साइबरमा यौन अपराध

आइतबार, ११ असार २०७४, १२ : २१ अनिल यादव , Kathmandu
साइबरमा यौन अपराध

पछिल्लो समय अपराध गर्नेहरुको नयाँ हतियार बनेको छ– सामाजिक संजाल । अश्लील हर्कतदेखि सेक्स र्याकेट चलाउनेसम्म यहाँ सक्रिय छन् । रकमदेखि रिचार्ज कार्डसम्म ठग्नेहरु बढिरहेका छन् । सम्बन्ध रहुन्जेल जे पनि गर्ने र बिग्रेपछि प्रतिशोध साँध्न पनि यसैलाई प्रयोग गरिँदैछ । अनिल यादवले ‘भर्चुअल’ माध्यमबाट भइरहेका यौन अपराधदेखि ठगी धन्दासम्मको डरलाग्दो चित्र उतारेका छन् ।

०००
‘म वेश्या हो, कसैलाई चाहिएमा यो नम्बरमा सम्पर्क गर्नुहोला’

एउटा अश्लील नामबाट खोलिएको फेसबुक अकाउन्टमा लेखिएको स्टाटस हो यो । स्टाटससँगै त्यहाँ एउटा मोबाइल नम्बर राखिएको थियो ।

नम्बर थियो, जोरपाटी बस्ने लक्ष्मी अधिकारीको (नाम परिवर्तन) । फेसबुकको स्टाटस ललितपुर ग्वार्को बस्ने रौतहटका सागर धितालको आँखामा प¥यो । उनको मन लोभियो । तत्काल लक्ष्मीको नम्बरमा उनले कल गरे र यौनकर्मी ठानेर नानाथरी कुरा गर्न थाले । लक्ष्मीले सोधिन्, ‘तपाईंले यो नम्बर कसरी पाउनु भयो ?’ सागरले यथार्थ बताइदिए ।

सागर मात्र होइन भाइबर र म्यासेन्जरमार्फत निरन्तर कल र यातना खेप्नु परेपछि लक्ष्मी गत माघमा उजुरी लिएर काठमाडौंस्थित महानगरीय प्रहरी अपराध महाशाखा टेकु पुगिन् । उजुरीका आधारमा फागुन १ गते प्रहरीले २१ वर्षीय सागरलाई समात्यो ।
फेक आइडी बनाएर त्यसरी स्टाटस पोस्ट गर्ने मुख्य व्यक्ति पक्राउ परेका थिएनन् । त्यसपछि प्रहरी उनको खोजीमा लाग्यो । महाशाखाको साइबर सेलमा कार्यरत प्रहरी इन्सपेक्टर अस्मिता कपालीले उक्त फेक आइडीमा रिक्वेष्ट पठाइन् । च्याट गर्न थालिन् । मोबाइल नम्बर दिइन् । ती युवकले कल गरे । अस्मिताले अर्की महिला प्रहरीलाई बोल्न लगाइन् । युवकले अश्लील गफ गर्न थाले । फोनमा बोलिरहेकी महिला प्रहरीलाई उनले ‘कलगर्ल’ ठानिरहेका थिए ।  उनको कोठामा आउने इच्छा जाहेर गर्न थाले । त्यो पनि निःशुल्क ।  महिला प्रहरीले उनको त्यो प्रस्तावलाई स्वीकार गरिन् र बोलाइन्, कालिमाटी पेट्रोल पम्पनजिकै । प्रहरीको अनुसन्धान सफल भयो– फागुन २ गते फेक आइडी बनाउने ललितपुर, बागडोलका सुरज बस्नेत पक्राउ परे । उनको फेसबुकको च्याट हिस्ट्रीबाट युवतीको नम्बर पब्लिक गर्ने, साथी–साथीबीच नम्बर आदान–प्रदान गर्ने कार्यमा उनी पहिलेदेखि नै सक्रिय रहेको खुल्यो । उनले चलाउने फेक आइडीमा रहेका अधिकांश साथीहरु पनि फेक नै देखिन्थे । उनीहरुका फेसबुक स्टाटस र तस्बिर अपलोड पनि अश्लील थिए । पक्राउ परेका सागर र सुरज दुवैलाई प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलायो ।

