‘भुटानी नदीको नाम लिँदा शिविरमा रुवाबासी चल्यो’

सोमबार, १८ बैशाख २०७४, १२ : ३५ अनिल यादव , Kathmandu
‘भुटानी नदीको नाम लिँदा शिविरमा रुवाबासी चल्यो’

कुनै बेलाका चर्चित खलनायक हुन्, हेमन्त बुढाथोकी । फिल्म ‘सिमाना’ मा उनले निर्वाह गरेको ‘मुरलीधर’को चरित्रले खूब प्रशंसा बटुलेको थियो । फिल्ममा उनले बोल्ने ‘मुरली बजाएर’ थेगो हिट थियो । ५० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका हेमन्त प्रदर्शनको तयारीमा रहेको फिल्म ‘देश खोज्दै जाँदा’मा भुटानी शरणार्थीको भूमिकामा देखिएका छन् । उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानीः

पछिल्लो समय नेपाली फिल्ममा तपाईंको उपस्थिति पातलिँदै छ नि ?
फिल्मै नगरेको त होइन । मैले अभिनय गरेको फिल्म ‘चलेछ बतास सुस्तरी’ एक वर्षअघि रिलिज भएको थियो । तर, चार–पाँच वर्षयता काम कम गरेको चाहिँ हो । अफर प्रशस्तै आइरहे पनि फरक केही भएन । पहिले जे–जे गरियो, त्यही खाले भूमिका मात्र भए । एउटै खालको भूमिका गरेर दिक्क भइसकियो । बनिबनाउ भूमिका मात्र कति गर्नु ? बनिबनाउ भिलेन कति बन्नु ? त्यसैले पुरानै ढर्राको काम पाए पनि नगर्ने भनेर बसेको हुँ । नयाँ–नयाँ चरित्रमाथि पक्कै काम गर्छु । ‘देश खोज्दै जाँदा’मा शरणार्थीको भूमिका निर्वाह गरेको छु ।

लगातार भिलेनको रोल गरिरहनुभएको तपाईंलाई भुटानी शरणार्थीको भूमिका गर्न कत्तिको गाह्रो भयो ?
भूमिका परिवर्तन गर्दा चुनौती त हुन्छ नै । यो फिल्मका लागि मलाई लिने कि नलिने भन्ने कुरामा पनि निर्देशक प्रकाश आङ्देम्बे, पटकथा लेखक उपेन्द्र सुब्बा र सहायक निर्देशक साम्तेन भुटियाले धेरै छलफल गर्नुभएछ । केही फिल्ममा मैले गरेको भूमिकाबाट प्रभावित भएर मैले गर्न सक्छु भन्ने लागेछ ।
अर्को कुरा, म झापा, दमककै मान्छे भएकाले भुटानी शरणार्थीको जनजीवनसँग नजिक थिएँ । आसपासका शरणार्थीलाई देखेर र उनीहरूबारे सुनेरै हुर्केको हुँ । त्यसैले मलाई काम गर्न त्यति गाह्रो भएन । तैपनि, फिल्म खेल्ने भएपछि थुप्रै शिविर अनुगमनका लागि पुगेको थिएँ । अर्को कुरा, फिल्ममा मैले निर्वाह गरेको पात्र यथार्थ हो । सुटिङ सुरु भइसकेपछि जतिबेला म शिविरमा प्रवेश गरेको थिएँ त्यतिबेला मेरो पहिचान सिनेमाको भिलेनका रूपमा थियो । जब म फिल्मको पात्र ‘कारोबारी काका’को हुलियाँमा हिँड्न थाले त्यसपछि माहोल बदलियो । शिविरका सबैले कारोबारी काका भन्न थाले । त्यसबेला मलाई आफू पात्रको नजिक पुगेको महसुस हुन्थ्यो ।

हालै, मात्र ‘देश खोज्दै जाँदा’को विशेष सो भयो । फिल्म हेरिसकेपछि फिल्म समीक्षक नवीन सुब्बाले नेपाली फिल्ममा स्थापित तपाईंको छविभन्दा बिलकुल फरक पाएको भन्दै प्रशंसा गर्नुभएछ ।
ठीक सुन्नुभएछ । उहाँले यसअघि मेरो काम रुचाउनुहुन्नथ्यो । उहाँले पहिलोपल्ट मेरो कामको खुलेर तारिफ गर्नुभयो । अभिनयमा ‘ट्रान्सफर्म’ हुनसकेको भन्दै ‘अरू निर्देशकलाई पनि तपाईंका बारेमा भन्छु’सम्म भन्नुभयो । यसअघि स्थापित मेरो भिलेनको परिचयबाट उहाँ सन्तुष्ट हुनुहुन्नथ्यो । प्रायः आलोचना गरिरहने मान्छेले पनि राम्रो काम गरिस् भन्दा चाहिँ साँच्चै राम्रो गरेको जस्तो महसुस भएको छ । म सधैँ चुनौतीपूर्ण भूमिका गर्न चाहन्थँे । तर, मेरो पालामा त्यो किसिमका सिनेमा बन्दैनथे । बलिउडबाट प्रभावित भएर त्यही ढाँचामा सिनेमा बन्थे । कहिलेकाहीँ नवीन सुब्बा, छिरिङ रितार लगायतले फरक ढंगका सिनेमा बनाउँथे । त्यसमा पनि हामीलाई पत्याउँदैन थिएँ । त्यतिबेला हामीमाथि कसैले चुनौती मोल्न नचाहेर पनि फरक खालको काम गर्न पाइएन ।

