निर्यात नबढ्दा व्यापार घाटा बढ्दै

आइतबार, ०४ असार २०७४, १२ : १५ दिलीप पौडेल , Kathmandu
निर्यात नबढ्दा व्यापार घाटा बढ्दै

काठमाडौं–डेढ दशकअघि करिब १० अर्ब रुपैयाँ बढीको पश्मिना निर्यात हुन्थ्यो । नेपाली पश्मिनाले अमेरिका र युरोपमा प्रख्याती कमाएको थियो । पश्मिनाको निर्यात व्यापार अहिले वार्षिक दुई अर्ब रुपैयाँमा खुम्चिएको छ ।
अमेरिकी बजार लोकप्रियता कमाएको तयारी पोशाकको अवस्था पनि उस्तैछ । सन् २०००मा वार्षिक १२ अर्बको तयारी पोसाक निकासी हुन्थ्यो । अहिले तयारी पोशाकको निर्यात करिब चार अर्बमा झरेको छ ।
विदेशी लगानीसमेत आउन सक्ने यो क्षेत्र राज्यको प्राथमिकतामा पर्न सकेको छैन । नेपाली पोसाकको पहुँच अमेरिकी बजारमा सहज बनाउन तत्कालीन राष्ट्रपति वाराक ओवामाले कर छुट सम्बन्धि विधेयकमा हस्ताक्षर गरे पनि सरकारले निर्यात बढाउन पहल गरेको छैन ।
यी प्रतिनीधि मूलक उत्पादन हुन् । स्वदेशी उत्पादनमा वृद्धि नभई विदेशी वस्तुको आयात र उपभोग बढेपछि मुलुकको व्यापार घाटा निरन्तर बढेको छ । मुलुकको आर्थिक वृद्धि दर सकरात्मक रहे पनि व्यापार घाटा बढ्दै गएको भन्दै अर्थविज्ञले चिन्ता व्यक्त गरेका छन् ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार अहिले मुलुकको व्यापार घाटा छ सय ७० अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । नेपालबाट सात रुपैयाँको सामान निर्यात हुँदा विदेशबाट करिब ९३ रुपैयाँको सामान आइरहेको हुन्छ । यसले नेपाली अर्थतन्त्रको व्यापार घाटाको डरलाग्दो रुपलाई प्रस्तुत गर्छ ।
व्यापार घाटाको खाडल बढिरहेको अवस्थामा रेमिटेन्सको भरले मुलुकको अर्थतन्त्र धानिएको छ । चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा नेपालको वैदेशिक व्यापार अघिल्लो वर्षकोे तुलनामा ३५.९ प्रतिशतले वृद्धि भई  सात सय ८१ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । निकासी हुने सामान आर्थिक वर्ष ०७२÷७३को तुलनामा चालु आर्थिक वर्षमा ९.९ प्रतिशतले बढ्दा आयत आयात ३८.४ प्रतिशतले बढेको छ । ५५.२६ अर्ब रुपैयाँको निर्यात हुँदा सात २६.०२ अर्बको सामान आयात भएको छ ।
नेपालबाट गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिष्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टील र तिनका उत्पादनहरु, हस्तकलाका सामानहरु, चाउचाऊ, टुथपेष्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडिवुटी निर्यात हुने गरेको छ । भारत, अमेरिका, टर्की, जर्मनी, युके, चीन, फ्रान्स, इटाली, जापान, क्यानडा,  वंगलादेश,  अष्ट्रेलिया, नेदरल्याण्ड र भियतनाम लगायतका मुलुकमा निर्यात हुन्छ ।
तर, नेपाली उपभोक्ताले नुनदेखि सुनससम्म सबै विदेशको भर पर्नुपर्ने अवस्था रहेको छ ।  अघिल्लो वर्षको तुलनामा फलाम तथा स्टील आयातमा ४९.९ प्रतिशतले वृद्धि भएको छ । फलाम र स्टिलका सामानमात्र यो अवधिमा ७६.९० अर्बको आयात भएको छ ।  स्वदेशमै उत्पादन गर्न सकिने भटमासको कच्चातेल ९.९० अर्बको आयात भएको छ । यहाँ भारत, चीन, युएई, फ्रान्स, इण्डोनेशिया, थाइलेण्ड, अर्जेन्टिना, अमेरिका, दक्षिण कोरिया, साउदी अरेविया, क्यानडा, जापान, मलेसिया, भियतनाम लगायतका मुलुकबाट सामान आउने गरेका छन् ।
व्यापार घाटा कम गर्न सरकारले अलैंची, अदुवा, औषधीजन्य जडीबुटी लगायत १२ क्षेत्रलाई निर्यातयोग्य मान्दै मुख्य प्राथमिकता तोकेको वाणिज्य मन्त्रालयले जनाएको छ । ‘व्यापार घाटा कम गर्न निर्यातजन्य वस्तुको प्राथमिकता तोकेका छौं,’ मन्त्रालयका प्रवक्ता रवीशंकर सैंजुले भने, ‘अपेक्षित रुपमा उत्पादन नबढ्दा व्यापार घाटा बढिरहेको छ ।’
निर्यातजन्य वस्तुलाई प्रोत्साह गर्न सरकारले एकीकृत व्यापार रणनीति–२०१० संशोधन गरी नयाँ एकीकृत व्यापार रणनीति–२०१६ ल्याए पनि सुधार हुन सकेको छैन । निर्यात बढाएर व्यापार घाटा कम गर्न कृषिजन्य क्षेत्रतर्फ अलैंची, अदुवा, चिया र औषधीजन्य जडीबुटी, औद्योगिक उत्पादनतर्फ कपडा, छाला, जुत्ता, गलैंचा, पस्मिना तथा सेवा क्षेत्रतर्फ दक्ष र अर्धदक्ष जनशक्ति, सूचना प्रविधि र पर्यटन गरी १२ वटा क्षेत्रलाई मुख्य प्राथमिकता दिएर निर्यात प्रवद्र्धन गर्न सुरु गरेको जनाएको छ । सरकारले जलविद्युत, कफी, फलफूल र तरकारी, मह, चाउचाउ, ऊनका उत्पादन र चाँदीका गहनालाई पनि निर्यातको सम्भावना रहेका वस्तुको सूचीमा रोको मन्त्रालयले जनाएको छ । निजी क्षेत्रको सहकार्यमा व्यापार घाटा कम गर्ने रणनीति बनाएको बताए पनि निर्यात बढाउन रणनीति पर्याप्त नरहेको नेपाल उद्योग बाणिज्य महासंघले जनाएको छ । ‘नेपाली वस्तुले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिन छ,’ महासंघका अध्यक्ष भवानी राणाले भनिन्, ‘निर्यातजन्य वस्तु उत्पादनमा राज्यले विशेष अनुदान दिनुपर्छ ।’ सरकारले प्राथमिकता तोकेका वस्तुको निर्यात गर्नको लागि प्याकेज कार्यक्रम ल्याउनु पर्ने बताउँछिन् । पछिल्लो समय उद्योगीहरुले उत्पादनमूलक क्षेत्रमा भन्दा सेवामूलक व्यवसायमा धेरै लगानी गर्दै आएका छन् । विदेशबाट आयात गरेका सामग्री बिक्री गर्दा नाफा हुने र उद्योगको लगानीमा जोखिम हुने डरले पनि त्यता आकर्षित भएको व्यवसायी बताउँछन् ।

 

Leave A Comment