गर्मीमा मस्त तन्नेरी

आइतबार, २८ जेठ २०७४, १२ : २२ शुक्रवार , Kathmandu
गर्मीमा  मस्त तन्नेरी

सृजना खड्का /रचना श्रेष्ठ

गर्मी सहन नसकेर ‘उफ्’ भन्नेहरू प्रशस्तै छन् । तर, यही भीडमा गर्मीलाई ‘इन्जोय’ गर्नेहरू पनि मनग्गे भेटिन्छन् । खासगरी फेसनमा रुची राख्ने युवतीहरूका लागि त गर्मी छोटा, पातला, हलुका र फेसनेवल लुगा लगाएर स्वतन्त्र हुने अवसर पनि हो । आफ्नो ग्ल्यामर जवानी झल्काउने मौका पनि हो । अनि यही झल्किएको जवानी हेर्न रुचाउने युवाहरूलाई त गर्मी मन नपर्ने कुरै भएन ।
स्विमिङ पुल, कपडा पसलदेखि आइसक्रिम पसल जहीँतहीँ गर्मीका स्वाद लिनेहरू भेटिन्छन् । सृजना खड्का र रचना श्रेष्ठले गर्मीमा मस्त तन्नेरीहरूलाई समेटेका छन् ।
काठमाडौं, अनामनगरकी सुस्मिता भट्टराई गर्मीकी ‘फ्यान’ हुन् । जाडो मौसम आउनासाथ उनको मनमा ‘गर्मी कहिले आउछ ?’ हुन्छ । ‘गर्मी मेरो प्रिय मौसम हो,’ सोमवार दरबारमार्गको शेर्पा मलमा भेटिएकी उनले भनिन्, ‘गर्मीमा त जाडोमा जसरी ज्याकेट मात्र लाउनु पर्दैन । थुरथुर काँप्दै विहान कलेज पनि जानुपर्दैन । आफूलाई सहज कपडा लगाउन पाइन्छ । फेसनेबेल भएर हिड्न पाइन्छ । त्यसैले आइ लाइक समर ।’

ललितपुर, लुभूकी सुजाता राजथला बरु प्रचण्ड गर्मी सहन तयार छिन् तर जाडो रुचाउँदिनन् । ‘जाडो आउनासाथ मेरो शरीरमा एलर्जी भइहाल्छ,’ उनी भन्छिन्, ‘गर्मीमा त हलुका पहिरन लगाएर हिँड्न पाइन्छ । चिसो पानीमा पौडिन पाइन्छ । टिपटप भएर हिँड्न पाइन्छ । ’

०००

सहरमा गर्मी ह्वात्तै बढेको छ । धेरैलाई गर्मी ‘उफ’ भएको छ । तर यही गर्मीलाई ‘आहा’ मान्नेहरू पनि कम छैनन् । सुस्मिता र सुजाताजस्तै गर्मीका पारखीहरू शहरमा प्रशस्तै छन् जो गर्मी लागेपछि दंग छन् ।

यतिखेर घुँडासम्म आउने प्रिन्टेट वान पिस, स्लिभलेस टप्स, हाफपाइन्ट र सिफन/कटनका अफसोल्जर, क्रप, ब्याकलेस टिसर्टमा सजिएका भेटिने तन्नेरीहरूलाई देख्दा गर्मीको क्रेज सहजै अनुमान लगाउन सकिन्छ । खासगरी फेसन पारखी पुस्ताले निकै प्रतिक्षा गर्ने मौसम हो– गर्मी ।

घामको रापसँगै सहर बजारमा फेसनको ताप पनि बढिरहेको छ ।  पातला, छोटा र ग्ल्यामरस पहिरनले सहरका पसलहरू सजिरहेका छन् । फेसनमा रुची राख्ने पुस्तालाई त गर्मी एक प्रकारको उत्सवजस्तै भएको छ ।  

