भलिबलले ल्यायो खुसी

बुधबार, २४ जेठ २०७४, ०४ : १२ कमल खत्री , Kathmandu
भलिबलले ल्यायो खुसी

नेपाल सरकारले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएसँगै भलिबलकर्मी उत्साहित भएका छन् । राष्ट्रिय खेलको मान्यता पाउनु भलिबलप्रेमीका लागि सुखद कुरा हो । यो खबरले भलिबल क्षेत्रमा थुप्रै सम्भावना र योजनाको सुरुआत हुने  आसा भलिबलकर्मीले लिएका छन् ।
नेपालको भौगोलिक बनाबट र लोकप्रियताका आधारमा सरकारले भलिबललाई राष्ट्रिय खेलको रूपमा मान्यता दिएको हो । यसअघि कबड्डी र इन्डीबियो राष्ट्रिय खेलको रूपमा मान्ने गरिएको थियो । तर सरकारले आधिकारिक रूपमा राष्ट्रिय खेलको मान्यता भने दिएको थिएन ।
समय सापेक्ष राष्ट्रिय खेलछनोट गर्नका लागि सरकारले तीन वर्षअघि अनुसन्धान सुरु गरेको थियो । गत सोमबार मन्त्रीपरिषद्को बैठकले युवा तथा खेलकुद मन्त्रालयले उपलब्ध गराएको सुझावका आधारमा भलिबललाई राष्ट्रिय खेलको रूपमा मान्यता दिएको हो ।
युवा तथा खेलकूद मन्त्रालयले तीन वर्षअघि सयम सापेक्ष रूपमा राष्ट्रिय खेल छनोट गर्न छलफल अगाडि बढाएको थियो । मन्त्रालयले सार्वजनिक रूपमा राष्ट्रिय खेल कसलाई बनाउने भन्ने बारेमा सुझाव समेत मागेको थियो । उसले दिएको सुझावलाई आधार मानेर सरकारले भलिबललाई राष्ट्रिय खेलको रूपमा घोषणा गरेको हो ।
राष्ट्रिय खेलको मान्यता पाउनु भलिबलको लागि अवसर र चुनौती दुबै भएको नेपाल भलिबल संघका उपाध्यक्ष निरोज मास्केले बताइन् । उनले भनिन्, ‘भलिबल राष्ट्रिय खेल बन्नको लागि हकदार खेल हो । त्यसैले सरकारको निर्णय स्वागत योग्य छ । राष्ट्रिय खेलको मान्यता पाएसँगै हामी भलिबलकर्मीका लागि यो अवसर र चुनौति दुबै हो । भलिबललाई अब विगतको भन्दा थप लोकप्रिय र देशब्यापी बनाउनु पर्छ । त्यसका लागि सरकार र संघले विशेष योजना र दिर्घकालिन नीति बनाएर अगाडि बढ्नु पर्छ ।’
भलिबलपछि फुटबल र क्रिकेट नेपालको राष्ट्रिय खेल बन्ने प्रतिस्पर्धामा थिए । तर ७५ जिल्लामा संगठन र भौगोलिक रूपमा देशका हरेक क्षेत्रमा खेल्न सहज मानिएका कारण भलिबल राष्ट्रिय खेल बन्न सफल भएको छ ।
नेपाल भलिबल संघले पछिल्लो पाँच वर्षदेखि भलिबललाई राष्ट्रिय खेल बनाउनु पर्ने माग गर्दै आएको थियो । संघले तीन वर्षअघि भलिबललाई राष्ट्रिय खेल बनाउनु पर्ने भन्दै हस्ताक्षर संकलन गरेर युवा तथा खेलकुद मन्त्रालयलाई उपलब्ध गराएको थियो ।
भलिबलले राष्ट्रिय मान्यता पाएसँगै नेपाल भलिबल संघले मंगलबार मन्त्रीपरिषद्को निर्णयलाई स्वागत गरेको छ । संघका महासचिव जितेन्द्र बहादुर चन्दले सरकारको निर्णयले आम नेपाली चाहना र भावनालाई प्रतिनिधित्व गरेको बताए । ‘भलिबलले राष्ट्रिय खेल बन्नका लागि आवश्यक पर्ने आधारभुत सर्त पुरा गरेको छ । सम्म परेको सानो भौगोलिक स्थान र थोरै खर्चमा खेल्न सकिने भएकाले भलिबल नेपालको राष्ट्रिय खेल हुनको लागि हकदार थियो, चन्दले भने, ‘आधुनिक परिवेशमा खेलको महत्वपूर्ण स्थान छ । हरेक खेलका आ–आप्mनै चरित्र र महत्व हुन्छन् । तर राष्ट्रिय खेल बन्नको लागि लोकप्रियता र व्यापकतालाई विशेष ध्यान दिइएको हुन्छ । हाम्रो जस्तो भौगोलिक विविधता भएको मुलुकमा यसले विशेष अर्थ राख्छ ।’
मैत्रीपूर्ण खेल खेल्न डेनमार्क पुगेको राष्ट्रिय टोलीका कप्तान इम रानाले सरकारको निर्णयले भलिबल परिवारलाई खुसी बनाएको बताए । उनले भने, ‘हाम्रो जस्तो भौगोलिक बिबिधता रहेको देशमा भलिबल लोकप्रिय छ । भलिबल नेपालको सबै ठाउँमा खेलिन्छ । तराई, पहाड र हिमाल सबै ठाउँमा भलिबलप्रतिको मोह उत्तिकै छ । जनस्तरमै लोकप्रिय रहेको खेल राष्ट्रिय खेलको रूपमा स्थापित हुनु हामी सबैका लागि खुसीको कुरा हो ।’
यसैगरी महिला टोलीकी उपकप्तान मञ्जु गुरुङले भलिबले राष्ट्रिय खेलको मान्यता पाउनु सम्पूर्ण खेलकर्मीका लागि खुसीको कुरा भएको बताइन् । उनले भनिन्, ‘नेपाली समाजमा भलिबल नखेली हुर्कने मानिस कमै हुन्छन् । हाम्रो जस्तो पहाडी देशमा खेल्नका लागि ठूलो मैदान पाउन कठिन छ । भलिबल सानै ठाउँमा पनि खेल्न सकिन्छ । सरकारले भलिबललाई राष्ट्रिय खेलको रूपमा मान्यता दिँदा खुसी लागेको छ ।’
 

Leave A Comment