हाइवेमा देहव्यापार

आइतबार, १८ असार २०७४, १२ : १९ शुक्रवार , Kathmandu
हाइवेमा देहव्यापार

तस्बिर : कुवेर डंगोल / मोडल: सरला थापा (मोडलिङमा आधारित तस्बिर)

 

पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्मका हाइवेमा निर्वाध चलिरहेको छ– देहव्यापार । यसमा प्रहरी, होटल व्यवसायी र यौनकर्मीको त्रिकोणात्मक सौदावाजी देखिन्छ । प्रहरीले कहिलेकाँही छापा पनि मार्छ तैपनि यो व्यापार रोकिएको छैन्, झनझन फैलिइरहेको छ । यो व्यवसायमा सबैभन्दा पिडितचाँही यौनकर्मी भइरहेका छन् । झापाबाट राजु अधिकारी, इटहरीबाट अमर खड्का, लहानबाट मिथिलेस यादव, बुटवलबाट शेरबहादुर केसी, कोहलपुरबाट टेकेन्द्र बस्याल र अत्तरियाबाट दिलेन्द्र छन्त्यालले हाइवेमा भइरहेका खुलेआम यौन धन्दाका विभिन्न पाटालाई नजिकबाट नियाल्न खोजेका छन्

थोरै लगानी धेरै आम्दानी

–राजु अधिकारी, झापा

‘हामी तीन जना छौं, म उनीहरुलाई पनि लिएर आउँछु’, यसो भनेर उनी उम्किनु अघि उनी झण्डै फन्दामा परेका थिए ।

कुरा गएको चैतको हो ।  काठमाडौंबाट भारतको दार्जिलिङ–सिक्किम घुम्न भनेर निस्किएका प्रहरी अधिकारी उनी बिर्तामोडस्थित बसपार्कको  एक होटलमा बास खोज्दै पुगे । कोठा हेरे, चित्तबुझ्दै अवस्थाको देखेर मूल्य पनि सोधे । मूल्यबारे जानकारी दिँदा होटल सञ्चालकले जे भने, साथीसहित गएका उनी रन्थनिए ।

‘बास मात्रै बस्ने हो कि, साथ पनि चाहिने हो ?’ होटलवालाको कुरा नबुझेजस्तै गरेर उनले दोहो¥याउन लगाए । साहुजीले उही प्रश्न तेस्र्याए । ‘पाइन्छ ?’ उनले कुरा खोतल्ने विचार गरे । ‘पहिले बसेर त हेर्नुस्, जस्तो भन्यो त्यस्तै पाइन्छ,’ साहुजी आत्मविश्वासपूर्वक बोले । बास बस्न पुगेका ती प्रहरी अधिकारी थप कुरा गर्ने ‘मुड’ मा थिएनन् । ‘बिदामा घुम्न गएका बेला के तनाव लिनु भनेर अन्तै लागेँ म’, हाल राजधानीमै कार्यरत उनले सुनाए, ‘पहिले सुनेको मात्रै थिएँ, त्यसदिन झण्डै मलाई नै ग्राहक बनाए होटलवालाले ।’ उनका अनुसार होटल सञ्चालकले उनलाई राम्ररी गफै नगरी सिधै ‘साथ’ को प्रस्ताव गरेका थिए । ‘नेपाली र भारतीय युवतीहरु पाइन्छ भनेर लोभ्याउन खोजेका थिए,’ उनले भने ।
विशाल विश्वास भारत पश्चिम बंगालको सीमावर्ती बजार पानीट्यांकीको एउटा मोटरसाइकल ग्यारेजमा काम गर्छन् । हप्ताभरि काम गरेर बुधबार एक दिन हुने बिदाको सुदपयोग उनी सीमावर्ती नेपाली बजारका होटलहरुमा रमाइलो गरेर गर्छन् ।
किन नेपालका होटलमा के पाइन्छ त्यस्तो ?
प्रश्न सुनेर केहीबेर अन्कनाएका २३ वर्षे उनले घुमाउरो उत्तर मात्रै दिए । रक्सी खाने र साथीहरुसँग रमाइलो गर्ने भनेर तर्किएका उनलाई शुक्रबारकर्मीले आफ्नो पनि होटल रहेको बताएपछि बिस्तारै खुल्दै गए र सोधे, ‘केटीहरु पनि राख्नुहुन्छ ?’

उत्तर सकारात्मक पाएपछि उत्साही देखिएका उनले ‘रेट’ सोधे । ‘अरुतिर भन्दा सस्तै छ ।’ अन्यत्र पाँच सयदेखि हजार रुपैयाँसम्ममा ‘काम चलाउने’ गरेको उनको भनाइ थियो । फुर्सद नमिलेर एक महिनायता नेपाल जान नपाएको बताइरहेका उनले जे जस्ता कुरा सुनाए, त्यसले  उनी पनि नेपाली यौन बजारका पुरानै ग्राहक भएको पुष्टि भयो । ‘नेपालमा यताभन्दा सजिलै पाइन्छ,’ तीन दिनअघि पानीट्यांकीमा बाइक सर्भिसिङ गर्दै गफिँदै उनले सुनाए, ‘पहिला दमकसम्म जान्थ्यौं अचेल चाहिँ बिर्तामोड र काँकडभिट्टासम्म जान्छौं ।’ उनका अनुसार ग्यारेजमा काम गर्ने उनका धेरै साथीहरु यौन प्यास मेटाउन नेपाली बजार नै सम्झिन्छन् ।

सिलिगुढी घर भएका उनी सात वर्षदेखि पानीट्यांकीको ग्यारेजमा काम गरिरहेका छन् । यसबीचमा उनी कतिपल्ट नेपाली बजार पुगेर यौन तिर्सना मेटे, त्यसको हिसाब छैन । ‘साथीहरु पहिल्यैदेखि जाँदा रहेछन्,’ उनले भने ‘मलाई पनि उनीहरुले नै लगेका हुन् ।’
धेरैवटा सहर भएको झापाका होटलहरुबाट प्रहरीले दिनहुँजसो ‘आपत्तिजनक अवस्था’ मा जोडीहरु समातेको खबर बाक्लै रुपमा आइरहँदा होटल व्यवसायीहरु ‘प्रहरीले काम देखाउन गरेको स्टन्ट’ भन्ने आरोप लगाउँछन् । मानौं, प्रहरीले त्यस्तो भेटेकै होइन तर माथिका यी दुई घटनाले पनि प्रस्ट पार्छन्, झापाका धेरै होटलमा देह कारोबार निर्बाध हुन्छ । जसका ग्राहक भारतीय मजदुरदेखि स्वदेशकै धेरै पेसाव्यावसायीहरु छन् । झापामा दैनिक सरदर कम्तीमा पाँच जना देहव्यापारकै अभियोगमा पक्राउ परिरहेका हुन्छन् । सबैभन्दा धेरै पक्राउ पर्ने दर बिर्तामोडमा छ ।

