फोल्ड फेसन

आइतबार, १४ जेठ २०७४, ०५ : १६ शुक्रवार , Kathmandu
फोल्ड फेसन

–रचना श्रेष्ठ
अघिल्लो वर्षदेखि चलेको ‘फोल्ड प्यान्ट’ को फेसन यो वर्ष पनि गर्मीको सुरुवातसँगै चल्न थालेका छ । गर्मी मौसममा ‘कुल’ र ‘स्टाइलिस’ देखिने चाहना धेरैको हुन्छ । त्यसैले आजभोलि धेरै युवतीको रोजाइमा पर्न थालेका छन्, फोल्ड प्यान्ट । ग्रन्च रिप्ड जिन्स प्यान्टमा तलको भागमा क्रप प्यान्ट पनि फाटफुट चल्न थालेका छन् । हाफ प्यान्टभन्दा पनि अहिले फोल्ड प्यान्ट बढी चलेका छन् ।
काठमाडौँ, जमलस्थित बिग मार्टमा भेटिएका मनाहाङ खाजुम र संघर्ष अर्यालले पनि यही फेसनलाई पछ्याएका छन् । उनीहरुले पनि ग्रन्च खाले चुज जिन्स प्यान्टमा तल कुकुर्चादेखि अलि माथिसम्म फोल्ड गरेका थिए । ‘सबैले फोल्ड गरेर लगाएको देखेँ, स्टालिस पनि देखिन्छ,’ अर्याल भन्छन्, ‘फेसनमा अपडेट हुनुपर्छ जस्तो लाग्छ ।’
केटाकेटी दुवैको रोजाइमा फोल्ड प्यान्ट पर्न थालेका छन् । स्पोट्र्स सुज, फ्ल्याट जुत्ता, हाई हिल्स जेमा पनि सुहाउँछ फोल्ड प्यान्ट । आजभोलि सामान्यदेखि ग्रन्च रिप्ड जिन्समा फोल्ड गर्नेहरू बढेका छन् ।
डिल्लीबजारकी रक्षा ज्ञवाली सामान्य प्यान्टलाई इच्छाअनुसार फोल्ड गरेर स्पोट्र्स सुजमा ठाँटिन्छिन् । ‘यसो गर्दा तल्लो भाग हल्का खुल्ला रहन्छ । शीतल पनि हुन्छ । अनि फेसनेबल पनि देखिन्छ,’ उनी भन्छिन् ।
चाबहिलकी २० वर्षीया सरु मगर पनि प्यान्ट फोल्ड गरेर लगाउन रुचाउँछिन् । पानीबाट छिट्का नलागोस् भनेर यसो गरेको उनी बताउँछिन् । भन्छिन्, ‘पानी पर्दा फोल्ड गर्न झ्याउ हुन्छ, त्यसैले घरबाटै फोल्ड गरेर हिँड्छु ।’
आजभोलि बजारमा फोल्ड गरेकै रेडिमेड प्यान्ट पाउने काठमाडौँ, सिभिल मलकी विल्स सपकी सुमी राई बताउँछिन् । ‘अहिले फोल्ड प्यान्ट एकदमै चलेको छ । ग्रन्च रिप्ड जिन्समा तल्लो भागमा क्रप गरेको स्टाइल पनि बजारमा भित्रिएका छन्,’ उनी भन्छिन्, ‘फोल्ड प्यान्टसँग विशेष गरी अफ सोल्जर टिसर्ट युवतीले रुचाउने गरेका छन् ।’
क्याजुअल लुकका लागि फोल्ड प्यान्ट राम्रो देखिने जमल, फिटर रेडिमेड वेयरका विष्णु सुवेदी बताउँछन् । बाटोमा धेरै प्यान्ट फोल्ड गरेर हिँडेको देखेर आफूले पनि फोल्ड प्यान्ट किनेको बुढानिलकण्ठकी २४ वर्षीया प्रमिला श्रेष्ठ बताउँछिन् । ‘अरूले लगाएको देखेर मलाई पनि लगाउन मन लाग्यो,’ उनी भन्छिन् ।   
फेसन डिजाइनर सन्तोषी श्रेष्ठका अनुसार आजभोलि फोल्ड प्यान्ट एकदमै चलेको छ । ‘फोल्ड प्यान्ट अहिले लोकप्रिय भएको छ । सामान्य जिन्स प्यान्टमा रेडिमेड नै फोल्ड गरेको किन्न पाइन्छ,’ उनी भन्छिन्, ‘आफैँले पनि जति फोल्ड गर्न मन लाग्छ सिलाएर लगाउँदा हुन्छ ।’

Leave A Comment