प्रदीप लोहागुणका कविता

शनिबार, ०९ बैशाख २०७४, ११ : ५५ शुक्रवार , Kathmandu
प्रदीप लोहागुणका कविता

यो देशको निर्माता को ?

किसानलाल माझीले बाँझो खेत खन्दा
यो देश समृद्ध हुन्छ, हुँदैन
उसलाई थाहा छैन
तर ऊ पुस्तैनी खनिरहेछ यो देशको बाँझो खेत ।
कान्सीराम आप्टेले चिनी मिलमा उखु पेल्दा
यो देशको मुद्रास्फीतिमा सुधार हुन्छ, हुँदैन
उसलाई थाहा छैन
तर ऊ वर्षौंदेखि पेलिरहेछ उखु ।
हेमन्त बरुवाले रातभरि ब्रह्मपुत्रमा
जाल हानेर माछा मार्दा
यो देशको अर्थनीतिमा सहयोग पुग्छ, पुग्दैन
ऊ जान्दैन
तर ऊ युगौँदेखि मारिरहेछ माछा ।
जुद्धवीर राईले सिमानामा राइफल बोकेर उभिँदा
यो देश सुरक्षित हुन्छ, हँुदैन
उसलाई थाहा छैन
तर ऊ युगौँदेखि बोकिरहेछ राइफल ।

चियाकमानमा पत्ती टिपिरहेकी सुनमाया छेत्रिनी
कारखानामा चियापत्ती पेलिरहेको पदमबहादुर कामी
सडकमा अलकत्रा बिछ्याइरहेको रामवदन पासवान
पहाडमा टनल खनिरहेको अजोय दास
महानगरमा इँटा ओसारिरहेकी गुलाबीबाई नागर
कस्सै कस्सै कस्सैलाई पनि थाहा छैन
उसको पसिना र रगतले
यो देशको प्रगति हुन्छ, हुँदैन ।
 
छक्क पर्यो किसानलाल माझी
जब देशका राष्ट्रपतिले गणतन्त्र दिवसको भाषणमा भने–
‘यो देशका निर्माता किसानहरू हुन्’
छक्क परे कान्सीलाल आप्टे र हेमन्त बरुवा
जब यो देशका प्रधानमन्त्रीले स्वतन्त्रता दिवसको भाषणमा भने–
‘यो देशको निर्माता मजदुरहरू हुन्’
सेना दिवसको भाषणमा
जब देशका रक्षामन्त्रीले भने–
‘यो देशका रक्षक सिपाहीहरू हुन्’
जुद्धवीर राई छक्क परे ।

यो देशका मन्त्री र नेताहरूले
जब जब पनि किसान, श्रमिक र मजदुरहरू
देशका निर्माता हुन् भने
छक्क परिरहे सुनमाया छेत्रिनीहरू, पदमबहादुर कामीहरू
छक्क परिरहे रामवदन पासवान,
अजोय दास र गुलाबीबाई नागरहरू ।

यो देशका राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री
अरू मन्त्री र नेताहरूले शानसँग फहराएजस्तै
यो देशका निर्माताहरूले पनि
आफ्नो हलो कोदालो,
आफ्ना थोत्रे साइकल
आफ्ना सरकारी राइफल
आफ्ना मसिन र औजारहरूमा
राष्ट्रिय झण्डा फहराउन पाउँछन् कि पाउँदैनन्
कस्सै कस्सै कस्सैलाई थाहा छैन ।
 

‘सरकार ! मैने देश का नमक खाया है’

गब्बर सिंहजस्तै जब्बर छ देश
गब्बर सिंहभन्दा मैलो र घिनलाग्दो छ सरकार
गब्बर सिंहभन्दा क्रूर छ देशको व्यवस्था ।
 