‘धेरै वटा होटलको व्यापार भनेकै देह कारोबार हो,’ झापाका एक जना प्रहरी अधिकृतले भने, ‘हामीले सकेसम्म नियन्त्रणको प्रयास गरेका हौं तर, हाम्रै जनशक्ति पनि मिलेका कारण सबैतिर नियन्त्रण सम्भव छैन ।’ उनका अनुसार लामो समयदेखि जिल्लामा कार्यरत कतिपय प्रहरी, सादा पोशाकमा खटिएर जिल्लाका सहरको वस्तुस्थिति बुझेका धेरै प्रहरीलाई होटलवालाहरुले ‘सेटिङ’ मा मिलाएका हुन्छन् । जसका कारण भनेजस्तो ‘अपरेशन’ सफल हुन सक्दैन । ‘एकपटक सबै टोली चेञ्ज गर्ने हो भने चाहिँ यसलाई नियन्त्रण गर्न सकिन्छ,’ उनको ठहर छ, ‘दमक, बिर्तामोड र काँकडभिट्टामा यौन व्यापारको रुप उच्च छ ।’

होटल व्यवसायीका अनुसार थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने माध्यम नै यौन व्यापार हो । सेटिङ मिलाएर गर्न सके मालामाल हुन सकिने अनुभव उनीहरुको छ । ‘कोठा भाडामा लिएर बस्यो, तीन–चार जना युवतीलाई सम्पर्कमा राख्यो भने झापामा ग्राहकको कमी हुँदैन,’ वर्ष दिन अघिसम्म बिर्तामोडमा होटल चलाएका ध्रुव अधिकारीले भने, ‘सामान्य रक्सी राखे पनि व्यापार चल्छ ।’ होटल व्यवसाय छाडेर अहिले किराना
व्यवसायमा हात हालेका उनले भने, ‘तर, सधैँको तनाव हुने भएर छाडियो ।’ उनका अनुसार लजको सुविधा भएका र नभएका होटलहरुले कोठालाई घण्टे भाडामा लगाउँछन् । कसैले आफैँ साथी लिएर आउँछन्, कसैलाई होटलले उपलब्ध गराइदिनुपर्छ । अझ पछिल्लो समयमा भारतीय बिहार राज्यमा मदिरा कारोबारमा कडाइपछि त्यताका मदिराप्रेमीको बाक्लो जमघटले नेपालमा यौन कारोबार झनै चुलिएको छ ।

तीन वर्षसम्म होटल चलाएर, यौन तिर्सना मेट्ने ग्राहकको इच्छासमेत पूरा गराएका ध्रुवका अनुसार होटल लाइनमा एउटा यस्तो सञ्जाल बनिसकेको छ, जसले चाहेको बेला देह कारोबारी युवतीको आपूर्ति गर्न सघाउँछ । ‘नयाँ होटल खुलेको थाहा पाएपछि आफैँ गएर सम्पर्क नम्बर दिनेहरु पनि छन्,’ उनले भने, ‘उनीहरुमार्फत नै थप युवतीको आयात हुन्छ ।’ यौन कारोबारमा लागेका युवतीहरु कहिल्यै आफ्नो वास्तविक ठाउँ–ठेगाना र नाम भन्दैनन् । ‘एकपटक मेरै होटलबाट दुई जोडी समातिए, प्रहरीले पक्रेर लगेपछि छुटाउने बेलामा थाहा भयो, एउटी बहिनी हेटौंडातिरकी रहिछन्’, उनले सम्झे, ‘सुरुमा मलाई उनको आफ्नो घर इलाम भएको बताएकी थिइन् ।’

यस्ता कारोबारमा लागेका युवतीहरु होटल मालिकको व्यापार धान्ने माध्यम हुन् । होटलमा आइपुग्ने ग्राहकसँग लुटपुटिने, उनीहरुसँगै मदिरापान गरेर खर्च बढाइदिने काम उनीहरुको पहिलो सूचीमा पर्छ । मदिरा नरुचाउनेहरुले महँगा दरका जुसहरु खाइदिएर पनि ग्राहकको खर्चको पारो उच्च पारिदिन्छन् । सँगै बसेर मोहपासमा पार्दै लगेपछि देहसुखमा रमाउन लैजाने उनीहरुको ‘टास्क’ हुन्छ । ‘देह कारोबारबाट आउने रकम उनीहरुको आधा, होटलवालाको आधा हुन्छ,’ ध्रुवको भनाइ छ । कतिपय टिप्स पनि पाइने, खान र रमाइलो गर्न पनि पाइने भएकाले अधिकांश युवती यही सुविधामा देह बिक्री गर्न राजी हुन्छन् ।

बाहिरबाट झिकाइन्छ यौनकर्मी

–अमर खड्का
चार महिनाअघि खोटाङबाट जागिरको खोजीमा एक युवती इटहरी झरिन् । सहरमा प्रशस्तै अवसर हुने सोचले ती युवती इटहरी झरेकी थिइन् । जागिर खोज्ने क्रममा ठूल्ठूला व्यापारिक प्रतिष्ठानदेखि लिएर थुप्रै होलसेल पसलमा पुगेर अनुनय गरिन् तर पाइनन् ।
जागिरकै खोजीमा भौतारिएको बेला ती युवतीको इटहरी वडा नं. ५ की रुद्रमाया खड्कासँग भेट हुन पुग्यो । खड्काले ती युवतीलाई उदयपुर त्रियुगा वडा नं. १३ को रिभर साइड होटलमा म्यानेजर पदमा जागिर लगाइदिने आश्वासन दिइन् । रुद्रमायाले होटल सञ्चालक सुनसरी इनरुवा घर भएका केदारप्रसाद पोखरेललाई बोलाएर जिम्मा दिइन् । होटलमा पुगेपछि भने ती युवतीले मालिकले जे भन्छन् त्यही काम गर्नुप¥यो । उनले मालिकले त्यस्तो कुदृष्टि राखेर काम लगाउँछन् भनेर कहिल्यै सोचेकी थिइनन् । ती युवतीलाई होटल सञ्चालकले जबरजस्ती यौनधन्दा गर्न लगाए । उनलाई डर, त्रास, धाकधम्की दिएर यौनधन्दा गर्न लगाए पनि त्यहाँबाट छाडेर हिँडिन् । उनलाई त्यस्तो गलत काम गर्न लगाउने मालिकविरुद्ध उजुरी दिइन् । उजुरीका आधारमा होटल मालिक पोखरेल र रुद्रमाया खड्कालाई पक्राउ गरी मुद्दा चलाएको छ ।
पूर्वको इटहरीसँगै आसपासका सहरमा खुलेका बग्रेल्ती क्याबिन–रेस्टुराँसँगै केही होटलहरुमा युवती राखेर अवैध यौनधन्दा गराउने गरिएको पाइन्छ । इटहरीमा प्रहरीले निरन्तर कडाई गरेसँगै व्यक्तिगत सम्पर्कका आधारमा यौनधन्दामा संलग्न महिला पनि बग्रेल्ती छन् । व्यक्तिगत सम्पर्कका आधारमा यौनधन्दा गराउनेको इन्डियन ग्राहक बढी हुने गरेका छन् ।
इटहरी प्रहरी कार्यालयको एक वर्षयताको तथ्याङ्कले पनि यौनधन्दाको विकृति बढेको ठहर हुन्छ । यहाँ यौनधन्दामा संलग्न भएको आरोपमा प्रहरीले २०७३ साउनदेखि २०७४ जेठ मसान्तसम्ममा ९४ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । पक्राउ पर्नेमा ५४ जना युवती र महिला छन् । बाँकी पुरुष छन् ।
इटहरीमा यौनधन्दाको विकृति डरलाग्दो गरी बढेपछि चार वर्षअघिदेखि प्रहरीले क्याबिन–रेस्टुराँसँगै होटलहरुमा कडाई गर्दै आएको छ । प्रहरी–प्रशासनले पूरै कडाई गरे पनि अनेक उपाय लगाएर यौनधन्दा गर्ने गरेको पाइएको छ । यौन व्यवसायीलाई श्रीमती बनाएको बहाना गर्ने र यौनधन्दा चलाउने आइडिया लगाउने पनि देखिएका छन् ।
(मोडलिङमा आधारित तस्बिर)