फेसनको मौसम
काठमाडौं काँडाघारीकी आस्था सिवाकोटी फेसनप्रति निकै सचेत छिन् । टप्स र लेगिन्समा चिटिक्क परेर हिड्न पाउँदा उनी दंग हुन्छिन् । भन्छिन्, ‘सजिलो लुगा लगायो भने मेरो त आधा गर्मी आफैँ घट्छ । धेरै कपडा लगाउनुपर्दा म त उकुसमुकुस नै हुन्छु । गर्मीमा स्टाइल–स्टाइलका कपडा लगाउन पाइन्छ । त्यसैले पनि यो मेरो प्यारो मौसम हो ।’

ललितपुर पाटनकी कुसुम महर्जन पनि गर्मी प्रेमी हुन् । उनलाई हल्का रंगका पहिरन साह्रै मनपर्छ । र उनलाई थाहा छ– गर्मीमा यस्तो पहिरन लगाउँदा शीतल र सहज हुन्छ । ‘गर्मीमा टाइट/फिटिङभन्दा पनि लुज डिजाइन कपडाहरू लाउनुपर्छ,’ उनले भनिन्, ‘र मलाई यस्तै कपडा लाउन मनपर्छ । मिठो खाने र चिटिक्क परेर हिँड्ने उमेरै त हो । हल्का फेसनेबल त हुनैपर्यो नि ।’

स्विमिङ र र्याफ्ङिमा मग्न तन्नेरी
गर्मीमा स्विमिङ गर्न र र्याफ्टिङ जान पाइने भएकाले पनि यो मौसम धेरैका लागि प्रिय छ । यहीकारण पनि धेरै युवायुवती गर्मीको व्यग्र प्रतिक्षामा हुन्छन् । भक्तपुर, कमलविनायकका सुसान्त नायोजू यस्तै एक पात्र हुन् जो स्वीमङ भनेपछि हुरुक्कै हुन्छन् । ‘स्वीमिङ मेरो हब्बी हो,’ शनिवार भक्तपुरको फन भ्यालीमा उनी स्विमिङमा मस्त थिए, ‘जाडो महिनाभरी तड्पिएर बस्नुपर्छ । मनमा गर्मी कहिले आउँला र पौडी खेल्न जाउला भन्ने हुन्छ । ’ आफू हप्तामा चार पटक स्वीमिङ पुल पुगेकै हुने बताउँछन् उनी । ‘कहिले फन भ्याली त कहिले सातदोबाटोको स्विमिङ पुल गइरहेको हुन्छु,’ उनले भने ।

काठमाडौं, चावहिलका सुरज श्रेष्ठलाई गर्मीमा र्याफ्टिङ गर्न मन लाग्छ । ‘¥याफ्टिङ मनपराउनेहरुका लागि गर्मी फ्रेन्ड्ली मौसम हो,’ उनी भन्छन्, ‘गर्मीमा घुम्न पाइन्छ । स्विमिङ र र्याफ्टिङको मज्जा लिन पाइन्छ । त्यसैले आइ इन्जोय गर्मी ।’ उनी अघिल्लो सातामात्र त्रिशुलीमा र्याफ्टिङ गर्न पुगेका थिए ।

त्यस्तै गौशालाका सागर गौतम पनि र्याफ्टिङप्रेमी रहेछन् । ‘गर्मीको मज्जा भन्नु नै पानीसँग खेल्नु त हो,’ सोमवार काठमाडौंको चोभारस्थित मञ्जुश्री पार्कमा घुम्दै गर्दा भेटिएका उनले भने, ‘मेरो गाउँ ताप्लेजुङ हो । गर्मीका बेला गाउँमा खुब रमाइलो गरिन्थ्यो । खोलामा पौडी खेलेरै समय बित्थ्यो । ’

भक्तपुर गठ्ठाघर बस्ने बसन्त भट्ट पनि गर्मी मौसम आउना साथ हुरुक्कै हुन्छन् । ‘म त जाडो सहनै सक्दिन्’, उनले भने, ‘मलाई त गर्मीमा झोलुङ्गे पुलमा बसेर सररर हावा खान मज्जा लाग्छ । तल तिर गहिरो तलाउ र वरपरको मनमोहक दृश्य हेर्दा आनन्द आउँछ ।’

