यस्तो होस् २०७४

आइतबार, ०३ बैशाख २०७४, १२ : १३ शुक्रवार , Kathmandu
यस्तो होस् २०७४

नयाँ वर्ष भनेको नयाँ सुरुवात, नयाँ आशा, नयाँ विश्वास र नयाँ सिलसिला हो । शुक्रवारले काठमाडौँ, पोखरा, धरान, चितवन, वीरगञ्ज र नेपालगञ्जका आमनेपालीसँग ‘नयाँ वर्ष २०७४ कस्तो होस् ? के–के काम सम्पन्न होऊन् ?’ भनी सोधेको थियो । अधिकांशको चाहना र कामना तीनै तहको निर्वाचन सम्पन्न भएर देशले राजनीतिक स्थिरता पाओस् र समृद्धिको बाटोमा जाओस् भन्ने छ ।
‘हाम्रा लागि नयाँ वर्षसँगै फेरिने भनेको कोठाको भित्तामा झुन्डिने क्यालेन्डर मात्रै हो । हामी धेरै वर्षदेखि एकै खाले नियति भोग्दै आइरहेका छौँ । सबै कुरा राजनीतिमै अड्किएको छ । त्यसैले २०७४ सालमा संविधानमा उल्लेख गरिएका तीनटा निर्वाचन सम्पन्न गर्ने मुख्य ‘असाइनमेन्ट’ पूरा होस्,’ कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले २०७४ साल कस्तो होस् ? भन्ने शुक्रवारको प्रश्नमा यस्तो जवाफ दिए ।
शुक्रवारले यही प्रश्न काठमाडौँ, धरान, वीरगञ्ज, चितवन, नेपालगञ्ज र पोखराका सर्वसाधारण, व्यवसायी, चिकित्सक, नेता, विद्यार्थी लगायतलाई सोधेको थियो । अधिकांशले ०७४ सालमा तीनवटै निर्वाचन सम्पन्न भएर देशमा राजनीतिक स्थिरता कायम होस् भन्ने चाहेका छन् । गन्जागोल राजनीतिका कारण विकास र निर्माण हुन नसकेको बुझाइ सबै क्षेत्रका जनताको छ ।
अभिनेता हरिवंश आचार्य देशको सबैभन्दा ठूलो समस्या राजनीतिसँग जोडिएको बताउँछन् । राजनीतिक समस्याको समाधान नभएसम्म यस्ता नयाँ वर्ष जति फेरिए पनि जनताको जीवनमा कुनै फेरबदल नआउने बताउँदै आचार्यले भने, ‘यो वर्ष हामीले सम्पन्न गर्नुपर्ने एउटै काम भनेको तीन तहको निर्वाचन गर्ने हो । निर्वाचनमा सबै पक्ष सहभागी होऊन् र जनताले आफ्नो अभिमत प्रकट गर्ने मौका पाऊन् ।’
नेकपा एमालेका सचिव योगेश भट्टराई पनि २०७४ सालमा तीनै तहको निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयन गर्नुपर्ने बताउँछन् । सबै नेपालीलाई एकताबद्ध गरेर नयाँ संविधान र गणतन्त्रलाई संस्थागत गर्नुपर्ने बताउँदै सचिव भट्टराई, ‘२०७४ साल आर्थिक समृद्धितर्फको ढोका खोल्ने वर्ष होस्’ भन्ने चाहन्छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल यो वर्ष तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न होस् भन्ने चाहन्छन् । ‘निर्वाचन हुँदा मात्र संविधान कार्यान्वयन हुने र देश राजनीतिक स्थिरतातर्फ अघि बढ्ने भएकाले यो वर्ष जनता, नेता, अभिनेता, व्यवसायी, विद्यार्थी सबैको नयाँ वर्ष संकल्प निर्वाचन सम्पन्न गर्नेमै हुनपर्छ,’ पौडेलले भने ।  
एमालेका अर्का नेता रवीन्द्र अधिकारीको वर्ष ०७४ निर्वाचनको वर्ष होस् भन्ने कामना छ । ‘निर्वाचनमार्फत नयाँ संविधान कार्यान्वयन गर्दै गणतन्त्रलाई संस्थागत गर्न सकियोस् । विकास र समृद्धिको बाटोमा जान सकियोस्,’ अधिकारीले भने ।  
पोखराका डा. माधव पराजुली स्थानीय तहको निर्वाचन विनाअवरोध सम्पन्न होस् भन्ने चाहन्छन् । ‘संविधानमा उल्लेख भएअनुसार राजनीतिक दल र तिनको नेतृत्वले काम गर्ने हो भने यो वर्ष जनताले तीन पटक तीनटा तहमा आफ्नो अभिमत प्रकट गर्न पाउनेछन्,’ डा. पराजुलीले भने, ‘जुन यो वर्षको सबैभन्दा ठूलो उपलब्धि हुनेछ ।’
अभिनेत्री रेखा थापा राजनीतिमा लागेकाले ०७४ सालमा आफूमा जनताको मनोविज्ञान र भावना बुझेर काम गर्ने सामाथ्र्यको विकास होस् भन्ने चाहन्छिन् ।  
अभिनेत्री गौरी मल्ल अघिल्ला वर्षहरूमा भोगेका समस्या जनताले यो वर्ष भोग्न नपरोस् भन्छिन् । ‘नयाँ वर्ष नयाँ वर्षजस्तै होस् । प्रगति र परिवर्तनको लागि फेरि अर्को नयाँ वर्ष कुर्न नपरोस्,’ उनले भनिन् , ‘लोडसेडिङ हटेजस्तै देशमा अन्य सकारात्मक परिवर्तन हँुदै जाऊन् ।’
अभिनेता माओत्से गुरुङ असन्तुष्ट पक्षलाई सहमतिमा ल्याएर स्थानीय तहको निर्वाचन सम्पन होस् भन्ने चाहन्छन् । ‘शान्तिपूर्ण र निष्पक्ष तरिकाले तीनवटै निर्वाचन होस् भन्ने चाहना छ,’ गुरुङले भने, ‘चुनावपछि चुनिएका नेताले राम्रा काम गर्न सकून् । गरिबी हटाउन पहल गरून् ।’
