नेपाली यौन बजारमा अफ्रिकी ‘कल गर्ल’

आइतबार, २१ जेठ २०७४, १२ : ४५ अनिल यादव , Kathmandu
नेपाली यौन बजारमा अफ्रिकी ‘कल गर्ल’

अब काठमाडौंको यौनबजार नेपाली युवतीको मात्रै वर्चश्वमा रहेन । भारतीयसँगै, चिनियाँ, रसियन र केन्याली यौनकर्मी समेत प्रशस्तै भेटिन्छन् अहिले नेपाली यौनबजारमा । दुई साता लामो अनुसन्धानमा काठमाडौंको क्यासिनो, पब, बार, डिस्को जताततै विदेशी यौनकर्मीको उपस्थिती रहेको पाइयो । यीमध्ये कोही होटललाई अखडा बनाएर बसेका छन् त कोही फ्ल्याट नै भाडामा लिएर । काठमाडौंमा कस्तो छ त विदेशी यौनकर्मीको जालो ? अनिल यादवले तयार पारेको खोजमूलक रिपोर्ट :

‘हेलो ?’
‘यस प्लिज’
‘मलाई .....ले तपाईंसँग सम्पर्क गर्न भन्नुभएको थियो । भेट्न सकिन्छ ?’
‘सकिन्छ, तर भेटेको पनि पैसा लाग्छ, तिर्न सक्नुहुन्छ ?’
‘सकिहाल्छु नि, एनी डाउट ?’
‘हो, ल लोकेसन एसएमएस गर्नुस्, म आउँछु ।’
संवाद टुंगिएसँगै एसएमएस पठाए– ‘मनमोहन अस्पताल नजिकैको रेष्टुरेण्ट ।’
०००
‘दाई राम्रो ‘आइटम’ छ जाने हो ’
ठमेल क्षेत्रमा पैसा तिरेर यौनको प्यास बुझाउने ग्राहकमाझ आउने यस्ता प्रस्ताव सामान्य नै हो । काठमाडौंका यौन बजारमा सुनिने ‘आइटम’ शब्द प्रायः स्थानीय यौनकर्मी चिनाउने चल्तीको ‘कोडवर्ड’ हो ।
यौनबजारबारे दुई साता लामो रिर्पोटिङमा खुल्यो, काठमाडौंको यौन बजारको दृष्य बदलिइसकेछ । यहाँ नेपाली मात्रै हैन विदेशी यौनकर्मीको संख्या पनि उल्लेख्य छ ।
रिर्पोटिङका क्रममा ठमेलमा भेटिएका एक व्यवसायीमार्फत यस्तै एक युवतीको सम्पर्क सुत्र फेला प¥यो । केन्याबाट पर्यटकका रूपमा नेपाल आएकी सरिफा । जो यहाँ ‘कल गर्ल’को रुपमा सक्रिय थिइन् ।
सम्पर्क नम्बर फेला परेसँगै डायल गरे ।
कालो वर्ण र लट्टा परेको कपाल । हरियो वानपिस, घाँटीमा गोलो लकेट र कानमा लामो झुम्का ।
शुक्रबार साँझ ८ वजे एक अफ्रिकी मुलकी युवती हिमालयन ट्राभलर्स इन मुनी रहेको रेष्टुरेण्टमा आइपुगिन् । अनुमान गरे पक्कै उनी सरिफा हुन् ।
हात उठाएर आफु बसेको टेबलतिर इसारा गरें । उनी मुसुक्क मुस्कुराउँदै आइन् ।
‘हाइ, आई एम सरिफा’
‘नाइस टु मिट यु सरिफा, आई एम अनिल’
वेटर टेबल नजिकै आइपुगे । उनले ‘चिकेन विङ्स’ अर्डर गरिन् । संवाद जारी रह्यो ।
‘डु यु लाइक ब्ल्याक गर्ल ?,’
उनले सिधै प्रस्ताव गरिन् ।
‘अफ कोर्स !’
‘छिटो गरौं है, कोठामा साथी एक्लै छ, बोर मान्छ,’ उनले अलि हतारिएझै गरिन् । हातमा १० हजार रुपैयाँ थमाएपछि भने उनी थप गफिन तयार भइन् ।
०००
शनिवार साँझ १० वजे
‘ओएमजी’ अर्थात् ‘ओ माइ गड’ । रेष्टुरेण्टभित्र विदेशी युवा–युवती नाचगानमा मस्त थिए । नाच्नेको भीडमा थिइन् सरिफा र अर्की एक विदेशी युवती । उनीहरू पाटर्नर परिवर्तन गर्दै नाच्थे ।
‘मेरो शरीरलाई यस्तो आकर्षक बनाइराख्न धेरै खर्च हुन्छ । यस्तो लुक्सका लागि मलाई बडी सावर, परफ्युम, हेयर, नेल्स र मेकअप गर्नुपर्छ ।’
ठेगाना तिब्बत,  ल्हासा बताउने सुसेनले रेट बताइन् ५ सय डलर । सरिफाकै माध्यमबाट सुसेनसम्म पुगियो । यी दुबैको परिचय काठमाडौंमै भएको रहेछ ।  
उनी खुल्दै गइन्, ‘म एक रातको पाँचसय डलर लिन्छु । हतार गर्दिन, रातभर रमाइलो गरौंला । आखिर तिमीलाई पनि म मनप¥यो, मलाई पनि तिमी ।’
प्रस्ताव स्वीकार्दै आइतबार भेटौं भन्दै उनको मोबाइल नम्बर मागे । उनले नेपालको नम्बर नबोक्ने बताउँदै ह्वाट्सएपको नम्बर दिइन् । उनले ल्हासाको बताए पनि उनले ह्वाट्सएप चलाउन प्रयोग गरेको नम्बरको कोड ‘प्लस ४९’ थियो जुन जर्मनको हो ।  
०००