हेल्दी समर  
काठमाडौं, गोकर्णका सन्देश भण्डारीलाई गर्मी स्वास्थ्यका हिसाबले पनि फाइदाजनक लाग्छ । जाडो महिनामा चिसोका कारण नाक थुनिने समस्याले उनलाई सताउँदो रहेछ । भन्छन्, ‘आइ थिंक समर इज हेल्दी सिजन । मलाई त गर्मी भनेकै ताजा खानेकुरा खाने मौसमजस्तो लाग्छ । त्यँहीमाथि मेरो त आँप, लिची, काँक्रो ,खर्बुजा सम्झिदा मुखै रसाउँछ ।’ गायनमा रुची राख्ने उनले आफ्नो भोकलका लागि पनि गर्मी मौसम नै फिट हुने बताए । ‘जाडोमा रुघाखोकीले सताउँछ , चाहेर पनि गाउन र रियाज गर्न सकिदैन,’ उनको भनाई थियो ।

त्यस्तै काठमाडौँ, बुढानिलकण्ठका रञ्जित कार्कीलाई पनि गर्मीले निकै फाइदा पु¥याएको छ । ‘एकताका म निकै बिरामी परेको थिएँ,’ उनले गर्मी मनपुर्नको कारण खुलाए, ‘डाक्टरसँग जाँच गराउँदा पत्थरी भएको थाहा भयो । डाक्टरले धेरैभन्दा धेरै पानी खानु भन्नुभएको थियो । जाडो महिनामा दिनमा एक गिलास पानी पनि घाँटीबाट जाँदैनथ्यो । गर्मी लागेदेखि आधा घण्टा÷एक घण्टाको अन्तरमा पानी पिउने गरेको छु । फलफूल र जुस पनि टन्नै खान्छु ।’
काठमाडौं, धुम्बाराहीकी प्रमिला श्रेष्ठलाई पनि जाडो लाग्नासाथ एलर्जीले सताउथ्यो रे । ‘जाडोमा बढी थला परिन्थ्यो,’ काठमाडौंको फनपार्कमा घुमघामका क्रममा भेटिएकी उनले भनिन्, ‘ज्वरो आउँथ्यो, रुखा खोकीले पनि उस्तै सताउँथ्यो । त्यसैले पनि मलाई त जाडो भन्दा गर्मी नै ठिक लाग्छ । ’

स्वादिलो गर्मी
बालाजुमा बस्दै आएकी बिराटनगरकी कोपिला रानाभाटलाई गर्मी निकै स्वादिलो लाग्छ । ‘आँप खान पाइन्छ नि त’, भेटघाटको सुरुमै उनले भनिन्, ‘विराटनगर हुँदा त गर्मी लाग्नासाथ आँपको बोटमा झुण्डिएर बस्थेँ । घरका मान्छेले त मलाई आँपको भूतै भन्थे । काँचो आँप नुनमा चोपेर खानुको मज्जै बेग्लै । जाडोमा यस्तो खान कहाँ पाइन्छ ?

कोपिला जस्तै काठमाडाँै बौद्धकी कौशिला सुनुवार पनि फलफूलकी पारखी हुन् । यही कारण उनी गर्मीकी पारखी पनि हुन् । कसरी ?  ‘लिची र खर्बुजा भनेपछि म प्राणै फाल्ने मान्छे,’ बौद्धको तरकारी बजारमा खर्बुजा किन्दै गर्दा भेटिएकी उनले भनिन्, ‘यस्तै स्वादिलो फलफूल खान पाइने भएकाले पनि मलाई गर्मी मौसम स्वादिलो लाग्छ । ’
समरमा सनग्लास
सहरमा स्टाइलिस सनग्लास लगाउनेहरू बढेका छन् । उनीहरू सबैको ध्येय– गर्मी छल्नु मात्र होइन, फेसनेबल र स्मार्ट देखिनु पनि हो । ‘सनग्लासले गर्मीमात्रै छल्दैन, स्मार्ट पनि देखाउँछ,’ ललितपुर, कुपण्डोलकी भावना पाण्डे भन्छिन्, ‘म सधैँ घरबाट निस्कदा सनग्लास लगाएकी हुन्छु । गर्मीमा क्याप र ह्याटमा सजिएर हिँड्न पाउँदा पनि म मख्ख पर्छु ।’