नेपालगञ्जका अटोरिक्सा चालक नवलसिंह बडुवाल नयाँ वर्षमा गरिबका पनि दिन आओस् भन्छन् । ‘गरिखानेलाई दुःख दिने बन्द, हड्ताल, चक्काजाम नयाँ वर्षबाट सदाका लागि बन्द होस्,’ उनले भने । नेपालगञ्जकै शिक्षक भानुभक्त रेग्मी नयाँ वर्षदेखि  देशमा राजनीतिक स्थिरता आओस् भन्छन् । ‘देश मागिखानेबाट गरिखाने बाटोतर्फ अग्रसर होस्,’ उनले भने, ‘तीनटै निर्वाचन सफल र निष्पक्ष होऊन् ।’ नेपालगञ्जका व्यवसायी प्रदीप सोनकरलाई भने नयाँ वर्षमा व्यापार फस्टाओस् भन्ने लागेको छ । ‘देशले आर्थिक क्षेत्रमा प्रगति गरोस्,’ सोनकरको कामना छ, ‘आयातभन्दा निर्यात गर्न सकोस् र नाकाबन्दीको दुःखकष्ट अब झेल्न नपरोस् ।’  
धरानकी विद्यार्थी प्रमिला सेनेहाङलाई आफ्नो पढाइ र भविष्यप्रति चिन्ता छ । नयाँ सालमा पढाइमा अवरोध हुने स्थिति नबनोस् भन्छिन् । ‘बन्द, हड्ताल कसैले नगरून्, शान्तिपूर्ण वातावरणमा पढ्न, रमाउन र जिउन पाइयोस्,’ उनले भनिन् । धरानकै बंैकमा कार्यरत रामनारायण साह यो वर्ष देशमा शान्ति, सुव्यवस्था कायम होस् भन्ने चाहन्छन् । ‘सबै नेपाली एउटा सिंगो परिवार भएर देशको विकासमा हातेमालो गरेर अघि बढेको देख्न पाइयोस्,’ उनले भने ।
व्यवसायी दीपेन्द्रराज शाक्य नयाँ सालले नेपालीमा सुखशान्ति ल्याओस् र पुराना वर्षहरूमा जस्तो संकट नआओस् भन्छन् । अध्यापक अम्बरराज ढकाल २०७४ सालमा सबै नेपाली नागरिकले आफ्नो मताधिकारको स्वतन्त्र रूपले प्रयोग गर्न पाऊन् भन्छन् । ‘युवाहरूले राजनीतिमा अवसर पाऊन्,’ उनले भने, ‘देश विखण्डनतिर होइन, स्थायी शान्तिको बाटोतिर अग्रसर होस् ।’
वीरगञ्जका व्यवसायी सुमित रौनियार राजनीतिक अस्थिरताले २०७३ साल जसरी कठिनतापूर्वक बित्यो, त्यो नियति नयाँ वर्ष २०७४ मा नदोहोरियोस् भन्छन् । ‘राजनीतिक र संवैधानिक विवादहरू सामाधान भएर आर्थिक प्रगति होस्,’ उनले भने, ‘छिमेकी मुलुकहरूसँग राम्रो सम्बन्ध कायम होस् । ऊर्जा संकट सदाका लागि अन्त्य होस् ।’ अर्का व्यवसायी ओमप्रकाश सर्राफ संविधान संशोधन गरी असन्तुष्ट पक्षलाई समेटी संविधान कार्यान्वयन हुने वातावरण निर्माण होस् भन्ने चाहन्छन् । ‘मुलुक र समाजमा दिगो शान्ति स्थापना होस्,’ सर्राफले भने, ‘देशले आर्थिक समृद्धिको बाटो अवलम्बन गर्न सकोस् ।’ उता, व्यवसायी विनय यादवले देशमा चलिरहेको राजनीतिक खिचातानी अन्त्य भई संविधान लागू होस् भन्ने चाहेका छन् ।
चितवनका केशवराज भण्डारी वैशाख ३१ गते हुन गइरहेको स्थानीय निर्वाचनलगायत ०७४ माघ ७ गतेभित्र गरिसक्नुपर्ने अन्य निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुपर्ने बताउँछन् । राजनीतिक कार्यकर्ता रुकमांगद पराजुलीलाई पनि २० वर्षपछि हुन लागेको स्थानीय निर्वाचनकै चासो बढी छ । ‘अरू त यो वर्ष धेरै केही आश छैन,’ उनले भने, ‘तोकिएको अवधिमा सबै निर्वाचन होऊन् ।’ चितवनकै रिक्साचालक आर्यम राई सवारी साधनको अनुपातमा सडक निर्माण हुन सकोस् भन्छन् । ‘म त सडकमा काम गरेर खाने मानिस हो,’ उनले भने, ‘त्यसैले मलाई त सडक राम्रो होस् भन्ने  छ ।’ यही शहरका डा. भोजराज अधिकारी सात प्रदेशमा सात वटा सरकारी अस्पताललाई मेडिकल कलेजमा रूपान्तरण गर्ने सरकारको नीति कार्यान्वयनमा आओस् भन्छन् । ‘प्रत्येक वर्ष चिकित्सा अध्ययनका लागि विदेशिने युवालाई नेपालमै गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने वातावरण बनोस्,’ उनको कामना छ ।
नयाँ वर्षमा आफ्नो पेशा र क्षेत्रसँग सम्बन्धित क्षेत्रको विकास र उन्नतिको चाहना राखे पनि अधिकांश नागरिकले देशको राजनीति ठीक हुनुपर्ने भन्दै आफ्नो मत प्रकट गरेका छन् । निर्वाचनप्रतिको आफ्नो विश्वासलाई प्रकट गरेका छन् । सबैको चासो निर्वाचनँग जोडिएको छ । तोकिएको समयमा निर्वाचन सम्पन्न हुन सक्यो भने राजनीतिक स्थिरतासँगै देशले विकासको गति समात्ने जनताको आशा एवं विश्वास छ ।

