धनगढी प्रिमियर लिग–२०७३ (डीपीएल) : क्रिकेटमय बन्यो धनगढी

आइतबार, ०३ बैशाख २०७४, १२ : ३४ पुष्पराज जोशी , Kathmandu
धनगढी प्रिमियर लिग–२०७३ (डीपीएल) : क्रिकेटमय बन्यो धनगढी

चैत २७ गतेबाट सञ्चालन भइरहेको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगले धनगढी क्रिकेटमय बनेको छ । चैत २७ देखि वैशाख ९ गतेसम्म चल्ने प्रिमियर लिगले यतिबेला प्रदेश नम्बर ७ को प्रमुख व्यापारिक केन्द्र धनगढी तातेको छ ।

क्रिकेटलाई अझ योजनाबद्ध र व्यावसायिक हिसाबले लैजानका लागि धनगढी क्रिकेट एकेडेमी (डीसीए) र सुदूरपश्चिमाञ्चल ऐकेडेमी (एसपीए) को आयोजनामा नयाँ योजनाका साथ लिग सञ्चालन गरिएको हो । यसअघि देशकै सर्वाधिक ठूलो धनराशिको क्रिकेट प्रतियोगिता ‘होटल डिभोटी एसपीए कप’ र नेपालमै पहिलो पटक खेलाडीको अक्सन प्रक्रियाद्वारा आयोजित ‘सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग’को मर्जरको नयाँ स्वरूपमा ‘सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग’ आयोजना गरिएको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बताए ।

प्रतियोगिातमा देशभरिका विभिन्न छ शहरबाट टिम छनोट गरिएको छ । जसमा कप्तानको टुंगो लक्की ड्रबाट गरिएको हो । उनीहरूले समान १ लाख ५० हजार पारिश्रमिक पाएका छन् । तीबाहेक अन्य खेलाडीले अक्सनमा रकम बोलकबोल गरेर एक लाख रुपैयाँसम्म पाएका छन् । प्रतियोगितामा सीवाईसी अत्तरियाको कप्तानी ज्ञानेन्द्र मल्ल, विराटनगर किङ्सको कप्तानी शरद भेषावकर, काठमाडौँ गोल्डेन्सको कप्तानी वसन्त रेग्मी, रूपन्देही च्यालेन्जर्सको    शक्ति गौचन, कञ्चनपुर आइकोनिकको विनोद भण्डारी र टिम चौराहा धनगढीको कप्तानी पारस खड्काले गरिरहेका छन् ।
प्रतियोगिताको विजेतालाई १५ लाख र उपविजेतालाई  सात लाख रुपैया“ तथा ट्रफी प्रदान गरिनेछ । नेपाली क्रिकेटमा यो हालसम्मकै सबैभन्दा ठूलो धनराशिको क्रिकेट प्रतियोगिता हो । प्रत्येक खेलका बेल्स क्याफे म्यान अफ द म्याचले १० हजार तथा म्यान अफ द सिरिजले टिभीएस आरटीआर २०० अपाचे मोटरसाइकल पाउनेछन् । प्रतियोगिताको पुरस्कार राशिमा मात्र २७ लाख रुपैयाँ खर्च हुने आयोजकले बताएका छन् ।
प्रतियोगिता टी–२० को आधारमा भइरहेको छ । लिग चरणमा प्रत्येक टिमले एकआपसमा एक–एक खेल खेल्नेछन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ ।

विराटनगर किङ्स र काठमाडौँ गोल्डेन्स विजयी
डीपीएल क्रिकेटअन्तर्गत मंगलवारको पहिलो खेलमा विराटनगर किङ्स विजयी भएको छ । विराटनगरले पारस खड्का कप्तान रहेको अघिल्लो वर्षको धनगढी क्रिकेट लिगको च्याम्पियन धनगढी टिम्स चौराहलाई २३ रनले हराएको हो ।
सेती अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा बिहान भएको खेलमा टस हारेर छ विकेट गुमाएर १ सय ३४ रन बनायो । उसका लागि कप्तान शरद भेषवाकरले सर्वाधिक ४६ रन बनाए । अनिल शाहले २८, प्रनित थापा मगरले २१,  अमित श्रेष्ठले १९ तथा आशिफ शेखले १० रन बनाए । धनगढीका लागि ललित राजवंशीले १ तथा आरिफ शेख, रामनरेश गिरी र सुसन भारीले १÷१ विकेट लिए ।
जीतका लागि १ सय ३५ रनको लक्ष्य पछ्याएको धनगढी टिम्स चौराहाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन मात्र बनाउन सक्यो । धनगढीका अमर रौटेलाले २६ तथा अनिल मण्डलले २४ रन बनाए । राजु रिजाल १३ रनमा आउट भए । पारस खड्काले २ तथा आरिफ शेखले १ रन मात्र बनाउन सके । विराटनगरलाई जिताउन कप्तान शरद भेषवाकर र सुशील कँडेलले ३/३ विकेट लिए । जितेन्द्र मुखियाले २ र दीपेन्द्र ऐरीले १ विकेट लिए ।     

 

 

 

Leave A Comment