पहिलो सहभागितामै युरोकप फुटबलको क्वार्टरफाइनलसम्म पुगेको आइसल्यान्डको टिमको भव्य स्वागत भएको छ । क्वार्टरफाइनलमा फ्रान्ससँग ५–२ ले पराजित भएर फर्किएको टिमलाई आइसल्यान्डका नागरिकले भव्य स्वागत गरेका हुन् । टिमको स्वागतका लागि रिक्जाविकमा दशौँ हजार मानिस जम्मा भएका थिए ।
खेलाडी तथा खेल पदाधिकारीलाई बसमा राखेर नगर परिक्रममा गराइएको थियो । ३ लाख ३० हजार जनसंख्या भएको युरोपको सानो देश आइसल्यान्ड इंग्ल्यान्डलाई हराएर क्वार्टरफाइनलमा पुगेको थियो । आइसल्यान्ड कुनै पनि मुख्य प्रतिस्पर्धाको क्वार्टरफाइनलमा पुगेको यो पहिलो पटक हो । युरोकपमा उसले अस्ट्रियालाई पनि हराएको थियो । यस्तै छनोट चरणमा नेदरल्यान्ड्स, टर्की र चेक रिपब्लिकलाई हराएको थियो ।
युरोकपमा पाँच खेल खेलेको आइसल्यान्डले पहिलोदेखि पाँचौँ खेलसम्म सुरुमा मैदान उत्रिने टिममा कुनै परिवर्तन गरेको थिएन । युरोकपमा पाँच खेलमा एउटै टिम मैदान उतार्ने आइसल्यान्ड पहिलो टोली हो ।
Leave A Comment