अधिकार माग्ने जो कोहीलाई शंका गर्छ सरकार
आधारातमा
रोगी आमाको औषधि किन्न निस्केको बेरोजगार युवकलाई
आतंकवादी घोषणा गर्छ देश
सरकार त्यसको कञ्चटमा ताक्छ कानुनको पेस्तोल
र गब्बर सिंहजस्तै खूब अट्टहास गर्छ ।
सरकारको त्यो रहस्यमय अट्टहास
गुञ्जिन्छ संसदको दुवै सदनमा
र संक्रमित हुन्छ
पुलिसको खाकी युनिफर्ममा
वकिलको कालो कोटमा
अनि अदालतको पुरानो टाइपराइटरमा ।
 
देशको बुट्टेदार थैलीबाट खैनी झिकेर
ठूलो फाँक हाल्छ
र कथित आतंकवादी युवकको अनुहारमै
थुक्छ सरकार ‘हाक थू’
 
 
ऊ त्यही युवक हो जसले खेतमा पसिना रोपेर
खोलिदिएको हो स्विस बैंकमा सरकारको एकाउन्ट
ऊ त्यही युवक हो जसले कारखानामा हात काटेर
बनाइदिएको हो प्रधानमन्त्रीलाई चौकी ।
 
उसलाई थाहा छैन
झेलममा बग्ने
कश्मिरीहरूको पसिनाको आदिम इतिहास
उसलाई थाहा छैन
गंगा र जमुनामा बग्ने
उत्तर भारतीयहरूको पसिनाको लोकगीत
उसलाई थाहा छैन
कृष्ण र कावेरीमा बग्ने
दक्षिण भारतीयहरूको पसिनाको शास्त्रीय संगीत
उसलाई थाहा छैन
ब्रह्मपुत्रमा मिसिएर बग्ने पूर्वोत्तरवासीहरूको पसिनाको कथा
उसलाई थाहा छैन
टिस्टा र रंगीतमा बग्ने पसिनाको चुटके र समला
अर्थात् उसलाई थाहै छैन
यो देशका नदीहरूले
कि आँशु बोक्छन् कि पसिना ।
समाजले ड्रपआउट नागरिक भन्नुअघि
उसले प्राइमेरी स्कुलमा कतै पढेको थियो
कि समुन्द्रको पानी नुनिलो हुन्छ
र त्यसैबाट बनिन्छ नुन ।
 
तर सरकार नमक हराम छ
नागरिकको पसिनाले नै बनिएको नुन खान्छ
र राष्ट्रप्रेमको कठघरामा उभ्याएर
राष्ट्रिय सुरक्षाको गीता छुवाउँदै
कथित आतंकवादी युवकको बयान लिन्छ
‘सरकार ! मैने देश का नमक खाया है ।’


अम्बानीको खुदरा पैसा
 
निगमको झोला भिरेर हाट भर्न हिँडेका
अनील अम्बानीलाई थाहा छ
खुदरा पैसाको मूल्य ।
 
अनील अम्बानीलाई अर्को एउटा कुरा पनि थाहा छ
कि हाट भर्न जाँदा नोट बोक्नु हुँदैन ।
ऊ सानैदेखि आफ्ना बाबुसँग
हाट भर्न आउन थालेको छ ।
उसलाई थाहा छ
सब्जी किनेर ठूलो नोट दिँदा
किचिलो लाउँछन् व्यापारीहरू
ठूलो नोटको हिसाब नमिल्दा
कोई बेला एक दुई रूपिँया त्यसै छोड्नुपर्छ ।
सधैँ त्यसरी छोड्नुपरे हल्लिन्छ घरको अर्थनीति
घरको अर्थनीति हल्लिँदा नै हल्लिने हो देशको राजनीति ।
अनील अम्बानीले देशको राजनीति हल्लिनु दिनु हुँदैन ।
मर्ने बेलामा आफ्ना बाबुलाई गरेको संकल्प नै यही हो उसले
कि म कुनै पनि हालतमा घरको अर्थनीति हल्लिनु दिने छुइनँ
उसको यही दृढसंकल्पले हल्लिन दिँदैन देशको राजनीति ।
 
