नेपाल भारतसँग २–० ले पराजित

शनिबार, २७ जेठ २०७४, ०१ : ०१ कमल खत्री , Kathmandu
नेपाल भारतसँग २–० ले पराजित

नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण फुटबलमा भारतसँग २–० ले पराजित भएको छ । मुम्बइमा भएको खेलमा नेपालले १० खेलाडीमा सिमित रहँदै खेलको अन्त्य गरेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि नेपालले दोस्रो हाफमा गतिलो प्रदर्शन गर्न सकेन । भारतको लागि सन्देश झिङगनले ६०औ मिनेटमा गोल गरेर घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
नेपाली डिबक्समा जेजेले चेस्टले रोकेर दिएको पासमा सन्देशले सोझै पोस्टमा प्रहार गरेका थिए ।
दोस्रो गोल भारतका लागी जेजे लालपेखलुवाले ७८औं मिनेटमा मोहम्मद रफिकको क्रसमा गोल गरेका थिए ।
पहिलो हाफको इन्जुरी समयमा नेपालका नवयुग श्रेष्ठले खेलकै उत्कृष्ट अवसर पाएका थिए । तर नवयुग खाली पोस्टमा गोल गर्न चुके । भारतीय गोलकिपर र रक्षकलाई डिबक्स बाहिर पन्छाएर नवयुगले खाली पोस्टमा प्रहार गर्ने अवसर पाएका थिए ।
अधेरी स्पोर्टस कम्प्लेक्समा नेपाली टोलीका कप्तान बिराज महर्जनले ६७औं मिनेटमा रातो कार्ड पाए । अन्तिम डिफेन्स बिराजले भारतका विकास जैरुलाई लडाएपछि सोझै रातो कार्ड पाएका थिए ।
बिराज मैदानबाट बाहिरिएपछि भरत खवासले नेपाली टोलीको कप्तानी सम्हालेका थिए । मुख्य रक्षक बिराजले रातो कार्ड पाएको असर नेपाली टोलीको डिफेन्समा देखिएको थियो ।
नेपाली टोलीका प्रशिक्षक ग्याटुको कोजीले नतिजा आफनो पक्षमा नआएपनि भारत विरुद्धको खेलबाट महत्वपूर्ण कुरा सिकेको बताए । उनले भने, ‘हारेपनि हामीले आत्मविश्वास हाँसिल गरेको छौं । जसले यमन विरुद्ध खेल्न सहयोग गर्नेछ । सबैले राम्रो खेले तर हामीले गोल गर्न सकेनौं । कसले कति मिहेनत गरेको छ भन्ने मलाई थाहा छ । भारतले राम्रो खेलेको थियो । हामीले डिफेन्सलाई बलियो बनाउन सकेनौं ।’ रातो कार्डको बारेमा भने प्रशिक्षकले कुनै प्रतिक्रिया दिन चाहेनन् । उनले भने, ‘त्यसका बारेमा म अहिले भन्न सक्दिन । त्यो भिडियोमा हेरेर भन्न सकिन्छ ।’
नेपाल र भारत दुबै टोली एएफसी एसिया कप–२०१९ छनोट प्रतियोगिताको लागि तयारी गरिरहेको छन । नेपालले जेठ ३० गते यमनसँग घरेलु मैदानमा खेल्दैछ । र सोही दिन भारतले किर्गिस्तानको सामना गर्नेछ ।
पछिल्लो समय भारतले अन्तराष्ट्रिय फुटबलमा लगातार जित हाँसिल गरिरहेको छ । मंगलवारको नतिजासँगै लगातार छैटौ खेलमा भारतले अपराजित यात्रालाई निरन्तरता दिन सफल भएको छ । मैत्रीपूर्ण खेललाई दुबै देशले एएफसी एसिया कपको तयारीको रूपमा लिएका थिए । मंगलवार नेपाली टोलीका जापानी प्रशिक्षक ग्याटुको कोजीले दोस्रो हाफमा हेमन्त थापा मगर र बिमल बस्नेतलाई मैदानमा बढाएका थिए । हेमन्त र बिमल दुबैले राष्ट्रिय टोलीबाट पहिलो पटक खेल्ने अवसर पाए । पछिल्लो पटक नेपाल साफ च्याम्पियनसिप फुटबलमा भारतसँग ४–१ ले पराजित भएको थियो ।

 

Leave A Comment