शिक्षामा २८ अर्ब ऋण लगानी

आइतबार, ११ असार २०७४, १२ : ३२ शुक्रवार , Kathmandu
शिक्षामा २८ अर्ब ऋण लगानी

विष्णु बेल्वासे

बैंक तथा वित्तीय संस्थाले प्रत्येक वर्ष शिक्षामा लगानी बढाउँदै लगेका छन् । सरकारले उपत्यकाभित्र कजेल स्थापना गर्न कम्तिमा ५ रोपनी जग्गा हुनुपर्ने व्यवस्था गरेपछि बर्सेनि लगानी बढिरहेको हो ।
शिक्षण संस्थाहरूले भौतिक पूर्वाधार विकास र जग्गाका लागि बैंकहरूबाट ठूलो परिणाममा ऋण लिने गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकका अनुसार २ वर्षअघि विद्यालय तथा कलेजहरूले २५ अर्बभन्दा बढी ऋण लिएका थिए । अघिल्लो वर्ष सोही क्षेत्रमा २७ अर्ब बढीको लगानी भएको देखिएको छ ।
यस वर्ष असार मसान्तसम्म शैक्षिक क्षेत्रमा बैंकहरूले २९ अर्ब लगानी गर्ने प्रक्षेपण गरिएको छ ।
सरकारले ल्याएको नयाँ नीतिका कारण कलेज स्थापनाका लागि जग्गा खरिद गर्ने क्रम बढेकाले लगानी पनि बढेको प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन बताउँछन् । उनको भनाइ छ, ‘जग्गा खरिद गर्न र भौतिक संरचना निर्माणमा कलेजहरुले बैंकबाट ऋण लिन थालेकाले शिक्षा क्षेत्रमा लगानी बढ्दै गएको हो । २८ वटा वाणिज्य बैंकले करिब २८ अर्बभन्दा बढी लगानी गरेका छन् ।’
उनका अनुसार तीन अर्बको हाराहारीमा त प्रभु बैंक एक्लैले लगानी गरेको छ । गण्डकी मेडिकल कलेज, ग्लोबल कजेल लगायतले ठूलो परिणाममा बैंकबाट कर्जा लिएर भौतिक संरचना निर्माण गरिरहेको उनले खुलाए ।
शिक्षा क्षेत्र उद्योगका रुपमा विकास भएकाले शिक्षामा लगानी बढेको बैंकरहरूको भनाइ छ । लगानीसँगै राम्रो प्रतिफलको आशामा शैक्षिक संस्थाका सञ्चालकहरुले बढी ऋण माग गर्न थालेका हुन् । संस्थागत रुपमा शैक्षिक क्षेत्रमा बढी ऋण माग हुने र सोहीअनुसारको ऋण प्रवाह हुँदै आएको बैंकरहरूको भनाइ छ ।  भौतिक पूर्वाधार बनाउनेबारे राष्ट्र बैंकको कुनै निर्देशन नभए पनि ऋण लिने शैक्षिक संस्थाहरु निकै भएको बैंकरहरू बताउँछन् ।
बैंकहरुले उच्च शिक्षा हासिल गर्न विदेश जाने विद्यार्थीलाई पनि ऋण प्रवाह गर्न थालेका छन् । पछिल्लो समयमा विदेश जाने विद्यार्थीको संख्या उल्लेखनीय रुपमा वृद्धि भएको शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखाको भनाइ छ । उच्च शिक्षा आर्जनका लागि बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर विदेश जाने गरेका छन् । विदेशमा जाने मात्रै नभएर नेपालमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीले पनि कर्जा लिने क्रम बढेको छ ।

Leave A Comment