मौलाउदै ई–वेश्यालय

आइतबार, १५ साउन २०७४, ०२ : २३ दीपक खरेल , Kathmandu
मौलाउदै ई–वेश्यालय

प्रविधिको पहुँच र यसको दु्रत विकासले मानव जीवनका धेरै पक्षमा सहयोग पुगेको छ तर यही प्रविधिमा सरकारी निकाय र प्रहरीको पकड मजबुत नहुँदा विकृतिले समेत जरा गाडेको छ । पछिल्लो केही वर्षदेखि इन्टरनेटबाटै सञ्चालित वेश्यालयका विषयमा दीपक खरेलले खोजीनीति गरेका छन् ।
उनी पेशाले ‘क’ श्रेणीको बैंकका सहायक प्रबन्धक हुन् । अविवाहित उनी शनिबारका दिन उनले रोजेका मान्छेसँग उनकै रोजाइको स्थानमा बित्ने गर्छ । केही दिनअघि दरबारमार्गको एउटा रेस्टुराँमा उनी आफ्ना साथीहरुलाई नेपाली समाजमा लगभग नौलो ई–वेश्यालयका विषयमा बताउँदै थिए । आफूले फोटो हेरेर मान्छे र रकम तय हुने र आफूले बोलाएको स्थानमा आउने भएका कारण प्रहरीको कुनै झन्झट नहुने उनी सुनाउँदै थिए ।
‘कलेज गर्ल र मोडलसमेत छन्, एक पटक मेम्बर बनेपछि डिस्काउन्ट पनि छ तर पहिलो पटक निकै सोधखोज हुन्छ,’ उनले सुनाउँदै थिए ।
काठमाडौँ, पोखरा र चितवनजस्ता प्रमुख पर्यटकीय सहरलाई लक्षित गरी हाल ई–वेश्यालय सञ्चालनमा रहेको पछिल्लो प्रमाण केही दिनअघि दरबारमार्गको एउटा रेस्टुराँमा सुनेको वार्तालाप मात्र थिएन । अहिले इन्टरनेट सर्फ गर्दा पुरुष तथा महिला यौन व्यवसायीको लामो सूची र रेटसहितका विभिन्न साइट भेटिन्छन् । यौन व्यवसायले सरकारी मान्यता पाएका देशमा प्रचलित एस्र्कट सर्भिसले नेपालमा समेत जरा फैलाइरहेको देखिएको छ । नेपालमा अश्लील सामग्री र क्रियाकलाप कानुनी तहमा वर्जित भए पनि यसमा संलग्न ठूलो गिरोहले गोप्य रुपमा व्यवसाय सञ्चालन गरिरहेको छ ।

एस्र्कट सर्भिस के हो ?
यौन व्यवसायले कानुनी मान्यता पाएका देशमा यौन व्यवसायमा संंलग्न व्यक्ति र संस्थाले आधिकारिक रुपमा सञ्चालन गरेको व्यवसायलाई एस्र्कट सर्भिस भनिन्छ । एस्र्कट सर्भिस सञ्चालक र एकल व्यक्तिले विद्युतीय माध्यम वा पर्चा पम्पलेटमार्फत आफूले उपलब्ध गराउने सेवाका विषयमा अनुमति लिएर प्रचारप्रसार गर्न सक्छन् ।
यौन व्यवसायीको विषयमा तस्बिरसहित सम्पूर्ण विवरण एस्र्कट सर्भिस प्रदायकले उपलब्ध गराउँछन् । यौन व्यवसायीको यौन स्वास्थ्य, उपलब्ध हुने समय र स्थानका साथै लाग्ने रकमका विषयमा पूर्व जानकारी गराउने मुख्य कार्य एस्र्कट सर्भिसले गर्छ । ग्राहकको सुरक्षाका विषयमा समेत सेवा दिने एजेन्सी जिम्मेवार हुने भएकाले विदेशमा अधिक मुनाफा भएको यो व्यवसाय संस्थागत र मर्यादित छ । यसका संलग्न सञ्चालक र व्यवसायीले सरकारलाई कर बुझाउने भएकाले सरकारी निकायसमेत सहयोगी भएर व्यवसाय सञ्चालन भइरहेको हुन्छ ।
