गरिखाने शिक्षाः प्राविधिक

बिहिबार, ०८ असार २०७४, ०१ : २० शुक्रवार , Kathmandu
गरिखाने शिक्षाः प्राविधिक

पुष्परमण वाग्ले
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)
सदस्य सचिव

शिक्षा विशेषतः दुई प्रकारका हुन्छन् । ‘गरिखाने शिक्षा’ र ‘बोलीखाने शिक्षा’ । प्राविधिक शिक्षा गरिखाने शिक्षा अन्तर्गत पर्छ । प्राविधिक शिक्षाबारे धेरैले सुनेका हुन्छन् तर राम्रोसँग बुझेका हुँदैनन् । वास्तवमा प्राविधिक शिक्षा भनेको प्रयोगात्मक अभ्यासद्वारा लिइने शिक्षा हो । यो पूर्णतया सीपमूलक र व्यावहारिक हुन्छ ।
देशको आर्थिक र सामाजिक विकासका लागि प्राविधिक शिक्षा महत्वपूर्ण हुन्छ । त्यसकारण पनि प्राविधिक शिक्षातर्फ बढ्दो आकर्षण छ । हामीले हालसम्म तीनओटा प्राविधिक शैक्षिक कार्यक्रम चलाउँदै आएका छाँै । जसमा आवश्यकता अनुसारको छोटो तथा लामो अवधिको तालिम, टिएसइई र डिप्लोमा तहका कार्यक्रमहरु छन् । आवश्यकता अनुसारको तालिम सामान्यतया तीन महिनाको हुन्छ । गरिब, दलित, विभिन्न खालका सेवासुविधाबाट वञ्चित, उच्च शिक्षा लिन नपाएका विद्यार्थीहरुका लागि यो कार्यक्रम लक्षित गरिएको छ । टिएसइई अन्तर्गत १८ महिनाको कोर्ष हुन्छ । जसमा २० ओटा विषयहरुमा छानीछानी पढ्न पाइन्छ । डिप्लोमा कोर्सका लागि तीन वर्ष लाग्छ । यसमा स्वास्थ्य, इन्जिनियरिङ, कृषि र अन्य क्षेत्र समेटिएका छन् । यसअन्तर्गत अहिलेसम्म २८ ओटा विषय सञ्चालनमा छन् ।
हाम्रो पालामा राम्रो नम्बर ल्याउने प्राविधिक शिक्षामा जान्थे । अहिले न्यूनतम गे्रड आउनेले मात्र प्राविधिक शिक्षा लिने हो भन्ने धारणा छ । यो एकदमै गलत धारणा हो । राम्रो ग्रेड आउनेले पनि प्राविधिक शिक्षा लिन सक्छन् । आफूमा सीप विकास गर्न र स्वरोजगार बन्न यो शिक्षा निकै लाभदायी छ ।
अहिले टिएसइईका लागि २४ हजार ६ सय र डिप्लोमा कोर्सका लागि १७ हजार ३ सय गरी लगभग ४२ हजार विद्यार्थीको लागि क्षमता छ । शिक्षामा सरकारी बजेट कम हुने भएकाले धेरै विद्यार्थी लिन सकिरहेका छैनौँ ।
प्राविधिक शिक्षा लिने विद्यार्थी अनुुशासित हुनुपर्छ । अरुले भनेको भरमा लाग्नु हुँदैन । विशेषगरी स्वरोजगार हुन चाहने विद्यार्थीहरुलाई लागि प्राविधिक शिक्षाले स्वागत गर्छ । यसमा भविष्य पनि उज्ज्वल छ तर यो एकदमै संवेदनशील शिक्षा हो । कुनै क्षेत्रमा सानो मात्र गल्ती ग¥यो भने पनि मान्छेको ज्यानै समेत जान सक्छ । त्यसैले पनि यसका लाागि निकै संवेदनशील र अनुशासित हुनुपर्छ ।   

Leave A Comment