नेपाली यौन बजारमा फाट्टफुट्ट विदेशी यौनकर्मी नभेटिने हैनन् । २०६६ मा महानगरीय प्रहरी परिसर काठमाडौंले ठमेलको हिमालयन जाभा रेष्टुरेण्ट  पछाडीको तीनतले घरमा छापा मार्दा पूरै घरै भाडामा लिएर यौन व्यवसाय चलाएका  १४ चिनियाँ युवती पक्राउ परेका थिए । त्यसयता भने विदेशी यौनकर्मी पक्राउ परेका छैनन् ।
पक्राउ नपरे पनि उनीहरुको उपस्थिती भने बाक्लो देखियो काठमाडौंमा । यहाँ चिनियाँ मात्रै हैन, भारतीयसँगै केन्याली, रसियन, कोरियन र थाइ युवतीहरू कर्लगर्लको रूपमा सक्रिय देखिए ।
नेपालमा सक्रिय विदेशी यौनकर्मी अधिकांश होटलमा बस्ने गरेका छन् । रसियन लगायतका भने फ्ल्याट लिएरै बसेका छन् । यीनले ग्राहकको खोजीका लागि क्यासिनो, पब, क्लवको उपयोग गर्छन् । लामो समय यतै बसेकाहरुले एजेन्ट समेत परिचालन गरेको देखियो ।
अधिकांश विदेशी यौनकर्मीको मिट प्वाइन्ट ठमेल, दरवारमार्ग र ललितपुरको झमेल नै हो । ग्राहकको डिमान्ड अनुसार उनीहरू उपत्यका बाहिर समेत जाने गरेको पाइएको छ ।
ठमेल आसपासको क्षेत्र हेर्ने महानगरीय प्रहरी बृत्त लैनचौरका प्रमुख डिएसपी सोमोन्द्रसिंह राठौर नेपालमा विदेशी यौनकर्मी सक्रिय रहेको सूचना आउने गरेको बताए । तर प्रमाण र उजुरी नहुँदा कारवाही गर्न नसकिएको उनको स्विकारोक्ति छ ।
‘रसियन, भारतीय, चिनियाँ युवतीहरु नेपाल आएर यौन धन्दामा सक्रिय छन् भन्ने मैले सुनेको छु,’ उनले शुक्रवारसँग भने, ‘ बाटोमा हिडिरहेका या डिस्कोमा नाचिरहेका विदेशी युवायुवतीलाई शंका लागेकै भरमा थुन्नु  त भएन । प्रमाण भेट्न मुस्किल भएकाले केही गर्न सकिएको छैन ।’  
०००

