किन चाउरी पर्छ छाला ?

बिहिबार, २३ असार २०७३, ०२ : ४५ डा. स्मृति श्रेष्ठ , Kathmandu
किन चाउरी पर्छ छाला ?

उमेर बढ्दै जाँदा शरीरमा त्यसको असर देखिँदै जानु प्रकृतिको नियम हो । त्यसैले, सधैँ युवावस्थामै रहिरहन चाहन्छन् मानिसहरू । त्यसैले बुढो हुने प्रक्रियालाई बुझ्नु आवश्यक छ । यहाँ उमेर बढेपछि छाला चाउरी पर्नुका कारण, लक्षण र रोकथामका उपायबारे चर्चा गरिएको छः
कारण
छालामा आन्तरिक र बाह्य दुई कारणले चाउरी पर्छ ।
आन्तरिक कारणः यसमा वंशानुगत, छालाको रङ, कोषिकाहरू नष्ट हुँदै जानु आदि पर्छन् । यी कारण परिवर्तनशील होइनन् । वंशानुगत विविधताले मानिसको अनुहार तथा बाह्य स्वरूपमा फरक परेजस्तै बुढो हुने जिनमा पनि भिन्नता हुन सक्छ ।
क्रोमोजमको टेलोमेरेज विभिन्न जाति र भेगका मानिसमा छिटो वा ढिलो नष्ट हुन्छ । जसका कारण कोही वंशानुगत रूपमै छिटो बुढो हुन्छन् । गोरो छाला, रातो कपाल र नीलो आँखा भएका व्यक्तिमा कम मेलानिन तŒव हुन्छ । जसले गर्दा उनीहरू खैरो र कालो छाला हुनेको भन्दा छिटो बुढो हुन्छ । रङ बनाउने मेलानिनको कमीले घामका हानिकारक तŒवबाट छालालाई बचाउन गाह्रो हुन्छ ।
बाह्य कारणः बाह्य कारणमा सूर्यको किरण ७० प्रतिशत जिम्मेवार हुन्छ । यसबाहेक चुरोट तथा रक्सीको सेवन, प्रदूषित वातावरण, अत्यधिक मोटोपना, धेरै खाने बानी, पौष्टिक आहार तथा व्यायामको कमी, मधुमेह, रक्तचाप, थाइरायड, पानीको कमी, मानसिक तनाव वा चिन्ता पनि पर्छन् ।
घाममा हुने विभिन्न किरणमध्ये अल्ट्राभ्वाइलेट किरणले प्रत्यक्ष र अप्रत्यक्ष रूपबाट छालालाई हानि गर्छ । अल्ट्राभ्वाइलेट–ए र अल्ट्राभ्वाइलेट–बी किरणका कारण चाउरी पर्ने हुन्छ । अल्ट्राभ्वाइलेट–एले छालाको दोस्रो पत्रलाई पातलो बनाउँछ । यस तहको कोल्याजन घरको जग भनेझैँ छालाको प्रमुख आधार हो । कोल्याजन घट्दै गएपछि छाला झोलिने र लचिलो हुन्छ, चमक गुम्छ । बिहान र साँझको घाम पनि उत्तिकै हानिकारक हुन सक्छ ।
घामबाट छालाप्रति देखिने नकारात्मक असरको मापन ३० वर्ष माथिका व्यक्तिको अनुहार र जीउको छालाको अन्तर दाँजेर हेर्दा थाहा हुन्छ । घामले छोपिएका भागमा धेरै कम असर देखिन्छ । महिलामा पुरुषभन्दा कम कोल्याजन हुन्छ । त्यसैले छिटो उमेर ढल्छ ।
कस्ता परिवर्तन हुन्छन् ?
छालाका तह पातलो हुने, कोषिकाहरूको सूक्ष्म क्षति, पानी तŒव घट्ने, तेल र पसिना बनाउने ग्रन्थी सुक्ने, कपाल, नङ र छालाले काँचुली फेर्न कम हुने, घाउ ढिलो पुरिने आदि परिवर्तन आउँछन् ।