भक्तपुर ठिमीकी नितास्मा पौडेल पनि गर्मीकी पारखी हुन् । ‘मुख्य कुरा गर्मीमा बिहान उठ्न जाँगर चल्छ,’ उनले भनिन्, ‘जाडोका बेला बिहान उठ्न नसकेर कलेजका धेरै क्लास छुटेका छन् । जाडोमा कठ्याङग्रिएर स्कुटर चलाउनै हुँदैन ।  धेरैपटक त म घरमै स्कुटर थन्काएर कलेज गएकी छु । तर गर्मीमा त हाफ पाइन्ट र स्लिभलेस भेष्टमा सन ग्लास ढल्काउँदै स्कुटर गुडाउनुको मज्जा नै बेग्लै । ’

‘गर्मीमा घुम्न पाइन्छ’
शुक्रवारसँगको भेटमा गर्मी रुचाउने अधिकांश युवा–युवतीको कारण थियो– गर्मीमा घुम्न पाइन्छ । कलेज र स्कुलहरूले पनि गर्मीमा बिदा दिने गर्छन् । यसकै मौका पारेर विद्यार्थीहरू घुम्न निस्कन्छन् ।  

काठमाडौं, बागबजारस्थित पद्यमकन्या क्याम्पसमा अध्ययनरत सविता धौबढेल अहिले गर्मी बिदा मनाउने योजनामा छन् । ‘यो गर्मीमा दार्जिलिङ जाने योजनामा छ’, उनले भनिन्, ‘त्यहाँ गएर मस्ती गरिन्छ । फेसनेबल लुगा किनिन्छ अनि काठमाडौंमा आएर लगाइन्छ ।’ जाडोमा बाक्लो–बाक्लो कपडा धुन पर्ने भएकाले पनि गर्मीकी पारखी रहिछन् ।

गर्मीमा छमछमी नाँचिन्छ
काठमाडौं लाजिम्पाटकी रोस्ना लिम्बू गर्मी मौसमको आनन्द फिल्मी तरिकाले लिन्छिन् । हिन्दी फिल्म ‘बागी’ मा श्रद्धा कपुरले पानीमा भिजेर छमछमी नाचेको गीत उनलाई असाध्यै मनपर्छ । पानी परेका बेला त्यसरी नै भिज्दै छमछम नाच्न उनलाई पनि मनपर्छ । रोस्ना भन्छिन्, ‘जाडो उजाड लाग्छ । पानी पनि पर्दैन । गर्मीको मज्जा भनेकै आकाशबाट पर्ने पानी नै हो ।’

काठमाडौं, सिनामंगलकी एलिसा थापालाई गर्मीमा पानी परेको मनपर्छ । भन्छिन्,‘घामपानी परेको अनि इन्द्रेणी लाग्दा मनै फुरुङ्ग हुन्छ । गर्मीमा रङ्गिचङ्गी छाता ओढेर हिँड्न रमाइलो लाग्छ ।’

यस कारण मनपर्छ गर्मी
ममता न्यौपाने

गर्मीमा फ्लेभर फ्लेभरका आइसक्रिम खान पाइन्छ । हरियाली ठाउँहरू घुम्न मज्जा हुन्छ । हलुका ड्रेसअपमा सजिएर हिँड्न रमाइलो हुन्छ । कुल हुन कहिलेकाही सुइमिङ पुलतिर पनि गइन्छ ।

प्रमिला तामाङ
खुला ठाउँमा घुम्न जान मनपर्छ । साथीहरुसँग गु्रुपमा सुइमिङ गर्दा गर्मी कहाँ भाग्छ कहाँ । जाडोमा हातखुट्टै कक्रक्क पर्छ, फुट्छ ।  गर्मीमा विशेषगरी वान पिस लगाएर हिँड्न मनपर्छ । गाउँ गएका बेला नदीमा पौडिन गइन्छ ।

शर्मिला पोखरेल
गर्मीमा सिमसिम पानीमा रुझ्न एकदमै आनन्द लाग्छ । झरीसँग खेल्न पाइने भएकाले गर्मी महिना मलाई असाध्यै मनपर्छ ।

