हाउजिङमा ओइरिएको लगानी

शनिबार, २३ बैशाख २०७४, ०२ : ३५ दिलीप पौडेल , Kathmandu
हाउजिङमा ओइरिएको लगानी

भूकम्पले क्षति पुर्याएका अपार्टमेन्टको व्यापार उठ्न नसकेपछि व्यवसायीहरूले हाउजिङसहित घर–जग्गामा लगानी बढाएका छन् । व्यवसायी अहिले अर्पाटमेन्टबाट हाउजिङतिर सिफ्ट भएका हुन् ।
व्यवसायीहरू २०७५ सालसम्म १ हजार ३५ युनिट हाउजिङ निर्माण गर्ने तयारीमा छन् । घर–जग्गा, हाउजिङमा विभिन्न कम्पनीले सात अर्ब रूपैयाँभन्दा बढी लगानी गर्न लागेको नेपाल जग्गा तथा आवास विकास संघले जनाएको छ । भूकम्पपछि सुस्ताएको घर–जग्गा व्यवसाय पछिल्लो केही समययता फस्टाउँदै गएको छ ।
व्यक्तिगत रूपमा जग्गा किनेर घर बनाउँदा महँगो पर्ने भएपछि हाउजिङले बनाएका घर किन्ने क्रम बढेको छ । मुलुकमा बढ्दो शहरीकरण र आम्दानी वृद्धि हुँदै गएपछि हाउजिङमा आकर्षण बढेको हो । उपत्यकामा चाहिएअनुसार फ्ल्याट नपाउनु, बस्नका लागि चाहिने सुविधा (पानी, बिजुली, फोहोर व्यवस्थापन, खेलमैदान, खाली ठाउँ) अभाव भएपछि हाउजिङ कम्पनीले प्रयोगकर्ताको आवश्यकताअनुसार हाउजिङ निर्माण गरेका छन् । निर्माण सामग्री, मिस्त्री, इन्जिनियर, कामदारलगायत सबैको मूल्य बढेकाले झन्झट लिनुभन्दा हाउजिङले निर्माण गरेका घर किन्न सजिलो मानेका हुन् ।
नेपालमा करिब दुई सयभन्दा बढी हाउजिङ कम्पनीले काम गरिरहेका छन् । नेपाल जग्गा तथा आवास विकास संघका १३ हजार युनिट अपार्टमेन्ट र छ हजार युनिट हाउजिङ निर्माण भएका छन् । उपभोक्ताको हाउजिङमा आकर्षण बढेको संघका अध्यक्ष इच्छाराज तामाङले बताए । ‘भूकम्पपछि ठप्प भएको अर्पाटमेन्टको व्यापार बढ्न सकेको छैन,’ तामाङले भने, ‘हाउजिङको व्यापार भने वृद्धि भएको छ ।’ चार आना जग्गामा घर बनाउँदा त्यसमा लाग्ने लागत, समय लगायतको हिसाब गर्दा अपार्टमेन्टमा आकर्षण हुने उनको दाबी छ ।
आम्दानी हुनेले सुरक्षित र व्यवस्थित आवास रोज्छन् । उद्यमशीलता वृद्धि, वैदेशिक रोजगारीले क्रयशक्ति बढाएको छ । बसोबासका लागि सीमित जग्गा भएकाले पनि शहरमा हाउजिङ सबैको रोजाइ बनेको छ । ग्रामीण क्षेत्रबाट शहरतर्फ सर्ने क्रम वृद्धिसँगै सीमित जग्गा भएकाले हाउजिङलाई सुरक्षित आवासको रूपमा लिन्छन् ।
भूकम्पले राजधानीका अधिकांश अग्ला घरमा क्षति पु¥याएपछि हाउजिङमा आकर्षण बढेको नेपाल ल्यान्ड एन्ड हाउजिङ डेभ्लपर एसोसिएसनका तृतीय उपाध्यक्ष ओम राजभण्डारीले बताए ।
