छाक टार्नै गाह्रो

आइतबार, १९ असार २०७३, ११ : ५४ दिलीप पौडेल , Kathmandu
छाक टार्नै गाह्रो

घरपरिवारको खर्च चलाउन सप्तरीबाट काठमाडौँ आएका राजेश ऋषिदेवलाई बिहानबेलुका छाक टार्न हम्मे छ । ज्यालादारी काम गर्ने ६० वर्षीय ऋषिदेव दिनानुदिन बढ्दो महँगीबाट दिक्क छन् ।
बन्दाको तरकारी पकाउँदै गर्दा अनामनगरको भित्री गल्लीमा भेटिएका उनले रात पनि छाप्रोमा नै कटाउँछन् । ‘दाल, तरकारी, अचार भनेकै यही बन्दाको तरकारी हो,’ उनले भने, ‘चामल, दालको भाउ पनि बढ्यो ।’ उनी बजारभाउ बढेको देखेर चकित छन् । ‘हाम्रो ज्याला बढेको छैन,’ उनले भने, ‘मालसामानको भाउ भने बढ्याबढ्यै छ ।’
दैनिक चार सय ज्याला बुझ्ने उनले छेउमै पाल देखाउँदै भने, ‘कोठा भाडामा लिन नसकेर यही छाप्रोमै रात कटाउँछौँ ।’ बजेट भाषणसँगै व्यापारीले खाद्यान्न, चिनी, खाने तेल, तरकारी, माछामासु लगायतको आफूखुशी मूल्य वृद्धि गरेका छन् । मूल्य वृद्धिसँगै निम्न आम्दानी भएका उपभोक्ताको भान्सा चलाउन हम्मे परेको छ । ऋषिदेवसँगै आएका सडक कालोपत्रेको काम गर्ने सप्तरीकै नन्दलाल कामेद मूल्य बढ्नुमा नेतालाई दोष देख्छन् । उनलाई बजेट भाषणबारे जानकारी छैन । तर, राजनीतिक नेतृत्वको हात रहेको हुन सक्ने अनुमान गरे । ‘हामी गरिबलाई कस्ले हेर्छ ?, प्रति प्रश्न गर्दै भने। ‘सामान किन्न नसकेर कतिदिन हामी भोकभोकै सुत्यौँ, नेताले आफ्नो भुँडी मात्र भर्छ । हामीबारे सोचेको खै,’ उनले भने ।
व्यापारीले भाउ बढाउँदा कसैले केही गर्दैन भन्दै उनले आक्रोश पोखे । सरकारले बजेट भाषण गरेको एक महिना पुग्यो । अहिले सर्वसाधारणको भान्सा धान्नै नसक्ने गरी महँगिएको छ सामानको भाउ । व्यापारीले मौकाको फाइदा उठाउँदै एक महिनाको अवधिमा हरेकजसो सामान किलोमा न्यूनतम ५ देखि ५० रुपैयाँसम्म मूल्य बढाएका छन् ।
बजारमा ६५ रुपैयाँ किलोमा किनबेच भइरहेको चिनीको भाउ बढेर अहिले ८०÷८५ रुपैयाँ पुगेको छ । एक महिनाको अवधिमा किलोमा २० रुपैयाँ भाउ बढाएका छन् । रहरको दाल २ सय ५० बाट २ सय ८० रुपैयाँ किलो पुगेको छ । चामल बोरोमा १ सय रुपैयाँ बढेको छ । १ सय ९० रुपैयाँको चनाको दाल २ सय १० रुपैयाँ, खाने तेल लिटरमा १० रुपैयाँ, सोना मन्सुली चामल किलोमा १० , चिउरा किलोमा १५ रुपैयाँ भाउ बढाएका छन् । खाद्यान्न मात्र नभएर कुखुराको मासुमा प्रतिकिलो २०, अन्डा प्रतिक्रेटमा ७० रुपैयाँ वृद्धि भएको छ । वर्षा सुरु भएकोले गोलभेँडा सस्तो हुनुपर्नेमा एक महिनामा किलोमै ३५ रुपैयाँ बढेर ५५ रुपैयाँबाट ८५ रुपैयाँ पुगेको छ ।
सरकारको बजार नियन्त्रण गर्ने संयन्त्र कमजोर हुँदा व्यापारीले मनपरी रूपमा उपभोक्तासँग मूल्य असुलेका छन् । भातरको नाकाबन्दीको बेला आकासिएको बजार क्रमशः पुरानै लयमा फर्किन लागेको अवस्थामा फेरि  मूल्य वृद्धि बढेको छ । बजारमा सरकारको उपस्थिति नहुँदा व्यापारीले लुटतन्त्र मच्चाएको उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ बताउँछन् । ‘मनोमानी मूल्य लिनेलाई सरकारले कारबाही गर्दैन,’ उनले भने, ‘बजेटमा कर्मचारीको तलब बढेको देखेपछि व्यापारीले मनखुशी मूल्य बढाए ।’ कर्मचारीको तलब २५ प्रतिशत बढाएपछि मौकाको फाइदा उठाएका हुन् ।
 मूल्य वृद्धिले निम्न आय भएका र दैनिक ज्यालादारीमा काम गर्नेको भान्सा चलाउनै हम्मे परेको छ । व्यापारीले भाउ बढाएपछि साना व्यवसायीले बाध्य भएर मूल्य बढाउने गरेको खुद्रा व्यापार संघका अध्यक्ष पवित्रकुमार वज्राचार्य बताउँछन् ।
बजारको नियमन गर्ने जिम्मा पाएको आपूर्ति मन्त्रालय तथा मातहतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले जनशक्ति अभाव देखाउँदै बजारमा आफ्नो बलियो उपस्थिति देखाउन सकेको छैन । बजार इमानदार नहुँदा मौकाको फाइदा लिने गरेको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले बताए ।
मूल्य बढेपछि कमाइको सबै खर्च दैनिक उपभोग्य वस्तुमा सकिने गरेको छ ।  केन्द्रीय तथ्यांक विभागको अध्ययनअनुसार कुल गार्हस्थ उत्पादनको ९४.७४ प्रतिशत हिस्सा उपभोगमा खर्च हुन्छ । एक सय रुपैयाँ कमाउने नेपालीले ९४ रुपैयाँ ७४ पैसा खर्च गर्छन् भने जम्मा ५ रुपैयाँ २९ पैसा मात्र बचत हुने गरेको विभागका महानिर्देशक सुमनराज अर्यालले बताए । ‘कमाउनेको त सामान्यतया ९० प्रतिशतभन्दा बढी उपभोग खर्च हुन्छ,’ उनले भने, ‘निम्न आम्दानी हुनेको अवस्था कस्तो होला ।’ मूल्य वृद्धिसँगै चालु आर्थिक वर्षमा उपभोगमा खर्च हुने हिस्सा ३.५३ प्रतिशतले बढ्ने प्रारम्भिक अनुमान विभागको छ । यो वर्ष मूल्य वृद्धिदर २ दशमलव ५ प्रतिशतले बढेर ९ दशमलव ७ प्रतिशत पुगेको छ । बजेटमा आगामी वर्ष मूल्य वृद्धिदर ७.५ प्रतिशत कायम राख्ने लक्ष्य राखे पनि त्यो पूरा नहुने देखिएको छ ।

 

 

Leave A Comment