छनोट नभए खेलाडीलाई दोष

बिहिबार, ०६ जेठ २०७३, ०२ : ०५
छनोट नभए खेलाडीलाई दोष

म्यानचेस्टर सिटी अर्को सिजनका लागि च्याम्पियन्स लिगमा छनोट नभएमा खेलाडीलाई दोष लगाउन क्लबका डिफेन्डर बाकरी सागनाले आग्रह गरेका छन् । आफूहरूले प्रयास गरिरहेको र सिटी अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट हुने र यदि छनौट नभए खेलाडीलाई दोष लगाए हुने उनले बताए । सिटी प्रिमियर लिगका पछिल्लो चार खेलमा एकमा मात्रै विजयी भएको छ । पछिल्लो पटक आइतवार आर्सनलसँगको खेलमा २–२ को बराबरीमा रोकिएको सिटी शीर्ष चारबाट तल झर्ने सम्भावना पनि छ । सिटी पाँचौँ  स्थानको म्यानचेस्टर युनाइटेडभन्दा दुई अंकले मात्र अघि छ र अब दुवैले एक–एक खेल खेल्न बाँकी छ । प्रिमियर लिगको शीर्ष चार क्लबले च्याम्पियन्स लिग खेल्न पाउने छन् ।


३३ वर्षका सागनाले आफूहरूले सक्दो प्रयास गरिरहेको बताए । उनले भने, ‘हामीले हुनेसम्मको प्रयास गरेका छौँ ।’ आर्सनलसँगको खेलमा आफूहरूले निकै राम्रो गरेको र यस्तै सिजनका सबै खेलमा गर्न सकेको भए सिटी उत्कृष्ट क्लब बन्ने उनको भनाइ छ । उनले भने, ‘हो, हामी पूर्ण छैनौँ । योभन्दा राम्रो गर्न सक्ने थियौँ । तर, हामी च्याम्पियन्स लिगमा रहनका लागि भने योग्य छौँ ।’ म्यानचेस्टर सिटीले यो सिजन पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनल खेलको थियो । ऊ रियल म्याड्रिडबाट पराजित भएर फाइनलमा पुग्न सकेन ।

Leave A Comment