महिनावारीबारे टिनएजलाई जानकारी गराउनुस्

शनिबार, ०९ बैशाख २०७४, १२ : ०३ डा. सुबोधकुमार पोखरेल , Kathmandu
महिनावारीबारे टिनएजलाई जानकारी गराउनुस्

मेरी छोरीको उमेर १२ वर्ष पुग्यो । यो उसको महिनावारी सुरु हुने उमेर हो । महिनावारीको बारेमा टिनएजमा प्रवेश गरेका छोरीलाई कसरी जानकारी दिन सकिन्छ ? सल्लाह पाए मजस्ता धेरै आमालाई सहज हुने थियो ।
पवित्रा

महिनावारीबारे छोरीलाई सही जानकारी दिन तपाईंले देखाउनुभएको चासोका लागि धेरै धन्यवाद । अधिकांश आमाले छोरीहरूलाई महिनावारीबारे सामान्य जानकारी पनि दिएका हुँदैनन् । महिनावारी हुने समयमा किशोरीहरूलाई चाहिने परामर्शबारे धेरैलाई जानकारी नै हुँदैन । तपाईंले छोरीलाई दिन खोजेको परामर्श अरू आमाहरूले पनि आफ्ना छोरीहरूलाई दिनुपर्छ ।
महिनावारी आठदेखि १५ वर्षको उमेरमा सुरु हुन्छ र महिलाको जीवनको उत्तरार्धमा गएर रोकिन्छ । सुरुसुरुमा बानी नपर्दासम्म महिनावारीका बेला केटीहरूलाई झर्काे र अप्ठ्यारो लाग्ने हुन्छ । उनीहरूले शारीरिक प्रक्रियाबारे खुलेर कुरा गर्न सक्ने वातावरण छैन । हाम्रो समाज यौन स्वास्थ्यप्रति अझै पनि खुल्न सकेको छैन ।
महिलामा महिनावारी सामान्य र स्वस्थ प्रक्रिया हो । प्रत्येक महिना महिलाको पाठेघरको सतहबाट रगत र अन्य तन्तु योनिको माध्यमबाट बाहिर निस्कनुलाई महिनावारी भनिन्छ । यो सामान्यतया आठ वर्षदेखि १५ वर्षको उमेरसम्म सुरु हुन्छ । धेरैजसो स्त्रीमा यो ११/१२ वर्षको उमेरमा सुरु हुन्छ । महिनावारी सुरु हुनुलाई केटी युवावस्थामा प्रवेश गरेको रूपमा पनि लिइन्छ । त्यस्ता केटीहरू गर्भवती भएर बच्चा जन्माउन सक्ने सामथ्र्य राख्छन् ।
उमेर बढ्दै जाँदा मस्तिष्कले शरीरलाई विभिन्न खालका हार्मोन बनाउन सूचना दिन्छ । यी हार्मोनले प्रत्येक महिना महिनावारी गराउन मद्दत गर्छन् । महिनावारी एउटा चक्रीय प्रणाली हो, जुन हरेक महिना हुन्छ । यो जसरी एक्कासि देखिन्छ, त्यसरी नै उमेरको उत्तरार्धमा गएर रोकिन्छ । औसत रूपमा महिनावारी २८ देखि ३१ दिनमा हुने गर्छ । महिनावारीको पहिलो रगत बग्ने दिनदेखि अर्को महिनावारीको पहिलो रगत बग्ने दिनलाई हिसाब गरिन्छ ।
सुरुको महिनावारीमा अनियमितता सामान्य हो । एक÷दुई वर्षमा यो सामान्य अवस्थामा आउँछ । किशोरावस्थामा कसैलाई २८ दिनमा,  कसैलाई २४ दिनमा र कसैलाई ३१­३४ दिनमा  महिनावारी हुन सक्छ । यी सबै कुरा सामान्य हुन् । किशोरीमा २१­४५ दिनमा महिनावारी हुन सक्छ भने महिलामा २१­३५ दिनको हुन सक्छ । महिनावारी एकदमै छिटो वा एकदमै ढिलो र दुई वर्षसम्म पनि सामान्य अवस्थामा आउन सकेन भने चिकित्सकसँग सल्लाह लिनुपर्छ ।