काठमाडौँ
सुकुमाया दाहाल
हामीजस्ता सडक व्यापारीले चैनसँग काम गर्न पाइयोस् । छिन–छिनमा नगरपालिका आएर नलखेटोस् ।
संगीत कुँवर
सधैँभरिझैँ घण्टौँ जामको मार झेल्न नपरोस् ।
सुनी घिमिरे
वातावरण सफा होस् । धुलोधुवाँको सास्ती खेप्न नपरोस् ।
स्नेहा पंगेनी
भूकम्पमा ढलेका धरहराजस्ता देशको सम्पत्तिको पुनःनिर्माण होस् ।
सलोमी तामाङ
उच्च शिक्षाका लागि विदेश जान नपरोस् । देशमै रोजगारी सिर्जना होस् ।
दशरथ गुरुङ
हरेक क्षेत्रमा व्यवस्थापन प्रणालीमा सुधार होस् । विशेष गरी सरकारी काममा किचलो नहोस् ।
दीपक थापा
कुनै मतभेद र झैझगडा नभई स्थानीय चुनावको निर्वाचन सफल बनोस् । सही मान्छे छानियून् ।  
सन्देश अधिकारी
राजनीतिक समस्या समाधान होस् । कसैले कसैलाई दुःख नदेओस् । नेपाली खेलकुद क्षेत्रले अझै प्रगति गरोस् ।

