म त नाइट ड्युटी पनि गरेँ ।’ यस्तो बेला खुट्टा सुन्निने, ढाड दुख्ने, हातखुट्टा गल्ने र कमजोरी महसुस हुने उनी बताउँछिन् ।
यो बेला धेरै भोक लागे पनि अस्पतालमा भनेको समयमा खान नपाइने उनी बताउँछिन् । ‘कामको चाप भएको बेलामा कहिलेकाहीँ राम्रोसँग खानसमेत पाइँदैन,’ उनी भन्छिन्, ‘यतिबेला पौष्टिक आहार खानुपर्छ भन्छन् । सामान्य खाना त ढंगले खान पाइँदैन, केको पौष्टिक आहार ?’
अस्पतालमा धेरैजसो महिला कर्मचारी भएकाले बिदा बस्न सम्भव नभएको उनको भनाइ छ । ‘हाम्रोमा धेरै महिला कर्मचारी छन् । सबैले बिदामा बसेर कहाँ साध्य हुन्छ ?’ उनी भन्छिन् ।
०००
भक्तपुर, चाँगुनारायणकी दिलमाया श्रेष्ठ सब–इन्जिनियर हुन् । घर बनाउँदा नक्सा दर्ता गर्नु उनको काम हो । आठ महिनाकी गर्भवती दिलमाया चाँगुदेखि काभे्रसम्म दैनिक सार्वजनिक यातायातमा आवतजावत गर्ने गरेको बताउँछिन् । उनलाई अफिस र घर ओहोरदोहोर गर्न मात्रै चार घण्टा लाग्छ । खाल्डाखुल्डी सडक र खचाखच भरिएको बसमा निकै सास्ती हुने उनी बताउँछिन् । भन्छिन्, ‘प्रायः उभिएर यात्रा गर्नुपर्छ । कसैले सिट छोडिदिए पनि हुन्थ्यो जस्तो लाग्छ । तर, गर्भवती महिलाका लागि सिट छोडिदिने कमै हुन्छन् ।’ सरकारी अफिस भए पनि अस्थायी कर्मचारीका लागि गाडीको सुविधा नभएको दिलमाया बताउँछिन् । ‘यो बेलामा त अफिसले गाडीबाट ल्याउने–पु¥याइदिने गरिदिए पनि हुने नि,’ उनी भन्छिन्, ‘तर, हामीजस्ता अस्थायी कर्मचारीका लागि कहाँ हुनु यस्ता सुविधा ?’ कहिलेकाहीँ आराम गर्न मन लागे पनि अफिसबाट बिदा नपाउँदा काममै व्यस्त हुनुपर्ने उनी गुनासो गर्छिन् ।
०००
काठमाडौँ, स्वयम्भू, सानो भ¥याङस्थित नेपाल आर्मी  इन्स्टिच्युट अफ हेल्थ साइन्समा पढाउने ३५ वर्षीय पुनम सिंह नौमहिने गर्भवती महिला हुन् । उनी जनरल फिजिसियन पनि हुन् । ‘बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म पढाउँछु,’ उनी भन्छिन्, ‘यस्तो बेलामा छिन–छिनमा के खाऊँ, के खाऊँ हुन्छ । फलफूल, भुटेको भात, काजुबदामजस्ता तागतिला खानेकुरा खाइरहन्छु ।’ चिकित्सक भएकाले उनी स्वास्थ्यप्रति सचेत छिन् । फुर्सदको समयमा सकेसम्म आराम गर्ने गरेको उनी बताउँछिन् । ‘कामको बेलामा धेरै समय आराम गर्न पाइँदैन । १०÷१५ मिनेट मिलाएर आराम गर्छु,’ उनी भन्छिन्, ‘कहिले के दुख्छ, कहिले के । कति पटक त काम गर्दागर्दै गाह्रो भएर अस्पताल नै जानुपर्छ ।’ प्री–डेलिभरी अवस्थामा बिदा बस्न नपाइने भएकाले अफिस धाउनुपर्ने बाध्यता भएको उनको भनाइ छ ।
