योगबाट यौन सुख

आइतबार, १० बैशाख २०७४, ०१ : १४ ईश्वर दाहाल , Kathmandu
योगबाट यौन सुख

सुखी र सन्तुष्ट यौन जीवनका लागि शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो हुनुपर्छ । यसमा योगको भूमिका प्रमाणित भइसकेको छ । उत्तेजना समस्या, शीघ्रपतन, यौनप्रति उदासीनताजस्ता पुरुष र महिलाका यौन समस्या योगद्वारा हटाउन सकिने बताइन्छ । ईश्वर दाहालले योगले यौन क्षमता वृद्धि गर्न कसरी सघाउँछ ? बेलीविस्तार लगाएका छन् ।
योग र ध्यान योगी/सन्न्यासीसँग जोडिएका विषय भएकाले योगका कारण ‘सेक्स पावर’ बढेको कुरा सेयर गर्न जो कोही हिचकिचाउँछन् । योगका गुरुहरूले पनि योग गराउँदा यी–यी आसन तथा मुद्राले यौन क्षमता वृद्धि गर्छ भनेर भन्दैनन् । तर, योगले पुरुषमा हुने इरेक्टाइल डिस्फंक्सन (लिंग उत्तेजित नहुने समस्या), शीघ्र पतन र महिलामा योनी ओभानो हुने (फ्रिजिडिटी) जस्ता यौन समस्या हट्ने योग गुरुहरू दाबी गर्छन् । ‘योगका धेरै फाइदामध्ये यौन क्षमता वृद्धि पनि एक हो,’ योग गुरु डा. योगी विकासानन्द भन्छन्, ‘गृहस्थी जीवन बिताइरहेकाहरूले योगबाट आफ्नो यौन क्षमता बढाउन सक्छन् ।’
लिंग उत्तेजित नहुने समस्या भएका पुरुषहरूमा बिहे गरेपछि श्रीमतीसँग सहवास गर्न सक्छु कि सक्दिनँ ? भन्ने डर मनमा हुन्छ । जुन बढ्दै गएपछि ‘एन्जाइटी’ (चिन्ता) मा परिणत हुन्छ । जहाँ डर हुन्छ, त्यहाँ उत्तेजना हुँदैन । योग तथा ध्यानले डर हटाउन मद्दत गर्ने भएकाले कसैले डरकै कारण सहवास गर्न सकिरहेको छैन भने योग प्रभावकारी माध्यम हुने योग प्रशिक्षकहरूको दाबी छ ।
‘सामान्यतयाः पुरुषको २५ वर्षसम्म पेट लाग्दैन । पेट लाग्नासाथ पुरुषको ‘सेक्सुअल ड्राइभ’ कमजोर हुन्छ । पेट भएको मान्छेले राम्रो सेक्स नै गर्न सक्दैन,’ योगी विकासानन्द भन्छन्, ‘योगले स्वस्थ शारीरिक बनावटका लागि पनि काम गर्ने भएकाले नियमित योग गर्नेहरूको यौन जीवन पनि राम्रो हुने गरेको हो ।’
केस नं. १
काठमाडौँ, बालुवाटार बस्ने पदम दोङ १७ महिनादेखि नियमित योग गरिरहेका छन् । योगले आफूलाई भित्रैदेखि खुशी तुल्याएको बताउने दोङ योगका धेरै फाइदामध्ये यौन क्षमता वृद्धि पनि हो भन्छन् । ‘मलाई शीघ्र स्खलनको समस्या थियो,’ उनले भने, ‘सेक्स सुरु गर्न पाएको छैन, स्खलित भइहाल्ने समस्याले हैरान थिएँ । कुण्डलिनी योग साधना गर्न थालेपछि शीघ्र स्खलनको समस्या हटेको छ । अहिले १० देखि १५ मिनेटसम्म सेक्समा टिक्न सक्ने भएको छु ।’