भारत दार्जिलिङका युवतीको समूह र यौनधन्दामै संलग्न महिलाले चिनेजानेका किशोरी तथा महिलालाई केही निश्चित दिनका लागि झिकाएर धन्दामा लगाएको प्रहरीकै अनुसन्धानबाट खुलेको थियो । दार्जिलिङबाट होटल सञ्चालकले दुई–तीन जनाको समूह मौका मिलाएर युवतीलाई झिकाउने अनि केही दिन राखेर पठाउने गर्थे । तेस्रो उपाय अपनाउने क्रममा इहटरी प्रहरीले व्यक्तिगत सम्पर्कको आधारमा गोप्य रुपमा कोठामा बोलाएर यौनधन्दा सञ्चालन गर्नेसमेत देखिएका छन् । पछिल्लो समय इन्डियन ग्राहकलाई बढी प्राथमिकतामा राखेर यौनधन्दा सञ्चालन गर्ने गरेको खुलेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीको तथ्याङ्कअनुसार यौनधन्दामा संलग्न पुरुषमा प्रायः विवाहित नै हुने गरेका छन् । विवाहित पुरुष प्रविधिको विकाससँगै अनेकखाले भिडियो हेर्ने र त्यही आधारमा यौनसम्पर्क राख्न युवतीलाई अनेक प्रलोभन देखाउने गरेको पाइएको छ । यौनधन्दामा संलग्न युवती भने सबै किसिमका हुने गरेका छन् । यौनधन्दामा स्टाफ नर्स, लाहुरेका श्रीमती, कलेजमा पढ्दै गरेका विद्यार्थी र अति विपन्न परिवारका हुने गरेका छन् ।
प्यास मेट्न सीमापारिबाट

–मिथिलेश यादव
भारतको विहार राज्यमा मदिरापान तथा बिक्री वितरणमा कडाइ गरिएपछि पारिका ग्राहक वारिका सहरहरुमा बाक्लै भेटिन्छन् । पारिका ग्राहकको उपस्थिति वारिका सहरको होटलहरुमा बाक्लिएसँगै यहाँका होटलहरुमा अर्को धन्दा पनि मौलाएको छ– यौनधन्दा । उनीहरुकै कारण सिरहाको लहानका आधाभन्दा बढी होटलमा पछिल्लो समय यौनधन्दा मौलाएको छ ।
    यहाँका होटललजमा यौनधन्दा मौलाएको गुनासो बढेपछि लहान प्रहरीले मंगलबार दिउँसो यहाँको तीन वटा होटल लजमा खानतलासी गर्दा पाँच जोडी फेला पा¥यो । भेटिएका जोडीमध्ये एक जोडी गोलबजारको, अर्को सुखीपुर र उदयपुर गाईघाटबाट यहाँ आएको प्रहरीलाई दिएको बयानबाट खुलेको छ । यहाँको पाराडाइज होटल, गीताञ्जली लज र सगरमाथा लजबाट पाँच जोडी फेलापरेका हुन् ।
    प्याराडाइज होटल यौनधन्दाका कारण पटक–पटक प्रहरीको निशानामा पर्दैआएको छ । दुई वर्षअघि यस होटलको सञ्चालिकालाई पक्राउ गरी प्रहरीले मुद्दासमेत चलाएको थियो । त्यसपछि पनि पटक–पटक प्रहरीले यहाँ यौनधन्दामा संलग्न जोडीहरु पक्राउ गर्दै छाड्दै आएको छ ।
लहानकै भगवती लजबाट यसै साता प्रहरीले तीन जना महिलालाई नियन्त्रणमा लिएको थियो । लहान–३ स्थित युनिक रेस्टुरेन्ट एन्ड लज केही साता अघिसम्म पारिका ग्राहकको मुख्य केन्द्र थियो । पारिबाट आएका ग्राहक यस रेस्टुरेन्टमा मदिरापानपछि पछाडिको कोठा (लज)मा बास बस्थे ।  रेस्टुरेन्टमा भारतीय ग्राहक आकर्षित हुनुको मुख्य कारण आधा दर्जन संख्यामा कामदार युवती थिए । यस रेस्टुरेन्टमा आएपछि मदिरा र युवती दुवै उपलब्ध हुने भएपछि केही समय अगाडिसम्म भारतीय नम्बर प्लेटका सवारीसाधनको लर्को लाग्थ्यो ।
    यौनधन्दा खुलेआम हुन थालेपछि नजिकका बासिन्दाले प्रहरीसमक्ष गुनासो गरे । पारिका ग्राहकसँग चर्को मूल्य असुल्ने यस रेस्टुरेन्टमा प्रायः झैँझगडा भैरहन्थ्यो । एक छिमेकीले सुनाए, ‘सिरहाबाट सशस्त्रका घुमुवा पारिका मानिस लिएर अधिकतर समय यहीँ बिताउँथे ।’ सुरक्षाकर्मी नै संरक्षक भएपछि जे गर्दा पनि छम्य हुने उनले सुनाए ।
    रेस्टुरेन्टका सञ्चालकले भारतीय ग्राहकसँग युवती पठाएर मूल्यमा लफडा परेपछि प्रहरीले रेस्टुरेन्ट सञ्चालक र युवतीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर पहिलो पटकका लागि भन्दै चेतावनीमा छाड्यो ।
    भारतका सीमावर्ती राज्यमा मदिरापान तथा बिक्री वितरणमा प्रतिबन्ध लगाएपछि त्यहाँका मदिराप्रेमी नेपाली बजार धाउन थालेका छन् भने सीमावर्ती सहरमा यौनधन्दा मौलाउन थालेको छ । भारतीय पर्यटक मदिरापानसँगै यौनआनन्द लिन वारिका सहर लहान, गाईघाट, ढल्केबरसम्म पुग्ने गरेका छन् । लहानको अस्पताल चोकमा रहेका लजहरु र भित्री बजारका होटल यौनधन्दाको केन्द्र बनेको स्थानीय बताउँछन् ।
    लहानमा दुई वर्षअघि प्रहरी सक्रियताले यस्ता क्रियाकलाप घटेको थियो । भारतीय ग्राहकको आगमन बढेसँगै फेरि यौनधन्दा बढ्न थालेको छ ।
कतिपय लजले सहरमै डेरा गरी बसेका युवतीलाई ग्राहक आएको बेला मगाउने गर्छन् । कतिपय होटल बाहिरबाट ग्राहकको मागअनुसार मगाइदिन्छन् । मागअनुसार यहाँका लज र होटेलले ग्राहकलाई इटहरी, धरान, झापाबाट समेत युवती ल्याइदिने गरेका छन् ।
    होटल तथा मदिरा व्यवसाय संघका अध्यक्ष उमेश साह पछिल्लो समय भारतीय ग्राहक युवतीसँग आउने गरे पनि उनीहरुले परिवारका रुपमा चिनाउने गर्छन् । ‘परिवार भनेपछि लज सञ्चालकले धेरै रेकी गर्दैनन् । यौनधन्दा गर्ने मान्छे भन्ने थाहा पाए प्रहरीलाई खबर गर्न हामीले प्रत्येक लज सञ्चालकलाई निर्देश गरेका छौँ,’ उनले बताए ।
भारतीय ग्राहकका लागि भनेर पहिला नै होटल लज सञ्चालकले मोबाइलमा युवतीको फोटो पठाएर छान्न लगाउँछन् । लज सञ्चालकले देखाएको फोटो छानीछानी युवतीहरु लिएर होटलतिर जाने गरेको स्रोत बताउँछ । प्रहरीका अनुसार पछिल्लो समयमा यौनधन्दा मौलाउन थालेपछि निगरानी बढाइएको छ । इलाका प्रहरी कार्यालय लहानका डिएसपी हिराबहादुर पाण्डे भन्छन्, ‘पहिला यौनधन्दामा संलग्न रहेका र लजहरुमा निगरानी गरिरहेका छौँ । भारतीय ग्राहक आउन थालेपछि यौनधन्दा गर्नेहरु बढी सक्रिय बनेका छन् । यसलाई नियन्त्रण गर्न सबैको सहयोग आवश्यक छ ।’
ठाउँ बदल्दै धन्दा चलाउँदै