०००
काठमाडाँै, डल्लुकी २० वर्षीय पम्फा शिवाकोटी सात महिनाकी गर्भवती हुन् । उनी सुन्धाराको एक सहकारी संस्थामा काम गर्छिन् । पहिला मार्केटिङ हेर्ने भए पनि गर्भवती भएपछि चाहिँ उनी अफिसमै बसेर काम गर्न थालिन् । ‘अफिसमा बसेरै गर्नुपर्ने काम भए पनि अप्ठ्यारो त हुन्छ नै,’ उनी भन्छिन्, ‘कामको सिलसिलामा दिनमा कैयौँ पटक चार तला तलमाथि गर्नुपर्छ । मेरा लागि ग्राउन्ड फ्लोरमा बस्ने व्यवस्था मिलाइदेऊ भन्दा अफिसले मानेन । भ¥याङ तलमाथि गर्दा निकै गाह्रो हुन्छ ।’
‘गर्भवती छु’ भन्नै लजाउँछन्
चितवनकी रोजिना आचार्य आठ महिनाकी गर्भवती हुन् । २३ वर्षकी उनी केही दिनअघिसम्म राजधानीको एउटा अनलाइन मिडियामा काम गर्थिन् । अफिसमा उनी मार्केटिङको जिम्मेवारी सम्हाल्ने गर्थिन् । लाजले अफिसमा आफू गर्भवती भएको कुरा कसैलाई नबताएको उनी बताउँछिन् । ‘पहिलो पटक आमा बन्दै छु । घरमा त धेरै पछि बताएँ, झन् अफिसमा त कसरी भन्नु यस्तो कुरा,’ उनी भन्छिन् । आफ्नो कुरा राख्न नसक्दा उनले अफिसभित्र बसेर काम गर्ने अवसर पाइनन् । ‘महिला हाकिम भएको भए अलि सजिलो हुन्थ्यो । हाकिम पुरुष भएकाले भन्ने अप्ठ्यारो लाग्यो । अफिसमै बसेर डेस्कको काम गर्छु भन्दा ‘मिल्दैन’ भन्नुभयो । मार्केटिङका काम गर्न अप्ठ्यारो भएर जागिर छोडेँ ।’
बीबीएस चौथो वर्षमा अध्ययनरत रोजिना अफिस पुग्न आफूले दुई वटा गाडी फेनुपर्ने बताउँछिन् । ‘दुइटा गाडी चढेर अफिस पुग्नुपथ्र्यो । यसरी काम गर्दा स्वास्थ्यमा असर प¥यो,’ उनी भन्छिन्, ‘अफिसमा आफू प्रेग्नेन्ट भएको भन्न सकिनँ । गाह्रो पनि भयो, जागिर नै छोडेँ ।’

गाडीमा गाह्रो
भक्तपुर, सुडालकी सुष्मिता गौतम छ महिनाकी गर्भवती हुन् । हाल उनी सिलाइ तालिम लिइरहेकी छिन् । बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सिलाइ सिक्छिन् । ‘आफैँले पैसा तिरेर सिक्न महँगो पर्छ । गाउँको घरेलु संस्थाको कार्यक्रम भएकाले सिक्न खोजेकी हुँ,’ उनी भन्छिन् । उनको तालिम भर्खरै सुरु भएको छ । गर्भवती अवस्थामा जस्तो अप्ठ्यारो भए पनि तालिम नछोड्ने उनी बताउँछन् । ‘हातमा एउटा सीप भयो भने घरमा यतिकै बस्नुपर्दैन । आफूले सकुञ्जेलसम्म काम गर्ने हो,’ उनी भन्छिन् ।
गाडी चढेर तालिम लिने ठाउँमा पुग्नुपर्छ । ‘बुझनेले बस्न सिट छोड्छन् नबुझ्ने छोड्दैनन । कहिलेकाहीँ उभिएरै यात्रा गर्नुपर्छ,’ उनी भन्छिन्, ‘एक्लो ज्यानलाई त गाडीमा लामो समय उभिँदा पट्यार लाग्छ झन् मेरो त दुई जीउ ।’
