भोट हाल्न आतुर

आइतबार, २४ बैशाख २०७४, १२ : ३९ रामकुमार डिसी , Kathmandu
भोट हाल्न आतुर

वैशाख ३१ गते स्थानीय तहको पहिलो चरणको निर्वाचन हुँदैछ । दुई दशकपछि जनताले आफ्ना गाउँठाउँ र शहरका प्रतिनिधि चुन्न पाउँदैछन् । देशैभरिका मतदाता उत्साहित छन् । अझ पहिलो पटक भोट हाल्न लागेका युवा झन् व्यग्र छन् । शुक्रवारले विभिन्न शहरका मतदाताको मन बुझ्न खोजेको छ । उनीहरू भन्छन्– ‘हामी भोट हाल्न आतुर छौँ ।’
हातको भोट हातैमा खसाल
आफ्नो थिति आफैँले बसाल

साहित्यकार भैरव अर्यालले उहिल्यै एक जना उम्मेदवारका लागि लेखिदिएको यो गीतले लोकतन्त्रमा चुनावको महत्व के हुन्छ ? प्रस्ट पारिदिएको छ । जनताले ‘आफ्नो थिति आफैँले बसाल्ने’ अवसर हो चुनाव ।
लोकतन्त्रको जग मानिने स्थानीय शासन सञ्चालनका लागि २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचन गतिविधिमा जनता उत्साहित भएर सहभागी भइरहेका छन् । विभिन्न राजनीतिक दलले आयोजना गर्ने निर्वाचनसम्बन्धी कार्यक्रममा मतदाताको चासो बढ्दो छ । यसअघि २०५४ साल जेठ ४ र १३ गते दुई चरणमा स्थानीय निकायको निर्वाचन भएको थियो । निर्वाचित प्रतिनिधिको म्याद गुज्रिएपछि हालसम्म राजनीतिक सहमतिमा स्थानीय निकायको नेतृत्व कर्मचारीमार्फत गरिँदै आएको थियो ।
जनता २० वर्षपछि स्थानीय जनप्रतिनिधि छनोट गर्न पाएको अवसरलाई भव्य रूपमा सम्पन्न गर्ने तयारीमा जुटेका छन् । दुई दशकदेखि स्थानीय तहमा जनताले आफ्ना प्रतिनिधि चुन्न पाएका थिएनन् । लोकतन्त्र पुनर्बहालीपछि दुई÷दुई पटक संविधानसभा निर्वाचनमा मतदान गरेका मतदाता स्थानीय तहको निर्वाचनलाई लिएर थप उत्साहित भएका छन् ।
संविधान संशोधनविना निर्वाचनमा भाग नलिने अड्डी कसिरहेका मधेशकेन्द्रित दलले निर्वाचन बिथोल्ने भन्दै दिएको धम्की, पहिला एकै चरणमा गर्ने भनिएको निर्वाचन दुई चरणमा गर्ने सरकारको निर्णय, निर्वाचनका लागि उम्मेदवार मनोनयन गर्नुभन्दा दुई दिनअघि सर्वोच्च अदालतका प्रधान न्यायाधीश सुशीला कार्कीका विरुद्ध संसद्मा दर्ता भएको महाअभियोग, गृहमन्त्रीको राजीनामाजस्ता घटनाले वैशाख ३१ गतेको पहिलो चरणको निर्वाचन स्थगित हुने पो हो कि भन्ने आंशकाका बीच उल्लासमय वातावरणमा उम्मेदवारी दर्ता हुनु र जनता मतदानका लागि व्यग्र प्रतीक्षारत रहनुले मतदाता आफ्नो अधिकार प्रयोग गर्न आतुर रहेको पुष्टि भएको छ ।
निर्वाचनको वातावरण बनाउन खटिनुपर्ने नेताहरू आलटाल गरिरहँदा पनि पार्टी कार्यकर्ता भने आ–आफ्ना दलका झण्डा र चुनावचिह्न बोकेर मतदातामाझ पुग्न थालिसकेका थिए । निर्वाचन नै स्थानीय तहको भएकाले हुनुपर्छ, यसपटक चुनावको माहोल स्थानीय तह हुँदै केन्द्र अर्थात् राजधानी आइपुगेको छ । उम्मेदवारी दर्ता गर्ने दिन मंगलवार राजधानीका सडकमा राति अबेरसम्म विभिन्न दलका नेता तथा कार्यकर्ताको चहलपहलले निर्वाचनको तापक्रम बढेको पुष्टि गरेको छ ।
लामो समय स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा विकास निर्माणका काम प्रभावित भएको थियो । सुशासन कायम हुन नसकेको, भ्रष्टाचार बढेको भन्दै सर्वत्र चिन्ता व्यक्त हुँदै आएको थियो । सर्वदलीय समितिका नाममा दलीय भागबण्डा र कर्मचारीको भरमा सञ्चालन भइरहेका स्थानीय निकायले जनताका आवश्यकता सम्बोधन गर्न सकेका थिएनन् ।
नयाँ संविधानअनुसार हुने स्थानीय तहको निर्वाचनमा मतदाताले आफ्नो गाउँपालिका प्रमुख, उपप्रमुख र नगरपालिकामा मेयर, उपमेयर र वडाध्यक्षसहितका पदाधिकारी चुन्नेछन् । जसअनुसार गाउँपालिकामा वडा संख्याका आधारमा २७ देखि ९१ जनासम्म पदाधिकारी हुनेछन् भने नगरपालिकामा महानगर, उपमहानगर, नगर र वडाका आधारमा ४७ देखि १ सय ७५ जनासम्म पदाधिकारी रहनेछन् । स्थानीय तहमा कम्तीमा ५० प्रतिशत महिला सहभागिता हुने स्थिति बनेको छ । संविधानले आत्मसात् गरेको समावेशी सिद्धान्तलाई व्यवहारमा लागू हुने अवस्था सिर्जना भएको छ ।