यौनकर्मीको रुपमा सक्रिय विदेशी युवतीहरू अधिकांश पर्यटन भिसामा नेपाल आउने र विभिन्न बहानामा भिसा बढाएर बस्ने गरेको खुल्यो । रिर्पोटिङको क्रममा भेटिएका केन्याकी सरिफा र चीनको दाबी गर्ने सुसेन दुबै पर्यटकको आवरणमा नेपाल आएका हुन् ।
सरिफाका अनुसार उनी नेपाल आएको २ साता भयो । उनी काठमाडौं आएदेखि नै ठमेलको एक गेष्ट हाउसमा बस्दै आएकी छिन् । सुसेनको भिसा सकिँदै छ । उनी दुबई गएर २ साता पछि पुनः पर्यटक भिसामा नेपाल आउने योजनामा छिन् ।
सरिफाको दाबी अनुसार उनी घर फर्कने पैसा जोहो गर्न यौनधन्दामा लागेकी हुन् । काठमाडौं घुम्नकै लागि आएको र यहाँ बस्दा विदेशी युवती भनेपछि यहाँका युवाहरू हुरुक्क हुने बानी देखेर आफु स्वेच्छाले ‘कर्ल गर्ल’ बनेको उनले बताइन् ।
‘यहाँ म जस्ता थुप्रै छन्,’ उनले भनिन् , ‘नेपालीहरु विदेशी नागरिक सबैलाई पर्यटक ठान्छन् । तर यहाँ आउने सबै पर्यटक होइनन्, उनीहरूका  आ–आफ्नै बिजनेस छन् ।’
सरिफाका अनुसार विदेशी युवतीका अधिकांश ग्राहक नेपाल घुम्न आउने विदेशी पर्यटक नै हुन् । विदेशी युवासँग सम्पर्क गर्न र बस्न समेत सहज हुने उनले अनुभव सुनाइन् ।
‘विदेशी पुरुषसँग बस्दा उनीहरु सँगै आएका साथी या जोडी जस्तो लाग्छन् । शंका पनि हुन्न,’ उनले भनिन् ‘भेट यतै क्लबमा भएको हुन्छ ।’
सरिफासँगको कुराकानीबाट थाहा भयो–धेरैजसो ग्राहकको सम्पर्क दलालमार्फत हुने रहेछ । पछिल्लो समय नेपालका धनाढ्यहरू आफ्नो ग्राहक बनेको उनले सुनाइन् ।
‘मेरो विश्वासिलो मान्छेको नाम लिएर कल गर्यो भने मात्र म पत्याउँछु,’ उनले भनिन्, ‘म बसेको होटलमा गेष्ट लान मिल्दैन । ग्राहकले नै भरपर्दो ठाउँ व्यवस्था गरेर बोलाउँछन्, म त्यँही जान्छु ।’
सुसेन तीन महिनाको ‘भिजिट भिसा’मा नेपाल आएकी हुन् । उनले आफु सकेसम्म नेपालीसँग कुराकानी समेत नगर्ने र विदेशी नागरिक भएमात्रै तयार हुने बताइन् ।
‘सरिफाले भनेकाले मात्रै तिमीलाई विश्वास गरेको हुँ । नत्र म नेपालीसँग त्यति सम्पर्क गर्दिन,’ उनले भनिन् ‘सिभिल ड्रेसमा प्रहरी हिड्ने भएकाले नेपालीहरुसँग कुरा गर्न डर लाग्छ ।’
विदेशी यौनकर्मीको जालो थाहा पाउन सरिफासँगको तीन दिनको भेटमा सरिफासँगै आएकी अर्की केन्याली कलगर्ल रिहानासँग समेत भेट भयो ।
ठमेलको क्लबमा ग्राहक खोज्न आइरहने एकजना चिनियाँ युवतीलाई सरिफाले साथी बनाएकी रहिछन् । सरिफाको माध्यमबाट ती युवतीसँग पनि भेट भयो ।
‘उनी हल्काफुल्का मात्र अंग्रेजी बोल्छिन्,’ डङ्मी नाम बताउने चिनियाँ युवतीबारे सरिफाले ब्रिफिङ गरिन्, ‘उनीसँग मोबाइलमा ट्रान्सलेटरको माध्यमबाट कुरा गर्न सकिन्छ । एकपल्टको १० हजार रुपैयाँ नेपाली लिन्छिन् । नेपालीले पैसा दिँदैनन् भनेर सम्पर्क राख्न डराउँछिन् । यदि तिमीलाई मनपर्यो भने लैजाउँ, म कुरा मिलाइदिन्छु ।’
डङ्मी मुन्टो हल्लाएर सरिफाको कुरामा सहमती जनाइरहेकी थिइन् । केही समयपछि उनी एक चिनियाँ नागरिकसँग क्लवबाट बाहिरिइन् । डङ्मीसँगै आएका अन्य तीन युवती क्लबमै रमाइरहेका थिए ।