०००

लाखौं नेपाली अहिले इन्टरनेट चलाउँछन् । फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबरजस्ता सामाजिक सञ्जालमा अभ्यस्त छन् । एउटा कुनामा बसेर विश्वलाई नियाल्न यसले सहज बनाएको छ । मान्छे–मान्छेलाई जोड्ने काम गरिरहेको छ । यो त भयो यसलाई सदुपयोग गर्नेहरुको कुरा । सामाजिक सञ्जाललाई दुरुपयोग गरेर यसलाई अपराधको माध्यम बनाउनेहरु पनि बढिरहेका छन् । दिनहुँ आफू ठगिएको, आफ्नो चरित्र हत्या भएको र आफूलाई ‘यौन व्यवसायी’ बनाइएको भन्दै उजुरी लिएर प्रहरीकोमा पुग्ने पीडितको संख्या बढिरहेको छ ।

‘नेपाली कल गर्ल नम्बर्स’ भनेर गुगलमा टाइप गर्नासाथ अनुमान लाउन सकिन्छ– साइबारबाट यौन अपराध कसरी मौलाइरहेको छ । युवतीका पूर्ण जानकारीसहित विभिन्न वेभसाइटमा नम्बरहरु भेटिन्छन् । फेसबुकमा अश्लील, उश्रृंखल र असहज लाग्ने नामबाट थुप्रै आइडी बनेका छन् । त्यहाँ अपलोड भएका तस्बिर र स्टाटसले पनि साइबर अपराधको ट्रेन्डलाई छर्लङ्गै पार्छ । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्य भन्छन्, ‘मान्छेहरुलाई सामाजिक संजालमार्फत ठगी गर्न र अरुको चरित्र हत्या गर्न सजिलो भइरहेको  छ । फेक आइडी बनाएर फलानो यौन व्यवसायीको नम्बर भन्दै अरुलाई बदनाम गराउने समूह यहाँ सक्रिय देखिएको छ ।’

जेठीलाई बदनाम गराउने कान्छी
पछिल्लो समय रिस पोख्ने र प्रतिशोध साँध्ने सजिलो माध्यम सामाजिक सञ्जाल नै भएका छन् । काठमाडौँस्थित मनमैजु बस्दै आएकी आशा श्रेष्ठ (नाम परिवर्तन)लाई आफूमाथि सौता लागेको भनेर कमला (नाम परिवर्तन) सँग ठूलो रिस थियो । त्यो रिस पोख्नलाई उनले कमलालाई ‘यौन व्यवसायी’ नै बनाइदिइन् । फेसबुकमा कमलाको नामबाट आइडी बनाइन् र ‘यो यौन व्यवसायीको नम्बर हो’ भन्दै फोटो र मोबाइल नम्बरसहित स्टाटस हाल्न थालिन् । आफ्नै नामको आइडीबाट आफ्नो बदनाम भइरहेको सुइँको पाएपछि कमला चकित भइन् । उनले आफ्नो श्रीमानको पहिलो श्रीमती आशाले यस्तो गरेको हुनसक्ने आशंका गरिन् र प्रहरीलाई उजुरी गरिन् । अनुसन्धानबाट खुल्यो– आफूमाथि सौता लागेकीलाई बदनाम गराउन आशाले यस्तो गरेकी रहिछन् । उनलाई वैशाख १० गते महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मनमैजुबाट पक्राउ गरेर विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाएको छ ।

