‘सेलिब्रिटी थिएँ, चेलीबेटी भएँ’

बिहिबार, ०६ जेठ २०७३, ०२ : २७
‘सेलिब्रिटी थिएँ, चेलीबेटी भएँ’

अभिनेत्री करिश्मा मानन्धरको दैनिकी अचेल फेरिएको छ । उनको आफ्नो ‘सेड्युल छैन’, नयाँ शक्ति नेपालको ‘सेड्युल’मा जहाँ पुग्नुपर्ने पनि हुन सक्छ । उनको लवाइ पनि फेरिएको छ ।  वानपिस र हाई हिलमा सजिएर हिँड्दिनन्, कुर्तासुरुवालमा पुग्छिन् । खासमा उनको भूमिका फेरिएको छ । अभिनेत्रीबाट उनी नेत्री भएकी छिन् । नयाँ शक्तिकी उनी केन्द्रीय सदस्य हुन् । अहिले संगठन निर्माणका लागि नयाँ शक्तिले खटाएका महŒवपूर्ण १० जनाभित्र उनी पनि छिन् । ‘नव–नेत्री’ करिश्मासँग डिबी खड्काले राजनीति संवाद गरेका छन्ः
 

एमाओवादी नेता प्रचण्ड ‘म करिश्माजीको फ्यान’ भन्नुहुन्छ । तपाईं भने डा. बाबुराम भट्टराईको नयाँ शक्तितिर लाग्नुभयो !
प्रचण्डजीले त्यस्तो भनेको मैले पनि सुनेकी थिएँ । भूमिगतकालमै उहाँले त्यस्तो भनेको कुरा भारतको एउटा पत्रिकामा पनि छापिएको थाहा पाएकी थिएँ । उहाँले यसो भनिरहँदा मलाई नेताले कलाकारिता क्षेत्रलाई पनि उत्तिकै महŒव दिएको जस्तो लागेर खुशी भएकी थिएँ । उहाँले मेरो कलाकारितालाई मन पराउनुभयो । मलाई राजनीतिमा बाबुरामजीको सोच मन प¥यो । उहाँको विचारले प्रभावित भएर राजनीतिमा आएँ ।

राजनीतिलाई ‘डर्टी गेम’ भन्छन् । अब तपाईं पनि यो फोहोरी भनिने खेलमा सामेल हुनुभयो है ?
कुनै पनि क्षेत्र सफा वा फोहोरी हुँदैन । राजनीति डर्टी गेम हो भन्ने अहिलेसम्म पर्नुको कारण जनताले विकासको आभास गर्न पाएका छैनन् । त्यसैले आफू शक्तिमा पुग्न नेताले खेल्ने फोहोरी खेल भन्ठाने । पार्टीहरूले देशका लागि सोचेनन् भनेर यस्तो भनिएको होला । मैले अहिले आएर डर्टी गेम भनेर भागिरहनु हुँदैन भन्ने ठानेर आफैँ सहभागी भएँ ।  जेसुकै भने पनि देश चलाउने नेताहरूले नै हुन् । देशको कमान्ड राजनीतिक पार्टीसँगै हुन्छ । त्यसैले यतातिर भएको फोहोर सफा नगरी म रहेको फिल्म क्षेत्रलगायत अन्य क्षेत्र सफा हुँदैनन् । हरेक क्षेत्रलाई दिशानिर्देश राजनीतिले गर्ने भएकाले यसलाई फोहोरी खेल भनेर उम्किन पाइँदैन ।

राजनीतिमा कुटिल चाल चल्नुपर्छ, कूटनीति जान्नुपर्छ, जालझेल पनि गर्नुपर्छ । तपाईंलाई त्यसो गर्न कत्तिको आउँछ ?
मान्छे सही छ र सही कामका लागि अघि बढिएको छ भने जालझेल चाहिँदैन जस्तो लाग्छ । तर, पक्ष र विपक्ष, हार र जीतजस्ता कुरा राजनीतिमा जोडिने भएकाले जालझेल, कुटिल चाल आवश्यक नै छैन पनि भन्न पन सक्दिनँ । म गर्छु भनेर कोही स्वच्छ मन लिएर अघि बढ्छ भने यस्ता कुराले असर गर्दैन । मैले राजनीतिलाई सेवाका रूपमा लिएकी छु । सेवा ग¥यो भने राजनीति गर्न जालझेल नचाहिएला । स्वतः जनताको ‘सपोर्ट’ पाउँछु ।

