वडाअध्यक्षमा भूपू लाहुरेको तेस्रो इनिङ

शनिबार, ३१ असार २०७४, १२ : ५० शुक्रवार , Kathmandu
वडाअध्यक्षमा भूपू लाहुरेको तेस्रो इनिङ

रोहित राई/धरान

परिवारले राजनीति छोडेर घरव्यावहारमा सीमित हुन दबाब दिइरहेका थिए तर लाहुरमा बिताएको समय बाहेकको जीवनलाई समाजसेवामा समर्पित गरेका ६९ वर्षीय रुद्रबहादुर लिम्बूको मन कहाँ थामिन्थ्यो र ? परिवारको दबाबलाई पन्छाउँदै उनले धरान उपमहानगरको वडा ८ मा अध्यक्ष पदमा उठ्ने चाहना राखे । पार्टीले पनि हरदम जनता र समाजको सेवामा हिँड्ने उनीजस्तो प्रतिबद्ध व्यक्तिलाई पन्छाउने कुरै भएन । असार १४ गतेको स्थानीय तह निर्वाचनमा लिम्बूले नेकपा एमालेबाट वडा अध्यक्षको टिकट मात्र पाएनन्, तेस्रो पटक वडा अध्यक्षमा ‘ह्याट्रिक’ जित दर्ता गराए ।
२०४६ पछि स्थानीय निर्वाचनमा निरन्तर तेस्रो पटक वडा अध्यक्षमा जित पाउने उनी धरानको पहिलो जनप्रनिनिधि हुन् । गएको सोमबार बिहान घोषणा भएको वडा ८ को मतपरिणाम अनुसार १ हजार ४ सय ३५ मत ल्याएर कांग्रेसका निकटतम प्रतिद्वन्द्वी नन्दराज राईलाई २ सय १६ मतअन्तरले पराजित गरे । यस वडामा लिम्बूको प्यानल नै विजयी भयो । अवकाशपछि राजनीतिमा निरन्तर लाग्ने ब्रिटिस लाहुरेहरु कमै छन् । त्यसमाथि निर्वाचनबाट चुनिएर जनप्रतिनिधि हुने मौका कमैले पाएका छन् ।
‘म चुनावमा फेरि उठ्छु भन्दा परिवार, छोराछोरी खुसी थिएनन् । पाको हुनुभयो, अब राजनीति नगर्नु भन्थे,’ भूपू लाहुरे तथा वडा अध्यक्ष लिम्बूले भने, ‘सधैँ जनताको काम गरिरहेको मान्छे परेँ, केही नगरी त्यसै बस्न मेरो मनले मानेन । पार्टीलाई चाहना राखेँ, मेरो कामको मूल्यांकन गरेर नै होला तेस्रो पटक टिकट दिए, जनताले पनि मलाई विश्वास गरे, ज्यादै खुसी लागेको छ ।’ धरानमा उनीसहित ३ जना पूर्वलाहुरेले वडाअध्यक्षमा टिकट पाएका थिए । माओवादी केन्द्रबाट टिकट पाएका दुईमध्ये वडा ३ मा सर्वजित राई र वडा १८ मा मानबहादुर राई पराजित भए भने लिम्बूकै वडामा माओवादीबाट टिकट पाएर उठेका झमक मगर तेस्रो स्थानमा समेटिए ।
तेस्रो पटक वडाअध्यक्ष भएका लिम्बू एमालेबाटै २०४९ र २०५४ सालको निर्वाचनमा पनि वडा ८ मा अध्यक्षमा विजयी भएका थिए । उनी पहिलो पटक अध्यक्ष हुँदा वडा समितिको कार्यालय पनि थिएन । लेटर प्याड, स्टाम्प बनाउन लगाएर उनी झोलामा बोकेर हिँड्थे । समितिको कार्यालय उनको आफ्नै घर बन्यो । दोस्रो पटक निर्वाचिन हुँदा भने उनले वडा समितिको भवन बनाएर व्यवस्थित गरे । धरानमा एमालेको संगठन मजबुत हुनु र आफू सधैँ जनतासँग घुलमिल हुनु नै आफ्नो जितको आधार भएको उनको बुझाइ छ । हुन पनि यसपटक आफ्नै पार्टीको उपमहानगर कमिटी सदस्य तथा वडा सहइञ्चार्ज प्रमिला याङदेनले चुनावअघि राजीनामा दिएर वडाअध्यक्षमा उठेर तगारो हाले पनि उनको जित रोक्न सकिनन् । ‘मैले २०४९ सालमा नै टिकट पाउँदा घरको सिन्को पनि भाँच्दिनँ, जे जति गर्छु जनताकै लागि काम गर्छु र हिँड्छु भनेर मौखिक सम्झौता नै गरेको थिएँ,’ उनले भने, ‘अध्यक्ष पद नहुँदा पनि जनतासँगै रहेँ, मरौपरौंमा हिँडे । दुःख बिमार हुँदा के छ भनेर हिँडे । जनताले पनि मलाई माया गरेकैले होला यसपटक पनि जितेँ ।’
पुख्यौली घर तेह्रथुमको सिमले (हाल फेदाप गाउँपालिका) भएका लिम्बू २०२४ सालमा ब्रिटिस सेनामा भर्ती भएर २०३८ सालमा अवकाश पाएका थिए । त्यसयता उनले निरन्तर राजनीतिको सहारामा समाजसेवा गरिरहेका छन् । उनी ७ (सेभेन) गोर्खा राइफल पल्टनबाट कर्पोरलमा अवकाश पाएका थिए । उनी इमान्दार र सोझो हुनुका साथै लगनशील भएर काम गरिरहने भएकोले मूल्यांकन गरेर टिकट दिएको एमाले जिल्ला कमिटी सचिवालय सदस्य मुरारी सुवेदीले बताए ।