बिदा पाइँदैन
न्युरो हस्पिटल बाँसबारीमा ३१ वर्षीय प्रतिभा बरालले प्रशासनको काम सम्हाल्छिन् । अफिसबाट छुट्टी लिएर केएमसी अस्पतालमा जँचाउन पुगेकी बरालको नवौँ महिना चलिरहेको छ । उनी पनि हरेक दिन अफिस जान्छिन् र काममा खट्छिन् । ‘हप्तामा ४८ घण्टा ड्युटी गर्नुपर्छ । बिदा नै पाइँदैन, अफिस नगई सुखै छैन,’ उनी भन्छिन् ।  
कामको भारले तीन महिनाको गर्भ हुँदा आफूलाई ब्लिडिङको समस्या भएको उनी बताउँछिन् । ‘स्वास्थ्य नै जोखिममा परेपछि त केही समय बिदा नबसी भएन । तर, ठीक भएपछि फेरि काममा फर्किएँ,’ उनी भन्छिन् । एकै ठाउँमा बसेर काम गर्नुपर्दा निकै पीडा हुने उनको भनाइ छ । ‘डेस्कमा बसेर लगातार काम गर्नुपर्छ, कतै हिँडडुल गर्न पाइँदैन । यस्तो बेलामा ढाड दुख्ने, खुट्टा सुन्निने र वर्कीफर्की गर्न पनि गाह्रो हुन्छ,’ उनी थप्छिन्, ‘सुरुमा खासै गाह्रो भएन । सात÷आठ महिना भएपछि पेट पनि बढ्दै गयो । बस्न पनि असजिलो हुन थाल्यो ।’ दिनभरि यसरी काम गर्दा थकान महसुस नभए पनि घर पुगेपछि भने सास्ती हुने उनी बताउँछिन् । ‘कहिले त रातभरि सुत्नै सक्दिनँ । जीउ दुखेर निद्रा पर्दैन,’ उनी भन्छिन् ।
भक्तपुर, सूर्यविनायककी ३१ वर्षीय सविता लाचा थान्का कोर्ने काम गर्छिन् । उनी छ महिनाकी गर्भवती हुन् । चार वर्षयता थान्का कोर्ने काम थालेकी सविता आफ्नो रोजीरोटीको बाटो नै थान्का भएको बताउँछिन् । ‘जस्तो अवस्था भए पनि थान्का नकोरी सुखै छैन । अर्डर आएका थान्का घरमै बसेर बनाउँछु,’ उनी भन्छिन् । थान्काको काम भुइँमा बसेर गर्नुपर्ने भएकाले ठूलो पेटका कारण बस्न असहज हुने उनको अनुभव छ । थान्का कोरेबापत आउने पैसाले उनले घरखर्च टार्ने गरेकी छिन् ।
पाँचमहिने गर्भवती २६ वर्षीया बिबिसा निरौला वीर हस्पिटलमा आईसीयू वार्डमा नर्स छिन् । दिनमा उनी आठ घण्टा काम गर्छिन् । भन्छिन्, ‘खाजा खाने बेलामा मात्र अलिकति आराम गर्न पाइन्छ । नत्र, त दिनभरि कामैकाम ।’ आईसीयूमा सामान्य वार्डभन्दा कामको लोड बढी हुने उनी बताउँछिन् । ‘बिरामीको रेखदेख गर्नुपर्छ । उभिएरै काम गर्नुपर्छ । गाह्रो छ,’ उनी भन्छिन्, ‘कति खेर कुन बेला ड्युटी पर्छ पत्तो हुँदैन । रातबिरात पनि खटिनुपर्छ ।’

दुईपांग्रेमा कामकाजी गर्भवती