–शेरबहादुर केसी, बुटवल
घटना १ : पाल्पा मस्यामकी १६ वर्षीया मनीषा (नाम परिवर्तन) उच्च शिक्षा अध्ययन गरी बैंकको जागीरे हुने सपना बोकेर बुटवल झरिन् । निम्न वर्गीय परिवारकी उनका लागि सहरको महँगो दैनिकी र कलेजको शुल्क क्षमताभित्र पर्न सक्ने विषय थिएन । बुटवलको एउटा नाम चलेको प्लस टुमा पढ्दै गरेकी उनी साथीसंगीको संगतले छिटो पैसा कमाउने बाटोमा लागिन् । उनका लागि संगतले छिटो पैसा कमाएर आर्थिक गर्जो टार्ने माध्यम बन्यो, यौन व्यवसाय । ग्राहकसँग रहेका बेला बैंकको जागीरे हुने सपना बुनेकी मनिषा अन्ततः प्रहरीको फन्दामा परिन् ।
घटना—२ : व्यवस्थापन संकायमा कक्षा १२ मा पढ्दै गरेकी कपिलवस्तुकी बबिता क्षेत्री (नाम परिर्वतन) रुपन्देही मोतीपुरका एक युवाको चक्करमा परिन् । ज्ञवाली थरका ती युवाको परिवारले अन्तरजातीय विवाह गरेको भन्दै घरमा पस्न नदिएपछि उनले पनि कसम तोडे । अघि बढ्ने कुनै आधार नभएपछि बाँच्नकै लागि यौन व्यवसायमा लागेकी बबिता  मनीषासँगै प्रहरी हिरासतमा पुग्ने अर्की युवती हुन् ।
घटना— ३ः राम्रो जीउडाल र बाटुलो  अनुहार भएकी गुल्मीकी सीमा  (नाम  परिर्वतन) को दस वर्षअघि विवाह भयो । बिहे  गरेको एक वर्षमै श्रीमान् कोरियातर्फ लागे । तीन वर्षपछि फर्केका श्रीमान्—श्रीमतीबीच बच्चा जन्माउने सल्लाह भयो । एक वर्षसम्म सीमाको पेटमा गर्भ रहन सकेन । डाक्टर कहाँ चेकजाँच गराउन बुटवल र काठमाडौँ धाए । सबै रिपोर्ट हेरेपछि डाक्टरले भने— पाठेघरमा जटिल खालको समस्या छ, अप्रेसन गर्नुपर्छ । डाक्टरको सल्लाहअनुसार अप्रेसन भयो । पाठेघरको  अप्रेसनपछि सीमाले बच्चा जन्माउन सक्ने अवस्था भएन । अप्रेसन गरेको केही  महिनामै श्रीमान्को व्यवहार बद्लियो, सासुससुराले पनि फरक ढंगले हेर्न थाले । हेपिएको महसुस भएपछि माइती गएर बसिन् । त्यही बीचमा श्रीमान्ले अर्को बिहे गरेको जानकारी  पाइन् । माइतीमा पनि दाजुभाउजूको व्यवहार असजिलो लागेपछि बुटवलतिर सोझिइन्, केही काम र दाम खोज्दै । सहरमा भनेजस्तो काम खोजिदिने र त्यसले खान पुग्ने केही भेटिएन् । के गर्ने कसो गर्ने भन्दाभन्दै होटलमा भाडा माझ्न थालिन् । त्यसपछि क्याबिन रेस्टुराँमा वेटरको काम पाइन् । त्यहाँबाट सुरु भयो—उनको शरीरको मोलमोलाई । रेस्टुराँमा आएका ग्राहक नै उनका ग्राहक बन्न थाले ।

