एमबाप्पे रियाल जाँदै

शनिबार, १४ साउन २०७४, ०६ : ०५ शुक्रवार
एमबाप्पे रियाल जाँदै

रियाल मड्रिडले मोनाकोबाट काइलियान एमबाप्पेलाई विश्व कीर्तिमानी सरुवा रकम १८ करोड युरोमा सान्टियागो बेर्नाबेउ भित्र्याउन सहमति गरेको स्पेनिस सञ्चार माध्यमले जनाएका छन् । 
सहमति प्रक्रियाको निकट स्रोतलाई उद्धृत गर्दै खेलकुद दैनिक मार्काले जनाएअनुसार किशोर स्ट्राइकर एमबाप्पे ६ वर्षे सम्झौतासहित आगामी केही दिनमा रियालसँग अनुबन्धित हुनेछन् । मार्काले दुई क्लब र खेलाडीबीच सरुवाको विषयमा सहमति भएको जनाए पनि फ्रान्सेली पत्रिकाहरूले पेरिसियन र निस माटिनमा भने मोनाकोले एमबाप्पे सरुवाको समाचारको खण्डन गरेको छ । 
तर मार्काले १५ देखि १६ करोड तिर्न तयार भइसकेको रियालले थप २ देखि ३ करोड खर्चिन तत्परता देखाएकोमा जोड दिएको छ । हाल विश्व फुटबलमा म्यानचेस्टर युनाइटेडले गत वर्ष पाउल पोग्बाका लागि युभेन्ट्सलाई तिरेको रकम कीर्तिमानी सरुवा रकम हो । युनाइटेडले १० करोड ५० लाख युरोमा पोग्बालाई ओल्ड ट्राफोर्ड भित्र्याएको थियो । 
गत शुक्रबार अल्भारो मोराटाले इङ्लिस प्रिमियर लिग च्याम्पियन चेल्सीसँग सम्झौता गरेपछि रियाल उनको बहिर्गमनबाट खाली भएको ठाउँमा उपयुक्त विकल्पको खोजीमा थियो । जिनेदिन जिदानको युरोपियन च्याम्पियन टोलीमा १८ वर्षे एमबाप्पे आए उनले पाउने पारिश्रमिक ७० लाख युरो हुने मार्काले उल्लेख गरेको छ । 
२०१९ सम्म मोनाकोसँग सम्झौतारत एमबाप्पे फ्रान्सेली लिग वानको प्रतिद्वन्द्वी पेरिस सेन्ट जर्मनसहित युरोपका केही ठूला क्लबको रोजाइमा परेका खेलाडी हुन् । 
मोनाकोले पेरिस सेन्ट जर्मन र रियाललगायतका क्लबलाई आफ्नो अनुमतिबिना एमबाप्पेसँग सम्पर्क नगर्न गत साता चेतावनी दिएको थियो । ‘युरोपका शीर्ष फुटबल क्लबहरूले काइलियान एमबाप्पेसँग हाम्रो अनुमतिबिना सम्पर्क गरेका छन् । जुन सरासर गलत हो । यस्तो नगर्न हामी उनीहरूलाई सचेत गराउन चाहन्छौं । यो फ्रान्स र अन्तर्राष्ट्रिय नियमविपरीतको काम हो,’ मोनाकोले आफ्नो वेभ साइटमा भनेको थियो । 
गत सिजनको दोस्रो हाफबाट शीर्ष स्तरको करियर सुरु गरेका एमबाप्पेले च्याम्पियन्स लिगका १० खेलमा ६ गोल गरेका थिए । घरेलु लिग वानमा भने उनले १५ गोल गरेका थिए । 

Leave A Comment