०५४ सालमा जन्मेका बालबालिक बालिग मतदाता भइसकेका छन् । हरेक पाँच÷पाँच वर्षमा हुनुपर्ने आवधिक निर्वाचन २० वर्षसम्म नहुनु लोकतान्त्रका लागि पक्कै पनि सुखद पक्ष होइन । लामो अन्तरालमा स्थानीय प्रतिनिधि चुनिने भएपछि मतदातामा बेग्लै प्रकारको खुशी र तरंग पैदा भएको छ । विशेष गरेर पहिलो पटक मतदानमा भाग लिन लागेका युवा मतदाता निकै उत्साहित देखिएका छन् ।
नयाँ मतदातामा नयाँ उत्साह
शुक्रवार सहकर्मीले विभिन्न शहरमा युवा मतदातासँग प्रत्यक्ष कुराकानी गरेका थिए । कुराकानीका क्रममा अधिकांश मतदाताले मतदान जनताको नैसर्गिक अधिकार भएकाले यसको प्रयोगले जनता थप अधिकारसम्पन्न हुने बताएका छन् । स्थानीय तहमा पहिलाभन्दा थप अधिकार गएको, समावेशी सिद्धान्तअनुसार महिला, दलित, आदिवासी जनजाति लगायतको प्रतिनिधित्व हुने सुनिश्चित गरिएकाले पनि मतदानका लागि मतदाता आतुर देखिएका छन् ।
पोखराकी लक्ष्मी शाही स्थानीय जनप्रतिनिधि छान्ने अवसर बल्लबल्ल आएको र आफ्नो स्थानीय सरकार आफैँ चुन्न पाउने अवसरलाई कुनै पनि हालतमा ‘मिस’ नगर्ने बताउँछिन् । ‘म त भोट खसाल्न हतारिएकी छु,’  उनले भनिन् ।
नयाँ पिढीका लागि नेपालमा नौलो पद्धतिको जन्म भएकाले आफू मतदानका लागि व्यग्र प्रतीक्षा गरिरहेको जयन्ती थापा मगरले बताइन् । पोखराकै शेरबहादुर थापा क्षत्रीलाई पहिलो पटक भएकाले भोट हाल्ने निकै रहर लागेको छ । सानो हुँदा चुनावको कुरा सुनेका पोखराका नवीन सापकोटा यसपटक आफैँ मतदाता हुन पाएकोमा फुरुङ्ङ छन् । ‘मतपत्र हात परेपछि कस्तो होला ? डर पो लाग्ला कि ? कसलाई भोट दिने भनेर अलमलमा पर्ने पो हुँ कि ? यस्तै सोचेर  वैशाख ३१ गतेको प्रतीक्षा गरिरहेको छु,’ सापकोटाले भने । पोखराकै चित्र गुरुङ दुई दशकपछि स्थानीय प्रतिनिधि चुन्ने अवसरले सबैलाई उत्साहित बनाएको बताउँछन् ।

सुर्खेतका लोकप्रसाद दाहाल दुई दशकपछि हुन लागेको स्थानीय तहको  निर्वाचनले युवाहरूलाई उत्साही बनाएको बताउँछन् । ‘सिंहदरबारको अधिकार गाउँमै प्रयोग गर्न पाइने भएकाले यो निर्वाचन महत्वपूर्ण छ,’ दाहालले भने, ‘यसमा मतदान गर्नबाट कोही पनि छुट्नु हुँदैन ।’
‘स्थानीय तहको निर्वाचन नहुँदा भ्रष्टाचार मौलायो,’ दिघलाल जोशीले भने, ‘जनताले सरकारको अनुभूति गर्न पाएनन् । निर्वाचन हुने निश्चित भएसँगै मतदान गर्ने दिन कहिले आउला भनेर औला भाँचेर गनिरहेको छु ।’ अहमद रज्जा विभिन्न चरणमा भएका राजनीतिक उपलब्धिलाई संस्थागत गर्न र संविधान कार्यान्वयनका लागि वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचन महŒवपूर्ण रहेको बताउँछन् । ‘यो निर्वाचनले जनताका अधिकारलाई संस्थागत मात्रै गर्दैन, केन्द्रीकृत राज्यलाई विकेन्द्रित पनि गर्छ,’ उनले भने, ‘जनताले आफ्ना अधिकारको उपयोग घरआँगनमै गर्न पाउँछन् । त्यसैले पनि जनतामा थप उत्साह थपिएको छ ।’