लक्षण
चाउरीपना, पहेँलोपना, पोतो, चाया, छाला लचिलो हुने, साना रक्तनली देखापर्ने, सुख्खापन, दाग, चमक घट्ने र कपाल फुल्ने हुन्छ । लामो समय घामको असरले क्यान्सरको खतरा हुन सक्छ ।
उपचार तथा रोकथाम
उमेर ढल्ने क्रममा ढिलाइ गर्न सनस्क्रिनको अहम् भूमिका हुन्छ । दिनहुँ तीन पटकदेखि चार पटक सनस्क्रिनको सही मात्रामा प्रयोग गर्नाले घामको असरबाट ९७ प्रतिशतसम्म बच्न सकिन्छ । एक पटक प्रयोग गरेको आधा चम्चा सनस्क्रिनले दुईतीन घण्टा काम गर्ने हुँदा ८ बजे, ११ बजे, २ बजे र बजार निस्कनु परेमा ४–५ बजेसमेत लगाउनु राम्रो हो । सनस्क्रिन किन्दा एसपीएफ (सन प्रोटेक्सन फ्याक्टर) हेर्नु उचित हुन्छ । नेपाली छालामा एसपीएफम ४० सम्म उपयुक्त हुन्छ । पौडी खेल्दा २० देखि ४० मिनेटसम्म एक पटक लगाएको वाटर रेसिस्टेन्ट सनस्क्रिनले काम गर्छ ।
यसबाहेक टोपीको प्रयोग, चस्मा र मास्कले छालाको बचाउमा सहयोग गर्छ । हरियो सागपात तथा फलफूल खाने र प्रशस्त पानी पिउनाले आन्तरिक एजिङलाई रोकथाम गर्छ । छालाको हेरचाह गर्नुपर्छ र समयअनुसार म्वाइस्चराइजरको प्रयोग गर्नुपर्छ ।
चाउरीका उपचार
१. पिलिङ–रसायनको माध्यमबाट गरिने यस उपचारले छालाको काँचुली फेर्न सहयोग गर्छ । चाउरी तथा पोतोमा यसको विशेष भूमिका छ । यो महिनाको एक पटक गरिन्छ र त्यति महँगो हुँदैन ।
२. लेजर– कृत्रिम किरणको सहायताले कोल्याजन बनाउने क्रम बढाइन्छ ।
३. मलम– विभिन्न मलमहरूले केही हदसम्म चाउरीपनालाई कम गर्छ । तर, असर देखिँदैन । असर देखिनका लागि एकदुई वर्ष नियमित प्रयोग गर्नुपर्छ । यद्यपि, मलमहरूले पिलिङ या लेजरजति काम गर्दैनन् ।
४. बोटोक्स– आँखा वरपर र निधारको चाउरी घटाउन बोटुलिनम टक्सिन नामक इन्जेक्सन प्रयोग गरिन्छ । यसबाट छाला खुम्चिने बन्द हुन्छ । यो ३ देखि ६ महिनामा सुईको माध्यमबाट दिनुपर्छ । एक खालको ब्याक्टेरियाको टक्सिनबाट निर्मित यो इन्जेक्सन नेपालमा पाइन्छ । तर, राम्रोसँग नलगाएमा यसबाट मुख बांगिने र कसै–कसैलाई सम्पूर्ण जीउ नै प्यारालाइसिस हुने सम्भावना हुन्छ ।
५. फिलर– कोल्याजनजस्तै कृत्रिम रसायन सुईबाट लचिलो छालामा राखिन्छ । यसले छालालाई पहिलेकै अवस्थामा ल्याउँछ र ६ महिनादेखि २ वर्षसम्म काम गर्छ ।
६. प्लास्टिक सर्जरी– यसबाट आँखाको रूप नै  सच्याउन सकिन्छ ।
७. लाइपोसक्सन – यसअन्तर्गत शरीरको बोसो काटिन्छ ।

 

Leave A Comment