ललितपुर, जावलाखेल घर भएकी २९ वर्षीय शशि सिलवाल पनि गर्भवती हुन् । उनको अहिले आठ महिना चलिरहेको छ । शशिका श्रीमान् वैदेशिक रोजगारीमा गएका छन् । उनी भने लुगापसलकी व्यापारी हुन् । पसलमा लुगा मिलाएर राख्नेदेखि भुइँ पुछ्नेलगायत काम उनले आफैँ गर्छिन् । ‘कहिलेकाहीँ निहुरेर काम गर्दा अप्ठ्यारो महसुस हुन्छ,’ उनी भन्छिन् । व्यापारको सिलसिलामा उनलाई हिँडिरहनुपर्छ । त्यसैले, स्कुटर नहाँकी नहुने उनी बताउँछिन् । ‘बानी परिसक्यो । गाडी चढ्ने मनै लाग्दैन । न हिँड्न मन लाग्छ । त्यसैले स्कुटर नै चलाउँछुु,’ उनी भन्छिन्, ‘डाक्टरले त नचलाऊ भन्छन् तर म त चलाउँछु । अप्ठ्यारो बाटोमा चाहिँ एकदमै ध्यान दिएर चलाउँछु ।’

गर्भवतीलाई ‘जब’मा जोखिम
डा. सुमनराज ताम्राकार

नेपालमा कामकाजी महिलाको संख्या बढ्दो छ । जागिर गर्ने महिला धेरैजसो प्रजनन उमेरका हुन्छन् । गर्भवती अवस्थाका दृष्टिले कतिपय काम वा जागिरलाई हानिकारक नै मान्नुपर्छ । लामो समय उभिइराख्नुपर्ने, गह्रुँगो सामान उठाउनुपर्ने, भारी बोक्ने, अग्लो एवं भिरालो ठाउँ चढ्ने, निरन्तर चर्को आवाज खेप्नुपर्ने, अधिक ताप खेप्नुपर्ने, कीटनाशक तथा रासायनिक मलखाद चलाइराख्नुपर्ने खालका काम गर्भवती महिलाका लागि ठीक होइनन् । यस्ता कामले महिलाको गर्भेशिशुमा असर पारिरहेका हुन्छन् ।
कुर्सीटेबलमा बसेर गरिने कतिपय काम पनि कम जोखिमयुक्त हुन्नन् । दिनभर घोरिएर कम्प्युटरमा गरिराख्नुपर्ने, निश्चित डेडलाइनमा काम सिध्याउनुपर्ने, एकछिन आराम गर्न नपाउने, धेरै एवं झिँजोलाग्दो ग्राहकसँग डिल गर्नुपर्ने काम पनि गर्भवती महिलाका लागि ठीक होइनन् । कुक, नर्स, सेल्सगर्ल, वेटर, ट्राफिक पुलिस, सेक्युरिटी गर्ल, ट्याम्पो चालक तुलनात्मक रूपमा कम हानिकारक काम हुन् ।
घरमै बसेकी गर्भवती महिलाजस्तै कामकाजी महिलाले भनेको समयमा खाना÷खाजा खान पाउँदैनन् । अफिसमा खाइने ड्राई फुड, जंक फुड, फास्ट फुड तथा चिल्लो खानेकुराको पौष्टिक महŒव निकै कम हुन्छ । कतिपय अवस्थामा काम गर्ने ठाउँ यथेष्ट घाम नलाग्ने अँध्यारो, ओसिलो, स्वच्छ हावा नआउने खालको पनि हुन सक्छ । जसले गर्दा गर्भवती महिलालाई भिटामिन डीको कमी हुने, चिसो लाग्ने, हातखुट्टा थप सुन्निने हुन्छ ।
गर्भवती महिलाको कामको प्रकृति तथा उचित पौष्टिक आहार एवं यथेष्ट आरामको कमीले गर्भभित्रको शिशुलाई आवश्यक पौष्टिक पदार्थको कमी भयो भने वा सालनालबाटै गर्भेशिशुलाई आवश्यक मात्रामा यस्तो पौष्टिक तŒव पुग्न सकेन भने नवजात शिशुको तौल निश्चय पनि कम हुन्छ । गर्भमा छँदा गर्भवती महिलामा कुनै स्वास्थ्य समस्या भएर वा सालनालमा कुनै खराबी भएर कम तौलको बच्चा जन्मिएको हो भने त्यसको असर चाहिँ गम्भीर प्रकृतिको पनि हुन सक्छ ।