सुर्खेतकै राधा कार्कीले वर्तमान संविधानले महिलालाई दिएका अधिकार संस्थागत गर्न यो निर्वाचन महत्वपूर्ण हुने भएकाले आफू मतदानका लागि हतारिएको बताइन् । ‘२० वर्षपछि नयाँ संरचनाअनुसार हुन लागेको स्थानीय तहको निर्वाचनले उत्साह थपेको छ,’ उनले भनिन्, ‘प्रमुख पदहरूमा महिलालाई राजनीतिक दलहरूले उम्मेदवार नबनाए पनि संविधानले ग्यारेन्टी गरेअनुसार उपप्रमुखमा महिला उम्मेदवार बनेका छन् ।’

स्थानीय तहमा जनताले चुनेका प्रतिनिधि नहुँदा धेरै समस्या थिए । सुशीला गौतम भन्छिन्  ‘कर्मचारीहरूको जागिरे मानसिकताबाट चलिरहेको स्थानीय तहमा अब हामीले चुनेर पठाएका प्रतिनिधि हुनेछन्,’ सुशीला गौतम हर्षित छिन् ।

टीका विक संविधानले वर्षौंदेखि पछाडि पारिएका समुदायका लागि धेरै हक र अधिकार सुनिश्चित गरेकाले त्यसको कार्यान्वयन गर्न हुन लागेको स्थानीय तहको निर्वाचनलाई सफल बनाउन तल्लीन रहेको बताउँछिन् ।  लक्ष्मीबहादुर शाही राजधानीकेन्द्रित अधिकार गाउँघरमै पाइने भएकाले पनि स्थानीय तहको निर्वाचन महŒवपूर्ण रहेको बताउँछन् ।

स्थानीय चुनावमा पहिलो पटक भोट हाल्ने अवसर पाएका नेपालगञ्जका रवि कनोजिया स्थानीय तहको निर्वाचनपछि हरेक कामका लागि सिहंदरबार धाउने समस्याबाट छुटकारा पाइएला कि भन्ने आशमा छन् । फिरोज अन्सारीलाई मुस्लिम समुदायको चाड रमजान महिनामा चुनाव परेकाले अलिकता खल्लो लागेको छ । तर, उनी मतदानमा भने जसरी पनि सहभागी हुने बताउँछन् ।
‘पहिलो पटक स्थानीय तहको चुनाव हुन लागेको देख्दै छु,’ भूपेन्द्र ओलीले भने, ‘पहिलो पटक भएर होला म त निकै उत्साही छु, आफ्नो प्रतिनिधि छान्न ।’
मिना डाँगीलाई चुनाव आउँदा एकदमै रमाइलो लागिरहेको छ । ‘कहिले भोट हाल्न पाइएलाझैँ भएको छ,’ उनले भनिन्, ‘किनकि, म पहिलो पटक चुनावमा भोट हाल्ने अवसर पाउँदैछु ।’
उता, प्रतीक्षा रानाभाट भन्छिन्, ‘स्थानीय तहको चुनावको विकल्प थिएन । किनकि, संविधान कार्यान्वयन गर्नकै लागी भए पनि चुनाव गर्न अनिवार्य थियो । त्यसकारण यो चुनाबबाट मेरो धेरै अपेक्षा छ ।’ आयुषा गुरुङ भने चुनाव भएपछि मात्र लोकतन्त्र बलियो हुने भएकाले सबैले स्थानीय तहको निर्वाचनमा मतदान गर्नुपर्ने बताउँछिन् ।

धरानका जयकुमार मोक्तान पहिलो पटक स्थानीय चुनावमा भोट हाल्न पाउँदा आफू पनि देशको नागरिक रहेछु भन्ने महसुस भएको बताउँछन् । ‘भोट हाल्न उत्साहित छु तर चुनावको मिति पो सरेर पछि भन्दाभन्दै चुनावै नहोला कि भन्ने पिर छ,’ मोक्तानले भने । उता, शोभित राई भोट हाल्ने अवसर पाउनु खुशीको कुरा हो भन्छन् । बारम्बार चुनाव सर्ने हल्लाले गोमा तामाङ चिन्तित छिन् । ‘भोट दिने अधिकार भएका मान्छेसँग पहिला बोलाउँदा पनि नबोल्ने मान्छेहरू नमस्कार गर्दै आउँदा रहेछन्,’ गोमाले भनिन्, ‘मलाई पनि नमस्कार भन्नेहरू धेरै हुन थाले । रमाइलो लागेको छ ।’

