महिनावारीको बेला यौनसम्पर्क नराख्नु

शनिबार, ३० बैशाख २०७४, ०१ : ०२ शुक्रवार , Kathmandu
महिनावारीको बेला यौनसम्पर्क नराख्नु

यौन दुर्बलता कम गर्ने भियग्रा भनेको कस्तो खालको औषधि हो ? यसले कसरी यौन दुर्बलता कम गर्छ ? यसको सेवनले कुनै हानि हुन्छ कि हुँदैन ? एलबी
औषधि विज्ञानका विभिन्न आविष्कारमध्ये यो पनि लोकप्रिय आविष्कारमा पर्छ । भियग्राले यौन दुर्बलताका कारण चिन्तित एवं हीनताबोधले पीडित व्यक्तिलाई पुरुषत्व फर्काउन मद्दत गर्छ ।
नेपालजस्तो खुल्लापन नआइसकेको समाजमा यौनबारे छलफल गर्न गाह्रो छ । वीर्य स्खलनको कार्य चरणबद्ध रूपमा हुन्छ । यसका लागि यौनेच्छा जाग्नुपर्यो, यौनांग उत्तेजित हुनुपर्यो । अनि मात्र उत्तेजित लिंगबाट स्खलन सम्भव हुन्छ । त्यसो त सामान्य पुरुषको निद्रावस्थामै पनि चारदेखि आठ पटकसम्म आफसे आफ यौनांग उत्तेजित हुन्छ । र, कहिलेकाहीँ कसैसँग संसर्ग गरेको सपनाले निद्रामा नै स्खलन पनि हुन्छ । यौनांगमा हुने रक्तप्रवाहले यसलाई उत्तेजित अवस्थामा राखिराख्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
पुरुष यौनांग बेलुनजस्तै हो । बेलुनमा हावाको चाप राखेपछि ठूलो हुँदै आएजस्तै पुरुष यौनांगमा पनि रक्तप्रवाहको चाप (प्रेसर) बढ्यो भने यौनांगमा रहेका सिगार आकारका बनावटमा अल्पकालीन रूपमा रक्तप्रवाह थुनिन गई यौनांग कडा र लामो हुन्छ ।