यी तीन प्रतिनिधि घटनाले बुटवलको यौन व्यवसायमा लाग्ने महिलाको बाध्यता र कथा बोल्छ । रिर्पोटिङका लागि शुक्रबारले कुराकानी  गरेका होटल तथा रेस्टुराँ व्यवसायी, प्रहरी, यौनकर्मी महिला, उनीहरु कहाँ  जाने ग्राहक र यौनकर्मीमाझ काम गर्ने एनजिओका कर्मचारी गरी डेढ दर्जन  व्यक्तिसँग कुराकानी ग¥यो । जसको निष्कर्ष छ, यौन व्यवसायमा लाग्नेहरु १५ वर्षदेखि ४० वर्ष उमेरसम्मका छन् । सुरुमा बाध्यताले छिरेकाहरु अधिकांशले छोड्न चाहँदा पनि नसक्ने अवस्थामा पुग्छन् ।
ठाउँ बदल्दै धन्दा चलाउँदै
वेटरको रुपमा रेस्टुराँ छिरेकाहरु जब थरिथरिका ग्राहकको सम्पर्कमा  पुग्छन्, उनीहरुको आनीबानी, लवाइखुवाइ सबै फेरिन्छ । त्यही  जीवनशैली  र संगलते उनीहरु जीवनशैली छाड्न सक्तैनन् । बरु  उनीहरु रेस्टुराँ र ठाउँ फेर्छन् । नयाँ ढंगले धन्दा चलाउँछन् । बुटवलमा केही वर्ष बसेकाहरु भैरहवा, चितवन र काठमाडौँतिर लागेको पाइएको एक होटल  व्यवसायीको भनाइ छ । उनीहरु त्यता लागेपछि यहाँको यौन बजारमा नयाँ महिला आइपुग्छन् । कतिपय महिला नियमित आइपुग्ने ग्राहकसँगै बिहेको चाँजोपाँजो मिलाउन भ्याउँछन् । बिहेपछि ग्राहक खोजेर युवती सप्लाई गर्ने काम गर्छन् । मनमाया थापाले नियमित आउने एक भारतीय ग्राहकसँग बिहे गरिन् । अन्ततः उसकै सहयोगमा गोरखपुरमा युवती सप्लाई गर्ने काम  पनि गरिन् । प्रहरीले उनलाई पक्राउ ग¥यो । मानव बेचविखनको अभियोगमा  मुद्दा चल्यो । दुई वर्षदेखि उनी जेलमा छिन् ।
थरिथरिका ग्राहक, व्यवसायीलाई फाइदैफाइदा
 होटल व्यवसायीहरुका अनुसार यौनकर्मी महिलाको ग्राहक सम्पर्क हुने माध्यम यहाँका क्याबिन रेस्टुराँ मात्रै होइनन् । होटल व्यवसायीले सिधै फोन गरेर बोलाइदिने पनि गर्छन् । अहिले मोबाइल फोनको सुविधाले सिधै यौनकर्मी महिलासँग सम्पर्क गर्न सजिलो भएकाले होटल व्यवसायीले  बोलाइदिनै पर्ने बाध्यता पनि छैन । एक होेटल व्यवसायीले दिएको जानकारीअनुसार व्यवसायीले बोलाइदिएको अवस्थामा शुल्कको आधा यौनकर्मी महिलालाई दिन्छन् । आधा व्यवसायीले कमिसन राख्छन् । बुटवलमा तीन दर्जन क्याबिन रेस्टुराँ छन्, त्यहाँ एउटा रेस्टुराँ कम्तिमा चार  जना युवती कार्यरत छन् । ती सबै यौनकर्मी महिला होइनन् तर यौनकर्मको माध्यम चाहिँ बन्छन् ।
यहाँ पनि घण्टे बुक निकै चल्तीमा छ । होटलवालाहरुका लागि घण्टे बुक मालामाल हुने अवसर बनेको छ । बुटवल र आसपासको यौन व्यवसायका ग्राहक तीन खालका छन् । पहिलो, स्थानीय व्यवसायी, मजदुर र विभिन्न संस्थाका जागीरे हुन् । दोस्रो, बुटवलमा सामान लिन आउने पहाडी क्षेत्रका व्यवसायी र अन्य पेशाकर्मी हुन् । तेस्रो, सीमावर्ती क्षेत्रका भारतीय । यहाँ सीमावर्ती सहर नौतनवा र गोरखपुरसम्मका भारतीय आइपुग्छन् । इलाका प्रहरी कार्यालय, बुटवलले दुई वर्षअघि यहाँका दुई होटलबाट पक्राउ गरेका १४ जोडीमध्ये सात जना पुरुष सबै भारतीय थिए ।

पछिल्लो समय बुटवलका होटलमा प्रहरीले छापा हानेर कडाई गर्न थालेपछि यहाँ हुने यौन व्यवसाय बुटवल आसपासका सालझण्डी र देवदह तथा पाल्पातिर सर्न थालेको छ ।  
फ्रिजदेखि सुनको सिक्रीसम्म उपहार
दुई चार वर्षअघिसम्म दुई चार सयका लागि ग्राहकले मरिहत्ते गरेर बार्गेनिङ गर्दा  यौनकर्मी  महिला हैरान  हुन्थे । अहिले भने अवस्था फेरिएको छ । अहिले ठाउँअनुसार एउटै महिलाले ५ सयदेखि ५ हजार रुपैयाँसम्म असुल्छन् । रेस्टुराँमै रहेको कोठामा आउने ग्राहकका लागि ५ सयदेखि १ हजार रुपैयाँ लिने यौनकर्मीले यहाँका ठूला होटलमा ‘कलिङ’मा पुगेमा ५ हजार रुपैयाँ लिने गरेको एक होटल व्यवसायीको भनाइ छ । भारतीय ग्राहकले १ हजार  भनेमा  १ हजार आइसी दिन्छन्, त्यसैले पनि यौनकर्मीको रोजाइमा भारतीय ग्राहक पर्छन् । जग्गा कारोबार र अरु वैधअवैध धन्दाले सहरमा धन आर्जन गर्नेको संख्या बढेसँगै यौनकर्मी महिलाको आम्दानी पनि बढेको हो ।
कतिपय त्यस्ता महिलाका धनाढ्य व्यापारी नियमित ग्राहक छन् । उनीहरुले दिने नियमित ‘चार्ज’सँगै बेलाबखत सुनको सिक्री, फ्रिज र टिभीसमेत उपहार पाउने गरेका छन् ।
सबै यौनकर्मीको अवस्था यति राम्रो छैन । कतिपय यौनकर्मी महिला ग्राहकको भेषमा लुटेराको फन्दामा पर्छन् । चार महिनाअघि बुटवलको एक होटलमा ग्राहकले बोलाएपछि एक युवती पुगिन् । राति उनीहरुसँगै बसेकी युवती बिहान होशमा  थिइनन् । बिहान सबेरै ती दुई पुरुष होटलबाट हिँडे । अलि ढिलागरी उठेकी ती युवतीको घाँटीमा लगाएको सुनको सिक्री  थिएन ।  
यौनकर्मी महिलाका धेरै समस्या बढेपछि एक दसकअघि रुपन्देहीको  देवदहमा परिवर्तनका लागि कार्यरत महिला समूह ‘वाच’ले दबिएका महिलाको नाउँमा यौनकर्मी महिलाको भेला गरेको थियो । यौनकर्र्मी महिलालाई गाली गर्नेलगायत अमर्यादित व्यवहार गर्न बढेपछि उनीहरुको सुरक्षाको पक्षमा आवाज उठाउन संगठित हुने उद्देश्यले यो भेला आयोजना गरिएको थियो । ‘यौन व्यवसायमा लाग्न पाउनुपर्छ भन्ने हिसाबले भेला गरियो भन्दै चर्को आलोचना  भयो तर भेलाको उद्देश्य त्यस्तो थिएन,’ भेलालाई नजिकबाट नियालेका पत्रकार डिआर घिमिरेले भने ।
फ्ल्याटको धन्दा
दुई वर्षअघि बुटवल इँटाभट्टीको एउटा घरमा प्रहरीले छापा मा¥यो । त्यहाँबाट  प्रहरीले पाँच पुरुष र तीन युवतीलाई पक्राउ गर्यो । वडा प्रहरी कार्यालय रामनगरका इन्स्पेक्टर केदार पन्तले फ्ल्याट भाडामा लिएर यौनधन्दा चलाउने माया थापासहित संलग्नहरु पक्राउ परेको पत्रकारहरुलाई जानकारी गराएका थिए । यस घटनाले होटल र रेस्टुराँमा हुने यौन व्यवसाय फ्ल्याटतिर सरेको देखिएको थियो । बुटवल—भैरहवाको २२ किमी दुरीमा  यस्ता फ्ल्याट एक दर्जनभन्दा रहेको आकलन गरिएको छ ।  
होटल तथा रेस्टुराँ व्यवसायी संघ रुपन्देहीले यहाँका होटल तथा रेस्टुराँ व्यवसायीलाई मर्यादित र अनुशासनमा राख्न १६ बुँदे आचारसंहिता जारी गरेको भए पनि त्यो देखाउने दाँत मात्र बन्न पुगेको छ ।
इन्ट्री बुकमा पाहुनाको अभिलेख, मूल्यसूचीको अनिवार्यता, रेस्टुराँका  पर्दा हटाउनुपर्ने, होटलभित्र कुनै किसिमको अवाञ्छित गतिविधि हुन नहुने, राति १० बजेपछि होटल बन्द गर्नुपर्ने र होटलमा हुने घटनाका विषयमा प्रहरीलाई तत्काल खबर गर्नुपर्ने लगायत छन् । होटल तथा रेस्टुराँ व्यवसायी संघका अध्यक्ष समुन्द्र जिसीले अन्य कुरामा आचारसंहिता पालना भए पनि क्याबिन रेस्टुराँले पर्दा हटाउन अटेर गरेको बताए । ‘संघले पर्दा हटाउन पहल गरेको त उल्टै मविरुद्ध खनिए,’ उनले भने ।
होटल संचालक मिलाइदिन्छन् युवती