योग गर्न थालेपछि आत्मविश्वासको तह पनि बढ्ने भएकाले सहवासका बेला निकै फाइदा पुग्ने गरेको उनी बताउँछन् । कुण्डलिनी योग साधनमा उत्तेजना नियन्त्रण गर्नेदेखि शीघ्रपतन रोक्नेसम्मका अभ्यास समेटिएकाले यो प्रभावकारी रहेको दोङ बताउँछन् । योगले आफूमा धेरै परिवर्तन आएको उनको भनाइ छ ।
केस नं. २
जिना र जीतबहादुर (नाम परिवर्तन) दम्पती पनि कुण्डलिनी योग साधना गरिरहेका छन् । उनीहरूले केही वर्षअघि प्रेम विवाह गरेका थिए । तर, जिना र जीतबहादुरको सम्बन्ध निकै तनावग्रस्त हुँदै गइरहेको थियो । दुवैको छुट्टाछुट्टै व्यवसाय छ । कामबाट फर्केपछि एकापसमा झगडा गरेर नै उनीहरू रात कटाउँथे । जबदेखि उनीहरू दुवै जना योग गर्न थाले उनीहरूमा नाटकीय परिवर्तन आएको जीतबहादुर बताउँछन् । ‘म एकदमै रिसाउँथेँ,’ उनले भने, ‘हाम्रो नियमित सहवास हुँदैनथ्यो । सहवासका लागि श्रीमती कहिल्यै पनि तयार नहुने गरेका कारणले गर्दा यौन जीवन ध्वस्त थियो ।’ दुवै जनाले नियमित योग गर्न थालेपछि आफूहरूको धेरै समस्या समाधान भएको जिना बताउँछिन् । सहवास र महिनावारीका बेला हुने पीडा पनि योग गर्न थालेपछि हटेको उनले बताइन् ।
केस नं. ३
सिर्जना (नाम परिर्वतन) ले योग गर्न थालेको धेरै भएको छैन । स–साना कुरामा पनि तनाव लिने उनको बानीले उनलाई धेरै कुरामा हानि पु¥याइरहेको थियो । टेन्सन भएपछि सेक्समा कुनै आनन्द नपाउने उनले बताइन् । ‘श्रीमान्ले पनि सम्पर्कका बेला मज्जा आएन भन्दै कराउने गर्नुहुन्थ्यो,’ उनले भनिन्, ‘योग गर्न थालेपछि ममा आएको परिवर्तनले श्रीमान् पनि दंग पर्न थाल्नुभएको छ । योगले अन्य फाइदासँगै यौन सन्तुष्टि वृद्धि गर्न पनि सहयोग गरेको अनुभव गरेकी छु ।’
केस नं. ४
४२ वर्षीय रमेश सापकोटा (नाम परिवर्तन) को घरबार टुट्ने अवस्थामा पुगेको थियो । क्याटरिङ व्यवसाय गर्ने उनी धेरै समय घरबाहिर नै हुने गर्थे । बेलुका अबेर घर पुगेपछि उनलाई थकानका कारण कहिले सुत्न पाइएलाजस्तो हुन्थ्यो । जसकारण उनको श्रीमतीसँग नियमित सेक्स हुँदैनथ्यो । ‘हाम्रो घर झगडा बढ्दै गयो,’ सापकोटाले भने, ‘योगले तनाव व्यवस्थापन हुन्छ भनेर योग गर्न थालेँ । एक वर्षमा ममा निकै परिवर्तन आएको छ । अहिले पहिलाजति काम गर्दा पनि फ्रेस नै हुन्छु र श्रीमतीसँग नियमित सहवास हुन्छ । सहवासको अवधि पनि केही बढेको अनुभव गरेको छु ।’