महिलाको भेषमा ठगी
फेसबुकको आइडी : महिलाको नामबाट, फोटो महिलाकै । फोनमा कुराकानी गर्दा स्वर पनि महिलाकै । प्रहरी नै झुकिएको एउटा केस हो यो । महिलाको भेषमा पुरुषहरुलाई ठग्दै आएका पाँचथर, फिदिमका २२ वर्षीय हरि अधिकारीलाई प्रहरीले सुरुमा महिला नै ठानेको थियो । जेठ ३० गते जिल्ला प्रहरी कार्यलय पाँचथरको सहयोगमा उनी पक्राउ परेपछि थाहा भयो, उनी त पुरुष रहेछन् । आफ्नो नाममा फेक आइडी खोलिएको थाहा पाएपछि चितवनकी एक महिलाले प्रहरीकहाँ गुनासो गरेकी थिइन् । त्यसको जाँच गर्न खटिएकी महानगरीय प्रहरी अपराध महाशाखा, काठमाडौंकी साइबर क्राइमसम्बन्धी पिलरकी प्रहरी निरिक्षक अस्मिता कपालीले भनिन्, ‘हामीले यहाँबाट कल गर्दा पनि पूरै महिलाको जस्तो स्वर आउँथ्यो । पछि अनुसन्धान गर्दा ती युवकले एउटा पेनड्राइभ भेट्टाएका रहेछन् । त्यही पेनड्राइभमा युवतीका तस्बिर भेटेछन् । तिनै तस्बिर प्रयोग गरी सीमा क्षेत्री नामक फेक आइडी खोलेर ठग्दै आएका रहेछन् ।’

मोडलिङमा आधारित तस्बिर

सम्बन्ध टुटेपछि ‘ब्ल्याकमेल’
कुनै समय सुमधुर रहेको सम्बन्ध नै पछि नमिठो होला भनेर कसले सोचेको हुन्छ र ? तर प्रहरीमा पुग्ने साइबर क्राइमसम्बन्धी अधिकांश उजुरीहरु चरित्र हत्यासँग जोडिएका छन् । ‘रिलेसनसीपमा रहेका बेला उनीहरु धक नमानी आफ्नो फोटो र भिडियो खिचाउँछन्, ब्रेकअप भएपछि त्यही फोटो–भिडियो उनीहरुका लागि अभिशाप बन्छ,’ एसएसपी अमात्य भन्छन्, ‘त्यसपछि सम्बन्ध टुटेको झोँकमा कुनै एकले ब्ल्याकमेल गर्न थाल्छन्, धम्की दिन थाल्छन् । अधिकांश केसहरुमा यस्तो पाइएको छ । त्यसैले सम्बन्ध राम्रो भएकै बेला पनि के गर्दा ठीक, के गर्दा बेठीक भनेर सोच्नुपर्ने देखिन्छ ।’

यस्तै एउटा केसमा गत माघ २९ गते अपराध महाशाखाको टोलीले ललितपुरको धापाखेल बस्दै आएका सप्तरीका बलराम ठाकुरलाई पक्राउ गरेको थियो । सर्लाहीकै १८ वर्षीया सन्ध्या (नाम परिवर्तन)सँग केही महिनाअघिसम्म उनको राम्रो सम्बन्ध थियो । सन्ध्याकै साथीमार्फत बलराम र सन्ध्याको चिनजान भएको थियो । चिनजानपछि बलराम साउदी अरब पुगे । साउदी पुगेपछि उनीहरुबीच मोबाइल सम्पर्क झन् बढ्न थाल्यो । स्काइपबाट नग्न च्याट गर्नेदेखि अश्लील तस्बिर आदानप्रदान गरे । केही समयपछि उनीहरुको सुमधुर सम्बन्धमा ब्रेक लाग्यो । त्यसपछि बलरामले राहुल थापा नामको फेक आइडी बनाएर सन्ध्यालाई भनेको नमाने अश्लील भिडियो र फोटो सार्वजनिक गरिदिने धम्की दिन थाले । ‘हामीले उसलाई विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलायौँ,’ इन्सपेक्टर अस्मिता कपालीले भनिन्, ‘बलरामको भनाइअनुसार उसले युवतीलाई पैसा पठाइदिने, सपिङ गरिदिने गरेको रहेछ । बिहे गरौं भन्दा नमानेपछि अरुसँग नलागोस् भनेर यस्तो गरेको देखियो ।’
इन्स्पेक्टर कपालीका अनुसार श्रीमान् विदेशमा भएका महिलाहरुलाई ‘टार्गेट’ गरेर ब्ल्याकमेल गर्ने गिरोह पनि सामाजिक सञ्जालमा सक्रिय देखिन्छन् । ‘सम्बन्धमा रहेका बेलादेखि नै सजग हुनुपर्छ, विश्वास गरेर फेसबुक आइडी र पासवर्ड सेयर गर्ने, अश्लील फोटो र भिडियो खिच्ने काम गर्दा पछि दुःख पाइन्छ,’ उनी सुझाउँछिन् ।