भुटानी शरणार्थीको चरित्र निर्वाह गर्दैगर्दा तपाईंले यथार्थमा शरणार्थीको मुद्दालाई कसरी लिनुभएको छ ?
वास्तवमा उनीहरूमाथि ठूलो ज्यादती भएको छ । आफ्नो देश फिर्तीका लागि आवाज उठाउँदै गर्दा उनीहरूको आवाजलाई दबाइएको छ । जबर्जस्ती र बाध्यतावश तेस्रो देश जान बाध्य बनाइएको छ । नेपाल सरकारले पनि शरणार्थीको विषयमाथि ठोस आवाज उठाउन सकेन । अझै पनि कतिपय शरणार्थी पुर्खाको देश नेपालमै भए पनि बस्छु भनिरहेका छन् । कतिपय आफ्नो देश भुटान फर्किन्छु भनिरहेका छन् । धेरै नागरिकताविहीन छन् । तर, उनीहरूलाई सुन्ने कोही भएन, कोही छैन । हाम्रो देश सानो र सरकार कमजोर भएका कारण पनि शरणार्थी समस्या सुल्झिएन जस्तो लाग्छ ।   

फिल्ममा थुप्रै वास्तविक शरणार्थीले अभिनय गरेका छन्। उनीहरूसँग काम गर्दाको कुनै त्यस्तो अविस्मरणीय क्षण छ कि ?
मैले करिब डेढ महिना शरणार्थी जीवन बिताएँ । शिविरसँग जोडिएका धेरै अविस्मरणीय क्षण छन् । त्यसमध्ये पनि एउटा क्लाइमेक्स सिन खिच्दाको किस्सा छ । फिल्ममा मैले केराको बोट रोपेको हुन्छु । क्लाइमेक्सका बेला मैले त्यो केराको बोटलाई छोएर टीका लगाउँछु । र, त्यतिबेला भुटानका खोलाहरूको नाम लिँदै ‘कसरी बिर्सनु कुलागाङ्ग्री ? कसरी बिर्सनु सुनकोस ?’ जहाँ गए पनि छातीभरि भुटानको माया बोकेर जाँदै छु ।’ भन्ने डायलग बोल्छु । यो संवाद बोल्दा मेरो आँखामा आँशु आउँछ । अरू कलाकार पनि रोइरहेका हुन्छन् । यो सिन खिच्दाखेरि शिविरमा रुवाबासी नै चलेको थियो । सुटिङ हेरिरहेका वरिपरिका शरणार्थी रोएका थिए । यतिसम्म कि म आफूले आफूलाई हेमन्त बुढाथोकी भनेर बिर्सिसकेको थियो । आफूलाई शरणार्थी नै ठानेर रोइरहेको थिएँ ।

कलाकार बन्ने चाहना सानैदेखिको हो ?
हो । तर मेरो घर (झापा)तिर कलाकार बन्ने कुनै बाटा थिएनन् । त्यसैले पढाइ पनि सक्ने र कलाकार पनि बन्ने चाहना लिएर म काठमाडौँ आए । नाटकप्रति उत्साही केही साथीहरूसँग भेट भयो । एउटा नाटकको गु्रप बनाएर नाटक खेल्न थाल्यौँ । सुनील पोखरेलको आरोहण गुरुकुलमा पनि एकदुई नाटक गरेँ । नाटकमा ०४६ सालदेखि लागेको हुँ । त्यसको तीन वर्षपछि सिनेमामा काम गर्न थालेको हुँ ।

पहिलोपल्ट फिल्ममा अफर कसरी मिलेको हो ?
मेरो पहिलो सेलुलाइट फिल्म ‘सौता’ हो । यो सिनेमालाई सहकर्मी नारायण पुरीले निर्देशन गर्नुभएको थियो । उहाँले केही टेलिफिल्म र नाटकमा मेरो काम देख्नुभएको थियो । त्यसैले फिल्ममा लिनुभएको थियो ।

नेपाली फिल्ममा आफ्नो परिचय भिलेनका रूपमा बनाउने तपाईंकै इच्छा हो ?
खासमा मेरो चाहना भिलेन बन्ने थिएन । हिरो बन्ने पनि थिएन । किनकि, हिरो बनेपछि नाच्न जान्नुपथ्र्यो । र, ममा त्यो कला थिएन ।  त्यसैले ममा राम्रो कलाकार बन्ने सोच थियो । तर, त्यसो हुन सकेन । सुरुवाती सिनेमाहरूमा मैले नेगेटिभ रोल गरेँ ।  त्यही रुचाइयो । पछि सबैले ‘यसले नेगेटिभ नै राम्रो गर्छ’ भनेर त्यस्तै रोलमा अफर गरे । भिलेनकै रोलबाट अवार्ड पनि थापेँ । अन्ततः दर्शकमाझ भिलेनकै छाप बस्यो ।  