योग शारीरिक स्फूर्ति बढाउन र मानसिक तनाव कम गर्न गरिन्छ । योगबाट हुने फाइदा वैज्ञानिक रूपमा पनि पुष्टि भएका छन् । त्यसैले योगप्रतिको आकर्षण बढ्दै गएको छ । योग साधुसन्त र जोगीहरूले मात्र गर्ने होइन भन्ने तथ्य सर्वसाधारणलाई बुझाउनुपर्ने योग गुरुहरू बताउँछन् । ‘योगले के–केमा कसरी फाइदा पु¥याउँछ भनेर खुलस्त बताउने हो भने धेरै मानिसले यसबाट फाइदा लिन सक्छन्,’ योगी विकासानन्द भन्छन्, ‘योगका कारण सेक्स पर्फर्मेन्स बढछ र सेक्ससम्बन्धी धेरै समस्या समाधान हुन्छन् भन्ने सत्य व्यापक प्रचार गर्नुपर्छ ।’ उनी सेक्सका कुरा लुकाउन नहुने बताउँछन् । ‘गृहस्थी जीवन चलाउन चाहिने अनिवार्य तत्व हो, सेक्स,’ उनी भन्छन्, ‘सेक्ससम्बन्धी समस्यालाई लुकाए वा दबाएर जीवन सहज ढंगले चल्न सक्दैन ।’
यौन सन्तुष्टिका लागि आसन  
यौन सन्तुष्टिका लागि विभिन्न आसन ‘ट्राई’ गर्नुपर्ने हुन्छ । सेक्सका लागि विभिन्न आसन प्रयोग गर्न योग गर्नेहरू नै सक्षम हुन्छन् । जसको शरीर लचकदार र तन्दुरुस्त छ, उसैले मात्र विभिन्न आसन प्रयोग गर्न सक्छन् ।
पतिपत्नी दुवैले कुन आसनमा सहवास गर्दा सन्तुष्टि प्राप्त हुन्छ ? खुलेर कुरा गर्नुपर्ने योग गुरुहरू बताउँछन् । सहवासको पुरानै ‘पोजिसन’बाट वाक्क हुनेहरू नयाँ–नयाँ आसन प्रयोग गर्न रुचाउँछन् । तर, सन्तुष्टि प्राप्त गर्न पोजिसन फेरिरहनुपर्छ भन्ने पनि छैन । कतिपय जोडीले परम्परागत पोजिसनमा नै सहवास गर्दा पूर्ण यौन सन्तुष्टि पाउन सक्छन् । ‘त्यसैले नयाँ पोजिसनमा सहवास गर्नुपहिले एकआपसमा छलफल गरेर कुन र कतिवटा पोजिसनमा ट्राई गर्ने तय गर्नु उपयुक्त हुन्छ,’ योगी विकासानन्द भन्छन्, ‘दुवैजना इच्छुक भएमा मात्र नयाँ पोजिसन ट्राई गर्नु उचित हुन्छ ।’
पोजिसन सजिला र आरामदायी हुनुपर्छ । अप्ठ्यारा र कठिन पोजिसनमा सहवास गर्ने प्रयासले समस्या निम्त्याउन सक्छ । योग गुरु तथा यौन मनोविद्हरूका अनुसार पोजिसनको निधो गरेपछि पालैपालो ती पोजिसनमा केही बेर रोकिँदै सहवास गर्नुपर्छ । ‘स्त्रीहरूले योनीमा लिंग पसाएर घर्षण गरेको मन पराउँछन्,’ विकासानन्द भन्छन्, ‘क्लिटोरिस र जी स्पटलाई चलाएर उत्तेजित पारेमा स्त्रीलाई छिटै चरमोत्कर्षमा पु¥याउन सकिन्छ ।’ उनका अनुसार परम्परागत आसनबाहेक अन्य आसन पनि प्रयोग गर्न सकिन्छ । ‘पुरुष तल स्त्री माथि हुने आसन, कोल्टे, चौपाया अर्थात् स्त्रीले हातखुट्टा जमिनमा टेक्ने र पुरुषले पछाडिबाट सम्भोग गर्ने आदि आसनले यौन सन्तुष्टि बढाउँछन्,’ उनी भन्छन्, ‘त्यस्तै, सोफामा बसेको पुरुषका काखमा स्त्री बस्ने, उभिएको पुरुषका कम्मरमा स्त्रीका खुट्टाले च्याप्ने र उसको घाँटीमा हातले बेरेर सहवास गर्ने आदि पोजिसनले पनि भरपूर आनन्द दिन्छन् । यस्ता पोजिसन ट्राई गर्न पनि नियमित योग गर्नेहरूलाई सहज हुन्छ ।’
