चियाबाट विदेशी मुद्रा आर्जन

शनिबार, १३ जेठ २०७४, ०२ : ५० दिलीप पौडेल , Kathmandu
चियाबाट विदेशी मुद्रा आर्जन

नेपालमा नुनदेखि सुनसम्म आयात हुन्छ । हरेक वस्तु विदेशबाट किनेर प्रयोग गर्दा मुलुकको व्यापार घाटा चुलिँदो छ । युवाहरूले वैदेशिक रोजगारीबाट कमाएको रेमिटेन्सले मुलुकको अर्थतन्त्रमा ठूलो हिस्सा ओगटेको छ ।
तर, एउटा कृषिजन्य उत्पादनमा भने मुलुक आत्मनिर्भर भएर विदेशी मुद्रासमेत आर्जन गर्न सुरु गरेको छ । यहाँका उपभोक्ताले प्रयोग गर्ने चियाको माग पूरा गरेर अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाले प्रभुत्व जमाउन थालेको छ ।
हरेक वस्तु विदेशबाट आयात भइरहेको अवस्थामा नेपाली चियाको बिक्रीबाट विदेशी मुद्रा आर्जन गर्ने माध्यम बनेको छ । यो वर्ष यहाँको माग पूरा गरेर करिब २ अर्ब ४० करोड रुपैयाँको चिया निर्यात हुने चिया तथा कफी विकास बोर्डले जनाएको छ । नेपाली चियाको अन्तर्राष्ट्रिय बजारमा माग उच्च रहेको बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले बताए । ‘कृषिजन्य उत्पादनमध्ये चियामा हामी आत्मनिर्भर भएका छौँ,’ गौतमले भने, ‘चिया बेचेर विदेशबाट रकम भिœयाउन सफल भएका छौँ ।’
अहिले यहाँ उत्पादन भएको सीटीसी चिया ६० प्रतिशत र अर्थोडक्स चिया ९० प्रतिशत अन्तर्राष्ट्रिय बजारमा बिक्री हुन्छ । अहिलेसम्म नेपाली चिया नपुगेका मुलुकबाट समेत यहाँको चिया माग हुन थालेपछि किसानले पनि उत्पादन बढाउँदै लगेका छन् । सीटीसी चिया भारत हुँदै अन्तर्राष्ट्रिय बजारमा गए पनि अर्थोडेक्स चिया नेपाली उद्योगी सीधै विदेश बिक्री गर्छन् ।
सीटीसी चिया करिब दुई लाख किलो उत्पादन हुन्छ । सो मध्येको ४० प्रतिशत स्वदेशी बजारमा र ६० प्रतिशत विदेशी बजारमा बिक्री हुने गरेको छ । अर्थोडक्स चिया ९० प्रतिशत विदेश निर्यात हुने बोर्डका शाखा अधिकृत गौरव लुइँटेलले बताए । ‘अर्थोडक्स चिया १० प्रतिशत मात्र स्वदेशी बजारमा खपत हुन्छ,’ लुइँटेलले भने, ‘उत्पादन बढाउन सके चियाको बजार अन्तर्राष्ट्रिय बजारमा अझै राम्रो हुन्छ ।’
नेपालीहरूले दूध हालेर चिया खाने प्रचलन रहेको सीटीसी चिया उपभोग गर्छन् । सीटीसी चियाको मुख्य बजार भारत रहे पनि अर्थोडक्स भारतसहित अमेरिका, फ्रान्स, जर्मनलगायत देशमा निर्यात हुन्छ ।
यो वर्ष २२ हजार मेट्रिक टन चिया उत्पादन हुने बोर्डले जनाएको छ । किसानले अर्थोडक्स अर्गानिक चिया हरियोपत्ती किलोको ९० रुपैयाँदेखि १ सय ६ रुपैयाँ किलो र सीटीसी फस्ट प्लस चिया किलोको ३० देखि २५ रुपैयाँ किलोमा किसानले बिक्री गर्छन् । तयारी सीटीसी चिया प्रतिकिलो २ सय ७० रुपैयाँ र अर्थोडक्स चिया न्यूनतम दुई सयदेखि पाँच हजार रुपैयाँ किलोसम्म बिक्री गर्छन् । गुणस्तरीय अर्थोडक्स चिया उत्पादन गर्न सके अन्तर्राष्ट्रिय बजारमा निकै महँगोमा बिक्री गर्न सकिने चिया व्यापारी बताउँछन् ।
नेपालको संखुवासभा, ताप्लेजुङ, तेह्रथुम, पाँचचर, धनकुटा, इलाम, झापालगायत जिल्लाका किसानले चियाको व्यावसायिक खेती गर्छन् । झापामा ११ हजार ४ सय २३ हेक्टरमा, इलाममा ७ हजार ८ सय ५, पाँचथरमा १ हजार १ सय ३८, धनकुटामा ९ सय ४०, तेह्रथुममा ३ सय ३७ र अन्य जिल्लामा ४ हजार ५ सय २२ हेक्टरमा चियाखेती गरिएको छ । कुल २६ हजार १ सय ६५ हेक्टरमा चिया लगाइएको छ । चियाखेती विस्तार गरे विदेशी मुद्रा आर्जन गर्ने बलियो माध्यम हुने कृषि मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीले बताए । ‘सरकारले चिया खेतीलाई प्राथमिकतामा राखेको छ,’ कार्कीले भने, ‘अझै उत्पादन बढाउन सके विदेशी मुद्रा आर्जनको गतिलो माध्यम बन्न सक्छ ।’
चिया रोपेको तीन वर्षमा नै उत्पादन दिन्छ । करिब हजार मिटर तलको उचाइमा यसको खेती हुँदै आएको छ । चियाको सार्वजनिक खरिद–बिक्री हुने स्थान ‘अक्सन’ स्थापना  गरे बजार विस्तारमा अझै सहयोग हुने किसान बताउँछन् । नेपाली चियाको ठूलो परिणाम भारत हुँदै विदेशी बजारमा जाने गरेको भए पनि ‘अक्सन’ अभावमा यहाँबाट सीधै ‘अन्तर्राष्ट्रिय बजार’मा निर्यात गर्न कठिनाई भएको छ । अक्सन नहुँदा भारतका उद्योगीले नेपाली चियालाई आफ्नो ब्रान्डमा बिक्री गर्ने गरेका छन् । यो वर्ष उपयुक्त हावापानी, रोगकिराको प्रकोप न्यून हुँदा उत्पादन बढेको छ ।

 

Leave A Comment