हरसिंहदेवसम्बन्धी भ्रम

शनिबार, १८ असार २०७३, ०३ : १५ शुक्रवार , Kathmandu
हरसिंहदेवसम्बन्धी भ्रम

वि.सं. १३८१ मा दिल्लीका सुल्तान गयासुद्दीन तुगलकको आक्रमणमा सिम्रौनगढ ध्वस्त भएपछि त्यहाँका राजा हरसिंहदेव आफ्ना परिवार र भारादारसहित ससुराली राज्य नेपाल खाल्डोतिर हिँडे । तर, नेपाल खाल्डो नपुग्दै बाटैमा तीनपाटनमा वि.सं. १३८२ मा हरसिंहदेवको मृत्यु भयो । यो कुरा प्रसिद्धै छ । वि.सं. २०१९ मा ललितपुरबाट जगदम्बा प्रकाशनद्वारा प्रकाशित धनवज्र वज्राचार्य, रामजी तेवारी, देवीप्रसाद भण्डारी, भोलानाथ पौडेल, शंकरमान राजवंशी, गौतमवज्र वज्राचार्य, महेशराज पन्त र नयनाथ पौडेलको इतिहास–संशोधनको प्रमाणप्रमेयका २३२–२३६ पृष्ठमा,  वि.सं. २०२१ मा काठमाडौँबाट संशोधन–मण्डलद्वारा प्रकाशित पूर्णिमा ४ पूर्णाङ्कमा छापिएको धनवज्र वज्राचार्यको डोयहरू को हुन् ? भन्ने लेखमा (त्यस पूर्णाङ्कका ३०–३१ पृष्ठमा),  वि.सं. २०२२ मा प्रकाशित पूर्णिमा ७ पूर्णाङ्कमा छापिएको धनवज्र वज्राचार्यको शक्तिशाली भारादार रामवद्र्धनहरू र तात्कालिक नेपाल भन्ने लेखमा (त्यस पूर्णाङ्कको १४ पृष्ठमा),  वि.सं. २०४० मा काठमाडौँबाट नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित ज्ञानमणि नेपालको नेपाल निरुक्तका १७४–१७५ पृष्ठमा तथा  वि.सं. २०५५ मा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित ज्ञानमणि नेपालको नेपाल निरूपणका १५९, १६१, १७२, १८४–१८५, २८९ पृष्ठमा सप्रमाण लेखिएको पनि छ । यसो भएतापनि अशुद्ध कुरा लेखिन पनि छोडेको छैन । यसको उदाहरणको रूपमा काठमाडौँबाट नेपाल रिपब्लिक मिडियाद्वारा प्रकाशित वि.सं. २०७३ ज्येष्ठ २९ गतेको नागरिक ८ वर्ष ५० अङ्कको अक्षरको घ पृष्ठमा छापिएको कृष्ण शाह यात्रीको मैथिली नाटकको स्वाद भन्ने लेखमा कर्णाटक वंशीय नरेश हरिसिंहदेव गयासुद्धिन गुगलकको आक्रमणमा परेपछि आफ्ना बन्धुबान्धव र भारदारसहित नेपाल उपत्यका पसेका थिए, मुसलमान शासकहरूसँग पराजित भएपछि हरिसिंहदेव १३७० सालमा नेपाल पसे भनी लेखिएकोलाई देखाउनु पर्याप्त होला । यहाँ वि.सं. १३८१  भएको घटनालाई वि.सं.१३७० बनाइएको छ भने आक्रमण गर्ने शासकको नाममा पनि अशुद्धि गरिएको छ ।
प्रा. दिनेशराज पन्त       

 

Leave A Comment