सगुन वाइवा
गर्मीमा डाँडातिर शीतल हावा खान आनन्द लाग्छ । मौका मिले पौडिन पनि गइन्छ । चिसो–चिसो खानेकुरा पनि यही मौसममा खान पाइन्छ । त्यसैले जाडोभन्दा गर्मी नै प्यारो र रमाइलो लाग्छ ।

सत्यमान भलान
शीतल खालका टिर्सट लगाइ कुल भएर हिँड्न पाइन्छ । त्यस्तै कोल्ड कफी र आइसक्रिम खान मज्जाले खान पाइन्छ । साथीहरूसँग टाढा–टाढा घुम्न जाने योजन बन्छ । त्यसैले गर्मी मनपर्छ ।

निभा शाह
स्वेटर वा भारी खालका लुगा लगाउन पर्दैन । जाडोमा चाढै अध्यारो हुने भएकाले बुबाआमाले घुम्न जान दिनुहुन्छ । गर्मीमा दिन लामो भएकाले घुम्न पाइन्छ ।

चाँदनी रौनियार
पातलो र हलुका लुगा लगाउन पाइन्छ । रङ्गीचङ्गी लुगाको फेसन गर्न पाइन्छ । फिटिङ ड्रेसमा चिटिक्क परेर हिँडिन्छ । त्यस्तै गर्मीमा कागती पानीको सर्वत बनाएर खान एकदमै मनपर्छ । जाडोमा भन्दा गर्मीमा नुहाउनको मज्जा बेग्लै ।

मनिला महर्जन
साथीभाइहरूसँग पौडिन गइन्छ । पंखाको हावा खाँदै टिभी हेरिन्छ । जताततै हरियाली हुन्छ । गर्मीमा जता गयो उतै रमाइलो ।

भावना मोक्तान
गर्मीमा दिनको एकचोटी नुहाइन्छ । त्यसैले पनि जिउ हलुका भएको महसुस हुन्छ । जाडोमा गुम्सिन्छ । त्यसैले खासै मनपर्दैन ।
सनम महर्जन
गर्मीमा बढी त आइसक्रिम नै खाइन्छ । पानी पर्दाको दृश्य एकदम मनपर्छ । गर्मीमा पनि शीतल हुन्छ । काम गर्न ऊर्जा मिल्छ ।
एन्जोल राई
र्याफटिङ, ट्रेकिङ र सुइमिङ नै गर्मीको रमाइलो पक्ष हो । रात पनि छिटो पर्दैन । उज्यालो नि छिट्टै हुन्छ । त्यसैले एकदमै रमाइलो लाग्छ ।

सुजिता भारती
आँप, लिच्ची, आरुबखडा जस्ता फलफूल खान पाइने भएकाले गर्मी मनपर्छ । स्वास्थ्यको हिसाबले पनि गर्मी नै ठीक लाग्छ । पानी बढी पिइन्छ । काम गर्ने पूmर्ति पनि चल्छ ।

विवेक श्रेष्ठ
हाफ प्यान्ट र स्यान्डो जस्ता खुकुलो लुगा लगाउन पाइन्छ । गर्मी फेसनको सिजन जस्तो लाग्छ । गर्मी महिना रमाइलो गर्दै बित्छ । जाडो त मुस्किलले कट्छ ।  
गर्मीमा रमाउने पूर्वेली

