नयाँ शैलीमा महिला फुटबल

आइतबार, २१ जेठ २०७४, ०१ : ३७ शुक्रवार , Kathmandu
नयाँ शैलीमा महिला फुटबल

अखिल नेपाल फुटबल संघ(एन्फा)ले नयाँ शैलीमा एन्फा महिला लिग च्याम्पियनसिप गर्ने भएको छ । विभागीय र क्षेत्रीय टोलीको स्तरलाई बढाउन केन्द्रित गरिएको भन्दै एन्फाले लिग च्याम्पियनसिपमा विभागीय टोलीलाई सहभागी नगराउने भएको छ ।
मंगलबारदेखि सुरु हुने एन्फा महिला लिग स्याङ्जा र पाल्पामा हुनेछ ।  लिगमा जिल्लाको २८ टिमले प्रतिस्पर्धा गर्नेछन् । स्याङ्जा र पाल्पामा समान १४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीलाई समान चार समूहमा विभाजन गरिएको छ । महिला लिगबाट एन्फाले उत्कृष्ट ३० खेलाडीलाई छनोट गर्नेछ । छनोट भएका ३० खेलाडीबाट समान १० खेलाडीलाई विभागीय टोली एपिएफ, त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबमा दुई महिनाका लागि बिशेष प्रशिक्षणमा पठाइनेछ । राष्ट्रिय टोलीका प्रशिक्षक कुमार थापा र मृगेन्द्र मिश्रले ३० खेलाडी छनोट गर्ने जिम्मेवारी पाएका छन् । प्रशिक्षणका क्रममा एन्फाले छनोट भएका प्रत्येक खेलाडीलाई ५ हजार रुपैयाँ र आवासको सुविधा उपलब्ध गराउने भएको छ ।
विशेष प्रशिक्षण पश्चात एन्फाले दशैँ अघि राष्ट्रपति कप प्रतियोगिता गर्नेछ । राष्ट्रपतिकपमा भने विभागीय टोलीले मात्र खेल्नेछन । तर विभागीय टोलीले दुइ टोलीले प्रतियोगितामा भाग लिनु पर्नेछ ।  
विभागीय टोलीले एन्फा लिगबाट आएका १० खेलाडी र आफनो विभागीय खेलाडी समावेश गर्दै दुई टोली बनाइ राष्ट्रपति प्रतियोगितामा खेल्नेछन् । प्रतियोगिता सकिएपछि एन्फा लिगबाट विभागीय टोलीमा गएको सबै खेलाडी आफनो क्षेत्रमा फर्कने छन् । महिला राष्ट्रिय च्याम्पियनसिपमा पाँच विकास क्षेत्र र तिन विभागीय टोलीले प्रतिस्पर्धा गर्ने एन्फाको भनाइ छ । नयाँ शैलीको प्रतियोगिताले आगामी वर्ष हुने साफ च्याम्पियनसिप फुटबलको तयारीलाई फाइदा पुग्ने एन्फाले बताएको छ । नेपाल साफ च्याम्पियनसिप फुटबलमा तिन पटक फाइनलमा भारतसँग पराजित भएको छ । गत वर्ष भएको पछिल्लो संस्करणमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो ।

 

 

Leave A Comment