जीतमा बियर छ्यापछ्याप

बिहिबार, ११ जेठ २०७४, ०१ : २९ शुक्रवार , Kathmandu
जीतमा बियर छ्यापछ्याप

लगातार पाँचौँ पल्ट बुन्डेस लिगाको उपाधि जितेको जर्मन क्लव बायर्न म्युनिखका खेलाडीले रंगशालामा नै बियर छ्यापेर खुशी मनाएका छन् । खुसी मनाउने क्रममा खेलाडीले एकअर्कालाई बियरले नुहाइदिएका थिए । यसअघि नै लिग उपाधि पक्का गरे पनि लिगको अन्तिम खेलमा फ्रेबर्गमाथि ४–१ को जीत निकालेपछि बायर्नका खेलाडीले उपाधि जित्नुको खुशी मनाएका हुन् । बियर छ्यापेर रमाइलो गर्नेमा प्रशिक्षक कार्लो एन्सेलोटी पनि पछि परेनन् ।
जर्मनीमा कुनै अवसरमा खुशी मनाउँदा मदिरा प्रयोग गर्ने चलन छ । यो जर्मनहरूको संस्कृति पनि हो । बायर्नका खेलाडीले पनि त्यही संस्कृति पछ्याएका हुन् । ‘बुन्डेस लिगामा यस्तै हुने गर्छ, जब कुनै टोली च्याम्पियन बन्छ, त्यस दिन खेलाडीले आपसमा बियर छ्याप्छन्,’ साथीको टाउकोमा बोतलबाट बियर खन्याइरहेका बायर्नका कप्तान फिलिप लाहामले भने, ‘आजको दिन हामी पनि खुशी मनाउँदैछौँ, बायर्न लगातार पाँचपटक बुन्डेस लिगा च्याम्पियन बनेको खुशी मनाउने योभन्दा राम्रो शैली अरू के हुन सक्छ र ?’

बुन्डेस लिगाकै सर्वाधिक सफल कप्तान फिलिप लाहामले बायर्नबाट सन्न्यास घोषणा गरेका कारण फ्रेबर्गविरुद्धको खेल उनको अन्तिम थियो । त्यसैले पनि उनी आफ्नो जीवनकै अन्तिम खेल स्मरणीय बनाउन चाहन्थे । उनका चाहना बुझेर उनका साथीहरूले पनि गतिलो साथ दिए ।

 

Leave A Comment