मोर्डन पद्मकन्या

आइतबार, ०८ साउन २०७४, ०३ : ०६ शुक्रवार , Kathmandu
मोर्डन पद्मकन्या

पुष्पा थपलिया

पद्मकन्या अर्थात् पिके क्याम्पस । यस क्याम्पसको कुरा गर्नेबित्तिकै कतिपयको  दिमागमा साडी लगाउने युवतीको चित्र आउँछ तर अचेल पद्मकन्यामा कन्याहरु साडीमा सजिदैनन्, बरु सर्ट, पेन्ट र टाईमा ठाँटिएर पढ्न आउँछन् । पहिलेदेखिका विज्ञान, गृहविज्ञान, व्यवस्थापनजस्ता विषय त छँदैछन्, समयसापेक्ष नयाँ विषय पनि थपिँदैछन् । ब्याङ्क म्यानेज्मेन्ट, डाक्टर, पाइलटदेखि मेसिन बनाउने काइदा पनि सिकिरहेका छन् ।
वि.स.२००७ सालको क्रान्तिपछि २००८ मा तत्कालीन राजा त्रिभुवनले उद्घाटन गरेका थिए । त्रिभुवन विश्वविद्यालयभन्दा जेठो यस कलेजले सुरुमा भारतको पटना विश्वविद्यालयबाट सम्बन्धन लिएर पठनपाठन सुरु गरिएको थियो । त्रिभुवन विश्वविद्यालयको स्थापनापछि भने त्रिवि मातहतमै सञ्चालन हुन थाल्यो ।
सुरुका वर्ष  सात प्राध्यापक, १२ विद्यार्थी रहेको पद्मकन्या कलेजमा अहिले चार सय शिक्षक, सय कर्मचारी र चार हजारभन्दा बढी विद्यार्थी रहेको क्याम्पस प्रमुख प्रा.डा. रेणुका जोशीले बताइन् । जोशी, आफैँ पनि पद्मकन्यामा ३८ वर्ष प्राध्यापन गरेर एक वर्षदेखि प्रमुखको रुपमा छिन् ।
कलेज स्थापनाताका यसको नाम पद्मकन्या कलेज रहे पनि समयक्रमसँगै बहुमुखी क्याम्पसमा परिणत भएको छ । मानविकी, विज्ञान र व्यवस्थापन संकायमा स्नातक र स्नाकोत्तरको अध्यापन भइरहेको यस कलेजमा छिट्टै फेसन डिजाइन, नृत्य र समाजसेवाजस्ता विषयमा स्नातकोत्तरसम्मको अध्यापन गराउने तयारी भइरहेको जोशी बताउँछिन् ।
अहिले कलेजमा ७ वटा विज्ञानका ल्याब छन् भने एउटा कम्प्युटर ल्याब छ । परम्परागत कुरामा मात्रै होइन, कलेज प्रविधिका कुरामा पनि निकै अगाडि छ । इ–लाइब्रेरीदेखि आफ्ना मतअभिमतका पेज समेत बनाएर सामाजिक सञ्जालमा राख्ने गरिएको छ ।
हरेक कुरा सहज प्रणालीमा ढालिएकाले विद्यार्थीहरु पनि कलेज प्रशासनसँग सन्तुष्ट रहेको विद्यार्थीहरुले बताए ।
 निशा पाठक
बिबिए छैटौं सेमेस्टर
यस क्याम्पसमा केटाहरु पढ्दैनन्, जसका कारण उनीहरुको जिस्काउने बानीदेखि हामी टाढै छौँ । यही विश्वासमा मैले यो क्याम्पस रोजेकी हुँ । मलाई जसरी पनि केटा नभएको कलेजमा पढ्नु थियो । यहाँ सबै केटी साथीहरु छन्, यही खुसी लाग्छ । अनि केटी त हो भनेर हेप्ने मानिसलाई गतिलो जवाफ पनि दिनुछ । अहिलेसम्म त दिइरहेका पनि छौँ । कसरी भने विभिन्न कम्पिटिसनमा हामी सहभागी हुन्छौँ र अहिलेसम्म फस्ट पोजिसन नै जितेका छौँ । हरेक प्रोगाममा अरु कलेजबाट केटा र केटी आउँछन् तर हामी सबै केटीकेटी गएर जितेर आउँछौँ । यो त सुरुवात मात्रै हो, पछि अझै धेरै गरेर देखाउँछौँ ।
रचना अर्याल
बिबिए चौथो सेमेस्टर
यस कलेजमा पढ्नुको पहिलो कारण परीक्षा दिनेबित्तिकै नाम निस्किनु हो । दोस्रो, पिकेमा पढ्ने भन्नेबित्तिकै पुरानो तरिकाले सोचिन्छ, त्यसलाई चिर्नु हो । पिकेमा पढेका विद्यार्थी पनि भोलि राम्रो ब्याङ्कर हुन्छन्, राम्रो डाक्टर हुन्छन् भन्ने देखाउन यो कलेज ज्वाइन गरेको हो । अहिलेसम्म त केही हदसम्म चिरिसकेका छौँ । अझै धेरै चिर्न बाँकी छ । अन्य मानिस अझै पनि पिकेलाई पुरानै नजरले हेर्छन्, त्यो देख्दा दुःख लाग्छ । त्यस्तै केही मानिस भने अरु कलेजमा नाम निकाल्न नसकेर यहाँ आएको सोच्छन्, त्यो गलत हो । यहाँको राम्रो वातावरणका कारण म एकदम खुसी छु ।