ऊ चाहन्छ, देशको प्रत्येक नागरिकसँग खुदरा पैसा हुनैपर्छ
ऊ सोच्छ, आखिर हाटलाई चाहिने खुजरा पैसा त हो
नोट त चुनाउको बेला चाहिन्छ
चुनाउपछि सरकार बनाउँदा चाहिन्छ ।
कोई बेला सरकार गिराउँदा चाहिन्छ ।
 
यो देशको प्रधानमन्त्रीले पोल्टोमा कसेको
एक अरब खुजरा पैसाको मखमली थैली
अनील अम्बानीले उपहार दिएको हो ।
 
अनील अम्बानीलाई
थैलीको भन्दा पनि खुजरा पैसाको मूल्य थाहा छ ।
 

जादुगर सरकार

जब देशको मानचित्रबाट अचानक हराउँछ
दलबहादुरको देशभक्त गान्धीटोपी
जंगवीरको खद्दरको अहिंसक कोट

जब देशको राष्ट्रिय गीतबाट अचानक हराउँछ
रामसिंहको सुसेलिरहेको चुच्चो ओठ

अथवा हराउँछ अचानक जब यो देशको अनुहारबाट
इन्द्रेणी–सावित्रीका क्रान्तिकारी आँखाहरू

मलाई आफ्नै देशको इतिहास
पीसी सरकारको ‘मेजिक शो’ जस्तो लाग्छ।
पीसी सरकारले जब हल्लाउँछ एउटा रहस्यमय लाग्ने लौरो
गायब पारिदिन्छ एउटा अबोध बच्चा ।
जब यो देशको शासकले पनि हल्लाउँछ आफ्नो दलको झण्डा
सुकुमवासीहरूको बस्ती गायब पारिदिन्छ

देशको सरकार र पीसी सरकारमा फरक यति नै छ
कि उसले गायब पारेको बच्चा
फर्काएर ल्याउँछ सकुशल
र रूञ्चे अनुहार लगाएर बसेकी आमाको अनुहारमा पोतिदिन्छ
आनन्दको एक मुट्ठी अबिर ।

तर जब देशको सरकारले गायब पार्छ बस्ती
त्यो बजार भएर फर्किन्छ
जुन बजारले तपाईंको मुटु निचोर्छ र खेल्छ रगतको होली ।

बस्तीलाई बजार बनाउने
र बजारलाई रगतको होली खेल्न दिने
सरकार महान् जादुगर हो
मलाई थाहा छ
तपार्इंहरू
सरकारको यही जादुटोनाले लट्टिनुभएको छ ।

नदुखेको घाउ

घाउ दुख्न थालेपछि
सबथोक बिर्सन्छ मान्छे ।

दुखाइले पराकाष्ठ छोएपछि
एकक्षणलाई ममतामयी आमा बिर्सन्छ
मायालु स्वास्नी बिर्सन्छ
फूलजस्ती छोरी बिर्सन्छ
र बिर्सन्छ छहारीदार बरको रूखजस्तो परिवार ।

घाउ दुख्न थालेपछि
चेतनाशून्य हुन्छ मान्छे ।

चेतनाको जम्मै आँखाहरू
घाउको मुखमा टाँसिन्छ
र हान्छ एउटा गह्रो लात पलङको बिटलाई
हान्छ एउटा दर्रो घुस्सी चुपचाप उभेको भित्तालाई
सिरानीको घाँटी निमोट्छ
र हत्या गरिदिन्छ ।

१८१६–को एउटा घाउ
१९५०–को एउटा घाउ
१९८८–को एउटा घाउ
२०११–को एउटा घाउ ।

तिम्रो शरीर त घावैघाउले भरिएको छ
तिमीलाई किन नदुखेको यी घाउहरू ?

 

Leave A Comment