एस्र्कट सर्भिसले विद्युतीय माध्यमअन्तर्गत इन्टरनेट र टेलिफोन सेवामार्फत सेवाका विषयमा जानकारी उपलब्ध गराउने गर्छन् । सरकारी निकायले यौन व्यवसायीको स्वास्थ्य र यससँग जोडिएका अपराध निरुत्साहित गर्न सर्भिस सहायक भएको भन्दै मान्यता दिँदैआएका छन् । यौन व्यवसायी वा एजेन्सीले सञ्चालित देशको विद्यमान कानुन उल्लंघन गरेमा वा ग्राहकले कुनै गुनासो गरेमा कारबाहीका लागि समेत नियमक निकाय तत्काल सक्रिय रहने भएकाले यसको विश्वसनियता उच्च हुन्छ ।
नेपालको हकमा भने यौन व्यवसाय कानुनी रुपमा अपराध भएका कारण यस्तो व्यवसाय र सार्वजनिक प्रचारप्रसार दण्डनीय मानिएको छ ।
के हो ई–वेश्यालय ?
यौन व्यवसायले आधिकारिक मान्यता पाएका देशहरुमा मेल र फिमेल एस्कर्ट सर्भिस नै नेपालमा गोप्य रुपमा सञ्चालित ई–वेश्यालय बनेका छन् । इन्टरनेटमा निश्चित वेबसाइट र फ्रि स्पेस दिने ब्लग साइटमा हाल विभिन्न नामले यस्ता वेश्यालय सञ्चालनमा छन् । वेश्यालयको इन्टरनेट साइटमा आवश्यक विवरण भरेपछि सदस्य बन्न पाइन्छ । यसरी सदस्य भइसकेपछि सञ्चालक पूर्ण विश्वस्त भएका खण्डमा देह व्यवसायीका तस्बिर र तिनका लागि गर्नुपर्ने खर्च रकम उपलब्ध गराइन्छ । आफूले चाहेको व्यक्तिका लागि आवश्यकताअनुसार सञ्चालकले पहिलो पटक भारतीय र नेपाली नम्बरबाट फोन गर्छन् । एक पटक ग्राहक भइसकेपछि एउटा विशेष नम्बर उपलब्ध गराउने गर्छन् ।
ई–वेश्यालय यसरी चल्छ
नेपालमा सञ्चालित ई–वेश्यालयका सञ्चालक नेपाली र भारतीयको संयुक्त लगानी रहेको स्रोतको दाबी छ । भारतको सिक्किम, दार्जिलिङ र हरियाणा तथा नेपालका सञ्चालक रहेको ई–वेश्यालयले यौन व्यवसायमा संलग्न पुराना तथा नयाँ महिला तथा पुरुषका लागि ग्राहक खोज्ने काम गरिरहेका छन । सञ्चालकको सम्पर्कमा रहेका यौन व्यवसायी र केही मोडेल तथा कलेजका विद्यार्थीसमेत सञ्जालमा छन् ।
सञ्चालकले अनुहार प्रस्ट नदेखाई यस्ता महिला तथा पुरुषका तस्बिर आफ्नो साइटमा सार्वजनिक गरेका छन् । ग्राहकले रोजेको फोटोको निश्चित दर तोकिएको छ । भुक्तानीका लागि युवती वा युवकसँगै एकजना व्यक्तिसमेत हरदम रहने गर्छ । पहिला युवती वा युवकसँगै आउने व्यक्तिलाई भुक्तान गरेपछि आफूले रोजेको व्यक्ति लैजान पाइन्छ ।