जनताका लागि केही गरौँ भनेर भन्ने भावनाले राजनीतिमा आउनुभएको हो कि फुर्सदलाई उपयोग गर्न ?
म एकै दिन निर्णय गरेर आएकी होइन । केही वर्षदेखि नै राजनीतिमा आउने सोच थियो । मेरो सोच मिल्ने पार्टी यही समयमा गठन भएकाले यतिबेला आएकी हुँ । एउटा कलाकारका रूपमा मैले जनताको मन–मुटुमा ठाउँ पाइसकेकी छु । त्यसबाहेक खानलगाउनदेखि अन्य केही गरौँ भन्ने इच्छा जाग्यो भने  पूरा गर्न नपुग्दो केही छैन । म पहिलेदेखि नै विदेश जाँदा महसुस गर्थें, हाम्रो देशमा चाहिँ किन सिस्टम नभएको ? विकास किन नभएको ? हाम्रो देशका हरेक व्यक्ति राष्ट्रभक्त छन् । हरेकलाई देशका लागि केही गर्ने चाहना हुन्छ तर त्यो अवसर नै छैन ।  ममा पनि त्यही चाहना थियो । जनसेवा गरौँ भन्ने थियो । अवसर अहिले मिलेको हो । राजनीति जनसेवाका लागि सही बाटो हुनसक्छ भन्ने महसुस गरेर लागेकी हुँ ।
आरोप त ‘रिटायरमेन्ट’लाई उपयोग गर्न खोजेको भन्ने छ !
म फिल्म क्षेत्रबाट रिटायर्ड भएकै छैन । फिल्ममा अफर आएसम्मका फिल्म गरिरहेकै छु । कुनै उद्घाटन कार्यक्रममा समेत पारिश्रमिक नलिई जाँदिनँ । म फिल्म मेकिङमा छु । वर्षमा एउटा फिल्म बनाएँ भने पनि मलाई काम पुग्छ । त्यो गरिरहेकी छु । हरेक दिन व्यस्त छु । कसरी रिटायर्ड भएँ ? म जे मनैदेखि गरौँ लाग्दैन, त्यो गर्दिनँ । जसले जे भने पनि देश र जनताका लागि काम गर्न पाउँदा खुशी छु ।

अहिले तपाईं आबद्ध नयाँ शक्ति नेपालकै खास एजेन्डा छैनन् भने तपाईंका के होलान् ?
देशको अवस्था अहिले अन्योलग्रस्त छ । यस्तै अवस्थाको निकास दिन केही सोच आउँछन् । नयाँ शक्ति पनि यही सोचपछि बनेको हो । जनताले अहिले  यस्तो अव्यवस्था र अन्योलबाट मुक्त हुने बाटो खोजिरहेका छन्  । मलाई पनि यसबाट पार लगाउने वैकल्पिक धार चाहिन्छ जस्तो लागेको थियो । त्यो बाटो नयाँ शक्ति हो  । हाम्रो पार्टी यही कारणले बनेको हो । आर्थिक सम्वृद्धि हाम्रो मुख्य एजेन्डा हो ।

तपाईंलाई को–को नेत्री मन पर्छन् ?
मलाई नेतृत्व तहमा पुगेका हरेक महिला मन पर्छन् । आरक्षण होइन, अधिकार चाहिन्छ भन्ने लाग्छ मलाई । अधिकारको लडाइँ लडेर मात्रै हरेक महिला नेतृत्वमा पुगेका हुन् । एकजना कोही भन्दा पनि सबै नेत्रीलाई म मन पराउँछु  ।

नयाँ शक्तिमा लाग्न संयोजक डा. भट्टराईले नै ‘एप्रोच’ गरेका हुन् ?
यो पार्टी गठनअघि संयोजक डा. भट्टराईले सम्पूर्ण क्षेत्रका प्रतिनिधि बोलाएर छलफल गर्नुभएको थियो । उक्त छलफलमा म पनि सहभागी हुन पाएँ । उहाँले म यसरी अघि बढ्न खोजिरहेको छु, के हुन्छ ? भनेर सबैसँग सल्लाह गर्नुभयो । उहाँले अघि सार्नुभएको सोच र गर्न खोज्नुभएको काम मलाई मन प¥यो । उहाँको सोचसँग मेरो सोच मिल्यो । त्यसैले म पनि नयाँ सोचसहित देशलाई आर्थिक रूपमा सम्वृद्ध बनाउने अभियानमा सहभागी भएकी हुँ । उहाँले मलाई व्यक्तिगत रूपमा भेटेर एप्रोच गर्नुभएको होइन ।