गिफ्टको लोभ देखाएर ठगी
ठगका लागि सञ्जाल नयाँ हतियार भएको छ । फेसबुकमार्फत विदेशी नामका आइडीबाट तपाईंलाई फ्रेन्ड रिक्वेस्ट आयो भने दंग नपर्नुहोला । अझ तपाईंसँग प्रेमको नाटक गरेर गिफ्ट पठाइदिनेसम्मको आश्वासन दिइयो भने अझ सजग बन्नुहोला । प्रहरीका अनुसार अहिले यसरी नेपालीलाई ठग्ने गिरोह निकै सक्रिय छ ।

गत कार्तिकमा प्यूठान रम्दीकी सरिता (नाम परिवर्तन)लाई ड्यानियल नाम गरेको र आफूलाई अस्ट्रेलियन बताउने आइडीबाट रिक्वेस्ट आयो । सरिताले रिक्वेस्ट स्वीकार मात्र गरिनन्, रमाइला सम्वादसमेत गरिन् । सरिताले ड्यानियललाई पूरा विश्वास गर्थिन् । उनलाई आफ्नो समस्या खुलेर राख्थिन् । कुराकानी हुन थालेको केही दिनपछि ड्यानियलले ‘तिमी बिरामी पनि रहिछौं, तिम्रो लागि सुन र डलर पठाइदिएको छु, इन्डियाबाट फोन आउँछ’ भनेर सुनाए । नभन्दै तीन दिनपछि ९१९२०५२००३४३ नम्बरबाट एउटी महिलाले फोन गरिन् र भनिन्, ‘तपाईंको सामान आएको छ, भन्सारमा रोकिएकाले नेपाल पठाउन पैसा लाग्छ ।’ सरिता दंग परिन् । ड्यानियलले भनेजसरी नै फोन आएपछि पैसा र पार्सल पाउने आशामा उनले कृस्टिना गुरुङ नाम गरेकी युवतीको खातामा पैसा पठाइदिइन् । रकम अपुग भएको भनेपछि तीन पटक गरेर रीता उप्रेती, अनुता घले (गुरुङ) र सपना ढुङ्गानालाई गरेर जम्मा ६ लाख बीस हजार रुपियाँ पठाइन् । अझै आठ लाख ३० हजार रुपैयाँ थप माग गरेपछि चाहिँ सरितालाई शंका लाग्यो । त्यसैले उनले ज–जसको नाममा पैसा पठाइन् सबैको नाममा महानगरीय अपराध महाशाखामा उजुरी गरिन् । प्रहरीले गत फागुनको विभिन्न मितिमा विभिन्न स्थानमा गरेर प्रेमबहादुर कटुवाल, कृस्टिना गुरुङ, रुपा न्यौपाने, देवकी रोइला र सपना ढुङ्गानालाई पक्राउ ग¥यो । फरार रहेकी रीता उप्रेतीको भने खोजी भइरहेको प्रहरीको भनाइ छ । पक्राउ परेका प्रेमप्रसाद कटुवाल काठमाडौं, महाराजगन्जमा रहेको ब्लु स्काई म्यानपावरका सञ्चालक हुन् ।
‘सामाजिक सञ्जालमार्फत यसरी ठगी गर्नेहरुले ड्यानियल, केन जोनसन, भेलेन्टाइन स्मिथ, म्याक स्मिथ लगायत विदेशी व्यक्तिको नाम र प्रोफाइल  राखेर नेपाली महिलाहरुलाई फ्रेन्ड रिक्वेस्ट पठाउँदा रहेछन्,’ अमात्यले अनुसन्धानको निष्कर्ष खुलाउँदै भने, ‘उनीहरु आफुलाई अमेरिका, अस्ट्रेलियाका प्रतिष्ठित कम्पनीको सञ्चालक बताउने, पाउन्ड स्टर्लिङ, ठूलो मात्रामा डलर, एप्पल ल्यापटप, गोल्ड वाच लगायत पार्सल पठाइदिएको भनेर आश्वस्त पार्दा रहेछन् । त्यसको २–३ दिनपछि इन्डियाबाट भन्सारमा कर तिर्न नसकेर पार्सल रोकिएको भनेर खबर गरी पैसा पठाउन लगाउने गर्छन् । कतिपयलाई भारतबाट समेत कारोबार गर्न सकिने एसबीआई बैंकको खाता नम्बर लिई रकम डिपोजिट गर्न लगाउने समेत गर्छन् । महिलाहरुलाई बिहे गर्छुसम्मको आश्वासन दिने रहेछन् । विदेशीसँग बिहे गरेर विदेश जाने सपना देख्नेहरु यस्ता गिरोहको फन्दामा पर्न सक्छन् ।’

