महासंघ नयाँ नेतृत्वका भावी योजना

आइतबार, ०३ बैशाख २०७४, १२ : २६ शुक्रवार , Kathmandu
महासंघ नयाँ नेतृत्वका भावी योजना

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व चयन भएको छ । विधान संशोधनपछि वरिष्ठ उपाध्यक्ष भवानी राणा स्वतः अध्यक्ष भए पनि अन्य नेतृत्व निर्वाचनबाट चयन भएको हो । महासंघको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा निर्वाचित भएका छन् । किशोरकुमार प्रधानलाई पराजित गर्दै गोल्छा विजयी भएका हुन् । अहिले निर्वाचित वरिष्ठ उपाध्यक्ष विधानतः आगामी कार्यकालमा स्वतः अध्यक्ष हुनेछन् । महासंघको तीन उपाध्यक्षमध्ये एसोसिएटमा चन्द्र ढकाल निर्विरोध उपाध्यक्ष चयन भएका थिए । वस्तुगत समूहतर्फ उमेशलाल श्रेष्ठ, जिल्ला–नगर समूहको तर्फबाट प्रमोद श्रेष्ठ उपाध्यक्षमा विजयी भएका छन् । उमेशलालले शंकर पाण्डे र प्रमोद श्रेष्ठले दिनेशलाई पछि पार्दै विजयी भएका हुन् । महासंघको नेतृत्वमा पुगेका अध्यक्ष राणा, वरिष्ठ उपाध्यक्ष गोल्छा, एसोसिएट उपाध्यक्ष ढकाल, वस्तुगत उपाध्यक्ष उमेशलाल र जिल्ला–नगर उपाध्यक्ष प्रमोदले प्रस्तुत गरेका भावी योजना र प्रतिबद्धता ।
‘अर्थतन्त्रको विकासमा अर्जुनदृष्टि’
भवानी राणा

अध्यक्ष–नेपाल उद्योग वाणिज्य महासंघ
आर्थिक समृद्धिका लागि जिम्मेवारी आएको छ । निजी क्षेत्रले भोग्नुपरेका समस्या समाधान गर्न पहल गर्छु । व्यावसायिक एकतामा जोड दिँदै साझा समस्या सुल्झाउन भूमिका खेल्छु । हामीले तय गरेको नारा ‘लक्ष्य हाम्रो, आर्थिक समृद्धिको’लाई पूरा गर्नेछु । महासंघभित्र असहमतिलाई हटाउछौँ । निजी क्षेत्र एकबद्ध ढंगले अघि बढ्छ । देशलाई समृद्धि बनाउने हाम्रो लक्ष्य पूरा गर्न लागेका छौँ । मुलुक प्रादेशिक अवधारणामा गएकाले महासंघको संरचना पनि सोही रूपमा अघि बढ्छ । महासंघको गरिमालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा अझ उच्च स्थानमा पु¥याउन पहल गर्छु । संविधान जारी भएर स्थिरतातर्फ मुलुक उन्मुख भएकाले अर्थतन्त्रको विकासमा अर्जुन दृष्टि लगाउछौँ । विगतका राम्रा कामलाई अनुशरण गर्दै बाँकी रहेका सपनालाई साकार पार्छौं । युवा जनशक्तिलाई स्वदेशमा रोजगारी, उद्यमशीलता वृद्धि, स्मार्ट सिटी निर्माण, महिला उद्यमशीलता विकास प्राथमिकतामा छन् । उत्पादनमूलक उद्योग बढाउने काम प्राथमिकतामा छ । आर्थिक अजेन्डा सबैको एउटै बनाउन लविङ गर्छौं । औद्योगिक वातावरण बनाउनको लागि देखिएका कानुनी समस्यालाई हटाउँदै औद्योगिक वातावरण बनाउन लागि पर्नेछु ।

‘आर्थिक समृद्धिकोे लक्ष्य पूरा गर्ने’
शेखर गोल्छा,
वरिष्ठ उपाध्यक्ष
५० वर्ष इतिहास बोकेको संस्थाको नेतृत्वमा आउँदा जिम्मेवारी बोध भएको छ । यो निजी क्षेत्रको विशाल वृक्ष हो । पाँच लाखभन्दा बढी उद्योगी व्यवसायीको आस्थाको केन्द्रलाई सुदृढ बनाउँदै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अघि बढ्छौँ ।
नाकाबन्दी, भूकम्प, राजनीतिक अस्थिरताका बीच एसियाली विकास बैंकको पहिलो सात महिनाको रिपोर्टअनुसार आर्थिक वृद्धि दर सात प्रतिशत देखिएको छ । यो आजसम्मकै धेरै हो । यो अवधिमा चार सय अर्ब रेमिट्यान्स आएको छ । ६५ प्रतिशतले राजस्व बढेको छ । पर्यटन आगमन ४५ प्रतिशतले बढेको छ । ऊर्जाको समस्या समाधान भएको छ । सात महिनामा दुई सय कम्पनीबाट ८.४ अर्ब नेपालमा लगानी गर्ने विदेशी प्रतिबद्धता आएको छ । यसले छ हजार रोजगारी थप्नेछ । यी सूचकले पनि मुलुकको आर्थिक विकास गर्न उपयुक्त वातावरण मिलेको छ । औद्योगिक व्यवसाय ऐन, सेजलगायत ऐन बनेका छन् । निजी क्षेत्रमैत्री बनाउन पहल गर्छौं । व्यवसायीको आवाजलाई मुखरित गर्दै करमा देखिएका समस्या हटाउन पहल गर्छौं । संविधानले दिएको अधिकारलाई प्रयोग गर्दै निजी क्षेत्रको सुदृढीकरण गर्दै अघि बढ्छौँ । व्यवसायीका भावनालाई सम्बोधन गर्न चुक्ने छैनौँ ।