जब मानिसको मनमा यौनेच्छा जाग्छ, तब यौनांगमा रगत प्रवाह गर्ने धमनी खुल्ला हुन्छ भने रगत फर्काएर लाने शिरा खुम्चिन्छ । यसको परिणाम स्वरूप यौनांगमा पर्याप्त मात्रामा चाप पैदा भई यौनांग लामो र कडा हुन्छ । यदि यौनांगमा रगत ल्याउने धमनी राम्ररी खुल्न सकेन भने यौनांग उत्तेजनमा आउनै सक्दैन र मानिस यौन दुर्बलताको शिकार हुन्छ । वृद्ध अवस्थाले छुन थालेपछि यौनांगमा रक्तप्रवाह गर्ने नली (धमनी) पर्याप्त मात्रामा खुल्ला हुन सक्दैन ।
भियग्राले यौनांगमा नाइट्रिक अक्साइडको कामलाई बढावा दिन्छ । यसले  पुरुष यौनांगको मांसपेशी खुकुलो बनाइदिन्छ । जसका कारण रक्तप्रवाह बढ्न गई यौनांगको कमलो तन्तु बिस्तारै लट्ठीजत्तिकै कडा र दह्रो हुँदै आउँछ अर्थात् उत्तेजना पैदा हुन्छ ।
यौन दुर्बलताको समाधानमा सन् १९८३ मा ठूलो उपलब्धि हात लाग्यो । यसअघि यौन दुर्बलतालाई नितान्त मानसिक समस्याका रूपमा लिइन्थ्यो । सन् १९८३ मा अमेरिकामा भएको मूत्ररोग विशेषज्ञहरूको जमघटमा डा. गिलेस विन्डलेले आफ्नै यौनांगा फेन्टोलेमाइन नामक सुई लगाई स्टेजमा आए र सबैको सामु पाइन्ट फुकालेर औषधिले पनि यौनांगलाई उत्तेजनामा ल्याउन सकिन्छ भन्ने कुरा प्रमाणित गरी देखाइदिए ।
सन् १९८० को मध्यताका यौन दुर्बलताका रोगीले भटाभट आफ्नो यौनांगमा सुई हान्दै अस्थायी तवरले आफ्नो पुरुषत्व फर्काउने गर्थे । तर, सन् १९९८ देखि मुखबाट खान मिल्ने गरी ट्याब्लेटको आकारमा विकसित भियग्राले त्यत्तिकै प्रभावकारी काम गरेर धेरै सजिलो बनाइदियो । र, फेन्टोलेमाइनले तुरुन्तै र अनियन्त्रित रूपमा यौन उत्तेजना ल्याउँथ्यो भने भियग्राको असर कुनै व्यक्तिले यौनेच्छा प्रकट गरेपछि मात्र देखिन्थ्यो ।
दुई दशकअघिदेखि यौन उत्तेजनासम्बन्धी समस्या भएकालाई लक्ष्य गरी फाइजर कम्पनीले बजारमा ल्याएको भियग्राको सेवनले पुरुष यौनांगको रक्तप्रवाहमा अदलीबदली गरी अपेक्षित मोटोपना ल्याउँछ । भियग्राले यौनेच्छा, यौन क्षमता, यौनांगको आकार बढ्ने धारणाका कारण पछिल्ला वर्षमा अधबैँसेमाझ यो औषधि लोकप्रिय हुँदै आएको छ ।
लामो समयसम्मको विमानयात्रापछि हुने जेट ल्यागबाट छुट्कारा पाउन भियग्राले मद्दत गर्छ भन्ने तथ्य पत्ता लगाएका कारण सन् २००७ मा अर्जेन्टिनी टोलीले हवाई क्षेत्रको नोबेल पुरस्कार पाए । भियग्राको सेवनले मांसपेशीमा रगत प्रवाह बढाउँछ भन्ने गाँठी कुरा थाहा पाएर एथलेट (खेलाडी)ले पनि आफ्नो प्रदर्शन उकास्न भियग्राको सेवन गर्ने गरेका छन् । फोक्सोको रक्तचाप बढेमा, उच्च लेकको रोकथाम तथा उपचारमा पनि भियग्राको प्रयोग भइरहेको छ । मधुमेह एवं उदासीबाट ग्रस्त बिरामीमा रोग वा त्यसका लागि प्रयोग गरिने औषधिका कारणले पनि उत्पन्न हुने यौन दुर्बलतालाई निराकरण गर्न यसको उपयोग भइरहेको छ ।
यौन दुर्बलता भएकाले यौन सम्पर्क कार्यको आधादेखि चार घण्टाअगाडि बढीमा एक पटक मात्र २५ देखि सय मिलिग्राम भियग्रा सेवन गर्न मिल्छ । एक दिनमा योभन्दा बढी सेवन गरेको खण्डमा नकारात्मक असर देखिन थाल्छ ।
धेरैजसोलाई टाउको दुख्ने, तातो अनुभव हुने, नाक रसिलो हुने, आँखा धमिलो हुने, उज्यालोमा हेर्न कठिनाइ हुने, कतिपयले सबै कुरा नीलो देख्नेजस्ता साइड इफेक्ट हुन्छन् । बिरलैलाई मात्र यौनांग निरन्तर रूपमा उत्तेजित भइरहने, रक्तचाप स्वाट्टै घट्ने, हृदयाघात हुने, मस्तिष्कघात हुने, एक्कासि कान नसुन्ने हुन्छ । उच्च रक्तचापको औषधि सेवन गरिरहेका तथा एचआईभीको औषधि सेवन गरिरहेकाले भियग्रा खानु हुँदैन । यस्तो अवस्थामा भियग्राले नकारात्मक असर बढाउँछ । मुटुको औषधि खाइरहेका, यौन सम्पर्क राखेमा हृदयाघातको जोखिममा रहेका, कडा खालको कलेजो तथा मिर्गौलाका रोगी, हालसालै मस्तिष्कघात तथा हृदयाघात भएका व्यक्तिले भियग्रा सेवन गर्नै हुँदैन ।
मेरो बिहे भएको चार वर्ष भयो । एक वर्षको बच्चा पनि छ । म २८ वर्षको भएँ । यौन सम्पर्क गर्दा कन्डम प्रयोग गर्न मन लाग्दैन ।  श्रीमतीले अहिले परिवार नियोजनको अस्थायी चक्की (पिल्स) खाइरहेकी छिन् । यसले पछि साइड इफेक्ट हुन्छ भनेको सुनेको छु । म स्थायी बन्ध्याकरण गर्ने सोचमा छु । पछि अर्को बच्चाको इच्छा भयो भने स्थायी बन्ध्याकरण उल्टाउन मिल्छ कि मिल्दैन ?
सन्देश

बन्ध्याकरण परिवार नियोजनको स्थायी र अरू साधनभन्दा भरपर्दो मध्यम हो । कन्डम प्रयोग गर्न मन नलागेर स्थायी बन्ध्याकरण गर्ने तपाईंको योजना त्यति ठीक लागेन । तपाईंको उमेर र पारिवारिक अवस्था हेर्दा अहिले नै बन्ध्याकरण गरिहाल्नुपर्छ जस्तो लाग्दैन । तपाईंको एक मात्र बच्चा छ, त्यो पनि एक वर्षको । उमेर २८ वर्ष मात्र भएको छ । यस्तो अवस्थामा तपाईंले अहिले नै स्थायी बन्ध्याकरण गर्नेभन्दा पनि अस्थायी साधन प्रयोग गर्नुभए बेस हुन्छ । बन्ध्याकरण गरेपछि पनि छ महिनासम्म कन्डम प्रयोग गर्नैपर्छ । त्योभन्दा पनि महत्वपूर्ण कुरा त कन्डमले यौन रोगहरूबाट पनि बचाउँछ; जुन बन्ध्याकरण गरेर सम्भव हुँदैन ।