फिल्ममा भिलेन बन्दाका बेफाइदा के–के रहेछन् ?
मान्छेहरू हामीलाई राम्रो ठान्दैन थिएँ । यिनीहरूसँग भरिसके संगत नगरे हुन्थ्यो भन्ने ठान्थे । सुटिङका बेला देख्दा पनि परैबाट तर्सिएर भाग्थे । भिलेन भनेपछि अनपढ ठान्थे । पढेलेखेको व्यक्ति फिल्ममा भिलेन हुँदैन भन्ने सोचाइ पनि थियो । यतिसम्म कि भिलेन भएकै भएर मेरो बिहे गर्नलाई समेत समस्या भएको थियो । आफन्तहरू मेरो बिहेको कुरा लिएर केटी माग्न जान्थे । काम के गर्छ ? भनेर सोध्दा सिनेमाको भिलेन हो भनेपछि तर्सिन्थे । अस्वीकार गर्नेहरू पनि भेटिए । त्यतिबेला खलनायक भएपछि फिल्ममा रेप सिन हुन्थे । रेप सिनका बेला हिरोइनहरू घण्टौँ रोएको पनि अनुभव छ । तर, अहिले समय फेरिएको छ । सबैले भिलेन भनेको पात्र रहेछ भन्ने बुझ्न थालिसके ।

फिल्ममा खलनायकको भूमिका गर्नेहरूलाई फाइदा पनि त होला ?
एउटा कुरा मान्छेहरू जब मलाई देख्नासाथ तर्सिन्थे, भाग्थे ममा एक किसिमको खुशी उत्पन्न हुन्थ्यो । मलाई लाग्थ्यो, मैले जे गरिरहेको छु, ठीक गरिरहेको छु । मेरो भूमिकालाई राम्रोसँग निर्वाह गर्न सफल भइरहेको छु । अर्को कुरा, भिलेन बन्दा खाल–खालको अभिनय गर्न पाइन्छ । अभिनयको दायरा फराकिलो हुन्छ ।

तपाईंलाई फिल्ममा खलनायकका रूपमा देख्दा परिवारको प्रतिक्रिया कस्तो हुन्थ्यो ?
परिवारको चाहना त कलाकारितामै नलागोस् भन्ने थियो । त्यसमाथि भिलेनको रोल गर्दा मन पर्ने कुरै भएन । काम गर्दा पनि राम्रो भूमिकामा गरिदिए हुन्थ्यो भन्ने थियो । तर, मेरा लागि विकल्प थिएन । एकै खालका सिनेमा बनिरहेका थिएँ । र, मेरो परिचय भिलेनकै रूपमा स्थापित भइसकेको थियो । खासमा मेरी श्रीमतीलाई मैले यस्तो खाले भूमिका गरेको मन पर्दैन । मेरो एउटा छोरा र एउटी छोरी छ । अहिले उनीहरू मेरो फिल्म खोजीखोजी हेर्छन् । ‘फलानो–फलानो फिल्म चाहिँ नहेर्नु है’ भनेर भनेको छु । श्रीमती चाहिँ मेरा पुराना फिल्म हेर्न रुचाउँदिनन् । उसलाई मेरो भिलेन चरित्र मन पर्दैन । कुनै–कुनै मात्र हेरेकी छे ।

तपाईंले त चियाखेती पनि सुरु गर्नुभएको छ रे ! अभिनय गरेरै गुजारा चल्ने सम्भावना नदेखेर हो ?
कुनैबेला अभिनय मात्र गरिन्थ्यो, त्यसैले अर्को कुनै काम गरिएको थिएन । पछिल्लो समय काम कम गर्न थालेपछि विकल्प पनि खोजेको हुँ । झापामा चियाखेती र माछापालन सुरु गरेको छु । खासमा यो फिल्म क्षेत्र यस्तो क्षेत्र हो जहाँ कुनै ग्यारेन्टी हुँदैन । आज तपाईं चल्नुभएको छ, भोलि अर्कै चल्न सक्छ । आफू चल्न छाड्नुभन्दा अघि नै मैले विकल्प तयार गरेको हुँ । सँगसँगै मैले दमकमा थिएटर हल खोल्ने तयारी पनि गरिरहेको छु । राम्रो सिनेमा बनाउने लक्ष्य पनि छ ।

तपाईंले पहिले र अहिलेको नेपाली फिल्ममा के अन्तर पाउनुभएको छ ?
धेरै अन्तर छ ।  पहिले बनिबनाउ ढाँचामा सिनेमा बन्थे । अहिले यथार्थपरक र मौलिक विषयवस्तुमाथि फिल्म बन्ने क्रम बढेको छ । यो धेरै ठूलो परिवर्तन हो । यो राम्रो संकेत हो । तर, अझै धेरै गर्न बाँकी छ । 

Leave A Comment