आईपीएल क्रिकेटमा कुन टिम कस्ता ?

सोमबार, २८ चैत २०७३, ०१ : ०३ शुक्रवार , Kathmandu
आईपीएल क्रिकेटमा कुन टिम कस्ता ?

इन्डियिन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दशौँ संस्करण सुरु भएको छ । आठ टिम सहभागी यो प्रतियोगिताका खेल भारतका १० वटा शहरमा भएकाे छ । मे २१ सम्म चल्ने प्रतियोगितामा आठ टिमबीच ६० खेल हुनेछन् । यो पटकको आईपीएलमा सहभागी टिमः
दिल्ली डेयरडेभिल्सः सन् २००९ देखि लगातार आईपीएल खेलिरहे पनि दिल्लीले अहिलेसम्म एक पल्ट पनि आईपीएल उपाधि उचाल्न सकेको छैन । यो टिमको कप्तानमा जाहिर खान र प्रशिक्षकमा प्याडी उप्टन छन् । यो सिजनमा यो टिममा मोहमद सामी, करुण नायर, कोरे एन्डर्सन, क्वान्टेन डी कक, एन्जेलो म्याथुजलगायत खेलाडी छन् ।
गुजरात लायन्सः दोस्रो पल्ट आईपीएल क्रिकेट खेल्न लागेको गुजरात लायन्सको कप्तान सुरेश रैना र प्रशिक्षक ब्राड हज हुन् । ड्वेन ब्राभो, एरोन फिन्च, दिनेश कार्तिक, ब्रान्डम म्याकुलम, जसन रोय, ड्वेन स्मिथ लगायतका चर्चित खेलाडी यो टिममा छन् । पोहोर लिग चरणका नौ खेल जितेर शीर्ष स्थानमा रहे पनि दुवै क्वालिफायर खेल हारेर यो टिम फाइनलमा पुग्न असफल भएको थियो ।
कोलकाता नाइट राइडर्सः भारतीय अभिनेता शाहरुख खानको टिम कोलकाताको कप्तानमा गौतम गम्भीर र प्रशिक्षकमा ज्याक कलिस छन् । दशौँ पल्ट आईपीएल खेल्न लागेको कोलकाताले सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । यो सिजन यो टिममा डारेन ब्राभो, सुनिल नारिन, युसुफ पठान, मनीष पाण्डे, रोबिन उत्थपा, उमेश यादवलगायत खेलाडी छन् ।
राइजिङ पुने सुपरजायन्टः स्टेभ स्मिथ कप्तान र स्टेफेनी फ्लेमिङ प्रशिक्षक रहेको पुने दोस्रो पल्ट आईपीएल खेल्दैछ । पोहोरको सिजनमा यो टिमले पाँच खेल मात्र जितेको थियो । मयंक अग्रवाल, अंकित शर्मा, फाफ डू प्लेसिस, इमरान ताहिर, अजेन्क्या रहाने, मनोज तिवारीलगायत खेलाडी यो टिममा छन् ।  
रोयल च्यालेन्जर्स बैंगलोरः विराट कोहली कप्तान र डेनियल भिट्टोरी प्रशिक्षक रहेको रोयल च्यालेन्जर्स दशौँ पल्ट आईपीएल खेल्दैछ । तर, यो टिमले एक पल्ट पनि आईपीएल जित्न सकेको छैन । यो सिजनमा कोहलीसहित, क्रिस गेल, एबी डिभिलियर्स, सेन वाट्सन, स्टुआर्ट बिन्नीलगायत चर्चित खेलाडी यो टिममा छन् ।
मुम्बई इन्डियन्सः सन् २०१३ र सन् २०१५ को विजेता हो, मुम्बई इन्डियन्स । मुम्बईले सन् २०११ र २०१३ मा च्याम्पियन्स लिग ट्वेन्टी–ट्वेन्टी पनि जितेको थियो । यो टिमको कप्तानमा रोहित शर्मा र प्रशिक्षकमा माहेला जयवद्र्धने छन् । यो सिजनमा टिममा जोस बट्लर, मिचेल जोन्सन, हरभजन सिंह, पार्थिव पटेल, हार्दिक पाण्डे, कुर्नाल पाण्डे, अम्बाती रायडु, टिम साउथी, सौरभ तिवारी, विनयकुमारलगायत खेलाडी छन् ।
सनराइजर्स हैदराबादः अरेन्ज आर्मी उपनाम पाएको यो टिम गत संस्करणको विजेता हो । सन् २०१३ देखि लगातार आईपीएल खेल्दै आएको यो टिमको कप्तानमा डेबिड वार्नर र प्रशिक्षकमा टोम मुडी छन् । शिखर धवन, बने कटिङ, मोहमद नावी, आशिष नेहरा, नमन ओझालगायत खेलाडी टिममा छन् ।
किंग्स इलाभेन पञ्जाबः ग्लेन म्याक्सवेल कप्तान र वीरेन्द्र सेहवाग प्रशिक्षक रहेको पञ्जावले अहिलेसम्म आईपीएलमा खराव प्रदर्शन गर्दै आएको छ । गएको सिजनमा यो टिम पुछारमा थियो । यो सिजन हासिम अमला, मार्टिन गुप्टिल, सउन मार्स, इयोन मोर्गन, डारेन सामीलगायत खेलाडी यो टिममा छन् ।

 

 

Leave A Comment