योनी कसिलो बनाउन केगेल कसरत

कतिपय पुरुषहरू श्रीमतीको योनी कसिलो नभएकाले यौन सन्तुष्टि हुन नसकेको भन्दै गुनासो गर्छन् । पर्याप्त प्राक्क्रीडा गरेर गरिने सेक्समा योनी कसिलो होइन, खुकुलो नै हुन्छ । फोरप्लेपछि स्त्रीको योनीबाट निस्कने यौन रसले योनीलाई खुकुलो नै बनाएको हुन्छ । ‘कसिलो योनीका लागि केगल एक्सरसाइज गर्न सकिन्छ,’ विकासानन्द भन्छन्, ‘योनीलाई १० सेकेन्डजति खुम्चाइराख्ने अनि १० सेकेन्डजति खुकुलो बनाउने । यसलाई नै केगेल कसरत भनिन्छ । यो प्रक्रिया २० पटकसम्म दिनहुँ दुईपटक दोहो¥याउने हो भने दुईतीन महिनामै योनीको खुकुलोपन हराएर जान्छ ।’
उनका अनुसार केगेल विधि पिसाब फेर्दा पनि गर्न सकिन्छ । पिसाब फेर्दा मांसपेशीलाई खुम्च्याउने र पिसाब रोक्ने प्रयास गर्नुपर्छ । ‘सुरुमा एक सेकेन्डसम्म योनी खुम्च्याउने, खुकुलो बनाउने,’ विकासानन्द भन्छन्, ‘यसलाई बढाएर पाँच सेकेन्डसम्म पु¥याउनुपर्छ । बिस्तारै यसलाई १० देखि १५ सेकेन्डसम्म खुम्च्याउने, खुकुलो बनाउने गर्नुपर्छ । यसलाई दिनमा धेरै चोटिसम्म गर्न सकिन्छ । नियमित केही हप्तासम्म केगेल कसरत गरेमा योनीको मांसपेशीमा कसिलोपन आउँछ ।’

यौन क्षमता बढाउने केही आसन
योगी विकासानन्दका अनुसार यी आसनले यौन क्षमता बढाउन मद्दत गर्छन् ।  
व्याघ्रासन
यो आसनले मेरुदण्डलाई लचिलो बनाउँछ । पेटको बोसो कम गर्छ । स्नायुप्रणालीलाई स्वस्थ राख्छ । रक्तसञ्चारलाई क्रियाशील गराउँछ । पाचन प्रक्रिया सन्तुलित राख्छ । कब्जियत घटाउन लाभदायक मानिन्छ । बच्चा जन्मिसकेपछि पाठेघरलाई ठीक ठाउँमा ल्याउन मद्दत गर्छ । रक्तस्रावको समस्या समाधानमा लाभदायक छ । पेटका मांसपेशी बलियो पार्छ । भुँडी लागेको मानिसले राम्रोसँग सहवास गर्न नसक्ने भएकाले यो आसनपछि पेट घट्ने भएकाले सहवास सजिलो हुन्छ ।
गरुडासन
यो पुरुषले गर्ने आसन हो । यसले घुँडालाई बलियो बनाउँछ । एकाग्रता बढाउँछ । शारीरिक र मानसिक संयोग तथा सन्तुलन कायम गर्छ । अण्डकोष वृद्धिमा फाइदाजनक छ । शारीरिक र मानसिक सन्तुलन मिलेपछि सेक्समा राम्रो पर्फर्मेन्स गर्न सकिन्छ ।
संकटासन  
शरीरिक तथा मानसिक सन्तुलन कायम गर्छ । खुट्टा, घुँडा र तिघ्रालाई बलियो एवं लचिलो बनाउँछ । भव्य सेक्सका लागि शरीरमा पर्याप्त लचकता आवश्यक पर्छ । योग तथा शारीरिक अभ्यासले शरीरमा लचकता बढाउने भएकाले यो फाइदाजनक हुन्छ ।