फिल्म क्षेत्रबाट राजनीतिमा आउनुभएको छ । फिल्म क्षेत्र सुधारका लागि पनि केही एजेन्डा छन् तपाईं र तपाईंका पार्टीका ?
म फिल्म क्षेत्रबाटै राजनीतिमा आएकी हुँ । फिल्म क्षेत्रले चाहिने जति हक–अधिकार पाएको छैन । फिल्मकर्मी कम राजनीतिमा आए पनि त्यहाँभित्र भने कोही पनि राजनीतिबाट अछुतो छैन, सबैलाई थाहा भएकै कुरा हो । फिल्म क्षेत्रका लागि कसैले केही गर्दैन । एउटा चलचित्र विकास बोर्ड भन्ने फिल्म क्षेत्रका लागि छ तर केही गर्न सकिरहेकै छैन । त्यहाँ आएको बजेट फिल्मको विकासका लागि खर्च हुँदैन । बक्स अफिस लागू हुन सकेको छैन । चुरोटको बट्टामा अहिले पनि हिसाब बुझ्नुपर्छ हामी निर्माताले । अस्ति भर्खर मैले बनाएको फिल्मको  मामिलामा त्यही भयो । अँध्यारोमा गोली हानेको जस्तो भयो फिल्म निर्माण । यो सुधारका लागि आफू ‘पावर’मा हुनुपर्छ । मेरै साथीभाइ भए पनि म भन्छु, अहिलेसम्म पार्टीका कार्यकर्ता विकास बोर्डमा नियुक्त भए, फिल्मका लागि केही गर्छु भन्नेहरू होइन ।

जीवनमा यत्रो समय नगरेको के काम राजनीतिमा लागेपछि गर्नुप¥यो ?
अहिलेसम्म म एक्लै कहीँ बाहिर हिँडेकी छैन । फिल्म सुटिङमा जाँदा हरबखत एसिस्टेन्ट हुन्थे । तर, अस्ति म एक्लै ड्राइभिङ गरेर राति हेटौँडा पुगेँ । पार्टीको संगठन निर्माणको काम थियो । पहिलाको जस्तो सोच पनि छैन अहिले । किनभने, म देशका लागि काम गरिरहेकी छु भन्ने ठान्छु ।

आगामी निर्वाचनमा सांसद्का लागि उम्मेदवार भएर चुनाव लड्नुहुन्छ ?
पार्टीसँग आबद्ध भएपछि पार्टीले दिएको जिम्मेवारी निर्वाह गर्नु मेरो कर्तव्य हो । पार्टीले अघि बढायो भने म तयार छु ।
ब्यानर बोकेर बाबुरामका पछि बस्नु नयाँ काम भनेर सामाजिक सञ्जालमा तपाईंको मजाक उडाइँदै छ । अहिले नयाँ शक्तिले कुनै नयाँ  जिम्मेवारी दिएको छ ?
मलगायत १० जनालाई पार्टीको संगठन निर्माणको काम लगाइएको छ । यो एक महिना हाम्रो काम पार्टीलाई स्थापित गर्ने र नयाँ सदस्यलाई संगठित गर्ने जिम्मेवारी छ ।

तपाईंलाई प्रचारको हतियार बनाइँदै छ भनेर फिल्म क्षेत्रमै कुरा काटिन्छ नि ?
हाम्रो पार्टीको नीति छ– कसैले गलत नियत राखेर कुरा गर्छ भने त्यसको जवाफ नफर्काउने । त्यसैले यसमा मैले भन्नु केही छैन, समयले आफैँ बताउँछ ।

तपाईंले फ्यान र जनतामा के अन्तर पाउनुभयो ?
एउटै पाउँछु  । धेरैले चिन्नुहुन्छ । मन पराउनुहुन्छ, हाम्रो हिरोइन भन्नुहुन्छ । मैले उहाँका पक्षमा राम्रो राजनीति गरेँ भने हाम्रो नेता पनि भन्नुहोला । पहिले म उहाँहरूका लागि ‘सेलिब्रिटी’ थिएँ । अहिले उहाँहरूको चेलीबेटी भएकी छु ।

Leave A Comment