पुरुष बन्ध्याकरण १९ औँ शताब्दीबाट सुरु भए पनि अमेरिकामा १९४१ तिर सुरु भएको थियो । तर,  १९६१ देखि मात्र यसको प्रयोग बढेको हो । यो एउटा सामान्य शल्यक्रिया हो, जसद्वारा पुरुषलाई बाँझो बनाइन्छ । बच्चा जन्माउनका लागि पुरुषको शुक्रकीट चाहिन्छ, जुन अन्डकोषमा बन्छ ।  यौन सम्पर्कको बेला त्यहाँ बनेको शुक्रकीट अन्डकोषबाट दुई वटा नलीहरूद्वारा लिंग हुँदै पाठेघरभित्र पुगेपछि फर्टिलाइजेसन हुन्छ । पुरुष बन्ध्याकरणमा यिनै दुई वटा नलीहरू काटेर चुँडाइन्छ । बन्ध्याकरणपछि फेरि सन्तानको चाहना भएमा यिनै नलीलाई जोडिन्छ ।   

बन्ध्याकरणपछि पुनः शल्यक्रियाद्वारा बच्चा जन्माउन सक्ने हुन सकिन्छ । तर, शतप्रतिशत सफलता पाइन्छ नै भन्ने छैन । बन्ध्याकरणपछि अण्डकोषद्वारा शुक्रकीट उत्पादनको मात्रा घटेर जान्छ र कालान्तरमा शुक्रकीटको विरुद्ध नै हाम्रो शरीरले एन्टिबडी बनाउँछ र शुक्रकीटलाई नष्ट गर्छ ।   

तपाईंकी श्रीमतीले परिवार नियोजनको अस्थायी साधन चक्की खाइरहनुभएको रहेछ । यो राम्रो कुरा हो । किनभने, यसले गर्भ रहन दिँदैन । यसबाट साइड इफेक्ट हुन्छ कि हुँदैन भन्ने चाहिँ व्यक्तिपिच्छे फरक पर्छ । त्यसकारण केही समस्या आयो भने चिकित्सकसँग परामर्श गर्नुहोला । समस्या नहुँदासम्म यो चक्की खाए खासै फरक पर्दैन । सबैभन्दा राम्रो तपाईंले कन्डम प्रयोग गरेर सेक्स गर्नुभयो भने धेरै झन्झटबाट बच्न सकिन्छ । कन्डम लगाएर यौन सम्पर्क गर्दा आनन्दमा कुनै अन्तर पर्दैन ।

महिनावारीको बेलामा सम्पर्क गर्नु हुन्छ कि हँुदैन ? गरेमा के हुन्छ ? रतिला

महिनावारीको बेलामा यौन सम्पर्क गर्न मिल्छ । तर, सुरक्षित सम्पर्कमा ध्यान पु¥याउनुपर्छ । कन्डम लगाएर यौन सम्पर्क गरेमा संक्रमणबाट बच्न सकिन्छ । यो व्यक्तिगत इच्छामा पनि भर पर्ने कुरा हो । कसैलाई महिनावारी भएको बेला सम्भोग गर्ने मन हुन्छ भने कसैलाई हुँदैन । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन । महिनावारी भएका बेला यौन सम्पर्क गर्न नहुने भन्ने छैन ।   
 
महिनावारीको बेला सम्पर्क गर्दा महिलालाई फाइदा हुन्छ । यस्तो बेलामा सम्भोग गर्दा निस्कने हार्मोनले महिनावारीको दुखाइ कम गर्छ । धेरै महिलाले अरू बेलाभन्दा महिनावारी भएको बेला सम्पर्क गर्दा बढी आनन्द लिने गर्छन् । यति हुँदाहुँदै पनि असुरक्षित सम्पर्क गरेमा यौन रोग लाग्ने मात्र होइन, गर्भवती हुनसक्ने खतरा समेत रहन्छ । त्यसकारणले महिनावारीको बेला ध्यान नदिँदा पछि दुःख पाइन्छ ।

महिनावारी सुरु हुँदा प्रोजेस्ट्रोन भन्ने हार्मोनेले गर्दा पाठेघरमा कन्ट्र्याक्सन सुरु गराउँछ, जसले गर्दा पाठेघरबाट रगतसहित अरू पदार्थ महिनावारीको रूपमा बाहिर निस्कछन् । महिनावारीको बेला सम्पर्क गर्दा चरमसुखको बेला पाठेघरमा कन्ट्र्याक्सन हुन्छ । सम्भोगपछि अरू पदार्थसहित रगत अलि बढी बग्न सक्छ । जसले महिनावारीको समयावधिलाई कम गर्छ ।

 

Leave A Comment