भुजंगासन  
यो आसनले रक्तअल्पता, यौन दुर्बलता, मोटोपन, शरीर अल्पविकास, बाथ, टाउको दुख्ने आदि समस्याका साथै पाचनप्रणाली, मृगौला, कलेजोसम्बन्धी समस्याहरू हटाउन मद्दत गर्छ । साथै छारे रोग, मधुमेह, मासिक धर्मसम्बन्धी समस्या आदिमा लाभ पु¥याउँछ । धेरैवटा समस्या कम गर्न उपयोगी भएकाले यो आसन गर्नेहरूको सेक्स लाइफ पनि राम्रो हुन्छ ।
सेतुबन्धासन  
यस आसनले मेरुदण्ड र गर्धनलाई मजबुत बनाउँछ । पिनियल, पिट्युटरी र थाइराइड ग्रन्थीहरूमा रक्तसञ्चार सक्रिय बनाउँछ । थाइराइडले यौन उत्तेजनामा पनि समस्या हुने भएकाले थाइराइड कन्ट्रोल हुँदा यौन उत्तेजना वृद्धि हुन सक्छ ।  
पर्वतासन  
पर्वतासनले शारीरिक र मानसिक सन्तुलन कायम गर्न मद्दत पुर्याउँछ । मन शान्त राख्छ । शरीरका मांसपेशीलाई बलियो बनाउँछ । छाती फराकिलो पार्छ । ढाड सीधा बनाउँछ । यो आसन पनि सेक्स पावर बढाउन उपयोगी छ ।  

‘सेक्स पावर’का लागि मुद्रा
डा. योगी विकासानन्दका अनुसार यी मुद्राले यौन क्षमता वृद्धि गर्न सघाउ पु¥याउँछन् ।  
अश्विनी मुद्रा
सबैभन्दा पहिला वज्रासनमा बसौँ । ढाड र गर्धन सीधा राखी आँखा बन्द गरौँ । अब बिस्तारै सास तान्दै मलद्वार खुम्च्याऔँ र सास छोड्दै मलद्वार फुकाऔँ ।
फाइदाः यसले मलद्वारका सबै रोग निवारण गर्न सघाउँछ । शरीरमा शक्तिको सञ्चार गर्छ । आङ खस्ने समस्यामा लाभदायक हुन्छ । बेर्नो निस्कने समस्यामा लाभदायक हुन्छ । अल्काई र हर्षामा पनि यो लाभदायक छ । कब्जियत र अपच कम गर्न पनि मद्दत गर्छ ।
बेर्नोमा घाउ भइरहेको अवस्थामा यो मुद्रा गर्नु हुन्न ।
वज्रोली मुद्रा
यौन ऊर्जा रुपान्तर गर्ने यो एउटा राम्रो विधि हो । सिद्धासन वा कुनै ध्यानासनमा बस्ने । हातलाई ज्ञान मुद्रामा राख्ने । आँखा बन्द गरी सारा ध्यान मूत्रमार्गमा केन्द्रित गर्नुस् । सास तानेर रोक्नुस् र शरीरलाई केही अगाडि झुकाई मूत्रमार्गलाई माथितिर तान्ने कोसिस गर्नुस्, जसरी च्यापेको पिसाबलाई जबर्जस्ती रोक्दा मूत्रमार्ग खुम्च्याइन्छ । केही बेर मूत्रमार्ग खुम्च्याइ नै राख्नुस् । यसो गर्दा पुरुष भए अण्डकोष र महिला भए भगोष्ठमा केही गति उत्पन्न हुनुपर्छ ।
खुम्च्याइलाई फुकाउँदै बिस्तारै सास छोड्नुस् र एकछिन आराम गरी फेरि अर्को आवृत्तिका लागि तयारीमा जुट्नुस् । सुरुमा तीनपटक गर्नुस् । पछि १०—१५ पटकसम्म पुर्याउनुस् । मूत्रमार्गमा संक्रमण एवं सुन्निने समस्या भएको बेला यो मुद्रा गर्नु हुन्न ।
