गायन, नृत्य र मोडलिङको प्रतिभा खोज्न डल्फिन स्टार

आइतबार, ०१ साउन २०७४, ०२ : ४३ शुक्रवार , Kathmandu
गायन, नृत्य र मोडलिङको प्रतिभा खोज्न डल्फिन स्टार

लुकेका प्रतिभाहरुको खोजी गरी व्यक्तित्व विकाससँगै समाजलाई परिवर्तनको धारमा ल्याउने उद्देश्यले गायन, नृत्य र मोडलिङ गरी ३ विधाको पुर्वाञ्चलव्यापी डल्फिन स्टार २०७४ आयोजना हुने भएको छ ।
खुला शिक्षातर्फ अध्यापन गराउँदै आएको डल्फिन पुर्वाञ्चल धरान प्रालिले बिग इभेन्ट नेपाल प्रालिसँगको सहकार्यमा तेस्रो संस्करणको तयारी गरेको जानकारी दिएको छ । प्रालिले सोमबार पत्रकार सम्मेलन गर्दै असार २४ गते पाँचथरको फिदिम बजारदेखि अडिसन सुरु गरेर भदौ अन्तिम साता फाइनल गर्ने जानकारी दिएको छ । प्रालिका संस्थापक एवं अध्यक्ष सन्तोष राईका अनुसार गायन र नृत्य विधा दोस्रो र तेस्रो अडिसनपछि फाइनलको लागि छनोट भएकालाई भदौ २ गतेदेखि सम्बन्धित विधाको तालिममा सहभागी गराइनेछ भने भदौ २४ गते दुवै विधाको फाइनल आयोजना हुनेछ । यस्तै, मोडलिङतर्फ मिस डल्फिन प्लस टुका लागि छनोट भएका फाइनल प्रतियोगीहरुलाई पनि विभिन्न तालिम तथा प्रशिक्षणमा सहभागी गराएर भदौ ३१ गते फाइनल आयोजना गर्ने अध्यक्ष राईले बताए ।
‘पहिलो वर्ष अन्तर डल्फिनस्तरीय कार्यक्रम ग¥यौं । दोस्रो वर्ष धरानभरका खुला शिक्षामा अध्ययनरत विद्यार्थीहरु सहभागी गरायौं,’ राईले भने, ‘यस वर्ष भने पूर्वाञ्चलव्यापी कार्यक्रम गर्दैछौं । गाउँबस्तीमा लुकेर रहेका प्रतिभाको खोजी गर्न गायन, नृत्य र ब्युटी प्याजेन्टको अडिसन पूर्वभरि गर्छौं ।’
आयोजकले जनाएअनुसार ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, संखुवासभा, झापा, मोरङ, भोजपुर, ओखलढुंगा, सिरहा, सप्तरी, उदयपुर लगायत विभिन्न जिल्लामा अडिसन गरिनेछ । तेस्रो चरणसम्मको अडिसनबाट गायन र नृत्यतर्फ २०÷२० जना फाइनल प्रतियोगी छनोट गरिनेछ भने मिस डल्फिनतर्फ ३० जना फाइनल प्रतियोगी छनोट गरिनेछ । अडिसनमा एसइई सकेका, प्लस टु पढ्दै गरेका वा नियमित कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीले सहभागी हुने पाउने छन् । गायन र नृत्यतर्फ सम्बन्धित विज्ञद्वारा २८ दिनसम्म तालिम दिइनेछ भने मिस डल्फिनतर्फका फाइनल प्रतियोगीलाई व्यक्तित्व विकास, फिटनेस, भाषणकला, नेतृत्व, क्याटवक लगायत तालिम दिइनेछ । ‘यस्तो कार्यक्रममा प्रतियोगीबाट धेरै पैसा लिइन्छ भन्ने आरोप पनि आउने गरेको छ तर हामीले जे–जति तालिम र प्रशिक्षण दिलाउँछौँ, ती सबै प्रतियोगीलाई तालिम दिलाउन, धरानमा खान र बस्ने व्यवस्थामा खर्च हुन्छ,’ बिग इभेन्टका सचिव दिपेन्द्र निरौलाले भने, ‘गायन र नृत्यलाई विशेष प्रशिक्षणको व्यवस्था हुन्छ । मिस डल्फिन प्लस टु तर्फ भने क्याट वक, भाषणकला, फिटनेस, बेसिक जर्नालिज्म, मोबाइल फोटोग्राफी, नेतृत्व विकास लगायतका तालिम दिलाउँछौं । पर्यटन प्रर्वद्धन गर्न हाइकिङ लान्छौँ र महिलाहरुको स्वास्थ्य समस्या र कानुनी अधिकारबारे पनि ओरिएन्टेसन गराउँछौं ।’
डल्फिन स्टारतर्फ गायन, नृत्य र मिस डल्फिन गरी ३ वटै विधामा प्रथम, दोस्रो र तेस्रो हुने प्रतियोगीहरुले क्रमशः ४४ हजार ४ सय ४४, २२ हजार २ सय २२ र ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार, ट्रफी पाउनेछन् भने छात्रवृत्ति पनि दिलाउने आयोजकले जनाएको छ । सोही पत्रकार सम्मेलनमा पूर्वाञ्चल क्षेत्रमा हुने विभिन्न सुन्दरी प्रतियोगिता, मोडलिङ, फेसन सोजस्ता कार्यक्रमहरुको सञ्चालन तथा व्यवस्थापन गर्न बिग इभेन्ट नेपाल प्रालि स्थापना गरिएको पनि जानकारी दिइएको छ । प्रालिको अध्यक्षमा सन्तोष राई, सचिवमा दीपेन्द्र निरौला र निर्देशकहरुमा दोर्पध्वज राई, प्रेमराज शाक्य, सालिक सतासक राई, विकास राई, ललित राई गरी ७ जना युवाहरु मिलेर स्थापना गरिएको निर्देशक विकास राईले बताए । उनका अनुसार ७ जनाको नाममा जारी र चुक्ता पुँजी ५०/५० लाख गरी १ करोड अधिकृत पुँजी राखिएको छ । प्रालिले मोडलिङ, फेसन शो, शिक्षा, स्वास्थ्य, पर्यटन, सांगीतिक कार्यक्रम, नाटक, डकुमेन्ट्री प्रर्दशनीलगायत सामाजिक कार्यक्रमहरुको व्यवस्थापन गर्न प्रालि स्थापना गरिएको उनले बताए ।

 

Leave A Comment