एलिसा शर्मा
बिबिए छैटौं सेमेस्टर
म भने सानैदेखि सरकारी कलेजमै पढ्न इच्छुक थिएँ । त्यसैले अहिले म यहाँ छु । पिके कलेजमा पढाइ राम्रो छ, अरुले देखेजस्तो पुरानो टाइपको छैन रहेछ । यहाँ पढिसकेपछि भविष्यमा केही बन्छुजस्तो अनुभूति भएको छ । पछि कि त म अरुलाई काम दिने गरी व्यवसाय गर्छु कि त ब्याङ्कमा काम गर्छु । यहाँ अरु कलेजमा जस्तो हल्ला हुँदैन । केटाहरु अलि बदमासी गर्न रुचाउँछन् । मलाई त्यो मन पर्दैन । त्यसैले यहाँ आनन्द छ । हामी सबै सेमेस्टरका, सबै कक्षाका साथीसँग मिल्छौं, प्राइभेटमा भन्दा यहाँ उत्कृष्ट पढाइ भएको छजस्तो लाग्छ ।

सृष्टि महत
बिबिए दोस्रो सेमेस्टर
मेरो पिके कलेजमा पढ्नुको एउटै मात्र उद्देश्य भनेको आफ्नो कन्फिडेन्ट बढाउन हो । प्लस टु निजीमा पढेपछि सबै काम शिक्षकको भरमा गरिन्थ्यो, उहाँहरुले सबै कुरामा हेल्प गर्नुहुन्थ्यो । हुन त यहाँ पनि हेल्प गर्नुहुन्छ तर पहिले आफूले प्रयास गरेर सकेन भने मात्रै उहाँहरुको सहयोग पाइन्छ तर निजीमा आफूले प्रयास गर्ने भन्ने नै हुँदैन । सबै शिक्षकले पहिले नै सजिलो गराइदिनु हुन्छ । जसका कारण सरकै भरमा सबै काम हुन्छ, आफ्नो कन्फिडेन्ट लेबल बढाउन सकिँदैन । यहाँ आएपछि ‘एभ्रिथिङ इज पोसिबल’जस्तो लाग्छ ।

शुभेच्छा शाक्य
बिबिए चौथो सेमेस्टर
आफ्नो क्षमता वृद्धि गर्न र सेल्फ डेभलप गर्नै पिके आएकी हुँ । अहिले चौथो सेमेस्टरमा छु र आजसम्म पढाइमा कुनै गुनासो छैन । सबै शिक्षक राम्रो पढाउनुहुन्छ, बुझाएर पढाउनुहुन्छ । सरकारी कलेजमा राम्रो पढाइ हुँदैन, खालि राजनीति मात्रै हाबी हुन्छ भनेर सुनिन्थ्यो तर यहाँ आएपछि मेरो माइन्ड पूरै चेन्ज भएको छ ।  आशा छ, जसले सरकारी कलेजलाई राजनीति गर्ने थलोको रुपमा मात्रै लिन्छन्, उनीहरू पनि पिके आएपछि आफ्नो माइन्ड चेन्ज गरेरै फर्कन्छ ।

स्वरुपा थापा मगर
बिबिए दोस्रो सेमेस्टर
मलाई प्लस टु सकेपछि कहाँ पढ्ने होला, के पढ्ने होला भन्ने सोचले खुब सताइरहेको थियो । यस्तैमा एक जना दिदीले पिकेमा पनि राम्रो पढाइ हुन्छ, त्यहीँ पढ भनेर सुझाव दिनुभयो । उहाँको सुझाव मानेरै म यहाँ आएँ । अहिले भने दिदीको सुझाव मानेर राम्रो गरेछुजस्तो लाग्छ । अरु प्राइभेट कलेज पढेका साथीहरुसँग बेलाबेला कुरा गर्दा साथीहरु पढेको कलेजभन्दा यो कम रहेनछ भन्ने फिल गर्छु ।
सबै अभिभावक निजी विश्वविद्यालयको पछि दौडने प्रवृत्ति बढिरहेको बेला सरकारी कलेज पनि यत्तिको सेवासुविधा र गुणस्तरसहित अगाडि बढ्नु ठूलो कुरा हो । आफ्ना छोरीलाई स्वावलम्बी, निडर बनेको देख्न चाहनुहुन्छ भने पिके कलेज तपाईंका लागि उपयुक्त हुन सक्छ ।

 

Leave A Comment