–गोपाल दाहाल    

हिउँदमा पनि धेरै चिसो नहुने धरानमा गर्मी सिजनमा झनै गर्मी हुन्छ । दिउँसोको चर्को गर्मीमा घर बाहिर निस्कन समेत मुस्किल पर्छ । तर, स्विमिङमा रमाउनेका लागि भने गर्मी निकै प्यारो लाग्ने गर्छ । तीमध्ये एक समुना चेम्जोङ पनि हुन् । उनी स्विमिङ भनेपछि हुरुक्कै हुन्छिन् । ‘मलाई गर्मीमा स्विमिङ गर्न सारै मज्जा लाग्छ’, उनले भनिन् । यसपटक पनि उनी, दिदी र साथीहरूसँग स्विमिङ गर्न इटहरीस्थित ओसियन पार्क पुगिन् । उनी सुनाउँछिन्, ‘मौसमका हिसाबले त गर्मीमा गाह्रो हुन्छ तर स्विमिङ गर्न र फेसनेवल ड्रेस लगाउन चाहिँ मज्जा लाग्छ ।’
‘जाडो याममा आपूmले चाहे अनुसारको कपडा नै लगाउन पाइदैन’, उनी भन्छिन्, ‘खुला र पातलो खालको ड्रेस लगाउँदा स्मार्ट देख्न सकिन्छ ।’
हपहपी लाग्ने गर्मीको यो मौसममा स्विमिङमा मात्र होइन धरानका युवा युवतीहरू यहाँका सर्दु, काली खोलालगायतमा पनि पानीसँग रमाइरहेका भेटिन्छन् ।
यसै पनि धरान फेसनेवल सहर हो । आधुनिक फेसनमा रमाउनेलाई त गर्मी नै प्यारो लाग्छ । उनीहरूले गर्मीलाई पनि ‘इन्जोय’ गरिरहेका हुन्छन् । यस्तै रुचि छ धरानकी विनिता सिल्पकारको पनि । गर्मीमा उनलाई पातला स्लिप खालका सर्ट र छोटो हाफ प्यान्टमा सजिएर हिँड्न खुब मन पर्छ । उनी भन्छिन्,‘ गर्मीमा त कपडाकै फेसन बढी हुन्छ त्यसैले पनि यो मौसम मनपर्छ ।’
फेसन र स्विमिङसँगै चिसो पेयमा रमाउनेको जमात पनि ठूलै छ । यस्तै मौसमको मज्जा लिन चाहन्छन्, जीवन रायमाझी । गर्मीमा रमाइलो गर्न उनी साथीसँग भेटघाट गर्न नाम्चे बजार पुगी चिसो खानेकुराको आनन्द लिन्छन् । गर्मीलाई उनले राम्रैसँग स्वागत गरेका छन् । उनी भन्छन्,‘ गर्मी सुरु हुनेबित्तिकै धारान भेडेटार नजिकैको नमस्ते झरनामा रुझ्दै, भिज्दै आनन्द लिएँ ।’
गर्मीले युवायुवतीको दिनचर्या मात्र होइन बजारको दैनिकी पनि बदलिएको छ । गर्मी बढेसँगै बजारमा स्कर्ट, लेडिज हाफ पेन्ट, जंग सुट, स्लिप लेसजस्ता कपडा युवतीको रोजाइ बनेका छन् । सुनिता दुवाललाई घामको तापको कुनै मतलब लाग्दैन । ‘छाला डढ्छ भनेर सनस्क्रिन क्रिम लगाएर हाफ लुगा लगाउँछु,’ उनी भन्छिन्, ‘मलाई खासै मतलव लाग्दैन ।’
घुम्न जाने, रमाइलो गर्ने त छँदै छ । अरुबेला चट्पटे, पिरो अमिलो मन पराउने भेडेटारकी मुना कँडेलको स्वाद गर्मीले बदलिएको छ । गर्मीमा बढी चल्ने आइसक्रिम, जुस, लस्सी, कोल्डड्रिंक खान थालेकी छिन् । उनलाई गर्मीमा कोल्ड केक खान मनपर्ने बताउँछिन् ।  
विराटनगर, झापालगायत तराई क्षेत्रमा उखरमाउलो गर्मी छ । गर्मी छल्न भन्दै ती ठाउँबाट धरान, भेडेटार, हिले, बसन्तपुरसम्म पुग्ने युवायुवती प्रशस्त भेटिन्छन् ।
चिसो खोज्दै भेडेटार पुग्ने बढेसँगै यहाँको होटल तथा रेष्टुरेन्ट व्यवसाय पनि गज्जब चलेको छ । भेडेटार होटल एसोसिएसनका अध्यक्ष लीलाराज लावती भन्छन्, ‘तराईमा गर्मी बढेपछि भारतको विहारसम्मका पर्यटक यता आउँछन् । यहाँको चिसो मौसमको आनन्द लिएर फर्किन्छन् । गर्मीका कारण पर्यटकको भीड बढ्दा व्यवसाय पनि बढ्छ ।’

Leave A Comment