–टेकेन्द्र बस्याल, कोहलपुर
१५ वर्षीया बालिकालाई होटलमै यौनधन्दामा लगाउने कोहलपुर–११ स्थित एकान्त होटल एन्ड रेस्टुरेन्टका संचालक सुस्मिता बोटे र सुशीला श्रेष्ठ पक्राउ परे । उनीहरुले ग्राहक खोजेर होटलमा ल्याउने र ती १५ वर्षीया बालिकालाई यौनधन्दामा लगाएको भेटियो । भारतीय यौनकर्मी फोन सम्पर्कमा ल्याउने र होटल वा बाहिर यौनधन्दा चलाएर संचालिकाले वर्षौंदेखि काम गर्दैआएको भेटियो । प्रहरीको अनुसन्धानका क्रममा होटल संचालकले प्रति ग्राहक पाँचदेखि दस हजार रुपैयाँ असुल्ने गरेका छन् । युवतीलाई तीन सयदेखि पाँच सय रुपैँया दिने गरेको पाइएको छ । गत असार ९ गते नै प्रहरीले छापा मारेर कोहलपुर क्षेत्रका होटलबाट पाँच जोडी पक्राउ गरेको थियो । दिउँसै होटलबाट उनीहरु पक्राउ परेका थिए ।
गएको जेठ २४ गते प्रहरीले छापा मार्दा कोहलपुर क्षेत्रका होटलमा १५ युवती पक्राउ परे । लामो समयदेखि यौनधन्दा चलाइरहेका ती युवती कोहलपुर बसपार्कस्थित न्यु दैलेखी, कार्कीगाउँ होटल र अम्बिकेशरी होटलबाट पक्राउ परेका थिए । यस्तै जेठ १८ गते राँझा र कोहलपुरका दुई होटलबाट चार युवती पक्राउ परे । एक सातामा कोहलपुरका छ वटा होटलबाट २२ देखि ३५ उमेर समूहका १५ जना नियन्त्रणमा लियो । १५ जना युवतीहरु पक्राउ गर्ने क्रममा कोहलपुर प्रहरीले सात जना केटा र तीन जना होटल संचालक पनि पक्राउ ग¥यो । यौनधन्दा हुने गरेको स्थानीयको गुनासोपछि कोहलपुर प्रहरीले केही समययता कोहलपुरमा छापा मार्ने क्रम बढेको छ । पक्राउमध्ये तीन वटा होटल संचालक र तीन युवतीलाई भने सार्वजनिक मुद्दा चलाएको छ । गत असार ३ मा कोहलपुर चप्परगौडीस्थित होटल सल्यानी गाउँलेका सञ्चालक र यौन कार्यमा संग्लन दुई जोडीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाविरुद्ध प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ । कोहलपुर प्रहरीका अनुसार पक्राउ परेका सञ्चालक र युवायुवतीमाथि थप अनुसन्धान भइरहेको छ ।
गएको वैशाख २९ गते इलाका प्रहरी कोहलपुरले दशबिगाहकी होटल संचालिका सीता केसीलाई होटलमै युवती राखेर यौनधन्दा चलाइरहेको अवस्थामा पक्राउ ग¥यो । होटल संचालिका केसीसँग मिलेर जागिर लगाइदिने प्रलोभनमा पारेर दुई युवतीलाई होटल र काठमाडौँसम्म लगेर यौन कारोबार संग्लन भारत नानपाराका समसद खान र बाँकेका शिवप्रसाद पाठकसमेत पक्राउ परे । दुई युवतीलाई होटलकै सम्पर्कमा राखेर संचालिकाले यौनधन्दा सुरु गरेको प्रहरी बताउँछ । पक्राउ परेका तीनै जनालाई प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता गरेको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुरेशप्रसाद काफ्ले भन्छन्, ‘अधिकांश होटल संचालककै संरक्षण र सम्पर्कबाट यौनधन्दा चलिहेको छ ।’ यौन कार्यका लागि आएका पुरुष ग्राहकका लागि होटल संचालकले नै युवती मिलाउने गरेको प्रहरीको भनाइ छ । कोहलपुरमा केही होटल संचालकले युवतीहरु नै यौन कार्यका लागि कर्मचारीका रुपमा राख्ने गरेका छन् । कोहलपुर प्रहरीले पछिल्ला समय होटलमा छापा हान्दै पक्राउ थालेपछि तिनलाई मानव बेचबिखन, जबरजस्ती करणी र करणी उद्योगमा मुद्दा दर्ता गर्ने गरेको छ । केहीलाई भने चेतावनी दिँदै आफन्तको जिम्मामा छोड्ने गरेको छ । चालू आर्थिक वर्ष २०७३।०७४ मा कोहलपुर प्रहरीले यौनकार्यमा संग्लन र यौनधन्दा लागेका ५० जना बढीलाई पक्राउ गरी मुद्दा चलाएको छ । यस्तै गत आर्थिक वर्ष २०७२।०७३ मा जबरजस्ती करणीमा १५, करणी उद्योगमा १० र मानव वेचबिखनमा सात वटा मुद्दा दर्ता भएका छन् ।
कोहलपुर व्यापार संघका अध्यक्ष नरेन्द्रप्रसाद शर्माले होटल सञ्चालकको संलग्नतामा यौनधन्दा चलाइएको भन्दै प्रहरी र नगरबासीबाट गुनासो आइरहेको बताए । व्यापार संघले होटल संचालकलाई विभिन्न समयमा बैठक र छलफलमा यौन कार्य रोक्न र नगराउन आग्रह गर्दै आएको बताए । यौन धन्दा गरेको भेटिए होटलका सदस्यता खारेजदेखि बन्द गराउनेसम्मको पत्रचार र सूचना गरेको उनको भनाइ छ । पछिल्लो समय कोहलपुरमा यौनधन्दा क्रमशः नियन्त्रण भइरहेको व्यापार संघको दाबी छ । कोहलपुरमा कडाइ बढेसँगै अविवाहित भन्दा विवाहित महिलाहरु यौनव्यवसायमा संग्लन रहेको देखिएको छ ।
‘प्रहरीको व्यवहारले पर्यटक भड्किन्छन्’