को पर्यटक, को यौनकर्मी ?
ठमेलमा यौनकर्मी खोजिरहेका अधिकांश ग्राहकहरू भन्छन्– ‘विदेशी यौनकर्मी भेट्न एकदमै गाह्रो छ ।’ शुक्रवार ठमेलको पर्पल हेजमा भेटिएका आफूलाई सुसान्त बताउने युवक भन्दै थिए, ‘विदेशी आइटमसँग रमाइलो गर्ने चाहना छ । यहाँ पाइन्छन् भन्ने पनि सुनेको छु । तर यहाँ को पर्यटक, को यौनकर्मी ? कसरी चिन्ने ।’

त्यसो त सरिफा, सुसेन, डङ्मी सबै पर्यटक भिसामा यहाँ आएका हुन् । सरिफा भन्छिन्, ‘म पर्यटक हुँ, मेरो भिसा यसको प्रमाण हो ।’ तर पर्यटन त बहाना न थियो, खासमा त उनी यहाँ यौनकर्मी हुन् जुन उनको कामले प्रष्ट पारिसकेको थियो ।

नेपालीसँग डराउँछन्, विदेशीसँग रमाउँछन्
रिर्पोटिङको क्रमम विदेशी युवतीका केही नेपाली ग्राहक समेत भेटिए । काठमाडौंमा कपडाको व्यवसायमा संलग्न सञ्जिव चाँपागाई (नाम परिवर्तन) दलालकै मार्फतबाट रसियन युवतीको सम्पर्कमा पुगेका थिए ।
परिचय नखोल्नेसर्तमा उनले भने, ‘रसियनहरु धेरैजसो क्यासिनोमा भेटिन्छन्, मेरो साथी काठमाडौंको क्यासिनोमा काम गर्छ । उसैले रसियन युवतीसँग सम्पर्क गराइदिएको हो ।’
उनका अनुसार रसियन युवतीले उनलाई ललितपुरमा रहेको एक घरमा लगेका थिए । रेट १५ हजार रुपैयाँ थियो ।
सञ्जिवले दिएको जानकारी डिएसपी राठौरको सूचनासँग मेल खायो । राठौरका अनुसार ‘धेरैजसो रसियन युवतीहरूको टार्गेट क्यासिनो हुन्छ । उनीहरु त्यताबाट ग्राहक लिएर आफ्नै फ्ल्याट र अपार्टमेन्टमा जान्छन् ।
मोडलिङ गराइदिने बहानामा भारतीय युवतीहरुलाई नेपाल ल्याएर यौनधन्दामा लगाउने गरेको समेत सुनेको उनले बताए ।
अधिकांश विदेशी यौनकर्मी नेपाली रुचाउँदैनन् । रिर्पोटिङको क्रममा भेटिएका विदेशी यौनकर्मीहरूले आफ्नो परिचय खुल्ने र प्रहरीले पक्राउ गर्ने डर र पहिला मागे अनुसारको पैसा दिन राजी भए पनि पछि पैसा नदिइ हिड्ने भएकाले विश्वसनिय च्यानलमार्फत आएका बाहेकको नेपालीसँग नजाने बताए ।
नेपालीहरुसँग डराएपनि विदेशीहरुसँग भने उनीहरु खुलेर कुरा गर्छन र राजी पनि हुन्छन् । ‘उनीहरू त यहाँ घुम्न र रमाइलो गर्न नै आएका हुन् नि, त्यसैले उनीहरु हामीलाई खोजिरहेकै हुन्छन्,’ सरिफाले भनिन् ।
नेपाली ग्राहकहरुले मागेजति पैसा नदिने भएकाले पनि विदेशी यौनकर्मी उनीहरुप्रति आकर्षित नहुने ठमेलका एक डिस्कोमा कार्यरत कर्मचारीले बताए ।
छुट्टिदाछुट्टिदै सुसेनलाई सोधियो, ‘ह्यान्डसम केटाहरूलाई त अलि छुट होला नि ?’ उनले कुटनितिक जवाफ दिइन्, ‘ह्यान्डसम भनेको पैसा हो । तपाईंसँग पैसा छ भने तपाई ह्यान्डसम हो । नत्र केही होइन । वन्ली मनी म्याटर्स ।’