धरानकै कविता बराइलीलाई पहिलो पटक आफ्नो नाम मतदाता सूचीमा देख्दा मज्जा लागेको छ । ‘पहिलो पटक भोट दिनुपर्ने भएकाले के के गर्नु पर्ने हो, कसरी भोट हाल्नुपर्ने हो भनेर अलि नर्भस पनि भएकी छु,’ उनले भनिन्, । उनीजस्तै जस्मिन लिम्बू पनि नर्भस छिन् । ‘कति ठाउँमा कति मान्छेलाई भोट हाल्ने हो, थाहा छैन,’ जस्मिनले भनिन्, ‘कहिल्यै भोट दिएको छैन, पहिलो पटक भएकाले कस्तो हुन्छ होला भन्ने लागेको छ ।’   

दोस्रो चरणमा निर्वाचन हुने जनकपुरका मतदाता पनि मतदान गर्ने दिनको प्रतीक्षामा छन् । सञ्जय चौधरी भन्छन्, ‘स्थानीय तहको विकासका लागि स्थानीय सरकार गठन हुन जरुरी छ ।’ मुकेश झालाई मधेश र मधेशी जनताको अधिकार स्थापित भएपछि स्थानीय तहको निर्वाचन हुनुपर्ने लागिरहेको छ । मधेशी जनताको माग सम्बोधन गरेर चुनाव गर्नुपर्ने उनी बताउँछन् । पहिलो पटक चुनावमा भोट खसाउने अवसर पाएकी रागिनी पाल निर्वाचन कुनै पनि हालतमा सम्पन्न हुनुपर्ने बताउँछिन् । उता, भारती चौधरी चुनावमा भोट खसाउन आतुर रहेको बताउँछिन् ।
धनगढीकी  प्रतीक्षा अधिकारी मतदाता भएर चुनावमा मतदान गर्ने अवसर पाउँदा एकदमै खुशी लागेको बताउँछिन् । ‘मताधिकार पहिलो पटक पाइरहेकी छु,’ उनले भनिन्, ‘गाँउठाउँको विकास गर्ने राम्रो मान्छे चुन्न मैले पनि अवसर पाएकी छु । यसले धेरै उत्साहित भएको छु ।’ याना चन्द पनि पहिलो पटक निर्वाचनमा आफ्नो मतदानको अधिकार प्रयोग गर्न पाएकोमा खुशी छिन् । धनगढीकै विशेष कुस्मीले भने, ‘पहिलो पटक मतदाता भएको छु । मताधिकार प्रयोग गर्न आतुर छु ।’

तथ्यांकमा स्थानीय तह निर्वाचन

प्रदेश नं ६
जिल्लाः १०
नगरपालिकाः २५
गाउँपालिकाः ५४
स्थानीय तहः ७९
मतदाता संख्या ः ७,८३,८३२
मतदान केन्द्रः १,१९९

प्रदेश नं ४
जिल्लाः ११
महानगरपालिकाः १
नगरपालिकाः २६
गाउँपालिकाः ५८
स्थानीय तहः ८५
मतदाता संख्याः १४,१३,३२०
मतदान केन्द्रः १,९५२

प्रदेश नं ३
जिल्लाः १३
महानगरपालिकाः ३ (काठमाडौँ, ललितपुर, भरतपुर)
उपमहानगरपालिकाः १ (हेटौँडा)
नगरपालिकाः ४१
गाउँपालिकाः ७४
स्थानीय तह : ११९
मतदाता संख्याः २७,६०,१८२
मतदान केन्द्रः ३,४९१


जम्मा
स्थानीय तहः २८३
जम्मा निर्वाचित हुनेः १३,५५६
जिल्लाः ३४
महानगरपालिकाः ४
उपमहानगरपालिकाः १
नगरपालिकाः ९२
गाउँपालिकाः १ सय ८६

वडाध्यक्ष
महानगर वडाध्यक्षः १२३
उपमहानगर वडाध्यक्षः १९
नगरपालिका वडाध्यक्षः १,०९१
गाउँपालिका वडाध्यक्षः १,३६५
जम्मा वडाध्यक्षः २,५९८

महिला
महिला मेयर/उपमेयरः ९७
गाउँपालिका प्रमुख/उपप्रमुखः १,३६५
महिला वडा सदस्यः २,५९८
दलित महिला वडा सदस्यः २,५९८

 

Leave A Comment