‘व्यावसायिक वातावरण बनाउने’
चन्द्र ढकाल,
उपाध्यक्ष
महासंघले सुरु गरेका कामलाई पूर्णता दिन पहल गर्छौं । वर्तमान अध्यक्षले अघि सारेका उद्देश्यलाई पूरा गर्न सघाउछौँ । निजी क्षेत्रको यो साझा संस्थाको गरिमालाई माथि पु¥याउने काममा लाग्नेछौँ । एसोसिएटबाट प्रतिनिधित्व गरेकाले अहिले श्रमिक र व्यावसायिक संस्थाबीचको सम्बन्धलाई सुदृढ गर्न पहल गर्छु । संसद्मा रहेको श्रम ऐनलाई कार्यान्वयनमा ल्याउन पहल गर्दै सरकारसँग सहकार्य गरेर निजीले भोग्नुपरेका नीतिगत समस्या सुल्झाउँछौँ । व्यवसायी र सरकारी निकायबीच पुलको भूमिका निर्वाह गर्दै मुलुकमा अझ व्यावसायिक वातावरण सिर्जना गर्न पहल गर्छांै । विदेशबाट आउने रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा लगाएर स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने कार्यभार पनि पूरा गर्न लाग्छु । मुलुकको आर्थिक विकासमा धेरै सम्भावना देखिएका छन् । तिनलाई पूरा गर्ने हाम्रो दायित्व हो ।

‘औद्योगिक विकास प्राथमिकतामा’
उमेशलाल श्रेष्ठ

उपाध्यक्षः वस्तुगत समूहतर्फबाट
म राजनीतिक परिवारमा जन्मिएको भए पनि मुलुकको आर्थिक विकासको लागि यो क्षेत्रमा आएको हुँ । उद्योगी व्यवसायीले मलाई जुन जिम्मेवारी दिनुभएको छ त्यो कटिबद्ध भएर पूरा गर्छु ।
अहिले धेरै सामान विदेशबाट आयात हुँदा व्यापार घाटा ठूलो रहेको छ । त्यसको लागि स्वदेशी उत्पादनमा ध्यान दिनु आवश्यक छ । यसको लागि मुलुकमा औद्योगिक विकासमा लागिपर्नेछु । परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउँदै आर्थिक रूपमा देशलाई सबल बनाउने मुख्य ध्येय हो । महासंघमा नौ वर्षदेखि काम गरेकाले विगतका अनुभवलाई आत्मसात् गर्दै नेपाली नागरिकको आर्थिक अधिकार सुरक्षित गर्नु पनि दायित्व छ । अहिले राजनीतिक नेतृत्व पनि मुलुक औद्योगिक विकासमा प्रतिबद्ध देखिएको छ । यसलाई निजी क्षेत्रले उपयोग गरेर अघि बढ्नेछ ।

‘कानुनी उल्झन हटाउने’
प्रमोद श्रेष्ठ

उपाध्यक्षः जिल्ला नगरतर्फबाट
व्यवसायीका समस्यालाई समाधानका लागि सहजीकरण गर्नु नै मेरो पहिलो र प्रमुख जिम्मेवारी हुनेछ । अहिले व्यवसायी ‘मिसम्याच’, ‘अन्डर विलिङ’, अनुगमनको नाममा व्यवसायीलाई दुःख दिने काम भएको । अहिलेसम्म महासंघले यी समस्या सम्बोधन गर्न सकेको छैन । खुल्ला बोर्डरको कारण गैरकानुनी रूपमा सामान आउने, भन्सारमा सामान आयातमा झन्झट लगाउने कामलाई निरुत्साहित गर्नुपर्छ । औद्योगिक वातावरण बनाउन कानुनी उल्झन हटाउन पहल गर्छु । अहिलेका ऐन कानुन उद्योग मैत्री छैनन् । वन, वातावरणको बहानामा क्रसर, सिमेन्ट उद्योग, हाइड्रो फस्टाउन नसकेकोले राज्यका निकायको ध्यानाकर्षण गर्दै नीतिगत सुधारमा दबाब सिर्जना गर्छौं । नयाँ प्रादेशिक संरचनाअनुसार महासंघको संरचनालाई पनि परिवर्तन गर्ने दायित्व छ ।

Leave A Comment