सुविस्तबहादुर शाही
नेपालले नयाँ रङ फेर्न सकोस् । फेरि द्वन्द्व नफर्कियोस् । प्रगतितर्फ लम्कियोस् ।

रुद्र थापामगर
जति पनि विकासका काम रोकिएका छन्,  सहज तरिकाले अगाडि बढून् ।  

तेजेन्द्र मगर
बानेश्वर चोक, कोटेश्वर, चाबहिलजस्ता मुख्य सडकमा आकाशे पुलको निर्माण होस् ।

सुशीला सुनुवार
जताततै फोहोर नहोस् । काठमाडौँ सफा र सुन्दर होस् ।

सोम गुरुङ
आनन्दले परिवारसँग खुशीसाथ बस्न पाइयोस् । कामका लागि विदेश धाउन नपरोस् ।

रीना तामाङ
२०७२ साल जस्तो भयानक नहोस् २०७४ । देशको भद्रगोल स्थिति सुध्रियोस् ।  

सुन्दर श्रेष्ठ
प्लस टूमा राम्रो कलेजमा पढ्न पाइयोस् । घरबेटीले कोठाभाडा नबढाओस् । गाडी भाडा पनि नबढोस् ।  

प्रस्तुतिः रचना श्रेष्ठ

वीरगञ्ज
सरस्वती अधिकारी सापकोटा
न्यायका लागि कसैले रुन नपरोस् । शिक्षा, स्वास्थ्यमा सबैको पहुँच पुगोस् ।
महेश अर्याल
देशभित्र रोजगारी गर्न पाउने वातावरण बनोस् । देश समृद्धितर्फ अगाडि बढोस् ।
नीलिमा पौडेल
यो वर्ष जनताले सामाजिक, आर्थिक समृद्धिका साथै देश विकासको बाटो अघि बढेको महसुस गर्न पाऊन् ।
संजिता कर्ण
महंगी नबढोस्, भ्रष्टाचार हटोस् र देशमा शान्ति छाओस् ।
रिषु श्रीवास्तव
यो वर्ष बाल अधिकारको हनन् नगरियोस्, बालश्रमिकमुक्त समाज निर्माण होस्, विद्यालय शुल्क नबढोस् ।
पर्वता चौधरी  
राजनीतिक अस्थिरता समाप्त होस् ।
तबरेज अहमद
आगामी चुनावबाट युवाहरू नेतृत्वमा पुगून् । समाजमा सौहार्द र सद्भाव बनिरहोस् ।
शशि भण्डारी छतकुली
निराशा हटोस् र २०७४ साल सुखद रहोस् ।
राजन श्रीवास्तव
भूकम्पपीडित परिवारलाई छिटोभन्दा छिटो घर निर्माण गराउने कार्यमा सरकारको चासो पुगोस् ।
शालिनी वर्णवाल
सबै राजनीतिक असन्तुष्टिको समाधान भई स्थानीय निकायको सफलतापूर्वक चुनाव सम्पन्न होस् ।
रवि सर्राफ
मधेसी–पहाडीबीच भेदभाव अन्त्य होस् । राज्यद्वारा निर्दोष जनताको हत्या बन्द होस् ।
प्रियंका सिंह
देशमा बन्द, हड्ताल नहोऊन् । शान्ति छाओस् ।
श्याम पराजुली
२०७४ सालमा सबै जनताको भावनाको प्रतिनिधित्व गर्ने गरी संविधान कार्यान्यवन होस् ।
सीमा श्रीवास्तव
राजनीतिक कलह हटेर जाऊन् । नेताहरूमा विवेक पलाओस् । कुनै प्रकारको हिंसा नहोस् ।
नरेश सर्राफ
राजनीतिक खिचातानीभन्दा विकासका गतिविधि होऊन् र मुलुक प्रगतितर्फ उन्मुख होस् ।
सुषमा शर्मा
नेपालीहरूमा एकआपसमा भाइचारा बढोस् । भेदभाव नहोस् ।
राधेश्याम पटेल
इमानदार नेताबाट राजनीतिमा आमूल परिवर्तन होस् । राज्यबाट अराजकता, दण्डहीनता र भ्रष्टचार हटोस् ।
विश्वास द्विवेदी
चुनावमा युवाले प्रतिनिधित्व गर्ने पर्याप्त अवसर पाऊन् । देशमा स्थायी सरकार होस् ।