काम गर्नैपर्ने खण्डमा कि त सावधानी अपनाउनुपर्छ होइन भने आफ्नो हाकिमलाई भनेर केही समयका लागि कामबाट छुट्टी लिनुपर्छ । कामको प्रकृति फेर्ने गर्नुपर्छ । त्यसैले उच्च जोखिमपूर्ण गर्भवती महिलाले चार घण्टाभन्दा लामो समय डेस्कमा काम गर्नुपरे जागिर नै परिवर्तन गर्ने वा गर्भावस्थाको छ महिनापछि घर बिदामा बस्नु राम्रो हुन्छ । त्यसैगरी आधा घण्टाभन्दा बढी निरन्तर उभिइराख्नुपर्ने महिलाले पनि जागिर फेर्ने वा जागिर छोड्ने वा आठ महिनापछि बिदामा बस्नु लाभदायक हुन्छ ।
हल्का खालका सामान वा बढार्ने गर्दा काम निहुरेर भन्दा थुचुक्क बसेर गर्नु राम्रो हुन्छ । मेचमै बसेर गर्ने खालको काम छ भने तल्लो ढाडलाई सपोर्ट पुग्ने खालको कुर्सीमा बस्नु राम्र्रो हुन्छ । कुर्सीपछाडि तकिया राखेर भए पनि काम चलाउन सकिन्छ । लामो समय उभिइराख्ने खालको काम छ भने एउटा खुट्टा अलि अग्लोमा राख्ने तथा नियमित अन्तरालमा खुट्टा परिवर्तन गरिराख्ने गनुपर्छ । अफिस पुग्नलाई हल्का हिँड्नु पर्नेछ वा अलि लामै समय उभिइराख्नुपर्नेछ भने स्यान्डल वा चप्पल आरामदायी खालको हुनुपर्छ ।
जहाँसुकै काम गरिरहेको भए पनि दिउँसो कम्तीमा एक घण्टा देब्रे पल्टेर आराम गर्नुपर्छ । यसले गर्दा बढ्दो पाठेघरमा रक्तप्रवाह सहज हुन गई गर्भेशिशुको वृद्धि–विकास राम्रो हुन्छ । कार्यालय समयमै दिउँसो आराम गर्न पाउनु गर्भवती महिलाको आधारभूत मानवअधिकारभित्रै पर्छ ।

‘गर्भवतीमैत्री वातावरण हुनुपर्छ’

डा. अचला वैद्य
वरिष्ठ स्त्री रोग विशेषज्ञ
स्वास्थ्य स्थिति ठीक भएका गर्भवती महिलाहरूले सामान्य काम गर्दा हुन्छ । तर, जोखिमपूर्ण अवस्थामा गर्भ बसेका महिलाहरूले धपेडी गरेर काम गर्नु हुँदैन । यस्तो बेला पाठेघरमा समस्या भएका, जुम्ल्याहा बच्चा भएका, टेस्ट ट्युबबाट बच्चा जन्माउन लागेका, मुटु रोगी, मधुमेह रोगी, उच्च रक्तचाप भएका महिलाले विशेष ध्यान दिनुपर्छ । शारीरिक वा मानसिक रूपमा भार पर्ने काम गर्दा आफैँलाई हानि पुग्छ ।
यस्तो अवस्थामा धेरै भ¥याङ उक्लिने–ओर्लने गर्नु हुँदैन । उच्च रक्तचाप भएका गर्भवती महिलाले नियमित रूपमा औषधि खानुपर्छ । गर्भवतीले बिहानको खाना, दिउँसोको खाजा खाइसकेपछि कम्तीमा दुई घण्टा आराम गर्नुपर्छ । एक दिनमा ३० मिनेटभन्दा बढी हिँड्नु हुँदैन । आफूलाई थकान महसुस हुनेबित्तिकै हिँड्न छाड्नुपर्छ । काम गर्दागर्दै थकाइ लाग्यो भने जबर्जस्ती काम गर्नु हुँदैन ।
