‘जति लुक्न खोज्छु, उति चर्चा हुन्छ’

मङ्गलबार, १२ बैशाख २०७४, ११ : ३९ अनिल यादव , Kathmandu
‘जति लुक्न खोज्छु, उति चर्चा हुन्छ’

अभिनेत्री साम्राज्ञीराज्यलक्ष्मी शाहले फिल्म ‘ड्रिम्स’बाट अभिनय यात्रा थालेकी हुन् । पहिलो फिल्मबाटै उनी दर्शकको नजरमा परिन् । उनी अभिनीत फिल्म ‘ए मेरो हजुर–२’ र ‘तिमी सँग’ प्रदर्शनको तयारीमा छन् । उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानीः

वर्षमा धेरै फिल्म खेल्ने कलाकार छन् यहाँ । तपाईंको हकमा  दुई वर्षको ग्याप भइसक्यो, किन होला ?
चित्तबुझ्दो स्क्रिप्ट नभेटेरै हो । पहिलो फिल्मबाट राम्रो रेस्पोन्स पाएपछि दोस्रोमा झन् राम्रो गर्नुपर्ने चुनौती थियो । त्यतिबेला मेरो ब्याचलर सेकेन्ड इयरको परीक्षा पनि चलिरहेको थियो । दिनहुँ मान्छे त भेटिरहेकी थिएँ तर स्क्रिप्ट नै मन परिरहेको थिएन । कुनै मन परे पनि टिम मन नपर्ने । राम्रो काम गर्न खोज्दा टाइम त लाग्ने नै रैछ । मलाई पहिलोपल्ट मन परेको स्क्रिप्ट भनेको शिशिर राणाको ‘तिमीसँग’ हो । त्यसपछि ‘ए मेरो हजुर–२’ साइन गरेकी हुँ । तर, रिलिजका हिसाबले ‘ए मेरो हजुर–२’ दोस्रो हुने भएछ ।  

भनेपछि यो अवधिमा तपाईंले थुप्रै स्क्रिप्ट रिजेक्ट गर्नुभयो ?
हो नि । करिब ५० वटाजति फिल्मका स्क्रिप्ट रिजेक्ट गरियो ।

स्क्रिप्टको के कुराले तपाईंलाई लोभ्याउँछ र फिल्म खेल्न तयार बन्नुहुन्छ ?
कम्तीमा स्क्रिप्ट विश्वसनीय होस् । स्क्रिप्ट बनावटी भयो भने एक्टिङ पनि बनाएर गर्नुपर्छ । दर्शकलाई नेचुरल लाग्दैन । मलाई यसरी काम गर्न मन लाग्दैन । अर्को कुरा म आफैँ बब्ली छुइनँ । तर ‘ए मेरो हजुर–२’ मा बब्ली क्यारेक्टर गर्नुपरेको छ । मलाई यस्तो च्यालेन्जिङ क्यारेक्टर गर्न मन लाग्छ ।

हिरोइन बन्ने चाहना सानैदेखि थियो ?
बच्चैदेखि ग्ल्यामरस इन्डस्ट्रीमा हुन्छु भन्ने चाहिँ थियो तर हिरोइन नै बन्छु भनेर सोचेकी थिइनँ । सन् २०१४ बाट म मोडलिङमा छिरेकी हुँ । फेसन सोतिर क्याटवाक गर्थें । ‘फेस अफ क्लासिक डायमन्ड’मा भाग लिएर उपाधि जितेँ । त्यत्तिकैमा फिल्मको अफर आयो । मैले पनि गरिदिऊँ न त, के जान्छ र ? भनेर गरिदिएँ । लक्किली दर्शकले पनि मन पराइदिए ।