अनामिका मिश्रा
नयाँ वर्षमा सबै नेपालीको सपना पूरा होऊन् । सबैको सोच सकारात्मक बनोस् ।
सन्ध्या पौडेल
शिक्षा, स्वास्थ्य वा विकासजस्ता क्षेत्रमा बनेका योजना कार्यान्वयन होऊन् । सर्वसाधारणले सास्ती भोग्नु नपरोस् ।
ऋषि चौबे
बन्द, हड्ताल नहोस् । देशमा चलिरहेका विवाद समाधान होऊन् ।
विमला गुप्ता
सबैले रोजगारी पाऊन्् । बेरोजगारी हटोस् । देश छाडेर विदेश जाने वातावरण हटोस् ।
ईश्वरी श्रेष्ठ
नेताले एकजुट भई देश निर्माण गरून् । विद्यार्थीले पढ्न पाऊन् । बुढापाकाले सहारा पाऊन् ।

प्रस्तुतिः रितेश त्रिपाठी

चितवन
केशवराज भण्डारी
सबै चरणका निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न होऊन् । देशको आर्थिक पक्ष मजबुत रहोस् ।
जीतेन्द्र पौडेल
देशले २०७३ सालमा जस्तो राजनीतिक झमेला बेहोर्नु नपरोस् ।
टीकादत्त तिमिल्सिना
औद्योगिक क्षेत्रमा वैदेशिक लगानी बढीभन्दा बढी आओस् । युवाले खाडी मुलुक जान नपरोस् ।
अमृत अधिकारी  
राजनीतिक दलालहरूको अन्त्य होस् । स्थानीय निर्वाचन हिमाल, पहाड र तराईमा एकै मितिमा सम्पन्न होस् ।
इराज कार्की
नेताहरूलाई पाठ पढाउने पद्घतिको विकास होस् ।
प्रकाश गौतम  
अब आउने सरकारले देशमा भएका प्राकृतिक स्रोत–साधनको अधिकतम उपयोग गरी आर्थिक विकास गरोस् ।  
डीएनसी रेग्मी
पालमुनि बस्न बाध्य भूकम्पपीडितले कम्तीमा यो वर्ष टिनको छानामुनि बस्न पाऊन् ।
रुकमांगद पराजुली
देशमा राजनीतिक स्थिरता होस् ।
महेश थापा
नारायणगढ–मुग्लिन सडक खण्डको बेहाल अवस्था यही साल सुध्रियोस् ।
जीत क्षत्री
विदेशिने युवालाई देशमै रहने वातावरण बनोस् ।
सुनीता धिताल
प्रत्येक वर्ष बढिरहेको विद्यालय शुल्क यथावत् रहोस् ।
सद्दाम हुसेन
विदेशीको इसारामा राजनीति गर्ने नेताहरूलाई भगवान्ले २०७४ सालमा सद्बुद्घि दिऊन् ।
राधा कँडेल
पहिलाजस्तो आन्दोलन र नाकाबन्दी नहोस् ।
हरिप्रसाद पोखरेल
राज्यलाई कर तिर्ने हामीजस्ता व्यापारीले सहज रूपमा व्यवसाय गर्ने वातावरण बनोस् ।
दीलिप प्रधान
बैंक र राष्ट्रबैंकको कार्यगत एकता मेल खाओस् । ग्राहकले मागेजति ऋण प्रवाह गर्न सकियोस् ।
सुनीता श्रेष्ठ
चितवनमा थुप्रै मनोरञ्जन पार्क बनून् ।
ममता शर्मा
सडक दुर्घटनाका समाचार दिनहुँजसो आउँछन् । यस्ता दुर्घटना न्यूनीकरण होऊन् ।
गोपाल भट्टराई
सामान्य जनताको सवारी साधनमा पहुँच पुगोस् ।
कृष्ण ठकुरी
यस वर्ष सबै ट्राफिक युनिटमा अत्याधुनिक उपकरण उपलब्ध गराइयोस् ।
उद्धव लोहनी
स्थानीयस्तरको चुनाव सम्पन्न होस् । देशलाई सिस्टममा लैजान सकियोस् ।
सूर्यराज अधिकारी
सबै सडक, सबै ठाउँ कालोपत्रे बनून् ।

