एसइई नतिजाको प्रतीक्षा

शनिबार, ०३ असार २०७४, १२ : ४२ शुक्रवार , Kathmandu
एसइई नतिजाको प्रतीक्षा

–सृजना खड्का
‘बिदाभरी घुमेर बसियो, अब घुमेको निकाल्नुहुन्छ ड्याडीमम्मीले’, काठमाडौँ फन पार्कको घुमफिरमा रमाएका सयन बुढाथोकीले भने । सेकेन्डरी एजुकेसन इक्जामिनेसन (एसइई) दिएर बसेका सयनलाई यतिबेला भने आफ्नो नतिजा कस्तो आउला भन्ने चिन्ताले सताउन थालेको छ । भन्छन्, ‘खै आजभोलि नै आउँछ भन्ने हल्ला भइरहेको थियो । कस्तो पो आउने हो ?’ उनले भने ।
‘रिजल्ट नराम्रो आए सबैको गाली खानुपर्र्छ’, भन्दै उनले आफ्नो गुनासो पनि त्यही मौकामा पोखे । ‘प्रि एसइईमा त राम्रै ग्रेड आएको थियो । एसइईमा बाहिरका सरहरुले कपी चेक गर्नुहुन्छ, कुन ग्रेड आउने हो थाहा छैन’, उनले थपे ।
यता बिदाको सदुपयोग गर्दै ब्रिजकोर्स धाउँदै गरेका सागर कार्की भने नतिजा राम्रो आउनेमा विश्वस्त छन् । ‘इक्जाम राम्रै गरेको छु, रिजल्ट ’नि राम्रै आउला,’ उनले भने । ११÷१२ विज्ञान विषय लिएर पढ्ने सोच बनाएका कार्की पनि सयनजस्तै नतिजाको प्रतीक्षामा छन् । भन्छन्, ‘कुन सब्जेक्टमा कुुन ग्रेड आउला भन्ने खुल्दुली चाहिँ भा’को छ । साइन्स र म्याथ सजिलो लाग्छ, त्यसमा राम्रो आउला । अरुमा खै के आउने हो !’
कम्प्युटर र ल्याङ्वेज कक्षा पढिरहेकी इच्छा परियारको पनि त्यस्तै हाल छ । उनी पनि नतिजाको प्रतीक्षामा छिन् । ‘आउँदै नआए पनि कहिलेकाहीँ साथीहरु आयो ! आयो ! भनेर सातो उडाइदिन्छन्,’ उनले भनिन् । भविष्यमा व्यवस्थापन विषय लिएर पढ्ने सोच बनाएकी इच्छालाई हाल रिजल्ट कस्तो आउला भन्ने मात्र चिन्ता छ । भन्छिन्, ‘ग्रेडिङ सिस्टम त हो नि फेल हुँदैन भनेर के गर्नु ? राम्रो ग्रेड आएन भने आफूले रोजेको सब्जेक्ट पढ्नै पाइँदैन ।’   
उनीहरुजस्तै अहिले एसइई परीक्षा दिएर बसेका प्रायः विद्यार्थीको अवस्था उस्तै छ । परीक्षा पछिको बाँकी समय घुमेर, ब्रिजकोर्स, कम्प्युटर र ल्याङ्वेज पढेर बिताएका विद्यार्थीको ध्यान केही दिन यता भने ‘रिजल्ट कहिले आउला’ भन्नेमै केन्द्रित हुन थालेको छ । यसै विषयलाई चर्चा गर्दै हिँडेका विद्यार्थी अहिले जताततै देखिन्छन्÷भेटिन्छन् । ‘रिजल्ट नआउञ्जेल कहिले आउला भन्ने चिन्ता आएपछि के पढ्ने भन्ने चिन्ता’, काठमाडौँको बानेश्वरमा भेटिएकी अनिसा श्रेष्ठले भनिन् । ‘बरु छिट्टै रिजल्ट आए खुल्दुली त मेटिन्थ्यो । इक्जाम दिनभन्दा रिजल्ट कुर्न पो गाह्रो हुने रै’छ !’ उनले थपिन् ।
गत चैत्र ३ गतेदेखि सुरु भएको सेकेन्डरी एजुकेसन इक्जामिनेसन (एसइई) परीक्षाको नतिजा यही ३ गतेभित्र हुने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ । ‘३ गते भित्रमा रिजल्ट निकाल्ने तयारीमा छाँै । त्यो भन्दा पर जाँदैनाँै’, परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताए । हाल तथ्याङ्क प्रशोधन र रुजुको काम पनि अन्तिम चरणमा पुगेको उनले जनाए ।
उक्त परीक्षामा देशभरका २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा गरी कूल ५ लाख ३८ हजार १ सय ८२ परीक्षार्थी सहभागी थिए ।  

‘३ गतेभन्दा पर जादैनौँ’
अम्बिका प्रसाद रेग्मी
परीक्षा नियन्त्रक
परीक्षा नियन्त्रण कार्यालय
सानोठिमी, भक्तपुर

९० दिनभित्र नतिजा प्रकाशित गर्नुपर्ने कुरा निर्देशिकामा छ । हामीले सोही अनुसारले तयारी गरेका हाैंँ । नतिजाको तयारी अन्तिम चरणमा छ । तयारी पूरा भएपछि नतिजा निकालिहाल्छाैं। अहिले तथ्याङ्क प्रशोधन र रुजुको काम भइरहेको छ । कापीमा देखिएका केही समस्यालाई पनि केलाउँदैछौँ । कतिपय विद्यार्थी केन्द्र परिवर्तन भएर पनि कपीमा केही गोलमाल भएको अवस्था छ । त्यसलाई हामीले सिस्टमअनुसार सहजीकरण गर्दै लगिरहेका छाैं ।
यही ३ भित्र नतिजा प्रकाशित गर्ने हाम्रो योजना छ । ३ गतेभन्दा पछाडि जादैनौँ । पहिलाभन्दा अहिले रिजल्टप्रति क्रेज चाहिँ घटेको छ । उहिले पत्रिकामा नतिजा प्रकाशित हुन्थ्यो । दुर्गममा विद्यार्थीले आफ्नो नतिजा थाहा पाउनै चार÷पाँच दिन कुर्नुपथ्र्यो । अहिले मान्छेको हातहातमा मोबाइल फोन छ । त्यसैले पनि यसको क्रेज घटेको हुनुपर्छ । ग्रेडिङ सिस्टम लागू भएपछि फेल भइँदैन भन्ने पनि भएको छ तर पढाइमा गम्भीर विद्यार्थीहरुमा भने रिजल्टप्रति एक प्रकारको खुल्दुली छ ।  
गे्रडिङले नतिजा तयारीमा पनि खासै फरक पारेको छैन । विद्यार्थीले प्राप्त गरेको अंकको आधारमा ग्रेड निकाल्ने हो । नतिजा कसरी हेर्ने भनेर हामीले विभिन्न माध्यमहरुबाट सूचना दिइरहेका छौँ । विद्यार्थीले एसएमएस प्रदायक संस्था र विभिन्न वेबसाइटबाट पनि नतिजा हेर्न सक्नेछन् । यसको साथसाथै आइभिआर नम्बरबाट आफ्नो नम्बर थिचेर पनि आफ्नो नतिजा थाहा पाउन सकिन्छ । पहिलाको जस्तो पत्रपत्रिकामा भने नतिजा प्रकाशित हुँदैन ।

 

Leave A Comment