राजनीतिसँगको सम्बन्ध
पूर्वलाहुरे भए पनि उनको राजनीतिसँगको निकटता भने धेरै पुरानो रहेछ । उनका बाजे २०१५ सालमा गोर्खा परिषदबाट सांसदमा उठ्दा उनलाई स्पिकर बोकाएर भोट माग्न हिँडाएको उनी स्मरण गर्छन् । कम्युनिस्ट पार्टीको सदस्य पनि ब्रिटिस आर्मीमा भर्ती भएको ४ वर्षपछि नै २०२८ सालमा भएका रहेछन् । बिदामा घर आएको बेला गाउँले भाइले उनलाई कम्युनिस्ट सदस्य बनाएर धरानको फुस्रेस्थित मगर टोलमा सम्पर्क गरेर काम गर्न पठाएका थिए । त्यसबेला उनको पल्टन भारतको कलकत्तामा थियो । पार्टीलाई उनलाई बन्दुकको नाल ल्याउने जिम्मा दियो । उनले २ पटक गरी ७ वटा नाल धोक्रोमा बोकेर पनि ल्याएको स्मरण गरे ।
लाहुरमा हुँदा हङकङ र फोक्लयान्डमा युद्ध भए पनि उनले युद्ध लड्नु भने परेन । तालिम सकिएलगत्तै हङकङमा युद्ध लड्न लगिए पनि पुगेको अघिल्लो दिनमा नै युद्ध सकिएको थियो । फोक्लयान्डको युद्ध सुरु हुनु १४ दिन अघि नै उनी बिदामा घर आएका कारण युद्ध जान नपरेको उनले सुनाए । पेन्सन पकाएर घर फिरेपछि पार्टी र समाजको सेवामा सक्रिय बने । ०४६ साल यता छैटौं पटक नगर कमिटीमा रहेर वडा इञ्चार्ज छन् । ‘म लाहुरे मान्छे, स्वदेश आएपछि देश र समाजको सेवा गर्ने मौका पाएको छु । आफ्नो सबै शक्ति लगाएर काम गरे, अझै गर्छु,’ उनले भने ।
राम्रो काम गर्नुपरोः श्रीमती
श्रीमान् फेरि अध्यक्षमा उठ्छु भन्दा ६४ वर्षीय पत्नी दिलमाया लिम्बूलाई चित्त बुझेको थिएन । भर्खर घर बनाउँदा धेरै खटिनु परेको र पाको पनि भएकाले ज्यानलाई आराम चाहिन्छ भन्ने उनको भनाइ थियो तर पति रुद्रबहादुरले मानेनन् । आफूले भनेको नमाने पनि श्रीमान्ले तेस्रो पटक जितेकोमा उनी खुसी छिन् । ‘अब जिउले सक्दैन है, नगर्नुस् भनेको मान्नुभएन । जित्नु भयो, खुसी नै छु । अब राम्रो काम गर्नुस्, वडाको विकास गर्नुस्, बाटो, पुल, पानी दिनुस्, वडालाई सफासुग्घर राख्नुस् भन्छु,’ पतिलाई सुझाव दिँदै भनिन्, ‘उहाँ नराम्रो काम कहिल्यै गर्नुहुन्न, मलाई मात्र होइन जनतलाई पनि विश्वास छ ।’
उनको भावी योजना
श्रीमतीले शुभकामना दिइरहँदा छेवैमा बसेका अध्यक्ष लिम्बूले पनि पार्टीसँग र जनतासँग आफूले गरेको प्रतिबद्धताअनुसार छलफल गरेर काम गर्ने बताए । वडालाई सफासुग्घर बनाउन फोहोरको व्यवस्थापन गर्ने, खानेपानीको व्यवस्था गर्ने, बेरोजगार युवालाई सीप सिकाउने, गरिब तथा असहायलाई औषधउपचार र जीवनयापनमा सहयोग गर्नेलगायत आफ्नो प्राथमिकता रहने बताए । साथै, आफ्नो वडामा निर्माण भइरहेको बसपार्कलाई पूर्णता दिलाउने, सभागृहलाई व्यवस्थित गर्ने र जनताको आवश्यकता बुझेर पार्टीको घोषणापत्रअनुसार काम गर्ने योजना सुनाए ।

 

Leave A Comment