‘इमानदारीले सफलता दिलाउँछ’

मङ्गलबार, २६ बैशाख २०७४, ०१ : ०० दिलीप पौडेल , Kathmandu
‘इमानदारीले सफलता दिलाउँछ’

पाँच रुपैयाँ लिएर झापाबाट राजधानी छिरेका सुमन श्रेष्ठ अहिले सफल उद्योगीका रूपमा स्थापित हुँदै छन् । वन्दनाश्री फुटवेयर प्रालिमार्फत जुत्ताचप्पल उत्पादन गर्दै आएका छन्, श्रेष्ठले । नेपाल जुत्ताचप्पल उद्योग व्यवसायी संघका सचिवसमेत रहेका श्रेष्ठसँग शुक्रवारका लागि दिलीप पौडेलले गरेको कुराकानीः

कहिलेदेखि यो व्यवसायमा हुनुहुन्छ ?
मैले जुत्ताचप्पलमा काम गर्न थालेको करिब दुई दशक भयो । सुरुमा अरूले उत्पादन गरेका जुत्ताचप्पल बिक्री गर्थें । अहिले आफ्नै कम्पनीले उत्पादन गरेका जुत्ताचप्पल बिक्री गर्दै आएको छु ।
उद्योगमा कति लगानी गर्नुभएको छ ?
करिब साढे दुई करोड रुपैयाँ ।
तपाईंको उद्योगमा कतिले रोजगारी पाएका छन् ?
५० जनालाई रोजगार दिने क्षमता छ । तर, कामदार पाएको छैन ।
दैनिक कति जुत्ताचप्पल उत्पादन हुन्छ ?
साढे छ सयदेखि सात सय जोर ।
गुणस्तर कस्तो छ ? किन यहाँको ब्रान्ड प्रयोग गर्ने ?
उपभोक्ताको मागअनुसार उत्पादन गर्छौं । धेरैले सस्तो खोज्ने भएकाले सस्तो बनाउनुपर्ने हाम्रो बाध्यता छ । ती कम टिकाउ हुन्छ । तर, हामीले छ महिनाको वारेन्टी दिन्छौँ । हामीले सस्तो मूल्यमा खपाउ हुने जुत्ताचप्पल तयार गर्छौं । हरेक दुई÷तीन दिनमा नयाँ डिजाइन निकाल्न सक्ने क्षमता छ ।
यहाँको ब्रान्डको डिजाइन कस्तो छ ?
उपभोक्ताले चाहेजति डिजाइन दिन सक्छौँ । हाम्रो मुख्य विशेषता नै नयाँ–नयाँ डिजाइन हो । ग्राहकले एउटै डिजाइनका जुत्ताचप्पल चित्त बुझाउँदैनन् । फरक–फरक डिजाइनका जुत्ताचप्पल बनाउँछौँ ।
जुत्ताचप्पलको बजार कस्तो छ ?
नेपाली जुत्ताचप्पलको बजार बिस्तार हुँदै गएको छ । यहाँ खपत हुने जुत्ताचप्पलको ३५÷४० प्रतिशत बजार स्वदेशी उत्पादनले ओगटेका छ । करिब ५० लाख जुत्ताचप्पल खपत र बिक्री हुन्छ । बाहिरबाट आउने रेडिमेड जुत्ताचप्पलसँग प्रतिस्पर्धा गर्नु कठिन छ ।
उद्योगीका मुख्य समस्या के हुन् ?
हामीले भारत र चीनबाट आएका जुत्ताचप्पसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । जनशक्तिको अभाव छ । नेपालमा कच्चा पदार्थ पनि उतैबाट आउँछ । लेडिज चप्पल उद्योगमा काम गर्ने कामदार ९८ प्रतिशत भारतबाटै ल्याएर उत्पादन गर्दा लागत महँगो पर्छ । महिनामा ४० हजार रुपैयाँ कमाइ हुने भए पनि यहाँका युवा विदेशिन तयार छन् । तर, यहाँ काम गर्दैनन् । काम गरेर खान लाज मान्छन् ।
नीतिगत समस्या के–के छन् ?
देशमा स्थिरता भएन । सबैतिर अस्थिरता छ । विदेशबाट कच्चा पदार्थ ल्याउनुपर्ने भएकाले त्यसमा छुट दिनु आवश्यक छ । खुल्ला सीमाको फाइदा उठाउँदै लुकीचोरी सामान ल्याएर बेच्छन् । राज्यले प्रहरी प्रशासन लगाएर यसलाई रोक्नुपर्छ ।  अन्डर टेबल सेटिङ गरेर सामान आउने क्रमको अन्त्य गर्नुपर्छ ।
जुत्ताचप्पलमा मुलुक आत्मनिर्भर हुने सम्भावना छ ?
यो विषय हामीले सोचेर मात्र हुँदैन, राज्य जिम्मेवार बन्नुपर्छ । जुत्ताचप्पल बनाउन १९ प्रकारका सामान चाहिन्छ । अहिले हाम्रो मुलुकमा एउटा कच्चा पदार्थ सोल मात्र बन्न थालेको । १८ चिज विदेशबाट ल्याउँछौँ । अनि, कसरी आत्मनिर्भर हुन्छ ? गर्न नसकिने भन्ने होइन । कामदारदेखि कच्चापदार्थ विदेशीको भरपर्दा स्वदेशी उद्योग फस्टाउन नसकेका हुन् । यसका बाबजुत पनि केही उद्योगीले विदेशी बजारमा समेत नेपाली जुत्ताचप्पल निर्यात गर्न थालेका छन् ।
यो क्षेत्रमा कसरी आउनुभयो ?
सानैदेखि दाजर्लिङमा पढेकाले गोरखा राइफलमा भर्ती हुने इच्छा थियो । कोसिस गरेँ । सफल नभएपछि आमाले दाजुको लागि इटहरीमा जुत्ताचप्पल पसल राखिदिनुभएको थियो । दाजु विदेश गएपछि पसलको जिम्मेवारी मैल लिएँ । काम गर्दै जाँदा अझ ठूलो व्यवसाय गरौँ भनेर राजधानी आएर यो व्यवसायलाई बिस्तार गरेको हुँ । राजधानी छिर्दा पाँच रुपैयाँ थियो । तर, सबै आफन्त, साथीभाइको सहयोग र आँटले यो अवस्थामा आएँ ।
नयाँ योजना ?
जुत्ताचप्पलकै पीयू प्लान्ट स्थापना गर्ने योजनामा छु ।
सफलताको लागि के चाहिन्छ ?
इमानदारीले सफलता दिलाउँछ ।

Leave A Comment