‘प्रमाणसहित उजुरी आए कारबाही गर्छौ’

डिएसपी सोमेन्द्रसिंह राठोर,
प्रमुख, महानगरीय प्रहरी वृत्त लैनचौर

नेपालमा विदेशीहरू यौन धन्दाका लागि आउँदा रहेछन्, तपाईंलाई यसबारे जानकारी छ ?
रसियन, भारतीय, चाइनिज युवतीहरू यौन धन्दामा सक्रिय छन् भन्ने सुनेको छु । तर ठोस प्रमाण भेट्न मुस्किल पर्ने भएकाले केही गर्न सकिएको छैन ।

उनीहरूको धन्दा कसरी चल्दो रहेछ ?
उनीहरू आफ्नो विश्वसनीय दलालमार्फत आएका ग्राहकसँग मात्र सम्पर्क राख्छन् भन्ने सुन्नमा आएको छ । धेरैजसो रसियन युवतीको टार्गेट क्यासिनो हुन्छ रे । उनीहरू त्यताबाट ग्राहक लिएर आफ्नै फ्ल्याट र अपार्टमेन्ट लान्छन् । मोडलिङ गराइदिने बहानामा भारतीय युवतीहरूलाई ल्याएर यौनकर्ममा लगाइन्छ भन्ने पनि सुनेको छु । कतिपय डिस्को र बारमा पुगेर ग्राहक खोज्छन् रे ।

यति जानकारी भएर पनि तपाईंहरू केही गर्नुहुन्न ?
हामीले प्रमाणसहित फेला पार्याे भने पनि यस्तो खालको केसलाई सामाजिक अपराध अन्तर्गत कारवाही गछौं । पहिलो प्रमाण के छ  भन्ने हो अर्को कुरा कोही न कोही पिडित त हुनुपर्यो नि ।

नेपाली यौनकर्मी समातिंदा चाँही पिडित को हुन्छ र ?
यस्तो अवस्थामा धेरैजसो समाज पिडित हुने हो । कसैले यहाँ यसरी अनैतिक काम हुँदा हामीलाई डिस्टर्ब भयो भनेर उजुरी गर्छन् अनि कारवाही हुन्छ । कसैले अखडा नै खोलेर यौन धन्दा चलाइरहेको थाहा पायौं भने पक्राउ गर्छौ । तर दुईजना केटाकेटी डिस्कोमा भेटेर या क्यासिनोमा भेटर आपसी सम्झौतामा रिलेसन राख्छन् भने त्यो अवस्थामा हामीले के आधारले कारबाही गर्ने ?
हामीले रंगे हात फेला पारेको अवस्थामा पनि सम्झाई बुझाई पठाउनु बाहेकको विकल्प हुँदैन । यस विषयमा हाम्रो कानुन नै फितलो छ ।

अहिलेसम्म विदेशी यौनकर्मीलाई पक्राउ गर्नुभएको छ कि छैन ?
छैन । म यहाँ आएपछि त्यस्तो कुनै उजुरी आएको छैन । अखडा नै खोलेर चलाएको पनि थाहा छैन । थाहा पायौं भने कारबाही गर्छौं ।

Leave A Comment