दिलेन्द्र छन्त्याल, अत्तरिया
धनगढी बजारको मुख्य लाइनको दोस्रो तलामा रहेको रेष्टुरेन्ट । काउन्टर रहेकै कोठामा राखिएका कुर्ची र टेबलमा केही युवाहरु बियर खाइरहेका छन् । काउन्टर वरिपरि चार जना युवती छन् । १६ वर्षदेखि २२ वर्ष उमेरका ती युवती एक से एक राम्रा देखिन्छन् । बियर सिध्याएर दुई जना युवाले काउन्टरमा बसेका रेस्टुरेन्ट सञ्चालक नजिक गएर केही कुरा गरे । सञ्चालक आफैँ गएर अर्कोपट्टि रहेका दुई कोठाको चाबी खोलेर उनीहरुलाई बसाले । दुई जना युवती पनि उनीहरुसँगै कोठामा गइन् । ‘४ हजार रुपैयाँ तिरेर एक घन्टा मन पराएकी युवतीसँग कोठामा बस्न पाइन्छ,’ ती सञ्चालकले निर्धक्क भने । डान्सबारमा काम गर्ने केटी पनि दिउँसो यहाँ उपलब्ध हुन्छन् ।
मुख्य सडकबाटै देखिने अर्को एउटा रेस्टुरेन्टको ढोकाअगाडि बेन्चमा ४–५ जना युवती बसिरहेका छन् । ढोकाबाट भित्र छिर्ने क्रममा एक जनाले युवतीको कानमा केही सोधे । उनले ५ औँला देखाएर इशारा गरिन् । यो दृश्य देखिरहेका एक ग्राहकले एक रातको रु. ५ हजार दर हो भनेर ती युवतीले औँला देखाएको सुनाए । ‘माथिल्लो तलामा कोठा छन्, एक छिनको लागि रु. २ हजार र रातभर बसे ५ हजार दरमा व्यवस्था हुँदोरहेछ,’ सबै कुरा थाहा पाएका ती ग्राहकले भने ।
१९ वर्षीया सपना (नाम परिवर्तन)लाई अत्तरियाको एक होटलमा ‘काम’ गर्न थालेको दुई वर्ष भयो । होटलमा उनीसँगै ५ युवती छन् । बाहिरबाट झट्ट हेर्दा र सञ्चालकले भनेबमोजिम उनीहरु होटलमा काम गर्ने स्टाफ हुन् तर उनीहरुको काम भने आवश्यकताअनुसार परिवर्तन भइरहन्छ । विभिन्न ठाउँबाट आएका ग्राहकलाई यौन सन्तुष्टि दिनु प्रमुख कार्य हो । ‘ग्राहकलाई खुसी बनाउन दिउँसो वा राति जतिबेला पनि तयार हुनुपर्छ,’ उनले भनिन् । कहिले त दिउँसोभरी थाकेर र राति पनि सुत्न नपाइने उनले सुनाइन् ।
कोही ग्राहक त रातभर व्यस्त बनाउने र एकछिन पनि सुत्न नदिने उनको अनुभव छ । कोही ग्राहक भने समझदार हुन्छन् । भारतबाट समेत धेरै ग्राहक आउने गरेको उनले बताइन् । भारतबाट आउने ग्राहक बढी यौनका भोका हुन्छन् । विदेशी ग्राहकबाट १० हजारसम्म लिने गरे पनि होटल सञ्चालकले रु. १५ सय, दुई हजार रुपैयाँ मात्र दिने गर्छन् । घरको आर्थिक अवस्था कमजोर भएकाले पेसामा लाग्नुपरेको उनले बताइ्न । ‘दिउँसो पनि ग्राहक आएमा आफूहरुले सेवा दिनुपर्छ,’ उनले भनिन् ।
पूर्वपश्चिम राजमार्गस्थित चिसापानी, अत्तरिया र धनगढी लगायतका बजारका केही होटलमा खुल्लमखुला यौनव्यापार हुने गरेको छ । केही होटलमा कामदारको रुपमा युवती राख्ने र यौन व्यापार गर्ने गरिएको स्थानीय तेजबहादुर बिष्ट बताउँछन् । होटलमा नियमित कामदार भएर नै यौन बेच्ने युवतीहरु काठमाडौँदेखि विभिन्न जिल्लाबाट आएका छन् । डान्सबारमा काम गर्ने युवती पनि यो यौन पेशामा संलग्न छन् ।
‘मेरो घर भक्तपुर जिल्लामा पर्छ । म काम गर्न यहाँ आएकी हुँ,’ धनगढीमा भेट्टिएकी मनिषा (नाम परिवर्तन)ले भनिन् । एक रातको रु ५ हजार लिने गरेको उनले बताइन् । उनीजस्ता केही प्लस टु र कलेज पढ्ने युवतीले कल गर्लका रुपमा काम गरिरहेका छन् । होटल संचालक वा चिनेको व्यक्तिलाई नम्बर र फोटो छोडेर गएका हुन्छन् । ग्राहकको चाहनाअनुसार होटल संचालकले फोन गरेर बोलाउने गर्छन् । राति घरबाट बाहिर जान नपाइने भएकाले कतिपय प्लस टु र कलेज पढ्ने युवती दिउँसो होटलमा गएर ग्राहकको ओछ्यान बन्ने गरेका छन् । त्यसका लागि २ देखि ५ हजारसम्म लिने गरेको होटल व्यवसायीहरुको भनाइ छ ।
यस्तो व्यवसायका आफ्नै खतरा छन् । होटल सञ्चालकले प्रहरीलाई पैसा बुझाउनु बाध्यता छ । त्यसैले पनि कतिपय ग्राहकले कम दरमा मिलाइदिन आग्रह गरे पनि होटल सञ्चालकले ‘प्रहरीलाई पैसा बुझाउनु पर्ने र माग्न आउने अरुलाई पनि खुसी पार्नुपर्ने’ भन्दै टक्टकिए । जिल्लामा नयाँ प्रहरी प्रमुख एसपी, डिएसपी आउँदा केही होटलमा छापा मारेर जोडी समात्ने गरेको देखिन्छ । अघिपछि यौनव्यवसाय नहुने वा प्रहरीलाई पैसा नबुझाइने होटलमा छापा मारेर दुःख दिने गरेको होटल व्यवसायीको गुनासो छ । प्रहरीको व्यवहारबाट सबै होटलव्यवसायी असन्तुष्ट छन् । ‘जहाँ खुल्लमखुला काम हुन्छ, त्यहाँ प्रहरीलाई वास्ता हुँदैन,’ एक होटल व्यवसायीले गुनासो गरे, ‘बाहिरबाट मन मिलेर होटलमा कोठा लिएर बसेका जोडीलाई समातेर प्रहरीले दुःख दिन्छ ।’
कैलाली होटल व्यवसायी संघका अध्यक्ष महेश शाहले होटलमा यौन व्यवसाय हुने गरेको आफुलाई जानकारी नभएको बताए । प्रहरीले अनावश्यक दुःख भने दिने गरेको उनको भनाइ छ । ‘पाउना राति सुतिरहेका हुन्छन्, प्रहरीको समूह आएर ढोकामा ड्याङड्याङ गरेर  डिस्टर्ब गर्छन्,’ उनले भने, ‘प्रहरीले सिस्टम बनाएर अनुगमन गरेको देखिँदैन । प्रहरीको व्यवहारले पर्यटक भड्किन्छन् ।’
कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्द यौन व्यवसाय गर्नेमाथि पटक–पटक समातेर मुद्दा चलाउने गरेको बताए । स्थानीय र बाहिरका युवती पनि कैलालीमा यौनव्यवसायमा संलग्न रहेको पाइएको उनले बताए । पछिल्लो समय १५–१६ जनालाई समातेर सामाजिक अपराधसम्बन्धी मुद्दा लगाएको उनले बताए । प्रहरीको मिलेमतोमा यस किसिमको धन्दा मौलाएको भन्ने आरोपमा सत्यता नभएको उनको भनाइ छ । ‘कुनै प्रहरीले बदमासी गरेका होलान्, म आएदेखि भएको छैन,’ उनले भने, ‘कुनै प्रहरीले गरेको थाहा पाएमा म कारबाही गर्छु ।’
पुर्वपश्चिम राजमार्गमा रहेको मुडा बजारमा वादी समुदायको बस्ती छ । कुनै बेला देहव्यापारका लागि चर्चामा रहेको यस बस्तीमा स्थानीय युवाले क्लब बनाएर देहव्यापार हुन नदिन कडाइ गरेका छन् । केही पहिलेसम्म सस्तो दरमा यहाँका महिलाहरु सहजै ग्राहकलाई बस्तीमा सन्तुष्ट पार्थे । अहिले अवस्था बद्लिएको भए पनि १४ वर्षदेखि २५ वर्षसम्मका युवतीले राम्रो रकम लिएर यौनसन्तुष्टि दिने गरेका छन् । ग्राहकसँग एक दुई दिनका लागि बुक भएर जाने, नजिकका होटलमा ग्राहकसँग जाने चलन बढेको छ । उनीहरु धनगढी, अत्तरिया,चिसापानी, खानडाँडा, महेन्द्रनगर लगायतका ठाउँमा यौनका लागि जाने गरेका छन् । डान्सबार पनि उनीहरुको गन्तव्य बन्ने गर्छ ।
‘छाडा पनि नछोडौं, बन्धनमा पनि नराखौं’