प्रस्तुतिः केपी शर्मा

धरान

थिरलोचन श्रेष्ठ
खेल, पर्यटन, जलविद्युतमा अन्तर्राष्ट्रिय लगानी भित्रियोस् । भूकम्पले भत्काएका संरचना पुनःनिर्माण होऊन् ।
आश्मा शाक्य
नयाँ–नयाँ ठाउँमा घुम्न पाइयोस् । आफू अगाडि बढ्न र खुशी बाँड्न पाइयोस् ।
जीवन ढकाल
नेपाली–नेपालीबीच एकताको भावना विकास होस् ।
विष्णु गुरागाईं
देशको विकास यसरी होस् कि विकास कार्यक्रममा सर्किट ब्रेक लगाउनु परोस् ।
तोर्ण कार्की
नेपालीको आर्थिक, सामाजिक, राजनीतिक स्थिति बलियो बनोस् ।
शोभालक्ष्मी वज्राचार्य
२०७४ साल सबैका लागि नयाँ उमंगको वर्ष बनोस् । शान्तिको वर्ष बनोस् ।
मणि भुजेल
सबैका सोचेका कुरा पूरा होऊन् । देशमा शान्ति छाओस् ।
रोशन श्रेष्ठ
सबै राजनीतिक दलका नेतालाई देश सुन्दर, शान्त बनाउने बुद्धि प्राप्त होस् ।
कोपिला कँडेल
खडेरी नलागोस्, धेरै पानी पनि नपरोस्, नेपालीहरूले अकालमा ज्यान गुमाउनु नपरोस् ।
अमर रानामगर
२०७४ साल नेपालीको खुशीको वर्ष बनोस् ।
जुलन कालिकोटे
सबै नेपालीले २०७४ सालमा शान्तिको सास फेर्न सकून् । व्यापार–व्यवसाय सफल होस् ।
विकास अधिकारी
अहिले मेरो छोरा बिरामी छ, यसलाई राम्रो होस् । अनि, नयाँ वर्षमा सबै नेपालीले सुख पाऊन् ।
अर्जुन परियार
चुनावबाट राम्रा प्रतिनिधि छान्न सकियोस् । ती नेताहरूले नैतिकताका आधारमा काम गरून् ।
नानीमैया परियार
यो वर्ष मेरो पढाइमा लगनशीलता बढोस् । नेपालीहरूमा भातृत्वको भावना विकास होस् ।
कमला शेर्पा
नेपालीहरूले सिर्जनशील काम गर्ने वातावरण बनोस् ।
डिकेन्द्र रायमाझी
देश उन्नतिको बाटोमा लागोस् । काममा सबैको जोशजाँगर बढोस् ।
ममता लिम्बू
सबैले सोचेका कुरा पूरा होऊन् ।
ओसन राई
विगतका वर्षमा भएका भूल, गल्ती यो वर्ष नदोहोरिऊन् ।
सीमा साह
जीवनका लागि महŒवपूर्ण वर्षका रूपमा रहोस् २०७४ साल ।
डा. महानन्द तिमिल्सिना
जातीय, धार्मिक, सांस्कृतिक, भौगोलिक आधारमा एकताबद्ध भएर देशको स्वाभिमानलाई उचाइ प्रदान गर्न सकियोस् ।
उर्मिला थापा
यो वर्ष विगतमा जस्तो दुःखपीडा भोग्नु नपरोस् ।
सुभद्रा पोखरेल सुवेदी
यो सालमा शिक्षा आयोगमा नाम निकालेर स्थायी जागिरे बन्न जुरोस् ।
लक्ष्मी सोदेम्बा
यो सालमा आफन्तसँग सुमधुर सम्बन्ध होस्, सबैसँग भेटघाट गर्न पाइयोस् ।
सीमा पाण्डे, शिक्षक
२०७४ सालमा सबैसँग सुमधुर सम्बन्ध बनाएर मिलीजुली बस्न सकियोस् ।
जुनु श्रेष्ठ
परिवारिक वातावरण राम्रो बनोस् । सबैसँग मिलेर रमाइलो गर्दै बस्न पाऊँ ।
शुभेच्छा श्रेष्ठ
अस्ट्रेलिया पढ्न जानका लागि स्डुटेन्ट भिसा एप्लाई गरेको छु । यो सालमा भिसा लागोस्, पढाइमा सोचेअनुसार सफलता पाइयोस् ।
 