संगठित र ठूलो आर्थिक लाभ
नेपालमा सञ्चालित ई–वेश्यालय संगठित र संस्थागत रहेका छन् । नेपाल आउने भारतीय तथा तेस्रो देशका पर्यटकलाई लक्षित गरिए पनि हाल यस्ता वेश्यालयका ग्राहक नेपाली नै बढिरहेका छन् । इन्टरनेटमा सिपालु र दक्ष व्यक्तिलाई एडमिन बनाएका कारण कुनै नक्कली ग्राहक साइटमा प्रवेश गर्न खोजे तुरुन्तै रोक्ने र केही मिनेटमै साइट नै बन्द गर्ने गरेका छन् ।
दरबार मार्ग क्षेत्रमा भेटिएका ठूला व्यक्तिका लागि युवतीको सम्पर्कसूत्र रहेका एक व्यक्तिले भने, ‘ठूलो गिरोह छ, कलेजका केटीहरु सुरुमा रहरले पछि बाध्यताले यस्ता सञ्जालमा फँसेका छन् । पाँचतारे होटलमा आउने ग्राहक उनीहरुको पहिलो रोजाईमा पर्ने गरेका छन् ।’ केही वर्षअघि प्रहरीले कारबाही चलाएका कारण यस किसिमको सुविधा केही समय बन्द भएको र हाल पुनः सञ्चालनमा रहेको उनको भनाइ छ ।
सात वर्षअघि कारवाही
महानगरीय प्रहरी परिसर काठमाडौँले सात वर्षअघि यस्तै ई–वेश्यालयविरुद्ध कारवाही थाले पनि मुख्य व्यक्ति पक्राउ नपरेको भन्दै बीचमै रोकिएको थियो । प्रहरीमा आधिकारिक रेर्कड नै नभएको उक्त कारबाहीमा प्रहरीले वाकिटकी सहितको एउटा भारतीय गाडी फेला पारेपछि ई–वेश्यालयमा ठूलो गिरोह सक्रिय रहेको खुलासा भएको थियो ।
परिसरले त्यसबेला केटिएम इस्र्कट डट कम नामक साइटमार्फत भइरहेको वेश्यावृत्तिविरुद्ध कारबाही थालेको थियो । त्यसबेला प्रहरीले व्यवसायमा संलग्न एक युवतीमार्फत् विशालनगरमा रहेको फ्ल्याटमा छापा मार्दा व्यवसायी भारतको सिक्किमका रहेको पत्ता लगाएको थियो । पक्राउ परेकी युवतीले प्रहरी बयानमा सञ्चालकले काठमाडौँका विभिन्न स्थानमा आफैँ फ्ल्याट भाडामा लिएर व्यवसाय सञ्चालन गरेको र आफूलाई सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङको नातेदार भएको बताएकी थिइन् ।
प्रहरीका अनुसार बर्दियाबाट उच्च अध्ययनका लागि आएकी ती युवतीजस्तै सञ्चालकको सम्पर्कमा सयौँ युवती थिए । काठमाडौँका विशालनगर र बौद्धबाट यस तरिकाको देह व्यापार सञ्चालन भइरहेको थियो । सञ्चालकले पेजमा नेपाल र भारतको नम्बर सार्वजनिक रुपमै राखेर धन्दा गरिरहेका थिए । प्रहरीले करिब चार महिना मुख्य अभियुक्त पक्राउ गर्ने प्रयास गरे पनि अन्त्यमा बरामद गाडी भन्सारमा बुझाएर घटनाको फाइल बन्द गरेको थियो ।
को हुन् सञ्चालक