प्रत्येक महिना, महिनावारी सुरु भएको पाँच दिनपछि पाठेघरको भित्री सतहमा तन्तु बढ्दै जान्छन् । यसले महिला गर्भवती भइहाली भने हुर्किंदै गरेको बच्चालाई मलजलको काम गर्छ । महिनावारी भएको लगभग चौधौँ दिनमा महिलाको डिम्बाशयबाट डिम्ब निस्कन्छ र फेलोपिअन ट्युब हुँदै पाठेघरतिर आउँछ । डिम्ब पुरुषको शुक्रकीटसँग सम्पर्कमा आयो भने पाठेघरमा गएर टाँसिन्छ र भ्रुणका रूपमा बढ्दै जान्छ, नयाँ जीवनको सुरुवात हुन्छ । महिला गर्भवती हुन सकिनन् भने महिनावारीको अन्त्यमा पाठेघरमा बढेका तन्तु रगतसहित शरीरबाट बाहिर निस्कन्छन् । महिनावारीको रगत, पाठेघरको भित्री सतहमा बढेका तन्तु र रगतको मिश्रण हो जुन पाठेघरबाट सर्भिक्स हुँदै योनिको बाटो हुँदै शरीरबाहिर निस्कन्छ । यही नै महिनावारी हो । प्रायः सुरुको दुई÷तीन दिनसम्म धेरै रगत बग्छ र चार दिनपछि कम हुँदै गएर रोकिन्छ । रगत बग्ने प्रव्रिmया तीनदेखि पाँच दिनसम्म हुन्छ । कसैकसैलाई महिनावारीमा सात दिनसम्म पनि रगत बग्ने हुन्छ । एक पटकको महिनावारीमा ३१ देखि ८१ मिलीलिटरजति रगत बग्छ, जुन सामान्य हो । तर, ८१ मिलिलिटरभन्दा बढी रगत बग्नुलाई अत्यधिक रगत बग्नु भनिन्छ । यस्तो भयो भने रक्तअल्पताको समस्या आउन सक्छ । यस्तो अवस्थामा चिकित्सकीय सल्लाह आवश्यक हुन्छ ।
महिनावारी सुरु हुनुभन्दा केही दिन अगाडिदेखि पेट दुख्ने अथवा असजिलो हुने गर्छ ।  महिनावारीको बेला बढेका हार्मोनले गर्दा यस्तो हुने गर्छ । यिनै हार्मोनले पाठेघरका मांसपेशीलाई खुम्च्याएर महिनावारी गराउन मद्दत गर्छ । कसैकसैमा महिनावारीमा बान्ता हुने, पखाला लाग्ने, झर्को लाग्ने, थकित महसुस हुनेजस्ता लक्षण देखापर्छन् । पेट दुखेको अवस्थामा तातो पानीको ब्यागले पेट सेक्दा धेरै हदसम्म निको हुन्छ । व्यायाम गर्दा शरीरमा इन्ड्रोफिन भन्ने हार्मोन बन्छ जसले शरीरको दुखाइ कम गर्छ । बढी कसरत गर्ने महिलालाई महिनावारीको बेला कम दुखाइ हुन्छ । अत्यधिक दुखाइ भएमा औषधि पसलबाट दुखाइ कम गर्ने औषधि खाए हुन्छ ।
यी अवस्थामा तुरुन्त स्त्री तथा प्रसूतिरोग विशेषज्ञसँग सल्लाह लिनुपर्छः
१. पेट असाध्यै दुखेमा
२. धेरै रगत बगेमा
३. महिनावारी सात दिनभन्दा बढी भएमा
४. महिनावारी हुनुपर्ने समयमा नभएमा
५. पन्ध्र वर्षको उमेरसम्म महिनावारी नभएमा
६. तीन महिनासम्म महिनावारी नभएमा
७. असुरक्षित सम्पर्क या अनावश्यक गर्भ रहेमा
८. ट्याम्पोनको प्रयोगपछि ज्वरो आएर बिरामी भएमा
महिनावारीको बेलामा ट्याम्पोन, प्याड्स या दुवै प्रयोग गर्न सकिन्छ । ट्याम्पोन योनिभित्र राखिन्छ । यो विभिन्न आकार र विशेषताका हुन्छन् । कीटाणुको संक्रमण र रगत चुहिनबाट बच्न ट्याम्पोनलाई प्रत्येक चार घण्टामा फेर्नुपर्छ । प्याड्स प्रायः अन्डरवियरभित्र लगाइन्छ र यसलाई पनि प्रत्येक चार घण्टामा फेर्दा स्वास्थ्यजनक हुन्छ । ट्याम्पोन र प्याड्स प्रयोग गर्न तपाईंले आफ्नो शरीरलाई बुझ्नु एकदमै महत्वपूर्ण छ । खेलकुदमा क्रियाशील केटीहरूलाई प्याड्सभन्दा ट्याम्पोन बढी उपयोगी हुन्छ । यो लगाउँदा पौडी खेल्न पनि सजिलो हुन्छ । ट्याम्पोनलाई योनिभित्र राखिने हुँदा कतिपयले प्याड्स नै रुचाउँछन् । ट्याम्पोन या प्याड्स, जे प्रयोग गरे पनि गोजीमा या ब्यागमा एक्स्ट्रा बोकिराख्नुपर्छ । महिनावारीको सुरुको दिनमा अप्ठ्याराबाट बच्न ट्याम्पोन या प्याड्स बेला–बेलामा फेरिरहनुपर्छ ।

 

 

Leave A Comment