रिचार्ज कार्ड ठग्ने समुह
प्रहरीका अनुसार सामाजिक सञ्जालबाट अश्लील गफ र प्रेमको नाटक गरेर रिचार्ज कार्ड माग्ने समूह पनि सक्रिय छ । ‘यसरी रिचार्ज कार्ड धुत्नेहरुको एउटा समूह नै छ,’ इन्सपेक्टर कपाली भन्छिन्, ‘उनीहरुले विभिन्न टेक्निक अपनाएर हजार–दुई हजारसम्मको रिचार्ज कार्ड माग्ने गरेका छन् । प्रयोगकर्ताहरु सचेत हुन जरुरी देखिन्छ ।’

यस्तै समूहमा सक्रिय रहेका सप्तरी, तिलाठी बस्ने विकासकुमार साहलाई गत वर्षको भदौ १६ गते  प्रहरीले पक्राउ गरेको थियो । विकासले दुई जना युवतीको नाममा फेसबुक अकाउन्ट खोलेर उनीहरु रियल अकाउन्टमा रहेका साथीहरुलाई एड गरी रिचार्ज कार्ड माग्ने गरेको रहस्य खुलेको थियो । उनलाई विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाइएको थियो । प्रहरीका अनुसार रिचार्ज कार्ड पठाइदिनेहरुले पनि झूटो अकाउन्टलाई वास्तविक अकाउन्ट नै भन्ने ठान्दारहेछन् ।

सचेतना पुगेन
साइबर अपराधबारे धेरै नेपाली अझै जानकार छैनन् । ह्याकिङ, क्य्राकिङ, पोर्नोग्राफी, चरित्र हत्या, भाइरस, सफ्टवेयरको नक्कल, विद्युतीय ठगी, धम्की, रकम असुली, पासवर्ड चोरी आदि साइबर क्राइमअन्तर्गत पर्छन् भन्ने उनीहरुलाई थाहा छैन । विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत यस्ता प्रकृतिका अपराधलाई हेर्ने गरिन्छ । महानगरिय प्रहरी अपराध महाशाखाका अनुसार पछिल्लो एक वर्षमा एक हजार ९३ वटा साइबर क्राइमसम्बन्धी उजुरी परेका छन् । जसमध्ये सोसल नेटवर्कबाट भएका अपराध मात्र ७ सय ९३ छन् । यो अघिल्ला वर्षका तुलनामा धेरै हो । अघिल्ला दुई आर्थिक वर्षमा सोसल नेटवर्क शीर्षकमा मात्र क्रमशः ९१ र २२१ वटा उजुरी परेका थिए । साइबर क्राइमसम्बन्धी मुद्दा हेर्ने अधिकार अहिलेसम्म काठमाडौं जिल्ला अदालतलाई मात्र दिइएको छ । त्यसैले यो संख्या कति कम हो, सजिलै अनुमान लाउन सकिन्छ ।

