पार्लरको भविष्य राम्रो

शनिबार, १६ बैशाख २०७४, १२ : ३७ दिलीप पौडेल , Kathmandu
पार्लरको भविष्य राम्रो

बीबीए अध्ययन गरेकी मनीषा महर्जन अहिले ब्युटिसियन तालिम लिइरहेकी छिन् । बैंकमा जागिर खानभन्दा उनलाई आफ्नै ब्युटिपार्लर खोल्ने इच्छा छ । ‘अरूकोमा काम गर्नभन्दा आफ्नै व्यवसाय गर्ने सोचमा छु,’ महर्जनले भनिन् ।
थोरै लगानीमा राम्रो कमाइ गर्न सकिने भएकाले आफू ब्युटिपार्लर पेशातिर आकर्षित भएको उनी बताउँछिन् । ‘अरूको नियन्त्रणमा काम गर्नु पनि नपर्ने,’ उनले भनिन्, ‘महिलाका लागि उपयुक्त व्यवसाय हो ।’
सौन्दर्यप्रति सबैको आकर्षण बढ्दो छ । ब्युटिपार्लरमै गएर सौन्दर्य सेवा लिनेको संख्या बढ्दै गएपछि यो व्यवसाय फस्टाएको छ । छोटो तालिम, थोरै लगानीमा व्यवसाय सुरु गरेर धेरै कमाइ हुने भएपछि यस पेशाले महिला उद्यशीलता बढाएको छ । बजारमा सौन्दर्यकला व्यवसाय फस्टाएको छ । यो व्यवसाय राम्रो आम्दानी हुने भएपछि शहरमा पार्लर खोल्ने क्रम बढेको छ ।
शिक्षकको जागिर छोडेर ब्युटिपार्लर खोल्दा जुनु चक्रधरलाई निकै डर लागेको थियो । हुँदाछँदाको जागिर छाडेर पार्लर खोली भनेर साथीभाइ र छरछिमेकीले आफूलाई गिज्याए उनी बताउँछिन् । तर, अहिले उनी रोजगारदाता भएकी छिन् । ‘मासिक एक÷डेढ लाख कमाइ हुन्छ । डेढ लाखमा सुरु गरेको पार्लर अहिले बिस्तार भएर २० जनालाई रोजगारी दिएकी छु,’ उनले भनिन् ।
ललितपुर कुपन्डोलमा रहेको जुम ब्युटिपार्लरमा ब्युटिसियन तालिम लिन आउनेको भीड हुन्छ । २५ हजार खर्चेर नौ महिना तालिम लिएपछि पार्लर खोेलेको जुनु बताउँछिन् । ‘थोरै लगानीमा पार्लर खोल्न सकिन्छ,’ उनले भनिन्, ‘महिलाको उद्यमशीलता बढाउन यो गतिलो व्यवसाय हो ।’ उनले काठमाडौँकी महाराजगञ्ज, कलंकी र राजधानीबाहिर कलंकीमा पनि शाखा बिस्तार गरेकी छिन् । ‘धेरै जोखिम लिन पनि नपर्ने,’ उनले भनिन्, ‘फ्री भएर सबैसँग हाँसीखुसी काम गर्न पाइएको छ ।’ शिक्षक पेशा छाडेर यो व्यवसाय सुरु गरेकोमा अहिले उनलाई कुनै पछुतो छैन । ‘व्यवसाय सुरु गर्दा डर पनि लागेको थियो,’ उनले भनिन्, ‘अहिले  ब्युटिपार्लर धेरै महिलालाई रोजगारीको माध्यम बनेको छ ।’
महिलाहरू थ्रेडिङ, ट्रिमिङ, हेयर कटिङ, हेयर कलर, अइल मसाजलगायत विभिन्न प्रकारका मेकअप गर्नका लागि पार्लर जाने भएकाले यो व्यवसायमा आकर्षण बढेको हो । न्यूनतम डेढ÷दुई लाख लगानीमा यो व्यवसाय सुरु गर्न सकिन्छ । पार्लरमा सेवा दिएबापत न्यूनतम ३०÷३५ रुपैयाँदेखि विवाहमा मेकअप गरेको १५/२० हजार रुपैयाँसम्म लिने गरेका छन् ।
ब्युटिपार्लरका ग्राहक एकाएक बढेकाले यो व्यवसाय अझै फस्टाउने ब्युटिसियन बताउँछन् । ब्युटिसियनको भविष्य उज्वल रहेको ब्युटिसियनहरूको छाता संस्था एबीसी ह्यान्डकी अध्यक्ष सीता पाठकले बताइन् । ‘समयअनुसार पार्लर सबैको अनिवार्य आवश्यकता भइसकेको छ,’ पाठकले भनिन्, ‘यसले धेरै महिला दिदीबहिनीलाई रोजगारी पनि दिएको छ ।’

लगानीमा कम जोखिमपूर्ण र नगद आम्दानी हुने भएकोले नयाँ पुस्ता ब्युटिसियन पेशाप्रति उत्सुक छन् । यसमा मासिक न्यूनतम २५÷३० हजारदेखि मासिक डेढ/दुई लाख रुपैयाँसम्म कमाउँछन् । रोजगारी पनि दिएका छन् । स्वदेशमा मात्र नभएर विदेश जाने युवतीहरूको लागि पनि उपयुक्त बनेको छ ।
अन्य पेशा छाडेर यो पेशामा आउनेक्रम पनि बढ्दो छ । ललितपुर पाटनकी फेसन डिजाइनर सन्ध्या शाक्य पनि यो पेशामा आकर्षित छिन् । नयाँ ब्युटिपार्लर खोल्नकै लागि उनले छ महिना तालिम लिइसकेकी छिन् । ‘फेसन डिजाइनभन्दा ब्युटिपार्लर अझै राम्रो लागेर तालिम लिइरहेको छु,’ शाक्यले भनिन्, ‘तालिम सक्नासाथ पार्लर खोल्छु ।’

Leave A Comment