प्रस्तुतिः निका तामाङ

नेपालगञ्ज
२०७४ साल कस्तो होस् ?
वीरभान केसी
देशमा अमनचयन कायम होस् । नेपाल एक समुन्नत र विकसित राष्ट्र निर्माणको बाटोमा अगाडि बढोस् ।
रतन शर्मा
राजनीतिक अस्थिरता अन्त्य होस् । सबैले गरिखान पाऊन् । बन्द, हड्ताल नहोस् ।
प्रदीप खड्का
देशमा शान्ति होस् । नयाँ कानुन कार्यान्वयन होस् । नागरिकले वाक्स्वतन्त्रता पाऊन् ।
सावित्री पौडेल
विद्यार्थीले निर्धक्क पढ्ने वातावरण बनोस् । बन्द, हड्ताल सदाका लागि बन्द होस् ।
केशव भण्डारी
देशमा रोजगारीको वातावरण बनोस् । कोही पनि रोजगारीका लागि विदेश नजाऊन् ।
भानुभक्त  रेग्मी
मागिखाने देशबाट गरिखाने देश बन्नतर्फ नेपाल अगाडि बढोस् ।
लेखबहादुर पुन
पिछडिएको वर्ग र समुदायले पनि सरकार भएको महसुस गर्न पाऊन् । भ्रष्टाचार अन्त्य होस् ।
सोनी यादव
सबैका अधुरा लक्ष्य पूरा होऊन् ।
गोविन्द चौधरी
स्थानीय तहको निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न होस् । सबैले गरिखान पाऊन् ।
रोशनी पौडेल
नयाँ वर्षमा व्यापार–व्यवसाय राम्रो होस् । पहिलेको भन्दा व्यापार–व्यवसाय फस्टाओस् ।
रोशन क्षत्री
क्याम्पस, विद्यालय बन्द–हड्तालमुक्त होऊन् । सबैले पढ्न पाऊन् ।
यज्ञराज जोशी
सरकारले आर्थिक क्षेत्रमा प्रगति गरोस् । देशको विकास होस् ।
सरीता चौधरी
राजनीतिका कारण स्कुल क्याम्पस बन्द नहोऊन् ।  विद्यार्थीले पढ्न पाऊन् ।
मीरा ओली
देशको विकास होस् । सबैले निर्धक्क हिँड्डुल गर्न पाऊन् ।
विनिता खड्का
नयाँ वर्ष विगतका वर्षभन्दा राम्रो बनोस् । सबैलाई गरिखाने वातावरण बनोस् ।
प्रथा गुरुङ
नयाँ वर्षमा सबैलाई सरकारले निःशुल्क औषधि उपचारका व्यवस्था गरोस् । स्वास्थ्य क्षेत्रमा सरकारी लगानी बढोस् ।
गीता पौडेल
२०७४ निराशाको वर्ष नहोस् । देशमा शान्ति र अमनचयन होस् ।
सुस्मिता चौधरी
नयाँ वर्षमा नयाँ उमंग छाओस् । नेपालीबीच भाइचाराको सम्बन्ध स्थापित होस् ।
शेरबहादुर गुरुङ
बेरोजगार युवा विदेश जानबाट रोकिऊन् । देशमै कलकारखाना, उद्योगधन्दा खुलून् ।
रीमा वज्राचार्य
सबैको आर्थिक समृद्धि होस् । नेपाल र नेपालीको दुःखपीडा हटेर सुख र शान्ति छाओस् ।
मीनाक्षी वज्राचार्य
दैवीय प्रकोपको पीडा भोग्नु नपरोस् । नागरिकलाई शान्ति सुरक्षा भएको महसुस होस् ।
सिर्जना जोशी
देशले आर्थिक समृद्धिमा फड्को मारोस् ।
लोकेन्द्र थापा
सबैका इच्छा र आकांक्षा पूरा होऊन् । युवाले बेरोजगार भएर बस्नु नपरोस् ।