डाक्टरले आराम गर्नुपर्छ भने पनि कतिपय महिला छुट्टी मिल्दैन भन्दै अफिस जाने गर्छन् । काम भनेको पछि पनि पाइन्छ तर पहिला आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्छ ।
अफिस जानैपर्ने महिलाहरूले भने खानेकुरामा ध्यान पु¥याउनुपर्छ । त्यसका लागि काजु, बदामजस्ता ड्राइफ्रुट्स आफूसँग राख्नुपर्छ र बेला–बेलामा खाइराख्नुपर्छ । त्यस्तै, पानी र सिजनअनुसारका फलफूल पनि कार्यालयमै बसेर मज्जाले खान सकिन्छ ।
अफिसमा लगातार काम गरेर आउने महिलालाई घरमा काम लगाउनु हुँदैन । कुर्सीमा बसेर काम गर्ने गर्भवती महिलालाई लगातार खुट्टा झुन्ड्याएर बस्दा गाह्रो हुन्छ । खुट्टा सुन्निने समस्या देखापर्छ । यस्तो अवस्थामा आफू बसेको कुर्सीमुनि सानो टुल राखेर खुट्टा तेस्र्याएर बस्नुपर्छ । एकै ठाउँमा बसिरहनु हँुदैन । बेला–बेलामा उठेर हिँडिरहनुपर्छ । हरेक कार्यालयमा  ‘प्रेग्नेन्ट फ्रेन्ड्ली’ वातावरण बनाउनुपर्छ ।
बाटो राम्रो छ भने गर्भवती महिलाले आधा घण्टासम्म स्कुटर चलाउँदा केही हुँदैन । तर, लगातार चार÷पाँच घण्टा चलाउँदा भने स्वास्थ्यमा असर पु¥याउँछ । कतिपय महिलाले आफू गर्भवती भएको कुरा कार्यालयमा थाहा दिँदैनन् । यसरी कुरा लुकाउँदा उनीहरूले कार्यालयमा थप समस्या बेहोर्नुपर्छ ।

‘सुरुको तीन महिना ध्यान दिनुपर्छ’
डा. उमा श्रीवास्तव पोखरेल

प्रजनन विशेषज्ञ

‘हामीले खेतको आलीमा बच्चा पायाँै, आराम किन चाहियो र ?’ भन्ने सोच धेरै पाका महिलामा हुन्छ । तर, मुख्यतया कामकाजी महिला जो गर्भवती छन्, उनीहरूमा समस्या देखापर्न सक्छ । आराम गर्नुपर्ने अवस्थामा आराम त अनिवार्य गर्नैपर्छ । सुरुको १२ हप्ता गर्भवती महिलाले एकदमै ध्यान दिनुपर्छ । उनीहरूले आफूले हिँड्ने शैलीमा समेत परिवर्तन ल्याउनुपर्छ । छिटोछिटो हिँड्ने, दौडिने, उफ्रिने गर्नु हुँदैन । १२ हप्तामा साल बन्छ । त्यसैले, यतिबेला विशेष ध्यान पु¥याउनुपर्छ । कामकाजी महिलासँग समयको अभाव हुन्छ । कहिलेकाहीँ त उनीहरू परीक्षण गर्न पनि चुक्छन् । समयमा परीक्षण नगर्दा उनीहरूको स्वास्थ्यमा असर पर्छ । त्यसैले समयमा जाँच गराउनु आवश्यक हुन्छ ।
यस्तो अवस्थामा शरीर र दिमागलाई सक्दो आराम दिनुपर्छ । स्वास्थ्यमा ध्यान दिन सकेन भने बच्चा र आमा दुवैलाई अप्ठ्यारो हुन सक्छ । डाक्टरको सल्लाहअनुसार आराम गर्नुपर्छ । त्यस्तै, ट्वाइलेट प्रयोग गर्दा पनि ध्यान पु¥याउनुपर्छ । गाह्रो भइरहेको छ भने ट्वाइलेट टुलको प्रयोग गर्न सकिन्छ ।

Leave A Comment