प्रहरीले नेपालका विभिन्न स्थानमा रहेका होटल, लज र साना–साना वेश्यालयमा छापा मारेर ग्राहक तथा व्यवसायीलाई बारम्बार पक्राउ गरे पनि संगठित रुपमा सञ्चालित ठूला वेश्यालयसम्म पुग्न सकेको छैन । प्रहरीसँग ई–वेश्यालयका विषयमा सात वर्षअघि काठमाडौँको घटनाबाहेक अन्य कतै कुनै कारबाहीको रेकर्ड छैन ।
यौन व्यवसायमा मिडिल म्यानका रुपमा सक्रिय व्यक्तिहरुका अनुसार यस्तो व्यवसायको आवरणमा केही मिडिल म्यान देखिए पनि भित्र ठूला र प्रतिष्ठित व्यक्तिसमेत सक्रिय छन् । दैनिक एक ग्राहकबाट १० हजारदेखि पचास हजारसम्म (एक सयदेखि पाँचसय अमेरिकी डलर) सम्म रकम असुल्ने र दैनिक पचासदेखि डेढसयसम्म ग्राहक भएका कारण व्यवसायमा ठूलो आर्थिक चलखेल भइरहेको सूत्र बताउँछ ।
नाम नबताउने शर्तमा एक ‘मिडिलम्यान’ भन्छन्, ‘व्यवसायिक कामले नेपाल आउने भारतीय र तेस्रो देशका पर्यटक हिजोआज मलाई सम्पर्क गर्दैनन्, मेरो नेटवर्क उता सरेको छ । पैसा आउने भएपछि को पछि पर्दोरहेछ र ?’ उनका अनुसार प्रहरीका केही उच्च हाकिम समेत ई–वेश्यालयका विषयमा जानकार रहे पनि कारबाहीमा देखिएको उदासिनताले शंका उत्पन्न भएको छ ।
स्रोतका अनुसार पछिल्लो समय नेपाल र भारतका क्यासिनोमा लगानीकर्ता र सञ्चालक बनेका व्यक्तिले बनाएका भारतीय सम्पर्कसूत्रमार्फत् यतिबेला नेपाल र भारतमा ई–वेश्यालय सञ्चालन भइरहेका छन् । नेपाली युवतीलाई सञ्चालकले भारतका विभिन्न सहरमा लैजाने र भारतीय युवतीलाई नेपालमा ल्याएर अवैध व्यवसाय सञ्चालन भइरहेको छ ।
‘ग्राहकको डिमान्डअनुसार युवतीहरु नेपाल र भारत जाने आउने भइरहेका छन्, भारतमा हरियाणा र दिल्ली तथा नेपालमा काठमाडौँ र पोखरा मुख्य हब बनेको छ,’ स्रोतले बतायो । एउटा ल्यापटप र इन्टरनेटको पहुँच भएको स्थानबाट एउटा व्यक्तिले व्यवसायको सम्पूर्ण चाँजोपाँजो मिलाउने भएकाले नेपाल र भारत दुवैमा अति गोप्य रुपमा व्यवसाय सञ्चालन भइरहेको स्रोत बताउँछ ।
भाइबर, म्यासेन्जर, ह्वाट्सएप र विच्याटमार्फत कारोबार
ई–वेश्यालयको कारोबारका लागि पछिल्लो समय सञ्चालनमा रहेका र प्रचलित विद्युतीय सम्पर्क माध्यम भाइबर, फेसबुक म्यासेन्जर, ह्वाट्सअप र विच्याट सहायक र सहयोगी बनेका छन् । वेश्यालयको साइटमार्फत ग्राहक भइसकेका व्यक्तिसँग यस्ता विद्युतीय सम्पर्क माध्यममार्फत सञ्चालक र व्यवसायीबीच सम्पर्क रहने भएका कारण प्रहरीबाट सुरक्षित मानिएको छ । कुनै पनि समय बन्द गर्न सकिने र सजिलै पुन खोल्न सकिने भएकाले कसैमाथि शंका लागेमा र खतरा देखेमा तुरुन्त बन्द हुने गरेको हो ।
के भन्छ प्रहरी ?