फिल्म ‘ड्रिम्स’मा अनमोल केसीसँग काम गर्ने अफर कसरी पाउनुभयो ?
फिल्ममा ममीको मामाले पनि लगानी गर्नुभएको छ । फिल्मका लागि उहाँहरूले नयाँ हिरोइन खोजी गरिरहनुभएको रहेछ । एक दिन उहाँले भुवन केसीलाई ल्यापटपमा नयाँ–नयाँ मोडलको फोटो देखाउँदै हुनुहुँदो रहेछ । त्यत्तिकैमा मेरो फोटो देखापरेछ । मेरो फोटो आउनेबित्तिकै बुबाले हत्तपत्त चेन्ज गरिहाल्नुभएछ । भुवन अंकलले मेरै फोटोमा आँखा लगाउनुभएछ । राम्रोसँग हेर्नुभएछ  । अनि, ‘ल यो केटी चाहिँ एकदमै राम्री छ, एकपल्ट सोध्नुपर्छ’ भन्नुभएछ । बुबाले ‘अहिले बच्चै छ, काम गर्दैन’ भनेर पन्छिन खोज्नुभएछ । तर, भुवन अंकलको करले एकपल्ट मलाई सोध्नुभयो । मैले हुन्छ भन्दिहालेँ । मेरो पापा मलेसियामा हुनुहुन्छ । उहाँलाई म यसरी काम गरेको मन पर्दैन भन्ने ममीको मामालाई थाहा थियो । त्यसैले पनि उहाँले मलाई जबर्जस्ती छैन भनेर भन्नुभएको थियो । यता भुवन अंकलले चाहिँ ‘म नराम्रो मुभी बनाउँदिनँ, काम गर्दा राम्रो हुन्छ’ भनेर फकाउनुभएको थियो ।

तपाईंलाई अफर आउनेबित्तिकै काम गर्न मन लाग्नुको कारण के त ?
मलाई एक्टिङ भनेपछि फेसिनेटिङ लाग्छ । बच्चैदेखि साथीहरूलाई एक्टिङ गरेर देखाउँथेँ । होस्टेलमा साथीहरूलाई अरूको एक्टिङ गरेर रमाइलो गर्थें । मैले साथीहरू कसैलाई पनि फिल्म खेलेको भनेर सुनाएकी थिइनँ । तर, फिल्म रिलिज भइसकेपछि कोही पनि चकित भएनन् । उनीहरूलाई थाहा थियो– साम्राज्ञीले यस्तै केही गरेर खान्छे भनेर । मामुले चाहिँ फिल्म हेरिसकेपछि ‘यसले ग¥यो यार, गर्न त दिएँ तर गर्न सक्ला भन्ने लागेको थिएन’ भन्नुहुन्थ्यो ।  साथीहरू चाहिँ– ‘होइन आन्टी, यो बच्चैदेखि यस्तै नक्कली थियो । हजुरहरू सबैजनाको एक्टिङ गरेर देखाइरहन्थ्यो । त्यसैले थाहा थियो यस्तै केही गरेर खान्छ भन्ने’ भन्दै जवाफ फर्काउँथे ।  

‘ड्रिम्स’को सुटिङ सकाएपछि एकपल्ट त फिल्ममा कामै नगर्ने मुड बनाउनुभएको थियो रे तपाईंले ?
सही हो । साँच्चै भन्नुपर्दा एक्टिङ पनि लेबर वर्क नै हो नि । केही कुराको ठेगान हुँदैन । नसुतीकन काम गर्नुपर्छ । उठ्ने पनि ठेगान हुन्न । फेरि, त्यतिबेला म त्यति बुझ्ने भइसकेकी थिइनँ । होस्टेलमा बसेर पढ्दा काम नगरी त्यत्तिकै बस्ने बानी । एकैचोटि फिल्ममा त्यसरी काम गर्नुपर्दा त मलाई निकै गाह्रो भयो । भुवन अंकलले त ‘हेर नानी, यो लेबर वर्क नै हो, गाह्रो चाहिँ हुन्छ’ भनेर पहिल्यै भन्नुभएको थियो । तैपनि, त्यति साह्रो लागेको थिएन । पछि सुटिङ सकेपछि मैले मामु र साथीहरू सबैलाई अब फिल्ममा काम गर्दिनँ भनेकी पनि थिएँ । पछि फिल्म रिलिज भइसकेपछि आएको राम्रो रेस्पोन्स र दर्शकले ‘तपाईंको अर्को फिल्म कहिले आउँछ’ भनेर देखाएको प्रेमले मलाई अझ राम्रोसँग काम गर्नुपर्छ भन्ने फिल आएको हो ।  

फिल्म खेल्नुभन्दाअघि तपाईंले सोचेको फिल्म क्षेत्र र फिल्म खेलिसकेपछि बुझेको फिल्म क्षेत्रबीच केही फरक पाउनुभयो कि ?
पहिले मुभी हेर्दा ‘छ्या के खिच्या होला, यो एक्टरले के गर्यो, यो भएन है यस्ता’ भन्दै आलोचना गरिन्थ्यो । अहिले यही कुरा अरूले भन्दा ‘होइन, यस्तो भा’को होला नि त । नसुती नसुती काम गरेर त्यसको आँखा रातो भएको होला’ भन्दै बुझाउन खोज्छु । फिल्म क्षेत्रको भित्री दुःख अर्कै हुँदो रहेछ । त्यसैले म हतपती आलोचना गर्न रुचाउँदिनँ । अर्को कुरा, बाहिर त राम्रो–राम्रो मुभी बन्न थालेका छन् । तर, यहाँको भित्री दुःख अर्कै छ । मिस–म्यानेजमेन्ट धेरै छ । बाहिर जे देखिरहेको छ, त्यहाँ सुधार भइरहेको छ । तर, भित्र अझै समस्या छन् ।