फाइदाः यसले मूत्र प्रणालीलाई स्वस्थ र बलियो बनाउँछ । यौन उत्तेजना नहुने समस्याबाट पीडितहरूलाई यसले राहत दिन्छ । आङ खस्ने समस्यामा लाभदायक हुन्छ । शीघ्रपतनको समस्यामा हटाउन मद्दत गर्छ । प्रोस्टेट ग्रन्थीको समस्यामा पनि यसले फाइदा गर्छ ।  
मूलबन्ध
पद्मासन वा सुखासन वा सिद्धासन अथवा पलेटी कसेर बसौँ । सिद्धासनमा बस्न सके सर्वोत्तम छ । दुवै हात घुँडामाथि राखौँ र आँखा बन्द गरौँ । शरीर शिथिल पारी ध्यान लिंगमूल वा योनीको क्षेत्रमा केन्द्रित गर्ने । यत्तिकैमा जालन्धरबन्ध पनि लगाऔँ । अब लिंग वा योनी क्षेत्र खुम्च्याउँदै, छोड्दै गरौँ । अब गर्धन सीधा पारी सास छोड्दै मलद्वार फुकाऔँ ।
याद राख्नुस्, सास बाहिर छोडेर पनि मूलबन्ध गर्न सकिन्छ ।
एकपटकदेखि तीनपल्टसम्म दोहोर्याऔँ । आफ्नो सुविधाअनुसार १० पल्टसम्म दोहोर्याउन सकिन्छ । तर, एक दिन बिराई एक–एक पटक थप्दै जानुपर्छ ।
फाइदाः पाचनसम्बन्धी समस्या र यौन विकार निवारण गर्छ । कामशक्ति बढाउनुका साथै त्यसमाथि नियन्त्रण पनि गर्न सक्ने क्षमता पनि विकास गर्छ । अल्काई, कब्जियत, चिलाउने रोग, अनिद्रा, पुरानो खोकी, दम, ब्रोंकाइटिस तथा बाथ आदि रोगमा यो मुद्रा लाभदायक छ ।
स्त्रीहरूको रजस्वला हुँदा हुने पीडा तथा मासिक धर्म गडबडी हुनेजस्ता समस्या पनि समाधान गर्छ । मूत्रनलीसम्बन्धी रोगमा पनि यो मुद्रा लाभदायक छ । यसले मानसिक समस्या कम गर्न पनि मद्दत गर्छ ।
उच्च रक्तचाप, भर्टिगो (रिंगटा लाग्ने रोग) तथा हृदयरोग भएकाले मूलबन्ध गर्नु हुन्न ।

सेक्स पावरका लागि प्राणायाम
सूर्यभेदी प्राणायाम

वज्रासन, पद्मासन वा कुनै पनि ध्यानासनमा आरामसित बसौँ । गर्धन र ढाड सीधा राखी छाती सकभर बाहिर फुलाऔँ । आँखाले नाकको टुप्पोमा हेरिराखौँ ।
कसरी गर्ने
बायाँ नाकको प्वाल थुनेर दायाँबाट बिस्तारै सास तानौँ र क्षमताअनुसार रोकौँ । यसबेला मूलबन्ध र जालन्धरबन्ध लगाऔँ । त्यसपछि मूलबन्ध खोली जालन्धर पनि खोलौँ र बायाँ नाकबाट बिस्तारै सास छोड्दै जाऔँ । फेरि बायाँ नाकको प्वाल थुनेर दायाँबाटै तानौँ, बन्धहरू लगाऔँ, सास रोकौँ र बायाँबाट फालौँ । सुरुमा नौ पटक, पछि १५/२० मिनेटसम्म पुर्याउन सकिन्छ ।
फाइदाः रुघाखोकी, दम, नाकको एलर्जी तथा श्वाससम्बन्धी प्रायः रोगमा सूर्यभेदी प्राणायाम लाभदायक हुन्छ । यसले यौन क्षमता वृद्धि गर्न सघाउँछ ।
सूर्यभेदी प्राणायाम ३० मिनेटभन्दा बढी गर्नु हुँदैन । त्यस्तै, छारे रोग, उच्च रक्तचाप र मुटुका रोगीले गर्नु हुन्न ।

 

Leave A Comment