नर्वेबाट साइबरसम्बन्धी कानुन नै पढेर नेपालमा यही क्षेत्रमा लागिरहेका अधिवक्ता प्रवीण सुवेदी सचेतनाको अभावले पनि साइबर क्राइम बढिरहेको बताउँछन् । ‘मान्छेहरुलाई के गर्दा साइबर क्राइम हुन्छ र इन्टरनेट सेक्युरिटी भनेको के हो भन्ने कुरा नै थाहा छैन,’ उनी भन्छन्, ‘सचेतनासम्बन्धी राज्यको कुनै ठोस नीति पनि देखिँदैन । बच्चाहरुको पहिलो गुरु नै मोबाइल हुन थालिसकेको यो जमानामा उनीहरुलाई साइबर क्राइमबारे सचेतना नहुनु भनेको लज्जास्पद कुरा हो । सचेतनाको अभावकै कारण पनि कतिपय साइबर क्राइमका घटना अन्जानमै घटिरहेका छन् ।’

‘स्टाटस लेख्दा, कमेन्ट गर्दा पनि सोचौँ’

एसएसपी दिनेश अमात्य,
प्रमुख, महानगरीय प्रहरी अपराध महाशाखा, काठमाडौँ

पछिल्लो समय साइबर क्राइमका घटना बढेका हुन् ?
अहिले सूचना प्रविधिको जमाना हो । यसले मान्छेको जिन्दगीलाई सहज पनि बनाइदिएको छ तर यससँगै दुरुपयोग पनि बढिरहेको छ । मान्छेहरुलाई सामाजिक सञ्जालमार्फत ठगी गर्न सजिलो भइराखेको छ । हामीकहाँ २०७३/७४ सालमा मात्र १ हजार ५३ वटा उजुरी आए । दिनहुँ साइबर अपराधका समस्या लिएर आउनेहरु बढी छन् ।

कस्ता–कस्ता घटना बढी आउने गर्छन् ?
सामाजिक सञ्जालमार्फत ठगिएका, बेइज्जत गरिएका केसहरु बढी आइरहेका छन् । फेक आइडी बनाएर फलानो यौन व्यवसायको नम्बर भन्दै अरुलाई बदनाम गराउने गिरोह पनि सक्रिय छ । फेसबुकमा चरित्र हत्या भएका केसहरु पनि धेरै छन् ।

पीडितको उजुरीलाई कत्तिको चाँडो रेस्पोन्स गर्नुहुन्छ त ?  
हामी तत्काल अनुसन्धान अघि बढाइहाल्छौँ । साइबर क्राइमका केसलाई हामीले गम्भीरतापूर्वक लिइरहेका छौँ ।

प्रविधिको पर्याप्त अभावले काम गर्न त गाह्रो होला ?
हो । फेसबुक, भाइबर, इन्स्ट्रागाम लगायत जति पनि सोसल नेटवर्कबाट हुने अपराधको सूचना लिन हामीलाई गाह्रो छ । तिनीहरुका शाखा नेपालमा छैनन् । सूचना माग्न सिंगापुर पुग्नुपर्छ । त्यसैले गाह्रो छ ।

साइबर क्राइमसम्बन्धी सचेतना पनि पर्याप्त छैन नि, होइन ?
त्यो त हो । सामान्य विषयलाई पनि साइबर क्राइम भन्दै उजुरी ल्याउने पनि छन् । अर्कोतर्फ यसो गर्दा, यसो लेख्दा साइबर क्राइम हुन्छ भन्ने थाहा नभएर अन्जानमै गल्ती गर्नेहरु पनि छन् । त्यसैले साइबर क्राइमसम्बन्धी जानकारी जनस्तरसम्म पुर्याउन आवश्यक छ ।  