ई–वेश्यालय आफैँमा साइबर अपराधसमेत हो । सार्वजनिक रुपमा विभिन्न युवतीका नग्न तस्बिर र अश्लील भिडियो राखेर सञ्चालित व्यवसाय साइबर ऐनअन्तर्गत अपराध मानिन्छ । नेपालभर हुने साइबर अपराधसम्बन्धी अनुसन्धान र कारबाही गर्ने महानगरीय अपराध महाशाखासँग यस्ता ई–वेश्यालयका बारेमा कुनै जानकारी छैन । महाशाखामा रहेको साइबर सेलमा रहेको पाँच जनाको टोलीलाई आएका उजुरीविरुद्ध अनुसन्धान र कारवाहीमै फुर्सद नभएका बेला यस्ता साइटका विषयमा जानकारी रहन पनि कठीन छ ।
महाशाखा प्रमुख एसएसपी दिनेश अमात्य कसैले उजुरी दिएमा प्रहरीले कारबाही थाल्ने बताउँछन् ।साइबर अपराध र यसका प्रकृतिका विषयमा भर्खरै जानकार भइरहेको समाजमा यस्ता क्रियाकलापले नकारात्मक असर पार्ने र अर्को अपराधलाई जन्माउने उनी बताउँछन् ।
‘हामीलाई यस विषयमा कुनै उजुरी परेको छैन, हामीसँग भएको स्रोतसाधन र प्रविधिले आएका घटनाको अनुसन्धानमै पनि कठिनाई छ,’ एसएसपी अमात्यले भने ।
महाशाखाका एसपी प्रकाशजंग कार्की इन्टरनेटको प्रयोगबाट भइरहेका अपराधका विषयमा हुने अनुसन्धान महँगो र बढी समय लाग्ने बताउँछन् । प्रविधिमा बिस्तारै पहुँच बढाउँदै लगेको हाम्रो देशमा इन्टरनेटबाट हुने अपराधमा नेपालीभन्दा अन्य देशका नागरिक बढी सक्रिय भइरहेको कार्कीको अनुभव छ ।
‘सरकारको उच्च तहबाटै इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई यस प्रकारका सामग्री सार्वजनिक हुनबाट रोक्ने प्रावधान नबनाएसम्म समस्या समाधान हुँदैन,’ एसपी कार्कीले भने ।
नेपाली नाममा अश्लीलताको भण्डार
महानगरीय अपराध महाशाखाले गत फागुनमा कारबाही गरेका सुरज बस्नेतले चलाएको एउटा अश्लील नामको फेसबुक पेजमा प्रहरीले हजारौं युवतीका नम्बर भेटेको थियो । आफू सञ्चालक रहेको पेजमा बस्नेत सबै युवतीलाई यौन व्यवसायी रहेको भन्दै नम्बर सार्वजनिक गरेपछि पक्राउ गरेर कारबाही थालेको थियो ।
काठमाडौं जिल्ला अदालतको आदेशले ६५ हजार धरौटीमा रिहा भएका बस्नेतले अन्य त्यस्तै फेसबुक पेज देखेपछि आफूले समेत खोलेको बयान प्रहरीमा दिएका थिए ।
प्रहरी रेर्कडमा रहेका बस्नेतको पेज त हाल बन्द भइसकेको छ तर अहिले इन्टरनेटमा विभिन्न नामले अश्लीलताको ठूलो भण्डार भेट्न सकिन्छ । भाले–पोथी र भालुकेटी जस्ता नाममा ठूलो अश्लील सामग्रीको भण्डार यतिबेला इन्टरनेटमार्फत् विश्वब्यापी भइरहेको छ ।
प्रहरीका अनुसार यस्ता साइट र पेज बन्द गर्न डोमेन दर्ता हुने देशको प्रहरीसँग सम्पर्क गरेर आग्रह गर्नुपर्छ तर यौन चलचित्र र व्यवसाय आधिकारिक भएका देशमा दर्ता हुने यस्ता डोमेन बन्द गराउन निकै कठिन छ ।

 

 

Leave A Comment