‘ड्रिम्स’ रिलिज हुनुअघि तपाईंको जे कुरा डबिङका बेला रुचाइएको थिएन, त्यही कुरा पछि दर्शकले मन पराए, हैन ?
तपाईंले मेरो आवाजको कुरा गर्नुभएको होला । डबिङका बेला मेरो आवाजमाथि टिप्पणी भएको थियो । ट्रेलर बनाउने बेलामा भएका संवाद मलाई अझै याद छन् । हिरोइनको आवाज चाहिँ भएन है, केटाको जस्तो भयो, अलि पातलो गरेर बोल्न मिल्दैनलगायत कुरा भएका थिए । पछि जस्तै गरे पनि मेरो आवाज त्यही निक्लेपछि ‘ल ठीकै छ, यस्तै रहेछ’ भनेर फाइनल गरिएको थियो । मलाई त्यसभन्दा अघि कसैले मेरो आवाज नराम्रो भनेको थिएन । त्यसैले ‘ला मेरो आवाज साँच्चिकै यस्तो नराम्रो छ र ?’ भनेर म निकै चिन्तित भएकी थिएँ । ट्रेलर रिलिज हुनु एक दिनअघिसम्म म आवाजमाथि कस्तो टिप्पणी होला भनेर चिन्तित थिएँ । मुुटु ढुकढुक भएको थियो । पछि रिलिज भइसकेपछि धेरैले मन पराए । कतिपयले ‘केटीको आवाज झ्याप हो कि क्या हो’ भनेर पनि कमेन्ट गरेका थिए । फिल्म नै रिलिज भएपछि त मेरो डायलगका फ्यान धेरै भए । 
‘ए मेरो हजुर–२’मा अभिनेत्री झरना थापाको निर्देशनमा काम गर्नुभयो । अभिनेत्रीको निर्देशनमा काम गर्न कति सहज हुने रहेछ ?
एक्टिङ गर्दा सजिलो हुने रहेछ । एक त उहाँ महिला, त्यसमा पनि अभिनेत्री । त्यसैले केटीको डायलगमा कसरी फिल दिने, कस्तो फिल चाहिन्छ ? उहाँले आफैँ गरेर देखाइदिनुहुन्थ्यो । त्यसैले काम गर्न सजिलो भयो । फेरि, यो फिल्ममा महिलाको क्यारेक्टर एकदमै सशक्त छ ।

‘ए मेरो हजुर–२’को शीर्ष गीत मनाङको तिलिचोमा पुगेर खिचिएको रहेछ । त्यो गीतको छायांकनका क्रममा त तपाईं रुनुभएको थियो रे ?
हामी करिब ३० घण्टा हिँडेर त्यहाँ पुगेका थियौँ । बाटो एकदमै खतरनाक थियो । म त रुँदैरुँदै पुगेको नि । त्यतिबेला त यो मुभी बेकारमा साइन गरे जस्तो भएको थियो । चिसो मौसमका कारण गीतको सुटिङका बेला पनि निकै गाह्रो भएको थियो । कपडा पनि त्यस्तै लाउनुपर्ने । जताबाट पनि हावा छिर्ने । त्यहीमाथि मलाई चिसो फाप्दैफाप्दैन । एलर्जी भइहाल्छ । म त सुनिन्छु । हातगोडाका औँला रातो हुन्छ । मेकअपले लुकाउन पनि गाह्रो हुन्छ । बाटोमा हिँड्दाखेरि रोए पनि छायांकन क्रममा रोएकी थिइनँ । बरु, हिरो रोएको थियो, मैले सम्झाएकी थिएँ ।