नारायण श्रेष्ठ,
विमन वर्किङ टुगेदर फर चेन्ज (वाच) का सल्लाहकार

यौनकर्मीबारे अध्ययन कसरी भयो ? कहाँकहाँ खोजी गरियो ?
एचआइभी एड्सको संक्रमणबारे काम हुन थालेको अवस्था थियो । भारतबाट ठूलो संख्यामा फर्काइएका यौनकर्मीहरू थिए । उनीहरूबाट अन्य मानिसमा पनि एड्स सर्ने अवस्था थियो । हामीले त्यस्तो अवस्था आइनपरोस् भनेर काम गर्दै जाँदा यौनकर्मीहरूसँग सम्पर्क गर्नुपर्ने भयो । त्यसबेला हामीले सुरूमा काठमाडौं उपत्यका, रुपन्देही, कपिलवस्तुमा काम गरेका थियौँ । पछि थप २५ जिल्लाको विवरण संकलन गरेर यौनकर्मीहरूको भेला गरायौँ ।
तपाईंहरूको अध्ययनमा कति यौनकर्मी थिए त्यो बेला ?
हाम्रो अध्ययनमा काठमाडौं उपत्यकामा करिब २५ हजार र रुपन्देहीमा ४ हजारको हाराहारीमा थिए ।
अहिले त संख्या बढेको होला ? अध्ययन भएको छ ?
अध्ययन भएको छैन । घटेको छैन बढेकै छ । भूकम्पपछि काठमाडांै भ्यालीमा अझ थपिएको छ । बुटवलमा पनि घटेका छैनन्, बढेका बढै्छन् ।  मुलुकभर ५–६ लाखको हाराहारी रहेको अनुमान गरिँदैछ ।
कस्ता परिवारबाट यो पेशामा आएका छन् ?
गरिबीका कारण यस पेशामा आउने र यसैमा फँस्नेहरू छन् । पहाडबाट सहरमा अध्ययन गर्न आउने पनि छन् । यौन सन्तुष्टि र पैसाकै निम्ति यस क्षेत्रमा प्रवेश गर्नेहरू पनि छन् । धेरै जसो गरिबीका कारण हाम हाल्नेहरू छन् र कतिपय त गृहिणी पनि छन् ।
को हुन् यौनकर्मीका प्रमुख ग्राहक ?
घर परिवारबाट टाढा बसेका पुलिस, आर्मी र सरकारी कर्मचारी प्रमुख ग्राहक हुन् । यसबाहेक पर्यटकहरू पनि छन् । धनीमानी ठूल्ठूला व्यापारी उद्यमीको बेग्लै कथा छ । प्रहरीले त उपयोग गर्छन्, पैसा पनि दिँदैनन् । कतिपय अवस्थामा जेलमा पनि हालिदिन्छन् ।
तपाईंले काम गर्दा र अहिलेको अवस्थामा के फरक छ ?
पहिला संगठित थिएनन्, अहिले संगठित छन् । उनीहरूको आफ्नै संघसंगठन छन् । हामीले सोचेजस्तो संगठित हुन नसके पनि उनीहरूको आफ्नै संस्था छन् । विभिन्न नाममा यौनकर्मीहरूबारे काम गर्ने गर्छन् । हामीले त्यसैबेला आशाज्योति महिला समूह बनाएका थियौँ । अहिले जागृति महिला महासंघ गठन भएको छ । यौनकर्मी महिलाबारे केही गर्नुप¥यो भने संगठित संस्थामार्फत काम हुन्छ । हामीले आधार बनायौँ, त्यसपछि छोडिदियौँ । उनीहरू आफैँ सक्रिय भएका छन् ।
तपाईहरूले केके सिकाउनु हुन्थ्यो ?
हाम्रो उद्देश्य उनीहरूलाई संगठित गर्नु, सुरक्षित यौन सम्पर्क गर भन्नु थियो । हामी धेरैजना यौन साथी नबनाउन भन्दथ्यौँ । जस्तो ५ जनासँग २ सयका दरले सम्पर्क राख्नुभन्दा एक जनासँग मात्र एक हजारमा सम्पर्क राख्न र ग्राहकलाइ पुरा सन्तुष्ट पार्न सुझाव दिन्थ्यौँ ।  
यौनकर्मीहरू शोषणमा छन् भनिन्छ । प्रहरी प्रशासनको पनि उत्तिकै डर भैरहेको हुन्छ । समाधानको उपाय के ? लाइसेन्सको व्यवस्थाबारे के भन्नुहुन्छ ?
कसैले लाइसेन्सको कुरा गर्छन्, कोही त्यत्तिकै खुला राख्नुपर्छ भन्छन् । जसरी गरे पनि हुन्छ तर यसबारे नीति र कानुन चाहियो । यस पेशालाई छाडा छोड्नु पनि हुँदैन, सारै बन्धनमा राख्न पनि हुँदैन । त्यस्तो अवस्थामा विस्फोट हुन्छ । म आफू लाइसेन्सको पक्षमा छैन तर समस्याको समाधान हुनुपर्छ भन्ने हो । सुरक्षित र मर्यादित यौन पेशा आवश्यक छ ।

(श्रेष्ठ करिब दुई दसकअघिदेखि महिला यौनकर्मी र यौनव्यवसायको अध्ययन–अनुसन्धानमा संलग्न छन् ।)

Leave A Comment