इन्टरनेट प्रयोगकर्तालाई तपाईंको सुझाव के छ ?
अहिले फेसबुकमा स्टाटस लेख्दा, लाइक गर्दा, कमेन्ट गर्दा पनि ध्यान पुर्याउनुपर्ने देखिएको छ । जस्तो कुनै एउटा युवतीले ‘आज बाबाममी जानुभयो, घरमा एक्लै अल्छी लागिरहेको छ’ भन्ने आशयको स्टाटस लेख्यो भने त्यसले छिमेकी अर्थात् त्यही फ्ल्याटमा बस्ने अरुलाई अपराध गर्नतर्फ प्रेरित गर्न सक्छ । त्यसैले आफ्ना प्राइभेट जानकारीहरु फेसबुकमा दिनुअघि सोच्नुपर्ने अवस्था आएको छ । तपाईंले घरबाहिर गएको सूचना सामाजिक सञ्जालमार्फत दिनुभयो भने त्यसले चोरलाई चोर्न सजिलो बनाइदिन सक्छ । त्यसैगरी आफ्नो सामाजिक सञ्जालको पासवर्डको सुरक्षा गर्नुस् । अरु या आफ्नै ल्यापट, कम्प्युटर र मोबाइलबाट चलाउँदा लगआउट गर्ने बानी गर्नुस् ।


‘प्रविधिले फड्को मार्यो, कानुन पछि पर्यो’

प्रवीण सुवेदी,अधिवक्ता

साइबर क्राइम भनेपछि प्रविधिको प्रयोगबाट हुने सबैखाले क्राइम हुन् । यहाँ धेरै कुराहरु पर्छन् । हामीकहाँ भने साइबर कानुन नै अहिलेसम्म बनेको छैन । २०६३ सालमा डिजिटल हस्ताक्षरका लागि भनेर बनाइएको विद्युतीय कारोबार ऐनले नै यसलाई समेटिरहेको अवस्था छ । जतिबेला प्रविधिको नेपालमा खासै विकास भएको थिएन, त्यो बेला ल्याइएको कानुनले कसरी आजको प्रविधिको दुरुपयोगलाई सम्बोधन गर्न सक्छ ? प्रविधिले धेरै फड्को मारिसकेको अवस्थामा यो ऐन त प्रविधिभन्दा धेरै पछाडि छ । ऐनको एउटा परिच्छेदमा कम्प्युटरसम्बन्धी कसुर भनेर लेखिएका केही लाइनले मात्र अब पुग्दैन । कानुनलाई परिमार्जन गरेर छुट्टै साइबरसम्बन्धी कानुन बनाउन एकदमै आवश्यक छ ।  

२०७२ सालअघिसम्म फेसबुक इनबक्सबाट गरिएका गाली, धम्की र अश्लील गतिविधिमा पनि कानुन लाग्दैनथ्यो तर ऐनले अपराध मान्दा नमान्दै पनि कतिपयले त्यतिबेला सजाय पाएका थिए । २०७२ सालपछि महिलाहरुलाई ‘हैरानी दिएको’ भनेर इनबक्समा म्यासेज गरेको आधारमा कानुन त लाग्न थालेको छ तर पुरुषको हकमा त्यो लागू भएको छैन । पुरुष पनि महिलाबाट पीडित भइरहेका छन्, हैरान खेपिरहेका छन्, ब्ल्याकमेलमा परिरहेका छन् ।

हामीकहाँ वेबसाइट ह्याकिङ गर्ने, अर्काको इमेल ह्याक गरी डाटा चोरी गर्ने लगायतका गतिविधि बढिरहेका छन् । फेसबुक र वेबसाइटका माध्यमबाट ‘यस्तो व्यवस्था गरिदिन्छौं, उस्तो व्यवस्था गरिदिन्छौं’ भन्दै यौन अपराध पनि बढिरहेको देखिन्छ । फेक आइडी बनाएर अरुलाई बदनाम गराउन खोज्नेहरु पनि त्यत्तिकै छन् । सेक्स र्याकेट चलाउने समूह नै छ । सामाजिक सञ्जालको माध्यमबाट विभिन्न बहानामा ठगी गर्नेहरु पनि धेरै छन् । हामी यसलाई हाम्रो भाषामा ‘इन्टरनेट एक्सटर्सन’ भन्छौं । तर हाम्रो कानुनले यसलाई ठगीअन्तर्गत मुद्दा चलाउँछ ।  