अहिलेसम्म तपाईंको एउटा मात्र फिल्म रिलिज भएको थियो । त्यो पनि दुई वर्ष भइसक्यो । तैपनि, ०७३ सालभरि तपाईं चर्चामा आइरहनुभयो है ?
अर्को मुभी रिलिज भइसकेपछि मात्र आउने भनेर म झन् लुक्न खोज्छु, तर चर्चा आफैँ भइदिन्छ । जति लुक्न खोज्यो, त्यति चर्चा हुँदोरैछ । लुक्न खोजेर नहुने रहेछ, खोजी–खोजी स्टोरी आउँदारैछन्  । साम्राज्ञीले चर्चाका लागि यस्तो लुगा लगाई, यस्तो गरी भनेरसम्म न्युज आए । मैले चर्चाका लागि गरिरहेको भन्ने मलाई नै थाहा हुँदैन । न्युज पढिसकेपछि पो ‘चर्चाको लागि गरेको रहेछु’ भन्ने थाहा हुन्छ ।

‘ड्रिम्स’ हिट भएपछि तपाईंका थुप्रै फ्यान भए होलान् नि ?
म बाहिर त्यति हिँड्दिनँ । फोटो खिच्नलाई मरिहत्ते गर्ने फ्यान भेटेको छु । प्रेम गर्छु, बिहे गर्छु भन्ने खालको त भेटेको छैन । मेरो घर ललितपुरको भैँसेपाटीमा छ । एकपल्ट भैँसेपाटी एरियाभरि तीन जना केटाले बाइकमा मेरो घर खोजेको कुरा चाहिँ थाहा पाएको थिएँ । चोकको पसलेदाइले सुनाउनुभएको थियो ।

जन्मदिनमा तपाईंले ब्वाइफ्रेन्ड सार्वजनिक गर्नुभएको खबरले पनि खूब बजार पिट्यो । खास कुरो के थियो ?
यो मेरो प्राइभेट लाइफ हो । अहिलेसम्म मेरो ब्वाइफ्रेन्ड छ/छैन मैले कसैलाई भनेको छुइन । पछि भन्नुपर्यो भने राम्रोसँग लेखेरै भन्छु होला । तर, मैले त त्यतिबेला बर्थडे मनाइरहेको फोटो मात्र राखेको थिएँ । बर्थडेको फोटोलाई हेरेर सबैले आफैँ अनुमान लगाएर लेखे । त्यही पढेर मलाई मेरो फिल्मको युनिटका मान्छेहरूले ‘त्यस्तो गर्नु हुँदैन साम्राज्ञी’ भनेर गाली पनि गरे । तर, ‘मैले त फोटो मात्र राखेको हो, त्यस्तो केही लेखेको छैन’ भनेपछि उनीहरू त्यसमा पनि कन्भिन्स्ड भए ।

तपाईं त फिल्म खेलेको पारिश्रमिक पनि असाध्यै धेरै लिनुहुन्छ रे । त्यसैले महँगी अभिनेत्री पनि भन्छन् नि तपाईंलाई ?
म स्क्रिप्ट छानेर मात्रै फिल्म खेल्छु । स्क्रिप्ट राम्रो लाग्यो भने पैसामा कम्प्रोमाइज गर्न सक्छु । यहाँ अलि बढी अनावश्यक हल्ला पनि चल्दोरैछ । एकपल्ट एक जना निर्माता मकहाँ फिल्मको अफर लिएर आउनुभयो । म उहाँलाई भेट्न मामुसँगै पुगेकी थिएँ । मैले पाँच लाख रुपैयाँ डिमान्ड गरेकी थिएँ । उहाँले त ‘म दुई लाख दिन्छु, बाहिर पाँच लाख दिएको भन्छु’ भन्ने प्रस्ताव पो राख्नुभयो । त्यस्तो घटिया प्रस्ताव राखेको सुन्दा निकै रिस उठ्यो । सायद उहाँजस्तै मान्छेहरूले यो हल्ला फिँजाउनुभएको हो ।

तपाईंलाई त घमण्डी भन्नेहरू धेरै भेटिन्छन् ?
हो । मैले पनि कता–कता यो कुरा सुनेको छु । मेरो लुक्स नै त्यस्तो भएर हो कि क्या हो, परबाट देखिँदा घमण्डी देखिँदोरैछु । तर, मसँग बोलिसकेपछि सबैले थाहा पाउँछन्– म त्यस्तो छैन । खासमा म त ओपन बुक हुँ । कुरा गर्दा एकदमै फ्य्रांक छु ।

कस्तो रोलमा काम गर्न मन छ तपाईंलाई ?
मलाई भिलेन रोल सुहाउँछ जस्तो लाग्छ । त्यसैले भिलेन रोल गर्न मन छ ।

Leave A Comment