नेपाल बैंकर्स एसोसिएसनका अनुसार १६ खर्ब ३४ अर्ब रुपैयाँ लगानी गरेका छन् । यसमा व्यवसायी र व्यक्तिगत रूपमा घर–जग्गामा लिएको ऋण पनि समावेश छ । बैंकले आर्थिक ०७३÷७४मा मात्र हाउजिङ, घर–जग्गामा ७० अर्ब रुपैयाँ लगानी गरेका छन् । अझै पनि घर–जग्गामा करिब १ खर्ब ६० अर्ब रूपैयाँसम्म लगानी गर्न सक्ने तामाङले बताए । राष्ट्रबैंकले कुल कर्जाको २५ प्रतिशत घर–जग्गामा लगानी गर्न पाउँछ । घर–जग्गा शीर्षकअन्तर्गत बैंकले व्यक्तिगत रूपमा आवासीय घर–जग्गा कर्जा, बिजनेस कम्प्लेक्स र आवासीय अपार्टमेन्ट, आम्दानी दिने व्यावसायिक भवन, जग्गा खरिद तथा प्लटिङ गरी चार उप–शीर्षकमा ऋण लिने गरेका छन्  ।
आवासको आवश्यकता पूरा गर्न निजी क्षेत्रको लगानी आवश्यक रहेको शहरी विकास तथा भवन निर्माणको आवास महाशाखा सिनियर डिभिजनल इन्जिनियर राजेन्द्र खतिवडा बताउँछन् । निजी क्षेत्रले पनि लगानी बढाइरहेको छ ।
विभिन्न कम्पनीले उपत्यका र बाहिर पनि धमाधम हाउजिङ बनाउने काम गरिरहेका छन् । आगामी दुई वर्षभित्रै १ हजार ३५ युनिट बनाउने व्यवसायीले योजना सार्वजनकि गरेका छन् । त्यसअनुसार सीई रियल स्टेटले भक्तपुरको सल्लाघारीमा ४२ रोपनीमा ९० घर निर्माण गर्दैछ । तीन वर्षभित्र सम्पूर्ण घर निर्माण गरेर ग्राहकलाई बिक्री गरिसक्ने कम्पनीको दाबी छ । सीईले बनाएको हाउजिङको मूल्य १ करोड ५ लाख रूपैयाँदेखि ४ करोडसम्म पर्ने बताइएको छ ।
२०७५ सालभित्र ग्रिनहिल सिटीले ४५ रोपनी क्षेत्रफलमा ९५ युनिट बनाउने योजना बनाएको छ । बृहत् क्लस्टरले छ रोपनीमा २४ घर निर्माण अघि बढाएको छ । घरको मूल्य १ करोड ४६ लाखदेखि २ करोड २४ लाख रुपैयाँसम्म छ । सिभिल होम्सले १६ रोपनी जग्गामा चारदेखि ३१ घर बनाउँदैछ । रोड सोले बुढानिलकण्ठमा २५ रोपनीमा ४५ घर निर्माण गर्दैछ । डाउन टाउन हाउजिङले ११ रोपनी जग्गामा २ सय ११ युनिट बनाउँदैछ । यसको मूल्य ७० देखि ८० लाख रुपैयाँसम्म छ ।
उपत्यकामा मात्र होइन, हाउजिङ उपत्यकाबाहिर पनि विस्तार हुँदै गएको छ । चितवन, पोखरा, दमौली, नारायणगढमा हाउजिङको अवधारणा आएको छ । उपत्यकाबाहिर दीप हाउजिङले ६३ रोपनी जग्गामा १ सय ८ घर निर्माण गर्दैछ । रोड सो रियल स्टेटले भरतपुर चितवनमा हाउजिङ बनाउँदैछ । प्रतिघरको मूल्य १ करोड ३९ लाख रुपैयाँदेखि २ करोड २४ लाख रूपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

 

 

Leave A Comment