प्रस्तुतिः पुष्पराज जोशी


पोखरा

घनश्याम लामिछाने
अघिल्लो वर्षमा पूरा नभएका काम नयाँ वर्षमा सफल होऊन् । नेपाली सिनेमामा बक्स अफिस लागू होस् ।
वीरभद्र आचार्य
देशमा लगानी गर्ने वातावरण बनोस् । व्यवसाय फस्टाउन सकून् । कृषकलाई पेन्सनको व्यवस्था होस् । खेलकुदलाई महŒव दिइओस् ।
नारायण शर्मा
चुनावमा जनताले चाहेको प्रनिनिधि चुन्न पाऊन् । चुनाव शान्तिपूर्वक सम्पन्न होस् ।
माया पुन गुरुङ
देशमा लोडसेडिङ कम भएको छ, अब लोडसेडिङ भयो भन्ने सुन्न नपरोस् । सरकारी कार्यालयमा हुने ढिलासुस्तीले नागरिकलाई हैरान हुन नपरोस् ।
विवेक गौतम
देशमा विदेशी लगानी भिœयाउने वातावरण बनोस् । नेताहरूमा वास्तविक ‘लिडरसिप’ विकास होस् ।

सिरोज कोइराला
सबै क्षेत्रमा ‘भिजन’ र ‘प्लानिङ’को अभाव छ । २०७४ मा धेरैभन्दा धेरै योजना बनून् । जसबाट देश बनोस् ।
आनन्दश्री न्यौपाने
राजनीतिक अवस्था सुध्रियोस् । देशमै काम गर्ने वातावरण बनोस् । युवाले रोजगारका लागि विदेश जान नपरोस् ।
अर्जुन गिरी
स्थानीय निकायको निर्वाचन सफल होस् । नेताहरूको बुद्धि फिरोस् । बोलीभन्दा कर्ममा ध्यान दिएर विवादको अन्त्य होस् ।
विमला भण्डारी
साल २०७४ मा नेपालले कुनै पनि प्राकृतिक विपद् भोग्नु नपरोस् ।
आयुष लम्साल क्षत्री
देशमा शान्तिपूर्ण ढंगले बाँच्न पाइयोस् । कुनै पनि राजनीतिक विषयमा झैझगडा, तोडफोडजस्ता घटना सुन्न नपरोस् ।
अरुण गिरी
देशमा नयाँ–नयाँ उद्योगधन्दा खोलिऊन् । बेरोजगारी घटोस् । विदेशिएका नेपाली देश फर्किऊन् ।
प्रिया कार्की
युवाहरूलाई व्यावहारिक, प्रयोगात्मक र प्राविधिक शिक्षा दिन सकियोस् । राजनीतिक खिचातानीले जनताले सास्ती खेप्नु नपरोस् ।
गोविन्दप्रसाद कोइराला
मधेशको मुद्दा हल होस् । जसको सरकार आए पनि देशबाट अन्योलको स्थिति हटोस् ।
वीरेन्द्र श्रेष्ठ
देशमा विधिको शासन होस् । आर्थिक विकासतर्फ देश जान सकोस् ।
                                                                                                                            प्रस्तुतिः सन्तोष सुवेदी

 

 

 

 

Leave A Comment