१०० गोलको दौडमा पछि परे मेस्सी

सोमबार, ११ बैशाख २०७४, १२ : ३४ शुक्रवार , Kathmandu
१०० गोलको दौडमा पछि परे मेस्सी

रियल मड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो च्याम्पियन्स लिग फुटबलमा एक सय गोल गर्ने पहिलो खेलाडी बनेका छन् । रोनाल्डोले लिगअन्तर्गत क्वार्टरफाइनलको दोस्रो लेगमा मंगलवार राति बार्यन म्युनिखसँगको खेलमा ह्याट्रिक गर्दै एक सय गोल पूरा गरेका हुन् । यो खेलमा ४–२ को जीत निकालेको रियल मड्रिड समग्रमा ६–३ को जीतसहित लगातार सातौँ सिजन च्याम्पियन्स लिगको अन्तिम चारमा स्थान बनाउन सफल भयो । एक सय गोलको दौडमा रोनाल्डोले बार्सिलोनाका लियोनल मेस्सीलाई पछि पार्दै पहिलो खेलाडी बने । रोनाल्डो र मेस्सी सन् २०१४–१५ को सिजन सकिँदा बराबरीको अवस्थामा थिए । त्यसबेला दुवै खेलाडीको च्याम्पियन्स लिग गोल संख्या समान ७७ थियो । तर, रोनाल्डोले गएको सिजन १६ गोल थप्दै मेस्सीलाई पछि पारे । यो सिनज मेस्सीले धेरै गोल गर्दै रोनाल्डोसँगको दूरी कम गरेका थिए । मंगलवार रातिको खेलमा रोनाल्डोले ह्याट्रिक गर्दै एक सय गोल गर्ने खेलाडीको दौडमा आफूलाई अघि पारे । मेस्सीले अहिलेसम्म च्याम्पियन्स लिगमा ९४ गोल गरेका छन् । रोनाल्डोले युरोपस्तरको क्लब प्रतियोगितामा अहिलेसम्म १०३ गोल गरेका छन् भने मेस्सीको ९७ गोल छ । तर, च्याम्पियन्स लिगमा रोनाल्डोले गरेको सय गोल म्यानचेस्टर युनाइटेड (१५) र रियल मड्रिड (८५) बाट हो । मेस्सीले सबै ९४ गोल एउटै क्लब बार्सिलोनाबाट गरेका हुन् । रोनाल्डो एक्लैले च्याम्पियन्स लिगमा एक सय गोलको आँकडा पूरा गरेको रात नै स्पेनिस क्लब एथ्लेटिको मड्रिडले क्लबको तर्फबाट एक सय गोल पूरा गर्यो ।

Leave A Comment