साइबर क्राइमलाई सम्बोधन गर्न नेपाल प्रहरीले दुई वर्षअघि डिजिटल फरेन्सिक ल्याब प्रयोग गर्न थालेको छ तर यसले पनि सबै कुरा पत्ता लगाउन सक्दैन । कसैले फेसबुक अकाउन्ट खोल्यो र आपराधिक गतिविधि ग¥यो भने त्यो अकाउन्ट कहाँबाट चलाइरहेको छ, कसरी चलाइएको छ पत्ता लगाउन  सकिँदैन । शंका लागेको आधारमा अनुसन्धान हुन्छ । यसले प्रहरीलाई पनि अनुसन्धानमा गाह्रो बनाइरहेको छ । फेसबुकलाई केही सूचना माग्नुप¥यो भने उसले अदालतको अर्डर माग्छ । अदालतले आदेश दिने कुनै आधार नै हुँदैन । अनि त्यसपछि त्यो मुद्दा त्यत्तिकै सेलाउँछ ।  

अहिलेसम्म साइबर क्राइमसम्बन्धी मुद्दा हेर्ने अधिकार काठमाडौँ जिल्ला अदालतलाई मात्र छ । त्यसैले मोफसलका साइबर क्राइमसम्बन्धी मुद्दालाई अरु मुद्दामा परिणत गर्दै त्यतै समाधान गरिने गरिएको छ । स्रोत, साधन र अन्य विभिन्नको कुराको अभावले त्यो मुद्दा काठमाडौंसम्म आउन सकेको छैन ।

मैले सात महिनाअघि गरेको एउटा अनुसन्धानमा थोरै प्रतिशत मान्छेले मात्र अदालतबाट क्षतिपूर्ति पाएको देखिएको थियो । जम्मा १७ प्रतिशितले मात्र क्षतिपूर्ति पाएका थिए । जबकि ऐनमा पीडकबाट पीडितलाई क्षतिपूर्ति भरिपाउने स्पष्ट प्रावधान छ ।

सामाजिक सञ्जाल अर्थात ग्याजेट्सहरुलाई कसरी चलाउने ? भन्ने विषयमा सचेत नहुँदा समस्या भइरहेको छ । जस्तो स्कुल पढ्दै गरेका केटाकेटीहरु लभमा पर्छन् अनि एक–अर्कामा फेसबुक पासवर्ड सेयर गर्छन् । अनि पछि त्यो सम्बन्ध ब्रेकअप हुन्छ । त्यतिबेला उनीहरु आफ्नो पासवर्ड चेन्ज गर्दैनन् । अनि इगोका कारण एउटाले जे पायो त्यही लेखिदिन्छ, सेयर गरिदिन्छ । यस्ता समस्या एकदमै धेरै छन् । यसो गर्नु अपराध हो भनेर बुझाउन आवश्यक छ ।

हामीकहाँ विद्युतीय कारोबार ऐनअन्तर्गत दण्ड सजाय पनि कम छ । कुनै केसमा दुई वर्ष र कुनैमा पाँच वर्ष छ । धेरैजसो केसहरुमा प्रहरीको अनुसन्धान म्याद सकिएपछि धरौटीमा छुट्ने ‘ट्रेन्ड’ बढी छ । जसका कारण मान्छेमा गल्ती गर्दा पनि डर कम भयो । त्यसैले दण्डसजाय पनि परिस्कृत गर्नुपर्ने अवस्था देखिन्छ ।


(सुवेदीले नर्वेको युनिभर्सिटीबाट ‘साइबर कानुन’ विषयमा मास्टर्स गरेका छन् । हाल उनी काठमाडौं स्कुल अफ लमा कानुन विषय पढाइरहेका छन् ।)

Leave A Comment